२०८३ मंसिर १३
२०८३ मंसिर १३

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज आइतबार हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जानकारी दिएको छ ।

हाल देशको हिमाली र पहाडी क्षेत्रमा मौसम मूख्यतया सफा रहेको छ। तराई भू-भागका थोरै स्थानमा हुस्सु/तुवाँलो लागेको छ ।

आज दिउँसो देशको हिमाली क्षेत्रमा साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ। देशको हिमाली भु-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।  बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भू-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पाँचौँ दिनसम्मको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ ।

बागमती प्रदेशले १९ स्वर्ण, १२ रजत र १४ कांस्यसहित कुल ४५ पदक जित्दै पहिलो स्थान कायम गरेको छ । गैरआवासीय नेपाली संघ १२ स्वर्ण, ४ रजत र ४ कांस्यसहित २० पदक जितेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै, नेपाली सेनाले ११ स्वर्ण, २० रजत र १९ कांस्यसहित सर्वाधिक ५० पदक जिते पनि स्वर्ण पदकका आधारमा तेस्रो स्थानमा रहेको छ । नेपाल प्रहरीले ८ स्वर्ण, १५ रजत र १८ कांस्यसहित ४१ पदक जितेर चौथो स्थान हासिल गरेको छ ।

पाँचौँ स्थानमा रहेको गण्डकी प्रदेशले ४ स्वर्ण, १ रजत र ४ कांस्यसहित ९ पदक जितेको छ । कोशी प्रदेशले ४ स्वर्ण, १ रजत र १ कांस्यसहित ६ पदक जित्दा सशस्त्र प्रहरी बलले ३ स्वर्ण, १ रजत र १ कांस्यसहित ५ पदक जितेको छ ।

लुम्बिनी प्रदेश २ स्वर्ण, ६ रजत र ३ कांस्यसहित सातौँ, सुदूरपश्चिम प्रदेश २ स्वर्ण, ५ रजत र २ कांस्यसहित आठौँ स्थानमा छन् ।

मधेश प्रदेशले २ कांस्य पदक जितेको छ भने आयोजक कर्णाली प्रदेशले पाँचौँ दिनसम्म कुनै पदक जित्न सकेको छैन । एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ गोठभित्तामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४० वर्षीय रमेश पाख्रिन रहेका छन् । उनले मंसिर ११ गते राति मादक पदार्थ सेवन गरी ३५ वर्षीया श्रीमती रुकु पाख्रिनलाई कुटपिट गरेका थिए ।

श्रीमान्–श्रीमतीबीच झगडा भएको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घरभित्रको सुत्ने कोठामा रुकुलाई मृत अवस्थामा फेला पारेको थियो ।

घटनामा संलग्न रमेशलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,

 

आजको राशिफल बिस २०८३ मङ्सिर १३ गते आइतबार ईस २०२६ नोभेम्बर २९ नेपाल सम्बत ११४७ कछलागा षष्ठी- २१ रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, हेमन्त ऋतु, मङ्सिर कृष्ण पक्ष षष्ठी, चन्द्रमा कर्कट राशिमा, तिष्य नक्षत्र, ब्रह्मा योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३५ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ०९ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुने वा आफ्नो कामको प्रशंसा हुने सम्भावना छ। प्रतिस्पर्धीहरूका बीच आफ्नो क्षमता प्रमाणित गर्न सकिनेछ। व्यापारमा नयाँ ग्राहकसँग सम्बन्ध विस्तार हुन सक्छ। पारिवारिक विषयमा भने अरूको विचारलाई पनि महत्त्व दिनुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

भाग्यको साथले केही महत्त्वपूर्ण काममा सफलता दिलाउन सक्छ। अध्ययन, अध्यापन तथा वैदेशिक क्षेत्रसँग सम्बन्धित योजनामा सकारात्मक प्रगति हुनेछ। लामो समयदेखि अन्योलमा रहेको विषयले स्पष्ट दिशा लिन सक्छ। धार्मिक तथा सामाजिक काममा रुचि बढ्नेछ। आर्थिक निर्णयमा व्यावहारिक सोच अपनाउँदा भविष्यका लागि राम्रो आधार तयार हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आर्थिक तथा साझेदारीसम्बन्धी विषयमा सतर्कता अपनाउनुपर्ने दिन छ। अरूसँग मिलेर गरिने काममा जिम्मेवारी र अधिकार स्पष्ट पार्नुहोला। पुराना आर्थिक दायित्व व्यवस्थापन गर्ने अवसर मिल्न सक्छ। व्यक्तिगत सम्बन्धमा मनमा लागेको कुरा खुलेर राख्दा गलत बुझाइ हट्नेछ। आवेगमा आएर कसैलाई वचन नदिनु उचित हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दाम्पत्य तथा व्यावसायिक साझेदारीमा सहकार्यको भावना बलियो बन्नेछ। नयाँ सम्झौता वा सहकार्यको प्रस्ताव आउन सक्छ। आफ्नो विचार स्पष्ट रूपमा प्रस्तुत गर्न सके काममा सहजता आउनेछ। पारिवारिक सम्बन्धमा समय दिनुपर्नेछ। जीवनसाथी वा नजिकको व्यक्तिको सुझावले कुनै निर्णय लिन सहयोग पुग्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सूर्यको प्रभावसँग सम्बन्धित सिंह राशिका लागि आज आत्मबल र सक्रियता बढ्ने दिन छ। काममा देखिएको अन्योल हटाउँदै नयाँ ढङ्गले अघि बढ्न सकिनेछ। सेवामूलक काम, व्यवस्थापन र प्रतिस्पर्धामा राम्रो परिणाम प्राप्त हुन सक्छ। सहकर्मीसँग समन्वय कायम राख्नुहोला। खानपान र आराममा लापरबाही नगर्नु राम्रो हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

रचनात्मक काम र व्यक्तिगत रुचिका क्षेत्रमा उत्साह बढ्नेछ। विद्यार्थीले अध्ययनमा राम्रो ध्यान दिन सक्नेछन्। कला, साहित्य तथा मनोरञ्जनसँग सम्बन्धित काममा संलग्न व्यक्तिका लागि नयाँ अवसर आउन सक्छ। प्रेम सम्बन्धमा सकारात्मक संवाद हुनेछ। सन्तानको पढाइ वा भविष्यसँग सम्बन्धित विषयमा ध्यान दिनुपर्ने हुन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

घरपरिवारसँग सम्बन्धित विषयले प्राथमिकता पाउनेछ। घरको व्यवस्थापन, सम्पत्ति वा बसोबाससम्बन्धी योजनामा छलफल हुन सक्छ। कार्यक्षेत्रमा केही ढिलाइ भए पनि धैर्य राख्दा समाधान निस्कनेछ। परिवारका सदस्यबीच आपसी सहयोग बढ्नेछ। व्यक्तिगत महत्त्वाकाङ्क्षा र पारिवारिक जिम्मेवारीबीच सन्तुलन कायम गर्नुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज सम्पर्क, संवाद र भेटघाटबाट फाइदा लिन सकिनेछ। आफ्नो विचार प्रभावकारी रूपमा राख्न सक्दा कार्यक्षेत्रमा नयाँ सम्भावना खुल्नेछ। व्यापारमा प्रचारप्रसार र ग्राहकसँगको सम्बन्ध विस्तार गर्न अनुकूल समय छ। छोटो यात्राको योजना बन्न सक्छ। दाजुभाइ तथा साथीभाइसँग सहकार्य गर्दा काम सहज बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आर्थिक स्थिरता कायम गर्ने दिशामा काम गर्न सकिनेछ। आम्दानीका नयाँ उपाय खोज्ने सोच विकसित हुनेछ। व्यवसायमा पहिले बनाएको योजनाबाट लाभ लिन सकिने सम्भावना छ। परिवारका आवश्यकताका लागि खर्च हुन सक्छ। अरूको देखासिकीमा महँगो सामान खरिद गर्नुभन्दा आफ्नो आर्थिक अवस्थाअनुसार निर्णय लिनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज आफ्ना योजना कार्यान्वयन गर्ने उत्साह बढ्नेछ। व्यक्तिगत प्रभाव र आत्मविश्वासका कारण अरूको ध्यान आकर्षित गर्न सकिनेछ। पेसागत क्षेत्रमा नयाँ जिम्मेवारी वा अवसर प्राप्त हुन सक्छ। रोकिएका व्यक्तिगत काम पूरा गर्न सक्रियता देखाउनुहोला। आफ्नो क्षमतामा विश्वास राख्दै आलोचनालाई सकारात्मक रूपमा लिनु उचित हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज बाहिरी गतिविधिभन्दा आन्तरिक तयारी र योजनामा बढी समय दिनुपर्ने हुन सक्छ। विगतका निर्णयको समीक्षा गर्दा केही कमजोरी पहिचान गर्न सकिनेछ। अनावश्यक खर्च तथा आर्थिक जोखिमबाट जोगिनुहोला। कामको गोपनीयता कायम राख्दा फाइदा हुनेछ। परिवारका सदस्यसँग समय बिताउँदा मानसिक सहजता महसुस हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)

साथीभाइ र सहकर्मीको सहयोगबाट नयाँ काम अघि बढाउन सकिनेछ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। समूहगत योजना, व्यवसाय विस्तार तथा भविष्यका लक्ष्य निर्धारण गर्न अनुकूल समय छ। लामो समयदेखि सम्पर्कमा नरहेका व्यक्तिसँग पुनः भेटघाट हुन सक्छ। आम्दानीको सम्भावना देखिए पनि त्यसलाई व्यवहारमा उतार्न निरन्तर मेहनत आवश्यक हुनेछ । एभरेष्ट न्यूज एजेन्सी,

(यो राशिफल परम्परागत ज्योतिषीय मान्यतामा आधारित सामान्य फलादेश हो। व्यक्तिगत जन्मकुण्डली र ग्रहस्थितिअनुसार फलादेश फरक हुन सक्छ ।)

 

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।