खसीको मासुको नाममा बाख्री र पाठीको मासु बिक्री गर्ने प्रयास, ५६७ किलो मासुसहित आठ जना पक्राउ
बज्जिकाञ्चल खबर
काठमाडौं । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गर्न खोजेको आरोपमा काठमाडौंको टुकुचाबाट आठ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ५६७ किलो बाख्रीको मासुसमेत बरामद गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार दिउँसो काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचा खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्न लागिएको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरीले बजारमा पुगेर जाँच गर्ने क्रममा ५६७ किलो बाख्रीको मासु फेला पारेको थियो। उक्त मासु बा.५६ प.७५६० नम्बरको भ्यान र बा.२० च.६३४६ नम्बरको पिकअपमा लोड गरिँदै गरेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा सिन्धुलीका दिलबहादुर मोक्तान, मुगुका करण बानियाँ, ललितपुरका मनोज थापा, धादिङका सनम तामाङ र राजु लामा, काभ्रेपलाञ्चोकका टेकबहादुर तामाङ र दिनेश महत तथा दोलखाका निखिल उप्रेती रहेका छन्।

खसीको मासुका नाममा बाख्री तथा पाठीको मासु बिक्री गर्न खोजिएको यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। पक्राउ परेका आठै जनामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बज्जिकाञ्चल खबर
समाचार स्रोत : जिल्ला प्रहरी परिसर काठमाडौं







