काठमाडौं । नेपाललाई लागूऔषध ओसारपसारको मार्गका रूपमा प्रयोग गर्न खोजेको आरोपमा ८७ वर्षीय दक्षिण कोरियाली नागरिक र एक भारतीय नागरिक ३ किलो कोकिनसहित पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरोका अनुसार काठमाडौँ महानगरपालिका–१७, ओमल जीपी रोडस्थित एक होटलबाट दक्षिण कोरियाली नागरिक सुक चोन लीलाई पक्राउ गरिएको हो । उनले सुटकेसमा लुकाएर ल्याएको ह्यान्ड ब्यागभित्र कोकिन फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै, उक्त कोकिन भारत लैजान आएका २८ वर्षीय भारतीय नागरिक दीपक उत्तम वाघमारे पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिक पेरुबाट स्पेन र कतार हुँदै नोभेम्बर २६ मा नेपाल आएका थिए । भारतीय नागरिकको साथबाट मुम्बई प्रहरीको परिचयपत्रसमेत बरामद भएको छ । लागूऔषध ओसारपसारका लागि सुटकेसको गोप्य सङ्केत प्रयोग गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
बरामद ३ किलो कोकिनको अवैध बजार मूल्य करिब १५ करोड रुपैयाँ रहेको ब्युरोले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी,







