२०८३ मंसिर ११
२०८३ मंसिर ११

तराईमा बिहानै हुस्सु र कुहिरोको प्रभाव, पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली, यस्तो छ आजको मौसम पूर्वानुमान

बज्जिकाञ्चल खबर, कटहरिया, रौतहट । देशमा हाल कुनै पनि उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहे पनि तराईका विभिन्न स्थानमा बिहानको समयमा हुस्सु तथा तुवाँलो देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ भने हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको छ ।

महाशाखाले सार्वजनिक गरेको मौसम पूर्वानुमानअनुसार हाल देशको हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । तराई भूभागका थोरै स्थानमा हुस्सु तथा तुवाँलो लागेको अवस्था छ । विशेषगरी बिहानको समयमा तराईका केही स्थानमा दृश्यता कम हुन सक्ने भएकाले यातायात सञ्चालनमा सावधानी अपनाउनुपर्ने देखिन्छ ।आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली क्षेत्र तथा देशका विभिन्न पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।यद्यपि कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ । हिमाली क्षेत्रमा मौसममा आउने परिवर्तनले चिसो थप बढाउन सक्ने भएकाले त्यस क्षेत्रका बासिन्दा तथा यात्रुले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ ।त्यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा समेत आंशिक बादल लाग्ने सम्भावना छ । अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार शनिबार बिहान उपत्यका तथा खोँचहरूका साथै तराई भूभागका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । बिहानको समयमा कुहिरोका कारण सडकमा दृश्यता घट्न सक्ने भएकाले सवारी चालकलाई सावधानीपूर्वक यात्रा गर्न आवश्यक देखिन्छ ।समग्रमा आज देशभर कुनै ठूलो मौसमी प्रणालीको प्रभाव नरहे पनि हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना र तराईमा बिहानको हुस्सु तथा कुहिरो प्रमुख मौसमी अवस्था रहने देखिएको छ । मौसमको अवस्थाबारे थप जानकारी लिन मौसम पूर्वानुमान महाशाखाको नियमित सूचना तथा बुलेटिनमा ध्यान दिनु उपयुक्त हुनेछ ।

स्रोत : मौसम पूर्वानुमान महाशाखा

पूर्वमुख्यसचिव एकनारायण अर्याल कोलकत्ताबाट पक्राउ! काठमाडौं ल्याएर सीआईबीको जिम्मा, उच्च तहमा खैलाबैला

काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई भारतको कोलकत्ताबाट पक्राउ गरी नेपाल ल्याइएको छ। बिहीबार उनलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गराइएपछि हवाईमार्गबाट काठमाडौं ल्याइएको हो।काठमाडौं विमानस्थलमा अवतरण गराएलगत्तै उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएको थियो। अहिले अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौं उपस्थित गराउने तयारी गरिएको छ।

 अर्यालमाथि मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणलगायतका नाममा अतिरिक्त रकम असुली गर्ने प्रकरणमा संलग्न रहेको आरोप छ। उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव हुँदा नेपाली श्रमिकलाई मलेसिया पठाउने प्रक्रियामा अतिरिक्त रकम असुली गर्ने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा अनुसन्धानको दायरामा आएका हुन्।

यस प्रकरणमा ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको थियो।यसअघि यही प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रमसचिव विनोद केसीसहित मन्त्रालयका उच्च अधिकारी तथा निजी क्षेत्रका व्यक्तिहरू गरी १० जना पक्राउ परिसकेका छन्।

अर्यालको पक्राउसँगै नेपाली श्रमिकलाई मलेसिया पठाउने नाममा भएको भनिएको अतिरिक्त रकम असुली प्रकरणमा अनुसन्धान थप पेचिलो बनेको छ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई कोशी प्रदेश प्रमुखको समेत कार्यभार तोकेका छन् ।कोशी प्रदेश प्रमुखको पद रिक्त रहेकाले नयाँ प्रदेश प्रमुख नियुक्त नभएसम्मका लागि कर्णलाई उक्त जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले कर्णलाई कोशी प्रदेश प्रमुखको कार्यभार तोकेका हुन् ।

यसअघि कोशी प्रदेश प्रमुख परशुराम खापुङको पाँचवर्षे कार्यकाल कात्तिक २४ गते पूरा भएपछि उक्त पद रिक्त भएको थियो । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारका अधिकार सुनिश्चित गर्न नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।सरकारले आफ्ना माग बेवास्ता गरेको भन्दै महासंघले राजनीतिक दलका कार्यालयमा धर्नासहितका कार्यक्रम सार्वजनिक गरेको हो ।

महासंघले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड, सञ्चारमाध्यमबाट पत्रकार निष्कासन, श्रम अधिकार उल्लङ्घन र प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने प्रयास भएको आरोप लगाएको छ ।घोषित कार्यक्रमअनुसार मंसिर १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी, १४ गते नेपाली कांग्रेस, १५ गते नेकपा एमाले, १६ गते नेपाली कम्युनिस्ट पार्टी, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा बिहान ११ देखि १२ बजेसम्म धर्ना दिइनेछ ।

त्यस्तै, मंसिर २० गते काठमाडौंको माइतीघरलगायत देशभरका जिल्ला सदरमुकाममा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गरिने महासंघले जनाएको छ । मागप्रति लिखित ऐक्यबद्धता जनाउने दलको कार्यालयमा भने धर्ना नदिने र माग सम्बोधन नभए तेस्रो चरणको आन्दोलन गर्ने महासंघले जनाएको छ ।

यसअघि महासंघले देशभर सामुहिक गिरफ्तारी दिएको थियो । महासंघले पहिलो चरणको आन्दोलन देशव्यापी रुपमा सफलतापूर्वक सम्पन्न भएको भन्दै सरकारले आन्दोलनलाई अझै नजरअन्दाज गरिरहेको बताएको छ ।  एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । सर्लाहीमा सरकारी अभिलेख सच्याएर अर्कै व्यक्तिको नाममा जग्गा दर्ता गरेको आरोपमा तत्कालीन मालपोत कार्यालय प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सर्लाहीका तत्कालीन प्रमुख पनिलाल यादव, तत्कालीन नायब सुब्बा टुकराम कोइराला र खरिदार राजेश कुमार झाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

त्यस्तै, ईश्वरपुर नगरपालिका–१५ का तत्कालीन वडा अध्यक्ष कपिलदेव चौधरी, तत्कालीन वडा सचिव राम गुलाम राय, जग्गा आफ्नो नाममा दर्ता गराउने किशोरी धामी थारू र सिफारिस तथा निवेदन दिने भोला धामी थारूलाई पनि प्रतिवादी बनाइएको छ ।आयोगका अनुसार सर्लाहीको साविक सोकनाहा गाविस–२(ख) स्थित कित्ता नम्बर ६२ को ११ कट्ठा २ धुर जग्गा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहे पनि उनीहरूको विवरण सच्याएर किशोरी धामी थारूको नाममा दर्ता गरिएको थियो। त्यसका लागि नभएका तथ्य खडा गरी सरकारी कागजातमा अनधिकृत हेरफेर गरिएको आयोगको आरोप छ ।आयोगले संलग्न व्यक्तिहरूमाथि भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवानाको सजाय माग गर्दै आरोपपत्र दायर गरेको जनाएको छ ।    एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । अमेरिकी नियामक निकायले अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सलाई पृथ्वीको कक्षमा १० लाखसम्म उपग्रह प्रक्षेपण गर्ने योजनाका लागि अनुमति दिएको छ ।

अन्तरिक्षमै डाटा सेन्टर  निर्माण गर्ने उद्देश्यसहित अघि सारिएको यो योजनालाई अमेरिकी संघीय सञ्चार आयोगले पहिलोपटक स्वीकृति दिएको हो ।

स्पेसएक्सले ‘स्टारमाइन्ड’ नाम दिएको यस परियोजनाअन्तर्गत सूर्यको प्रकाशबाट ऊर्जा प्राप्त गर्ने उपग्रहहरू अन्तरिक्षमा स्थापना गरिनेछन् । ती उपग्रहले कृत्रिम बुद्धिमत्तासम्बन्धी डाटा प्रशोधन गर्ने र त्यसबाट प्राप्त नतिजा पृथ्वीमा पठाउने काम गर्नेछन् ।

अमेरिकी संघीय सञ्चार आयोगले परियोजनालाई अनुमति दिँदै यसले अमेरिकाको तीव्र गतिमा विस्तार भइरहेको कृत्रिम बुद्धिमत्ता र उच्च क्षमताको कम्प्युटिङ क्षेत्रलाई सहयोग पुर्‍याउने जनाएको छ । आयोगका अध्यक्ष ब्रेन्डन कारले यस परियोजनालाई अमेरिकाको अन्तरिक्ष तथा अत्याधुनिक प्रविधिसम्बन्धी नेतृत्व विस्तार गर्ने नयाँ अवसरका रूपमा व्याख्या गरेका छन् ।

आयोगको स्वीकृतिअनुसार स्पेसएक्सले सन् २०३३ नोभेम्बरसम्म उपग्रह प्रक्षेपण सुरु गरिसक्नुपर्नेछ । सन् २०३५ नोभेम्बरसम्म स्वीकृत उपग्रहको १० प्रतिशत र सन् २०३८ नोभेम्बरसम्म ५० प्रतिशत प्रक्षेपण गरिसक्नुपर्ने सर्त राखिएको छ । कम्पनीले भने आगामी वर्ष नै पहिलो स्टारमाइन्ड उपग्रह प्रक्षेपण गर्ने लक्ष्य सार्वजनिक गरिसकेको छ ।

यी उपग्रहहरू पृथ्वीबाट ५०० देखि २ हजार किलोमिटर उचाइमा रहनेछन् । स्पेसएक्सको हाल सञ्चालनमा रहेको स्टारलिङ्क सञ्जालसँग जोडिएर तिनले डाटा आदानप्रदान गर्नेछन् । स्टारलिङ्कले हाल १० हजारभन्दा बढी उपग्रहमार्फत विश्वका विभिन्न क्षेत्रमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।

अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्ने अवधारणालाई गुगल र ब्लु ओरिजिनजस्ता कम्पनीले पनि अध्ययन गरिरहेका छन् । पृथ्वीमा निर्माण गरिने डाटा सेन्टर सञ्चालन गर्न ठूलो मात्रामा विद्युत् र उपकरण चिस्याउन पानी आवश्यक पर्ने भएकाले अन्तरिक्षमा सौर्य ऊर्जाबाट सञ्चालन हुने केन्द्रलाई वैकल्पिक उपायका रूपमा हेरिएको छ ।

पछिल्लो समय कृत्रिम बुद्धिमत्ताको प्रयोग तीव्र रूपमा बढेसँगै डाटा प्रशोधन र भण्डारणको माग पनि उल्लेख्य रूपमा बढेको छ । तर, पृथ्वीमा ठूला डाटा सेन्टर निर्माण गर्दा विद्युत् र पानीको अत्यधिक खपत हुने, वातावरणमा असर पर्ने तथा स्थानीय समुदायको विरोध सामना गर्नुपर्ने अवस्था छ । अमेरिकाका विभिन्न क्षेत्रमा यस्ता केन्द्र निर्माणको विरोध भइरहेको छ ।

यद्यपि अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्नु चुनौतीरहित भने छैन । विज्ञहरूका अनुसार उपग्रह र अन्य उपकरण अन्तरिक्षमा पठाउन अझै ठूलो खर्च लाग्छ । त्यहाँ उपकरणको तापक्रम नियन्त्रण, सुरक्षा र ऊर्जा व्यवस्थापन पनि जटिल विषय हुन् । त्यसैगरी अन्तरिक्षमा बढिरहेको फोहोरका कारण उपग्रहहरू एकआपसमा ठोक्किने जोखिमसमेत बढेको छ ।

स्पेसएक्सको स्टारलिङ्क सञ्जालले पृथ्वीको तल्लो कक्षमा अत्यधिक उपग्रह थपेर अन्तरिक्षमा भीड बढाएको आरोप लाग्दै आएको छ । तर, मस्कले भने यस्ता आरोप अस्वीकार गर्दै आएका छन् ।

अन्तरिक्षमा १० लाखसम्म उपग्रह राख्ने अनुमति पाए पनि स्पेसएक्सले वास्तवमै त्यति नै सङ्ख्यामा उपग्रह प्रक्षेपण गर्छ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन । एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितलाई डिजिटल कार्ड वा स्वास्थ्य बीमा परिचयपत्रको स्पष्ट विवरण देखाएर स्वास्थ्य सेवा लिन सकिने जनाएको छ ।

बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई यस्तो व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको हो ।

सूचनाअनुसार बीमितले स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति, डिजिटल कार्ड वा विवरण स्पष्ट देखिने प्रतिलिपि पेस गरेर सेवा लिन सक्नेछन् । सेवा प्रदायक संस्थाले कार्डमा उल्लेखित स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा जाँच गरी सम्बन्धित व्यक्ति बीमित भए वा नभएको यकिन गर्नुपर्नेछ ।

बोर्डले भौतिक परिचयपत्र साथमा नभएकै कारण बीमितलाई स्वास्थ्य बीमाअन्तर्गत प्राप्त हुने सेवाबाट वञ्चित नगर्न आग्रह गरेको छ । एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति तथा नोक्सानी सम्बोधन गर्न गठित कोषले पूर्ण परियोजना प्रस्ताव पेस गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई आह्वान गरेको छ ।

कृषि, वन तथा वातावरण मन्त्रालयले सूचना जारी गर्दै नेपालमा रहेका कोषका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त निकायलाई परियोजनाको पूर्ण प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।

सूचनाअनुसार प्रस्ताव जलवायु वित्त परिचालन निर्देशिका, २०८२ बमोजिम तयार गर्नुपर्नेछ । मन्त्रालयको जलवायु वित्त तथा विकास समन्वय शाखाले डिसेम्बर ५, २०२६ अर्थात् मंसिर २० गतेभित्र प्रस्ताव स्वीकार गर्ने जनाएको छ ।

पूर्ण परियोजना प्रस्तावको नमुना क्षति तथा नोक्सानी सम्बोधन कोषको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ ।

प्रस्तावसम्बन्धी जानकारी तथा सहयोगका लागि मन्त्रालयले ९८५१२७११२३ नम्बर र [email protected] इमेलमार्फत सम्पर्क गर्न सकिने जनाएको छ ।  एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । नशालु पदार्थ खुवाएर बेहोस बनाई सुन तथा नगद लुटपाट गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न स्थानमा भएका लुटपाटका घटनाको अनुसन्धानपछि चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले वृद्ध तथा महिलालाई निशाना बनाई नशालु पदार्थ मिसाइएको खानेकुरा खुवाएर बेहोस बनाउने र सुनका गरगहना, नगद तथा मोबाइल लुट्ने गरेका थिए । काभ्रेका विभिन्न स्थानमा भएका घटनाको अनुसन्धानका क्रममा उनीहरूको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा छवबहादुर कार्की, वीरबहादुर तामाङ, अमरबहादुर विक र प्रवीण सुनुवार रहेका छन् । उनीहरूलाई आवश्यक अनुसन्धान पूरा गरी अभियोजनका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरिएको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिमा नागरिक लगानी कोषको कामकारबाही, लगानी र प्रतिफलको अवस्थाबारे आज छलफल हुने भएको छ ।

समितिको ३६औँ बैठक मङ्सिर १० गते आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने तय भएको छ ।

बैठकमा नागरिक लगानी कोषबाट हालसम्म सम्पादन भएका काम, कोष परिचालनको अवस्था, लगानी तथा प्रतिफल, भावी कार्ययोजना र संस्थाले भोगिरहेका समस्या एवं सुधारका क्षेत्रबारे प्रस्तुति र छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयका सचिव तथा नागरिक लगानी कोषका अध्यक्षलाई आमन्त्रण गरिएको समितिले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी,

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।