काठमाडौं, २५ चैत ।
गुगल इन्टरको खोज संसारको सबैभन्दा लोकप्रिय खोज इन्जिन हो।
यस सर्च इन्जिनका कारण करोडौं मानिसको समस्या क्षणभरमै हल हुन्छ, किनकि उनीहरू गुगल सर्चमा आफ्नो समस्याको समाधान खोज्छन्। यसका लागि उनीहरुले एक रुपैयाँ पनि खर्च गर्नु पर्दैन ।
यही कारणले गर्दा गुगल मानव जीवनको महत्वपूर्ण हिस्सा बनेको छ, तर सोच्नुहोस् कि यदि तपाईले गुगलमा केहि खोज्नको लागि पैसा खर्च गर्नुभयो भने तपाईले एक दिनमा कति पैसा खर्च गर्नुहुन्छ।
वास्तवमा यस्तै केहि योजना बनाइएको छ। यो सम्भव छ कि भविष्यमा प्रयोगकर्ताहरूलाई गुगलमा कुनै पनि सुबिधा निः शुल्क नहुन सक्छ। यसका लागि प्रयोगकर्ताहरूले पैसा तिर्नुपर्ने हुन सक्छ। गुगलले एआई आधारित सर्च फिचरमा काम गरिरहेको छ, यसको पूरा भएपछि र लन्च भएपछि गुगलले आफ्ना प्रयोगकर्ताहरूलाई एआई गुगल खोजको लागि चार्ज गर्न सोध्न सक्छ।
एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो दौडमा गुगल पनि पछि परेको छैन । गुगलले एआईमा आधारित च्याटबट मोडल जेमिनी बजारमा ल्याइसकेको छ तर अब गुगलले आफ्नो सर्च इन्जिनमा पनि एआई प्रविधि समावेश गर्ने योजनामा काम गरिरहेको छ ।
द फाइनान्सियल टाइम्सको रिपोर्टका अनुसार गुगलले आफ्नो सर्च इन्जिनमा एआई टेक्नोलोजी ल्याउन लागेको छ । जसपछि प्रयोगकर्ताले गुगल सर्च गर्न पनि पैसा खर्च गर्नुपर्ने हुनसक्छ । रिपोर्टमा भनिएको छ कि एआई जेनेरेटिव गुगल सर्चको फिचर कम्पनीको गुगल वन सब्सक्रिप्शन प्लानमा थप्न सकिन्छ। तर, गुगल सर्चमा कुनै पनि कुरा खोजी गर्दा एआई सुविधा प्रयोग नगरी पनि निः शुल्क रहन सकिन्छ।
अहिले सम्म तपाईले गुगलमा कुनै पनि कुरा खोज्नुभयो भने त्यसको लागि पैसा खर्च गर्नुपर्दैन तर कहिलेकाहीँ तपाईको सर्च रिजल्टसँगै विभिन्न कम्पनी र उनीहरुका उत्पादनहरुको विज्ञापन पनि देखिन्छ । धेरै प्रयोगकर्ताहरू यी गुगलका विज्ञापनहरू हेर्न चाहँदैनन् तर अझै पनि उनीहरूले तिनीहरूलाई हेर्नै पर्छ । किनभने गुगलले ती विज्ञापनहरू मार्फत आफ्नो राजस्व कमाउँछ।
यस्तो अवस्थामा गुगल एआई सर्च सुरु भएपछि गुगलले यो सशुल्क सेवामा कुनै विज्ञापन नदेखाउन सक्ने सम्भावना छ । यद्यपि गुगलले एआई गुगल सर्च र यसका लागि लाग्ने शुल्कको बारेमा कुनै आधिकारिक जानकारी दिएको छैन।न्युज कारखाना
काठमाडौँ ।
जर्मनी बुण्डेसलिगा अन्तर्गत लिभरकुसनले अपराजित यात्रा कायम राखेको छ भने बायर्न म्युनिख पराजित भएको छ । शनिबार राति सम्पन्न खेलमा लिभरकुसनले युनियन बर्लिनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरकुसनको जितमा फ्लोरियन विर्त्जले पेनाल्टी मार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा खेलको ४५औं मिनेटमा युनियन बर्लिनका रोबिन गोसेन्सले रातो कार्ड पाएपछि १० खेलाडीमा समिति भएको थियो ।
त्यसैगरी अर्को खेलमा बायर्न म्युनिख हेइडेनहेइमसँग ३-२ गोल अन्तरले पराजित भएको छ ।
यस खेलमा जितपछि लिभरकुसन यस सिजनको लिगको उपाधि जितको नजिक रहेको छ । यस सिजनमा अपराजित रहेको लिभरकुसनको लिगमा २८ खेलमा ७६ अंक भएको छ र दोस्रो स्थानमा रहेको बायर्न म्युनिखभन्दा १६ अंकले अगाडी रहेको छ । बायर्न म्युनिखको २८ खेलमा ६० अंक रहेको छ ।
३४ खेल हुने बुण्डेसलिगामा अब ६ खेल हुन बाँकी रहेको छ । अब लिभरकुसनले एक खेल जितेमा यस सिजनको उपाधि जित्ने छ । त्यस्तै लिभरकुसनले अर्को खेल अप्रिल १४ मा वेर्डेरविरुद्ध खेल्ने तालिका रहेको छ ।
न्युज कारखाना
काठमाडौं
खेम बतासद्वारा लिखित कथासंग्रह ‘बुढीपोल्ली’ले सुदूरपश्चिमको आञ्चलिकतालाई बलियो गरी प्रस्तुत गरेको लेखकहरुले बताएका छन्। शनिबार राजधानीको शिल्पी थिएटरमा पुस्तक विमोचनसँगै भएको बहसमा सहभागी वक्ताहरुले गरिब, दलित, भूमिहीनजस्ता भुइँमान्छेप्रति लेखकको सहानुभूति सकारात्मक देखिएको बताए।
विमोचनपछि पत्रकार फणीन्द्र संगमले बहसको सहजीकरण गरेका थिए। लेखक/समालोचक बिन्दु शर्माले आञ्चलिकता र स्थानीय भाषा प्रयोगमा लेखक सबल रहेको बताइन्। ‘सदियौंदेखि चलिरहेको सांस्कृतिक उत्पीडनप्रति असहमति प्रकट गर्दै लेखकले नयाँ चेतनाको खोजी गरेका छन्,’ उनले भनिन्। नेपाली साहित्यमा मानक भाषा र कुनै भाषिका वा मातृभाषाप्रति द्न्द्व नरहेको उनको भनाइ थियो। छाउपडी प्रथासँग सम्बन्धित कथा ‘मान्छे हराएको सूचना’को प्रसंगमा उनले मान्छे सामाजिक सोचसित डराउने भएकाले त्यो सोच बदल्नुपर्ने बताइन्। ‘छाउ नमान्दा देउता रिसाउने भए छाउगोठ होइन देउताका मूर्ति भत्काउनुपर्छ,’ उनले भनिन्।
कवि/कथाकार बिना थिङले लेखक महिलाको विषय र चरित्र निर्माणमा सकारात्मक देखिएको बताइन्। कथामा धेरै पात्रको आउजाउ भइरहँदा मूल पात्र नै ओझेलमा परेको उनको टिप्पणी थियो। ‘केही कथाका महिला पात्र विद्रोह गर्न तयार छैनन् तर केहीमा भने त्यो संकेत देखिएको छ,’ उनले भनिन्। ‘लेखकले आफ्नो भूगोलको कथा लेख्ने हो। बुढीपोल्लीमा सुदूरपश्चिमका कथाव्यथा छन्,’ उनले थपिन्, ‘यो नेपाली साहित्यका लागि फरक स्वाद पनि हो।’
कथाकारले उठाएका मुद्दामा आफू सहमत भएको भन्दै लेखक राजन मुकारुङले यी कथा सुदूरपश्चिमको मात्र नभई नेपालभित्रैका कथा रहेको भनाइ राखे। कवि सोझो गाउँलेले खेमका कथा परिवेश र उद्देश्यमा निकै सफल रहेको भन्दै प्रशंसा गरे। ‘सामाजिक कुरीति र विभेदविरुद्ध लेखकले क्रान्ति नै गरेका छन्,’ उनले भने, ‘सुदूरको सांस्कृतिक पक्षलाई बलियोसँग उठाइएको छ।’
कवितामा व्यक्त गर्न नसकिएका विषयलाई कथामा उठाउनकै लागि ‘बुढीपोल्ली’ जन्मिएको लेखक खेमको भनाइ थियो। १२ लामा कथा संगृहीत पुस्तकलाई माया पब्लिकेसनले बजारमा ल्याएको हो।न्युज कारखाना
न्युयोर्क, २५ चैत ।
अमेरिकाको न्युयोर्क सहरमा मुस्लिम महिलाले हिजाब फुकालेर मगसट (मुस्लिम वुमन मगसट) लिएको बिषयमा चर्को हंगामा भएको छ ।
यस विषयमा सरकारविरुद्ध मुद्दा दायर भएको थियो । सरकारले सो मुद्दा मिलाउनका लागि कम्तिमा २३२ करोड नेपाली रुपैयाँ बराबर तिर्न पनि सहमति जनाएको छ ।
जानकारी होस कि मगसट एउटा यस्तो फोटो हो, जसमा एक आरोपीको अनुहारको क्लोजअप लिइन्छ। मगसट विशेष गरी पुलिस रेकर्ड वा आधिकारिक कामको लागि लिइन्छ। फोटोसँगै अभियुक्तको औंठाछाप, उचाइ र तौल जस्ता व्यक्तिगत जानकारी पनि लिइएको हुन्छ ।
मुद्दा दायर गर्ने महिलाहरूको पहिचान जमिला क्लार्क र अरवा अजिजको रूपमा गरिएको छ। जमिलालाई जनवरी ९, २०१७ मा र अर्वालाई अगस्त ३० मा पक्राउ गरिएको थियो । पक्राउ परेपछि आफूलाई टाउकोबाट हिजाब फुकाल्न बाध्य पारिएको भन्दै उनले आफूलाई लाजमर्दो महसुस गरेको आरोप लगाएकी थिइन् ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार जमिलाका श्रीमानले झुटो मुद्दा बनाएर गिरफ्तार गरेका थिए । पक्राउका क्रममा प्रहरीले जमिलालाई हिजाब नहटाएमा कारबाही गर्ने धम्की दिएको आरोप छ । यहाँ अर्वालाई पनि केही नक्कली मुद्दामा पक्राउ गरिएको थियो । हिजाब हटाएर उनको फोटो खिच्दा अर्वालाई देख्न सक्ने ठाउँमा ३० भन्दा बढी पुरुष कैदी उपस्थित रहेको आरोप छ । यसबाट अर्वा स्तब्ध भइन् । महिला वकिलले भने कि कसैलाई आफ्नो धार्मिक लुगा खोल्न बाध्य पार्नु स्ट्रिप खोज जस्तै हो।
शहर कानून विभागका प्रवक्ता निक पाउलुचीले एक विज्ञप्तिमा भने कि, यो सम्झौताले पुलिस विभागको लागि सकारात्मक सुधार गरेको छ र सबै पक्षहरूको हितमा छ। १६ मार्च २०१४ देखि २३ अगस्ट २०२१ सम्म टाउकोको हिजाब हटाउन बाध्य भएका सबै महिलाले यस सम्झौता अन्तर्गत क्षतिपुर्ति स्वरूप पैसा पाउने छन्। यसरी करिब ४ हजार १ सय जनामा सो रकम वितरण गरिने उनले बताए । र यस अनुसार सबैले कम्तिमा ६.५ लाख रुपैयाँ पाउने ग्यारेन्टी रहेको जनाइएको छ ।
जमिलाले एक विज्ञप्तिमा भनिन् कि जब उनलाई हिजाब फुकाल्न बाध्य पारियो, तब आफू नग्न भएको महसुस भयो। उनले हजारौं न्युयोर्कवासीलाई न्याय दिलाउनमा आफूले भूमिका खेलेकोमा गर्व लागेको बताइन् ।न्युज कारखाना
काठमाडौं, २५ चैत ।
भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा आज नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिमबीच हुदै छ ।
गुजरातको भापिमा हुने यो खेल अपराहन्न २: ४५ बजेदेखी शुरु हुने छ ।
यसअघि लिग चरणमा नेपालले गुजरातलाई दुवै खेलमा पराजित गरेको थियो भने बरोडालाई एक खेलमा पराजित गरेको थियो भने अन्तिम खेलमा हार बेहोरेको थियो । त्यस्तै गुजरातले भने बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।न्युज कारखाना
काठमाडौं, २५ चैत ।
संघीय संसदको पाँचवटा समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरवारस्थित हलमा ती बैठक बस्न लागेका हुन ।
संसद सचिवालयका अनुसार आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसहित कानून, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समिति शिक्षा समितिको बैठक बस्दैँछ ।
साथै, आजै स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैँछ ।
यी सबै बैठक बिहान ११ बजे देखी दिउँसो १ः३० बजेसम्म बस्नेछ । न्युज कारखाना
काठमाडौँ ।
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको एकदिवसीय सिरिजको अन्तिम खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि शुरु हुदै छ ।
यस सिरिजमा नेपाल ए ले शुरुका दुवै खेलमा हार बेहोरेको र आयरल्याण्ड वोल्भ्सले सिरिज २-० ले जितिसकेको छ । नेपाल ए ले सिरिजमा सान्त्वना जितका लागि खेल्ने छ । नेपाल ए पहिलो खेलमा २१ रनले र दोस्रो खेल ११४ रनले हार बेहोरेको थियो ।
एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिम:
विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन् । न्युज कारखाना
काठमाडौं, २५ चैत ।
उप निर्वाचनका लागि मनोनयन भएका उम्मेदवार बिरूद्द आज उजुरी लिइने भएको छ ।
निर्वाचन आयोगका अनुसार त्यसका लागि आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जनाइएको छ ।
आयोगले सार्बजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ ।
आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । इलाम–२ र बझाङ प्रदेश– १ मा आयोगले उपनिर्वाचन गर्ने तयारी स्वरूप प्रकिया सुरू गरेको हाे ।न्युज कारखाना
काठमाडौं, २४ चैत ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका तराईका भु-भाग लगायत लुम्बिनी प्रदेशको पूर्वी तराईका भू-भागका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।
राती भने देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका तराईका भु-भागलगायत लुम्बिनी प्रदेशको पूर्वी तराईका भू-भागका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।न्युज कारखाना
आजमिति २०८० साल चैत्र २५ गते
आईतवार तदअनुसार अप्रिल ७ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्षको त्रयोदशी तत्पश्चात चतुर्दशी तिथी, पुर्वभाद्र नक्षत्र, ब्राह्म योग छ । चन्द्र राशि कुम्भ । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:४१ देखि १२:३१ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:४७
• सुर्यास्त: बेलुका ०६:२५ बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं: निलो
शुभ अंक: ६
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं: पहेलो
शुभ अंक: ९
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं: हरियो
शुभ अंक: ४
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं: सेतो
शुभ अंक: ७
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं: रातो
शुभ अंक: ८
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं: सुन्तला
शुभ अंक: ७
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं: पहेलो
शुभ अंक: १
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं: सेतो
शुभ अंक : ८
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं: खैरो
शुभ अंक: २
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं: सुन्तला
शुभ अंक : ७
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं: निलो
शुभ अंक : ७
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं : पहेलो
शुभ अंक : ६
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक हुन्।न्युज कारखाना