२०८३ मंसिर १३
२०८३ मंसिर १३

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको कीर्तिपुर नगरपालिका–६ स्थित १३२/११ केभी चोभार सबस्टेसन सञ्चालनमा आएको छ ।

चोभार सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन् । थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मातातीर्थ–चोभार खण्डबाट सबस्टेसनमा विद्युत् आपूर्ति दिइएको छ ।

सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत वितरण गर्न ११ केभीका नौवटा फिडर लाइनको व्यवस्था गरिएको छ । तीमध्ये तीनवटा फिडर ललितपुरको पुल्चोक क्षेत्रतर्फ र छवटा कीर्तिपुर तथा आसपासका क्षेत्रतर्फ विस्तार गरिएका छन् । फिडरहरूलाई क्रमशः चार्ज गरी स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति सुरु गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आइतबार सबस्टेसनको अनुगमन गरी ११ केभी फिडरहरू तत्काल चार्ज गरेर विद्युत् भार (लोड) स्थानान्तरणको काम अघि बढाउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

कार्यकारी निर्देशक श्रेष्ठले चोभार सबस्टेसन सञ्चालनमा आएपछि विशेषगरी कीर्तिपुर तथा आसपासका क्षेत्र र ललितपुरको पुल्चोक क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सहयोग पुग्ने बताए । उनले हिउँदयाममा काठमाडौं उपत्यकाको विद्युत् माग बढ्ने भएकाले मातातीर्थ–चोभार प्रसारण लाइन र चोभार सबस्टेसनले आपूर्ति व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्युत् भार स्थानान्तरणको काम तत्काल सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

चोभार सबस्टेसन सञ्चालनमा आएसँगै स्युचाटार, टेकु, पाटन र मातातीर्थ सबस्टेसनबाट आपूर्ति हुँदै आएको विद्युत् भारको केही हिस्सा चोभार सबस्टेसनमा स्थानान्तरण गरिनेछ । यसबाट विद्यमान सबस्टेसनहरूको भार व्यवस्थापनमा सहयोग पुग्नुका साथै काठमाडौं उपत्यकाको समग्र विद्युत् आपूर्ति प्रणाली थप भरपर्दो हुने अपेक्षा गरिएको छ ।

थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरका खोकना, बुङमती, हरिसिद्धि र लामाटार क्षेत्रमा प्रसारण लाइन निर्माणका लागि आवश्यक जग्गा प्राप्ति तथा अन्य अवरोधका कारण काम अघि बढाउन कठिनाइ भएपछि वैकल्पिक व्यवस्थाका रूपमा चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण गरिएको हो ।

चोभार सबस्टेसनदेखि पाटनसम्म करिब साढे चार किलोमिटर लामो १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । पाटनमा १३२ केभी सबस्टेसन निर्माणको कामसमेत भइरहेको छ । यी संरचना निर्माण सम्पन्न भएपछि काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली थप सुदृढ हुनेछ ।

चोभारको भूतखेलस्थित हिमाल सिमेन्टको स्वामित्वमा रहेको १२ रोपनी १२ आना जग्गा भाडामा लिएर सबस्टेसन निर्माण गरिएको हो । मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको बैठकले उक्त जग्गा सबस्टेसन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो । एसियाली विकास बैंक (एडीबी)को काठमाडौं उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनाअन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणमा चोभार सबस्टेसन निर्माण गरिएको हो । एभरेष्ट न्यूज एजेन्सी,

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।