बज्जिकाञ्चल संवाददाता,०५ गते
काठमाडौं । आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापनसम्बन्धी विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा पठाएको हो ।
मन्त्रालयले स्थानीय तह मातहतका स्वास्थ्य संस्थाबाट औषधि निःशुल्क वितरण गर्ने तथा वर्षभरि औषधिको उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले संलग्न सूचीअनुसार सम्बन्धित तहको जिम्मेवारीअनुसार औषधि तथा औषधिजन्य सामग्रीको व्यवस्थापन गर्न आग्रह गरेको छ ।
पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूचीसमेत संलग्न गरिएको छ । सूचीमा औषधिका साथै स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्रीसमेत समेटिएका छन् ।
स्थानीय तहले आफ्ना मातहतका स्वास्थ्य संस्थामा आवश्यक औषधिको उपलब्धता,भण्डारण तथा निःशुल्क वितरणलाई व्यवस्थित गर्नुपर्ने मन्त्रालयले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका बालबालिकाको दयनीय अवस्थाबारे प्राप्त उजुरी र भिडियो सामग्रीका आधारमा अनुगमन गरी २० जना बालबालिकाको उद्धार गरेको छ।
मन्त्रालयका अनुसार बाल हेल्पलाइन (१०४) र मन्त्रालयको संयुक्त टोलीले बालगृहमा पुगेर अनुगमन गरेको थियो । अनुगमनका क्रममा बालगृहको सरसफाइ अत्यन्त कमजोर रहेको, शौचालय तथा बाथरुम अस्वच्छ र चिप्लो अवस्थामा रहेको, भवनभित्र पानी जमेको तथा विभिन्न उमेर समूहका बालबालिकालाई एउटै स्थानमा राखिएको भेटिएको थियो। यस्तो अवस्था बालबालिकाको स्वास्थ्य र सुरक्षाका दृष्टिले गम्भीर जोखिमपूर्ण रहेको मन्त्रालयको निष्कर्ष छ ।
मन्त्रालयले नेपाल बाल संगठनको भौतिक अवस्था सुधार, सरसफाइ व्यवस्थापन तथा बालबालिकाको बसोबासलाई व्यवस्थित बनाउन विभिन्न समयमा पटक–पटक निर्देशन दिँदै आएको थियो। सम्बन्धित पक्षलाई मन्त्रालयमा बोलाएर छलफलसमेत गरिएको थियो। तर निर्देशन र आग्रहका बाबजुद अपेक्षित सुधार नभएपछि मन्त्रालयले स्थलगत अनुगमन गरी तत्काल उद्धारको प्रक्रिया अघि बढाएको जनाएको छ।
पछिल्लो समय स्थानीय सरोकारवाला, विभिन्न व्यक्तिहरू तथा बालगृहका केही कर्मचारीबाट समेत त्यहाँको अवस्थाबारे भिडियोहरू मन्त्रालयमा प्राप्त भएका थिए। ती भिडियोमा भवनभित्र पानी जमेको, सरसफाइको अवस्था अत्यन्त दयनीय रहेको तथा महामारी फैलिन सक्ने जोखिम रहेको देखिएको थियो। केही कर्मचारीले सामाजिक सञ्जालमार्फत पनि बालगृहको वास्तविक अवस्था सार्वजनिक गरेका थिए ।
यसैका आधारमा मन्त्रालयले बाल हेल्पलाइन (१०४) को समन्वयमा पहिलो चरणमा २ वर्षभन्दा कम उमेरका २० जना बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो। उद्धार गरिएका बालबालिकामध्ये १२ जना बालक र ८ जना बालिका रहेका छन्। उनीहरूको संरक्षण, स्वास्थ्य परीक्षण, आवश्यक हेरचाह तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले घटनासम्बन्धी आवश्यक कागजी प्रक्रिया तथा कानुनी कार्य अघि बढाइसकेको जनाएको छ। साथै, बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी बाँकी बालबालिकाको अवस्था पनि मूल्याङ्कन गर्दै आवश्यक निर्णय र अनुगमनलाई निरन्तरता दिइने मन्त्रालयले जनाएको छ। एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्र, बूढानीलकण्ठको अनुगमन गरेकी छन् ।
अनुगमनका क्रममा उनले केन्द्रबाट प्रदान भइरहेका सेवा, पूर्वाधार तथा भावी योजनाबारे जानकारी लिनुका साथै सेवा विस्तार, गुणस्तर अभिवृद्धि र केन्द्रको समग्र विकासका विषयमा छलफल गरेकी छन् ।
उनले राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेद, पञ्चकर्म र योग सेवाको उत्कृष्ट केन्द्रका रूपमा थप प्रवर्द्धन गर्दै यसको सेवा र विशेषताबारे व्यापक रूपमा जानकारी प्रवाह गर्न आवश्यक रहेको बताइन् । मन्त्रीले केन्द्रको प्राकृतिक सौन्दर्य र हरियाली वातावरणलाई थप संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि मन्त्रालयबाट आवश्यक नीतिगत तथा संस्थागत सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
साथै, केन्द्र परिसरमा स्थानीय रूपमा पाइने हर्रो, बर्रो, बोजो लगायतका औषधीय जडीबुटीको उत्पादन, संरक्षण र उपयोगलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै यसका लागि आवश्यक सहजीकरण तथा सहयोग मन्त्रालयले गर्ने बताइन् ।
उनले आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सालाई नेपालको स्वास्थ्य प्रणालीको महत्वपूर्ण अंगका रूपमा थप सुदृढ गर्दै गुणस्तरीय, प्रभावकारी र सहज स्वास्थ्य सेवामा नागरिकको पहुँच अभिवृद्धि गर्न मन्त्रालय प्रतिबद्ध रहेको समेत उल्लेख गरेकी थिइन् ।एभरेष्ट न्यूज एजेन्सी
रामअधार प्रसाद यादव, रौतहट, असार १४ ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत ूपूर्ण खोप, सुरक्षित भविष्यू भन्ने मूल नारासहित नगर खोप समन्वय समितिको सचिवालय, राजदेवी नगरपालिका, रौतहटको आयोजनामा आज २०८३ साल असार १४ गते आइतबार राजदेवी नगरपालिकाको सभाहलमा पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
राजदेवी नगरपालिकाका नगर प्रमुख श्री भिखारी प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं प्रमुख अतिथि श्री राम अयोध्या राय यादव, स्वास्थ्य कार्यालय रौतहटका विशिष्ट अतिथि श्री अनिल कुमार कर्ण, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा राजदेवी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको थियो। साथै पूर्ण खोप अभियानलाई थप प्रभावकारी र दिगो बनाउन घोषणा समारोह तथा हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको थियो।
वक्ताहरूले प्रत्येक बालबालिकाले समयमै सबै खोप प्राप्त गर्नु उनीहरूको स्वास्थ्य र सुरक्षित भविष्यका लागि अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै पूर्ण खोप सुनिश्चिततालाई दिगो रूपमा कायम राख्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
कार्यक्रमको अवसरमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना अभियानलाई सफल बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै स्वास्थ्य शाखा प्रमुख रामाकान्त यादव, सह–संयोजक राकेश यादव तथा स्वास्थ्य शाखाका कर्मचारीहरूलाई उनीहरूको कार्यसम्पादनका आधारमा प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। नगर प्रमुख भिखारी प्रसाद यादव तथा उपस्थित अतिथिहरूले सम्मानित कर्मचारीहरूलाई बधाई दिँदै आगामी दिनमा पनि स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि र खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा निरन्तर सक्रिय रहन शुभकामना व्यक्त गरेका थिए।
राजदेवी नगरपालिकाले आगामी दिनमा पनि राष्ट्रिय खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै पूर्ण खोप सुनिश्चितताको अवस्थालाई निरन्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
उक्त कार्यक्रम भव्य एवं सभ्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको जानकारी राजदेवी नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक राकेश यादवले दिएका हुन्।
शिवनाथ कुशवाहा ,रौतहट,२२ गते जेठ ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा पछिल्लो समय स्थानीय सरकारका विकास निर्माणका कामहरू प्रभावकारी रूपमा देखिन थालेका छन् । नगर क्षेत्रका विभिन्न कृषि तथा ग्रामीण सडकहरू स्तरोन्नति र ढलान हुने क्रम जारी रहेको छ, जसले स्थानीयवासीमा उत्साह थपेको छ । 
नगरपालिकाको वडा नम्बर १ घुसुकपुरमा कार्यवाहक नगरप्रमुख अम्बेया खातुनको बजेटबाट ३ सय मिटरभन्दा बढी सडक ढलानको काम भइरहेको छ । उक्त सडक निर्माण सम्पन्न भएपछि स्थानीयवासी तथा किसानहरूलाई आवतजावत र कृषि उत्पादन ओसारपसारमा सहज हुने अपेक्षा गरिएको छ ।
यसैगरी, सन्तपुरदेखि घुसुकपुर जोड्ने सडकलाई ढलानका लागि तयारीस्वरूप आज स्तरोन्नति (लेभलिङ तथा ग्राभेलिङ) कार्य गरिएको छ ।
यस सडकको स्तरोन्नतिपछि आगामी चरणमा ढलान कार्य गरिने जनाइएको छ । कार्यक्रममा सहभागी प्रदेश सभा सदस्यका पूर्व प्रत्याशी मोहम्मद सेराजले स्थानीय सरकार विकास निर्माणका काममा सक्रिय भएको बताउँदै ग्रामीण सडक पूर्वाधारको विकासले आर्थिक तथा सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले भने, “विकासको आधार नै सडक हो । सडक राम्रो भए किसानले आफ्नो उत्पादन सहज रूपमा बजारसम्म पु¥याउन सक्छन्, विद्यार्थी र सर्वसाधारणलाई आवतजावतमा सुविधा हुन्छ। फतुवा विजयपुरमा अहिले भइरहेका सडक निर्माणका कामले स्थानीयको जीवनस्तर सुधार्न मद्दत पुग्नेछ ।
” सेराजले विकास निर्माणका कामलाई गुणस्तरीय र समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै जनताको आवश्यकतालाई केन्द्रमा राखेर थप योजनाहरू अघि बढाउन आग्रह गरे । उनले नगरको समग्र विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको पनि बताए । स्थानीयवासीहरूले समेत लामो समयदेखि कच्ची र जीर्ण अवस्थामा रहेका सडकहरू ढलान हुन थालेपछि खुसी व्यक्त गरेका छन् ।

कृषि क्षेत्रमा निर्भर अधिकांश बासिन्दाले सडक सुधारसँगै उत्पादनको ढुवानी तथा दैनिक आवतजावत सहज हुने विश्वास व्यक्त गरेका छन् । स्थानीय सरकारको पहलमा नगरभित्रका पूर्वाधार विकासका कामले गति लिन थालेपछि फतुवा विजयपुरमा विकासको अनुभूति हुन थालेको स्थानीयहरूको भनाइ छ ।
शिवनाथ कुशवाहा ,रौतहट,२० गते जेठ ।
रौतहटको गरुडा नगरपालिका–२ स्थित श्री माध्यमिक विद्यालय गेडहीगुठीमा प्रधानाध्यापक मौजेलाल साह आएपछि विद्यालयको भौतिक तथा शैक्षिक विकासले तीव्र गति लिएको छ । विभिन्न निकायसँग समन्वय र पहल गर्दै उनले विद्यालयको समग्र अवस्था सुधार गर्न सक्रिय रूपमा काम गरिरहेका छन् ।
हाल विद्यालयमा चार कोठे भवन निर्माण कार्य जारी रहेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ७७ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण भइरहेको छ । निर्माण कार्य एसियन कन्स्ट्रक्सन, यमुनामाईले गरिरहेको विद्यालय प्रशासनले जनाएको छ । त्यसैगरी मधेश प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार कार्यालय रौतहटको २२ लाख रुपैयाँको लागतमा दुई कोठे अर्को भवन पनि निर्माणाधीन अवस्थामा रहेको छ ।
प्रधानाध्यापक साहकै पहलमा विद्यालय परिसरमा माता सरस्वतीको मन्दिर निर्माण गरिएको छ भने विद्यालयको शैक्षिक वातावरण सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइएको छ । उनले निकट भविष्यमै स्मार्ट बोर्ड सञ्चालनमा ल्याइने जानकारी दिएका छन् ।
विद्यालयमा विद्यार्थीका लागि ४० वटा नयाँ बेन्च निर्माण गरिएको छ भने बाल विकास कक्षामा बालमैत्री सिकाइ वातावरण तयार गरिएको प्रधानाध्यापक साहले बताए । स्थानीयका अनुसार केही वर्षअघिसम्म विद्यालयको अवस्था कमजोर देखिन्थ्यो । तर अहिले कम्पाउण्ड वाल निर्माण, नयाँ भवनहरूको निर्माण तथा शैक्षिक पूर्वाधार विस्तारसँगै विद्यालयको स्वरूपमा उल्लेखनीय परिवर्तन देखिएको छ ।
बिधालयमा १ हजार भन्दा बिधार्थी अध्यनरत्त छन् । यस अघि चार कोठो दुइ तले भवन निर्माण भइसकेको छ । त्यसमा पलास्टरको काम मात्र गर्न मात्र बाँकी छ । प्रधानाध्यापक साहले आगामी दुई वर्षभित्र विद्यालयलाई नमुना शैक्षिक संस्थाको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।
“विद्यालयको भौतिक संरचना मात्र होइन, शिक्षण सिकाइको गुणस्तरमा समेत सुधार ल्याउने हाम्रो उद्देश्य हो,” उनले भने । विद्यालयमा भइरहेको विकास निर्माणका काम र शैक्षिक सुधारका प्रयासले अभिभावक तथा स्थानीय समुदायमा समेत सकारात्मक सन्देश प्रवाह गरेको छ ।
काठमाडौँ । अप्रिल महिनाको अन्तिम हप्तालाई विश्वभरी खोप सप्ताहको रुपमा मनाइन्छ भने नेपालमा बैशाख महिनालाई नै खोप महिनाको रुपमा मनाउने गरिन्छ ।
यस बर्षको खोप सप्ताहको विषयवस्तु ‘प्रत्येक पुस्ताको लागि, खोपले काम गर्छ’ भन्ने रहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका १५ करोड ४० लाख जीवन जोगिएको छ । शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको तथा बचाइएका जीवनको ६० प्रतिशत हिस्सा दादुरा खोपले ओगटेको छ ।
बालकदेखि वृद्धसम्मलाई रोगप्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीहरूलाई टिटानस किशोरीहरुलाई एचपिभीबाट जोगाउँछ ।
यो सप्ताहमा पाँच वर्षमुनिका बालबालिकाले कुनै खोप लगाउन छुट भएकालाई गाउँ टोलमा सोध खोज गरेर खोप लगाउन छुट भएका बालबालिका पहिचान गरिन्छ र छुट खोप लगाउने गरिन्छ । एभरेष्ट न्यूज एजेन्सी