आरके श्रीवास्तव,रौतहट,२० गते जेठ ।
रौतहटको वन क्षेत्रमा सोमबार राति भएको झडपको घटनाले नयाँ बहस सिर्जना गरेको छ । प्रारम्भमा वन कार्यालयले यसलाई वन तस्करको आक्रमणका रूपमा प्रस्तुत गरे पनि घटनामा संलग्न भनिएका स्थानीयले आफूलाई लुटपाटको आशंकामा प्रतिकार गरेको बताएका छन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा गुजरा नगरपालिका–२ मैढाका राजकिशोर साहले आफूमाथि अन्यायपूर्ण रूपमा वन तस्करको आरोप लगाइएको दाबी गरे । उनका अनुसार राति करिब ११ बजे चन्द्रनिगाहपुरस्थित घर फर्किने क्रममा जंगलको बाटोमा केही व्यक्तिले मोटरसाइकल रोकेर सोधपुछ गरेका थिए ।
साहका अनुसार ती व्यक्तिहरूले आफू वनकर्मी भएको स्पष्ट परिचय नदिएको र कसैले पनि वर्दी नलगाएकाले उनी सशंकित बनेका थिए । “उनीहरूले काठ तस्कर भएको आरोप लगाएपछि मलाई लुट्न खोजिएको हो कि भन्ने डर लाग्यो,” उनले भने । वैदेशिक रोजगारीबाट हालै घर फर्किएका साहले आफूले सुनका गरगहना लगाएको अवस्थामा रहेकाले थप असुरक्षा महसुस गरेको बताए । भाग्ने प्रयास गर्दा मोटरसाइकल लडेको र त्यसक्रममा क्षति पुगेको उनको भनाइ छ । उनले गाउँमा फोन गरेर सहयोग मागेपछि केही स्थानीय घटनास्थलमा पुगेका थिए ।
स्थानीयका अनुसार मोटरसाइकलको चाबी फिर्ता नदिएको विषयमा विवाद बढ्दै जाँदा दुवै पक्षबीच झडप भएको थियो । घटनामा दुवै पक्षका केही व्यक्ति घाइते भएका छन् । उता डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले भने काठ चोरी भइरहेको सूचनाका आधारमा संयुक्त गस्ती टोली परिचालन गरिएको जनाएको छ । कार्यालयका अनुसार गस्तीका क्रममा टोलीमाथि आक्रमण हुँदा सहायक वन अधिकृतसहित पाँच जना घाइते भएका छन् । यद्यपि डिभिजन वन कार्यालयका प्रमुख हेमन्त प्रसाद साहले घटनामा संलग्न व्यक्ति वन तस्कर नै भएको पुष्टि गर्ने पर्याप्त प्रमाण हालसम्म प्राप्त नभएको बताएका छन् ।
उनले घटनाबारे अनुसन्धान जारी रहेको र दोषीमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दर्ता गरिएको जानकारी दिए । प्रहरीले पनि घटनाको अनुसन्धान भइरहेको जनाएको छ । अर्कोतर्फ स्थानीय राजकिशोर साहले आफूमाथि दुव्र्यवहार भएको दाबी गर्दै प्रहरीमा उजुरी दिने तयारी गरिरहेका छन् । घटनाको वास्तविकता अनुसन्धानपछि मात्र स्पष्ट हुने देखिएको छ । वन गस्ती टोली र स्थानीयबीच भएको यो झडप गलत पहिचान, सञ्चारको कमी वा अधिकार प्रयोगसम्बन्धी विवादमध्ये कुन कारणले उत्पन्न भयो भन्ने विषय अहिले अनुसन्धानको केन्द्रमा रहेको छ ।







