२०८३ श्रावण ९
२०८३ श्रावण ९

सिरहा २२ कात्तिक । मुकेश कुमार यादव 

चुरे क्षेत्रमा वन फडानी तथा तस्करीमा सिरहाका वनकर्मीको मिलोमतो रहेको पाइएको छ । यहाँको वन कर्मचारीसँग सेटिङ मिलाएर सःमिल संचालकहरू काठ तस्करी गरिरहेको पाइएको हो । सिरहा र उदयपुरको चुरे तथा समुदायिक वनबाट रुख फडानी गरी वनकर्मीको सेटिङमा चुरे फेदका सहर बन्दिपुर, उतरवाहिनी, बस्तिपुर, मिर्चैया, घुर्मिघाट, गोलबजार, कसहा, जिरोमाइल, धनगढी र लहानका सःमिलहरूमा पुर्‍याउने गरेको स्थानीय बताउँछन् ।

प्रहरी र वन कर्मचारीले ठूलो परीमाणमा काठसहित एक व्यवसायीलाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका ४ मा रहेको गौरव सःमिलबाट प्रतिबन्धित करम जातको तीन सय भन्दाबढी क्यूविक फिट गोलिया र चिरान काठसहित मिलका सञ्चालक श्याम साहलाई वन कर्मचारीले नियन्त्रणमा लिएको हो ।

मिलदेखि करिव ४ सय मिटर उत्तरबाट ईलाका प्रहरी कार्यालय गोलबजारको गस्ती टोलीले सानो ठूलोगरी १५ थान करिव एक सय क्यूविक फिट बराबर करम जातको काठ गोलिया लोड भएको ना. ३ त ९६१५ नम्बरको ट्याक्टर र चालक  गोलबजार २ का २५ वर्षिय दिपेन्द्र महतोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा प्रहरीले काठ लोड गरिएको ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको काठसहितको ट्याक्टर र चालक डिभिज वन कार्यालय सिरहा लहानलाई बुझाइएको छ।

सो काठ पनि गौरव सःमिलमै लैजान लागिएको बताइएको छ । प्रहरीले काठ नियन्त्रणमा लिएलगतै त्यहाँ पनि सञ्चलक साह पुगेका थिए ।

यता सव डिभिजन वन कार्यालयका चोहर्वाका प्रमुख सतनारायण यादवले सःमिल सञ्चालकसँग ४० हजार रकम लिएर काठ छोडेको सूचना बाहिरिएपछि डिभिजन वन कार्यालय लहानबाट आएको टोलीले चिरान र गोलियासहित २१० क्यूविक फिट काठ बरामद गरेको छ । वन कर्मचारीले सःमिलका सञ्चालक साहलाई पनि नियन्त्रणमा लिएको छ । साहलाई बुधबार नै जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको डिभिज वन कार्यालय सिरहा लहानका निमित्त प्रमुख सुजित कुमार मिश्रले जानकारी दिए ।

गए राती काठ सःमिलमा लगेको सूचना पाएपछि सञ्चारकर्मीले यसबारे वन कार्यालयमा सम्पर्क गरेसँगै यादवले रकम लिएर मिलाउने प्रयास गरेको कुरा सार्वजनिक भएको हो । वनकै एक कर्मचारीले खोजतलासको  क्रममा केही कर्मचारीको मिलेमत्तोमा काठ छोडेको सूचना दिएका थिए । काठ लालपुरको सामुदायिक वन र व्यक्तिको जमिनबाट कटान गरी ल्याएको बताइएको छ ।


करम जातको काठ मधेश प्रदेशमा कटान गर्न प्रतिबन्ध लगाइएको सब डिभिजन वन कार्यालयका कर्मचारी कासिन्द्र यादवले बताएको छ।


सिरहाका विभिन्न सःमिलहरूमा वन कर्मचारी र प्रहरीकै मिलेमत्तोमा अवैध रुपमा विभिन्न जातका काठहरू आउने गरेको बताइन्छ । डिभिजन वन कार्यालयको मौन समर्थनका कारण चुरे क्षेत्रमा खैर, कर्मा, साल लगायत काँचो रुखको फडानी व्यापक छ । यहाँ काठ तस्करी संगठित बन्नुमा वन कार्यालयको मौन समर्थन रहेको स्थानीय बताउँछन् । काठ तस्करहरूले अहिले पनि  सिरहाको सामुदायिक वन र चुरेक्षेत्रबाट काठ तस्करीलाई दिनानुदिन व्यापक बनाउँदै लगेका छन् ।

सिरहा, २२ कात्तिक । मुकेश कुमार यादव

 

सिरहाको नरहा गाउँपालिकाका वडा अध्यक्षहरूले आन्दोलनको चेतावनी दिएका छन् ।  आर्थिक वर्ष २०७९/८० को आयव्यय विवरण, प्रत्येक वडामा एकजना कम्प्युटर अपरेटर, तत्काल कार्यक्रमहरूको कार्यादेश दिनुपर्ने लगायतका माग सात दिनभित्र सम्बोधन नभए आन्दोलनमा उत्रने उनीहरुले चेतावनी दिएका हुन्।

 

वडा नम्बर १ का अध्यक्ष अशोक कुमार महतो, ४ का वडा अध्यक्ष रामविलेक्षण यादव र ५ का वडा अध्यक्ष हुकुमदेव यादवले आफूहरूको माग सम्बोधन नभए सेवा नै ठप्प पारेर आन्दोलनमा उत्रिने चेतावनी दिए ।


वडा अध्यक्ष हुकुमदेव यादवले सूचनाको हक प्रयोग गरेर करिब एक महिनाअघि दिएको निवेदनको बेवास्ता गरेको भन्दै तत्काल माग गरेको सूचना दिनुपर्ने बताए।

उनले नयाँ आर्थिक वर्षको ४ महिना बितिसक्दा पनि कार्यालय सञ्चालन खर्च नदिएको, कार्यक्रमको कार्यादेश नदिएको भन्दै प्रशासकीय प्रमुख विधिसम्मत ढङ्गले चल्न नसकेको आरोप लगाए ।

 

‘हामीले ताली ठोकेर गाउँपरिषद् गरिदिएका छौं । कार्यक्रमहरू बनेको छ। कार्यालय प्रमुखले कसको निर्देशन पर्खेर बस्नुभएको हो ? हामीलाई तत्काल कार्यादेश चाहिन्छ,’ उनले भने ।

 

उनीहरूले आफूहरूको माग एक साताभित्र सम्बोधन नभए पालिका कार्यालयको गेटमै बसेर सेवा ठप्प पार्ने र वडा कार्यालय त्यहीँबाट सञ्चान गर्ने बताए ।

लमजुङ २२ कार्तिक ।

नेपालीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा खेलिने देउसी-भैलोलगायतका कार्यक्रम लमजुङमा राति १० बजेसम्म खेल्न पाइने भएको छ।

 

शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय लमजुङले राति १० बजेपछि देउसी-भैलोलगायतका मनोरञ्जनात्मक  कार्यक्रम नगर्न अनुरोध गरेको छ। प्रशासनले बिहान ७ बजेदेखि राती १० बजेसम्म देउसी भैलो खेल्न अनुरोध गरेको हो ।

 

प्रशासनले देउसी–भैलोलगायतका सांस्कृतिक कार्यक्रमहरू रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूले शान्ति–सुरक्षामा प्रतिकूल असर पुर्‍याउन सक्ने भएकाले राति १० बजेसम्म मात्रै देउसी-भैलोलगायतका कार्यक्रम गर्न आग्रह गरेको छ।

 

दीपावलीको अवसरमा भुइँचम्पा, पटका, आतसबाजीलगायतका विस्फोटक पदार्थको विक्री वितरण र प्रयोग नगर्न आग्रहसमेत गरेको छ।

 

विस्फोटक पदार्थको उत्पादन, आयात, निर्यात तथा बिक्री-वितरण नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको सूचनामा निषेधित कार्यमा संलग्न भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ।

हेमन्त केसी,जाजरकोट , २२ कात्तिक /

राष्ट्रपति रामचन्द्र पौडेल हेलिकोप्टरमा सहारामा भूकम्पबाट थिलो थिलो भएको जाजरकोट सदरमुकामसँगै बारेकोट पुगे ।

 

सदरमुकामबाट पठाएको राहत सामग्री अझैँ राम्रोसँग गाउँमा पुग्न नसकेको समयमा राष्ट्रपति राहत भन्दा अगाडी गाउँ पुगेका हुन् ।

 

अगुवा ,पछुवा गरेर सदरमुकाम हुँदै बारेकोट पुगेको राष्ट्रपति पौडेलले जनता जनधनको क्षती प्रति दुखी भएको भन्दै सरकारले सबैको घर निर्माण गरिदिने समेत बताए । राष्ट्रपति बारेकोट पुग्दा त्यहाँका सर्बसाधारणले राहत ल्याएर आएको अनुमान लगाएका थिए तर राष्ट्रपति खाली हात भाषण मात्र लिएर भत्किएका संरचना हेर्न बारेकोट पुग्दा यहाँका जनताले हाती आयो , हाती आयो सुस्सा भनेझैँ भएको बताएका छन् । बारेकोट गाउँपालिका–१ रामीडाँडामा भूकम्पको केन्द्र विन्दु रहेको थियो । केही काम गरौँला भनेर आशा लिएर आएका छौँ , हाम्रो भरोसा मान्नुहोस भन्दै आसपासनको पोको सुनाएर फेरी राष्ट्रपति पौडेल काठमाडौँ हुइकिए ।

 

त्यस्तै राष्ट्रपति पौडेलले सदरमुकाम स्थित माथिल्लो थाप्लेमा भत्किएका संरचनाको स्थलगत अनुगमन गरेका थिए । उनले पहिले थाप्ले बास बसेको स्मरण गर्दै यसको पूर्ण निर्माण गर्न सरकारसँग कुरा गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

 

जाजरकोट अस्पतालमा बिरामी भेटन गएका राष्ट्रपति पौडेललाई भेरी नगरपालिका १ कि सीतली विकले पहुँचवालाको मात्र बाहिर उपचार भएको भन्दै आलोचना गरेकी थिइन । उनले आफ्नो बुहारी विदेशमा रहेकाले तत्काल फिर्ता ल्याइदिन समेत राष्ट्रपतिसँग आग्रह गरेकी थिइन् । भूकम्पका कारण अर्का मेरुदण्डमा समस्या आएर अस्पतालमा उपचार गरिरहेको नलगाडका बीरबहादुर पुनले समेत आफूलाई पक्षपात गरेर जाजरकोट अस्पतालमै उपचार गर्न बाध्य बनाएको आरोप लगाउदै राष्ट्रपतिसँग गुनासो गरे । अरु भूकम्प पीडितको उपचार बाहिर भएको तर आफ्नो मात्र जिल्ला अस्पतालमा किन गरेको होला भन्दै आफूले बुझन नसकेको उनले राष्ट्रपतिलाई सुनाए ।

राष्ट्रपति पौडेलले बीरबहादुरलाई बाहिर लिएर उपचार गर्ने भन्दै आश्वस्त परे । तर राष्ट्रपति काठमाडौँ पुग्ने समयसम्म बीरबहादुर जाजरकोट अस्पतालको बेडमै उपचाररत छन् । राष्ट्रपति पौडेललाई ल्याएको हेलिकोप्टर अवतरण गर्न भूकम्प पीडितलाई आवासको लागि बनाएको टेन्ट समेत हटाएको थियो ।

 

बारेकोट गाउँपालिकाले ३ हजार पाल माग गरेकोमा हाल सम्म २ हजार थान त्रिपाल पठाएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बताए । १ हजार ३०० कम्मल , ४०० थान म्याटिस  बारेकोट पठाएको उनले बताए ।

 

त्यस्तै हिजाे देखि कुशे गाउँपालिकामा पनि हवाइ मार्गबाट केही सामग्री पठाएको छ । जुनिचाँदे गाउँपालिकामा बुधबार मात्र पठाउने कार्ययोजना रहेको छ । जिल्ला स्थित सुरक्षा अधिकारीबाट राहत सामग्रीको बारेमा जानकारी लिन खोज्दा कोही पनि तथ्यांक दिन तयार छैनन् ।

 

राहत सामग्री गाडीमा, मन्त्री तथा नेताहरु हेलिकोप्टरमा जाँदा राहतको सामग्री पुग्न समय लागेको हो । यो भन्दा अगाडी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ , भौतिक पूर्वाधार मन्त्री प्रकास ज्वाला , स्वास्थ्यमन्त्री शेरबहादुर बस्नेत , उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडका आउने र जाने गरिरहेका छन् । उर्जामन्त्री शक्तिबहादुर बस्नेत जाजरकोट बसेर राहत सामग्री संकलन तथा वितरणको काममा खटिरहेका छन् । त्यस्तै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह समेत जाजरकोटमै रहेका छन् । मन्त्री देखि राष्ट्रपति सम्म जिल्लामा आउने र जाने भीड लागेपनि भूकम्प पीडित सम्म अझैँ राहत सामग्री पुग्न नसक्दा समस्य उत्पन्न भएको छ ।

 

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले आकाशमा हेलिकोप्टर आतंक बन्द गर्न चेतावनी दिएका छन् । घर्तीले लेखेका छन् , ‘बिभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकप्टर आतङ्क बन्द गर । सम्बिधानले व्यवस्था गरेको स्थानीय बिपद ब्यवस्थापन समितीको अधिकार मिच्न नखोज । ’ उनले थप लेखेका छन् , भेरी नगरपालिकामा ५ हजार त्रिपाल चाहियो ।

 

 

 

राैतहट,कार्तिक २१ गते ।

रौतहटमा बिरामीकाे मृत्यु पछि हस्पिटल बन्द गरी सञ्चालक र चिकित्सक फरार भएका छन् । उक्त हस्पिटलकाे चिकित्सकको लापरवाहीका कारण जिल्लाको गरुडा नगरपालिका–८ विर्तामा सञ्चालित ईमरजेन्सी जन सेवा हस्पिटलमा पाठेघर (बच्चादानी) को अप्रेशन गराउन गएकी चन्द्रपुर नगरपालिका–७ बनबौहरिका इब्राहिम सिद्धिकीका ३० वर्षिया श्रीमति नुरजहान खातुनको अप्रेशन गर्ने क्रममै मृत्यु भएको छ । अप्रेशनमा हस्पिटलले चरम लापरवाही गरेका कारण बिरामी खातुनको मृत्यु भएको मृत्कका आफन्तहरुले आरोप लगाएका छन् ।

एक्कासी पाठेघरमा समस्या आएपछि अप्रेशन गराउन सोमवार दिउँसो महिला खातुनलाई साे हस्पिटल पुर्याइएकाे थियो । मृतक महिलाका श्रीमान इब्राहिम सिद्धिकीका अनुसार खातुनलाई सोमवार राति ८ बजेको समयमा चिकित्सकले अप्रेशन गर्न लगेका थिए । तर अप्रेशनमा चिकित्सकले चरम लापरवाही गरेका कारण आफना श्रीमति खातुनको सोमवार राति २ बजेको समयमा मृत्यु भएको उनले आरोप लगाए ।

खातुनको राति २ बजे नै मृत्यु भइसकेको भएपनि चिकित्सकले बिरामीलाई यहाँ ठिक हुँदैन आइसीयूमा राख्नुपर्छ भनी करिव ३ बजेको समयमा विरगंजको मेट्रोसिटी हस्पिटलको लागि रेफर गरेको उनले बताए । आफना श्रीमतीको जन सेवा हस्पिटलमा नै मृत्यु भइसकेको कुरा हस्पिटलका चिकित्सकलाई राम्ररी थाहा भएको बताउँदै मृतकका श्रीमान सिद्धिकीले खातुनको मृत्यु भएको कुरा लुकाउन उनिहरुले अन्यत्र रेफरको बाहाना गरेको उनले बताए ।

खातुनलाई विरगंजको मेट्रोसिटी हस्पिटल लग्ने बित्तिकै चिकित्सकले मृत घोष्णा गरेका थिए । अप्रेशन गर्न योग्य नै नरहेको चिकित्सकले बलजबरजस्ती अप्रेशन गर्न खोज्दा खातुनको मृत्यु भएको उनको आरोप छ । उपचारमा संलग्न चिकित्सकको सर्टिफिकेट, एनएमसी नम्बर इत्यादि कागजात चेकजाँच गर्नुपर्ने र अप्रेशन गर्न अनुमति प्राप्त नगरेको ठहर भए हदैसम्मको कार्यवाही गर्नुपर्ने पीडित पक्षको माग छ ।

उपचारमा चिकित्सकले सावधानी नअपनाएको र गम्भीर लापरवाही गर्दा बिरामीको मृत्यु भएको भन्दै मृत्कका आफन्तले मंगलवार विहान जन सेवा हस्पिटल घेराउ गरी विरोध प्रदर्शन गरेका थिए । दोषी चिकित्सक र हस्पिटल सञ्चालकलाई पक्राउ गरी उनिहरुमाथी ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता गर्नुपर्ने, उचित क्षतिपुर्ति दिनुपर्ने लगाएतका माग गर्दै मृतकका आफन्तहरुले शव राखेर मंगलवार विहान हस्पिटल अगाडि प्रदर्शन गरेका थिए । प्रहरीले दोषी हस्पिटल सञ्चालक र चिकित्सकलाई कानुनी कार्यवाही गर्ने सहमति जनाएपछि पीडित परिवारले शव उठाएका थिए ।

यता बिरामी खातुनको मृत्यु भएपछि ईमरजेन्सी जन सेवा हस्पिटलका सञ्चालक जिंगडिया निवासी राजेन्द्र महतो र चिकित्सकहरुले मंगलवार विहानदेखी हस्पिटल बन्द गरेर फरार भएका छन् । फरार भएका सञ्चालक महतो र चिकित्सकको खोजीकार्य भइरहेको तथा घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) ओम प्रकाश खनालले जानकारी दिएका छन् ।

बाग्लुङ, २१ कार्तिक ।

बागलुङमा ट्याक्सी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको ढोरपाटन नगरपालिका–२ मलकटिबाङमा ट्याक्सी दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय बागलुङ ध १ज ९९४ नम्बरको ट्याक्सी सोमबार राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भइ सडकबाट १ सय मिटर तल खसेको थियो । प्रहरीका अनुसार उक्त टयाक्सी बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको थियो ।

इन्दीप कोइराला,बारा, २१ कात्तिक ।

कार्यालयमा जारी तालाबन्दीका कारण बाराको सिम्रौनगढ नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत रन्जितजंग अधिकारीले हाजिर गर्न नपाएपछि काठमाण्डौं फर्किएका छन् ।

नगरपालिकाका करार सेवा, अस्थायी र ज्यालादारीका कर्मचारी र शिक्षकहरुले कार्यालयको मुल गेटमा ताला मारेर धर्ना दिएका कारण संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाइएका प्रमुख प्रशासकीय अधिकृत अधिकारी हाजिरी गर्न नपाएपछि मन्त्रालयमा नै फर्किएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारी मन्त्रालयको सरुवा पत्र बोकेर हाजिर हुन सोमबार कार्यालयमा आएका थिए ।

तलब भत्ता र करार सेवा अवधि थप गर्नुपर्ने माग गर्दै नगरपालिका अन्तर्गतका शिक्षक र कर्मचारीले कार्यालयमा ३ सातादेखि ताला लगाएर धर्ना दिदै आएका छन ।

नगरपालिका कार्यालयको तालाबन्दी नखुलेसम्म आफूले हाजिरी नगर्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । कार्यालयमा लागेको ताल्चा जनप्रतिनिधिहरुले खोली दिनुपर्ने उनको भनाई थियो । हाजिर गर्न नपाएपछि आफूले कार्यालयको काम पनि गर्न नसक्ने उनले बताए ।

सिम्रौनगढ नगरपालिकका नगर प्रमुख किशोरीप्रसाद कलवारले कार्यालयमा जारी तालाबन्दीका कारण मन्त्रालयबाट खटाइनुभएका प्रमुख प्रसासकीय अधिकृत रन्जितजङ्ग अधिकारी फिर्ता जानु परेको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन आएपछि आफूले वडा अध्यक्षहरुसंग कार्यालयको ताला खोल्ने पहल गर्न आग्रह गरेको तर ताला खोल्ने बारेमा कसैले पनि चासो नदेखाएपछि अधिकृत अधिकारी मन्त्रालयमा नै फिर्ता गएको नगर प्रमुख कलवारले बताए ।

नगर प्रमुख कलवारका अनुसार नेपाली कांग्रेस पार्टीबाट नगरपालिकामा निर्वाचित वडा अध्यक्षका कारण प्रमुख प्रशासकीय अधिकृत अधिकारीले हाजिरी गर्न नपाएको र फिर्ता गएको बताए । ‘प्रमुख प्रशासकीय अधिकृत फिर्ता भएपछि फेरि पनि सामाजिक सुरक्षा भत्ता र शिक्षक कर्मचारीको तलब निकासा गर्न नसकिने अवस्था आयो, उनले भने, यसको लागि क्षमाप्रार्थी छु ।’ नगरपालिका कार्यालयमा ताल्चा मारेर धर्नामा बसेका शिक्षक, कर्मचारी र वडा अध्यक्षहरुले अधिकृत अधिकारीलाई आफूहरुकोे समस्या बारेमा जानकारी गराएका थिए ।

सोही अवसरमा नेपाली काग्रेसको तर्फबाट निर्वाचित वडा अवधेश सहनीले नगर सभाको सूचना प्रकाशित नभएसम्म कार्यालयमा लागेको ताला नखुल्ने बताएका थिए । उनले नगरप्रमुखले नगर सभाको सूचना काट्ेपछि मात्रै कार्यालयमा लागेको ताल्चा खुल्ने र कर्मचारीहरुले काम गर्ने वातावरण बन्ने बताए ।

मुकेश कुमार यादव,सिरहा २० कात्तिक ।

सिरहाको गोलबजार नगरपालिका ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक संजिवकुमार साहको शंकास्पद मृत्युको वैज्ञानिक छानबिनसहित ९ बुदे माग राखेर शिक्षक संघ संगठनहरुले सडकमै पत्रकार सम्मेलन गरेको छ।

मृत्यु प्रकरणको सत्य तथ्य र निष्पक्ष छानविनगरी दोषीमाथि कार्वाहीको माँग गर्दै विभिन्न पेशागत शिक्षक संगठनले गोलबजार नगरपालिका सम्पूर्ण विद्यालय अनिश्चित कालको लागि बन्दको घोषणा गरेको हो।

 

मंगलबार भने जिल्लाका सम्पूर्ण विद्यालय बन्दको घोषणा गरेको छ। मृतकका श्रीमतीलाई योग्यताअनुसारको रोजगारी, बच्चाहरुको शिक्षाको उचित प्रबन्ध, मृतक शिक्षको विद्यालयमा शालिक निर्माण, घटनाको सत्यतथ्य छानबिनगरी दोषीमाथि हदैसम्मको कारबाही, शिक्षकहरुमाथि शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी वातावरण निर्माण, विद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्ने, मृतक शिक्षकलाई सहिद घोषणाको माग गरेको छ।

जनता नमुना माध्यमिक विद्यालय चन्द्रलालपुर चोहर्वाका प्रधानाध्यपक बम्हदेव सिंहले यो घटनाले कोही शिक्षक सुरक्षित नरहेको बताए। उनले भने, ‘हामी कोही शिक्षक सुरक्षित छैनौं भन्ने कुरा यो घटनाले देखाएको छ। सबै सचेत हुनु जरुरी छ।’

सोही क्रममा उनीहरुले घटनाको टुङ्गो नलागुन्जेलसम्म प्रत्येक दिन पूर्व पश्चिम राजमार्ग ३० मिनेट अवरुद्ध गर्ने र गोलबजार नगरपालिकामा धर्ना दिने संघर्ष समितिले निर्णय गरेको एकीकृत अखिल नेपाल शिक्षक संगठन सिरहा अध्यक्ष प्रमोद कुमार सिंहले जानकारी दिए । उनले आवश्यकता अनुसार आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै जाने बताए।

 

उनीहरुले आज पनि सिरहाको गोलबजारमा करिव २० मिनट सडक जाम गरेका थिए। शिक्षक साह आइतबार आफ्नै विद्यालयको कार्यालय भवनको तेस्रो तल्लामा पासो लागेको अवस्थामा भेटिएका थिए। साहको पोष्टमार्टम काठमाडौंस्थित टिचिङ अस्पतालमा गरिएको छ। सोही क्रममा जनता मावि गोलबजार ९ का प्रधानाध्यपक सुरेन्द्र सिंह, सरस्वती मावि तेतरिया जमहका शिक्षक विजय लामा, शिक्षक अनिरुद्र रायले विरोधमा मन्तव्य व्यक्त गरेका थिए।

 

आरके श्रीवास्तव,राैतहट,२० गते कार्तिक

राैतहट जिल्लाकाे कटहरिया नगरपालिकाकाे एक बिधालयमा आज छात्रवृत्ति वितरण गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर ७ स्थित रहेकाे श्री मावि बगहीमा छात्रवृत्ति प्रदान गरिएको हाे । साेमबार नगरपालिका बाट आएको आर्थिक २०८९/०८० काे छात्रवृत्ति बाट ४ सयका दर वितरण गरिएको हाे । बिधालयमा अध्ययनरत सम्पूर्ण छात्रा,दलित छात्र,छात्राहरू लाई कुल १ लाख ८६ हजार ८ सय रूपैयाँ वितरण गरिएको प्रधानाध्यापक सराेज साहले जानकारी गराउनु भएको हाे । साे बिधालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका छात्राहरू लाई वितरण गरिएको हाे ।

वडाध्यक्ष सहिद मिया धाेवीकाे अध्यक्षतामा वितरण गरिएको हाे । छात्रवृत्ति वितरणकाे अवसरमा कटहरिया नपाका शिक्षा संयाेजक अनिल निधी,प्रधानाध्यापक सराेज साह,वडा सदस्य रामकिशाेर यादव,स्थानीय भद्रभलादमी,बुद्धिजीवीहरूकाे उपस्थिति रहेकाे थियाे ।

 

मुकेश कुमार यादव,सिरहा, २० कात्तिक ।

सिरहाको गोलबजार नगरपालिका- ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक संजिव कुमार साह मृत्यु प्रकरणकाे छानबिनगरी दोषीमाथि कारबाहीकाे माग गर्दै मृतकका परिवार र आफन्तले पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैयाको सडकखण्ड अवरुद्ध गरेका छन् ।

मिर्चैया नगरपालिका ७ का प्रधानाध्यापक साहको हत्या भएको भन्दै परिवारजनले उचित न्यायको माग गर्दै मिर्चैयाको कटारीचौकमा टायर बालेर सडक अवरुद्ध गरेका हुन्। सडक अवरुद्धका कारण सयौं सवारी साधन अलपत्र परेका छन्। प्रहरीले सडक क्लियर गराउने प्रयास भईरहेको जनाएको छ।

 

उनीहरुले घटनाको प्रकृति हेर्दा भर्याङ्ग र पासो लागेको कोठामा रगत देखिएकाले हत्या भएको आरोप लगाएको छ। साहका श्रीमती सहितका परिवार र स्थानीयले घटना सूनियोजित भएको आरोप लगाएको छ।

साेमबार बिहानैबाट साहकी श्रीमती मिना साहसहितका आफन्त र मिर्चैयाका स्थानीयहरुले सडक जाम गरेर बसेका छन्। उनकी श्रीमतीले ‘म मर्न तयार छु, न्याय नपाउँदा सम्म कतै जान्न र केहि खान्न’ भन्ने अडान लिएकी छिन्।
घटनास्थल पुगेका आफन्तले घटनाको प्रकृति हेर्दा त्यहाँका स्थानीयले गरेको व्यवहारले हत्या गरेको आशंका लागेको बताए। उनले भने, ‘घटनास्थलमा देखिएका रगतका डोभले र पासोको अवस्था हेदा झुड्याएको जस्तो देखिन्छ। यसको उचित छानबि हुनु पर्छ।’

प्रधानाध्यमपक साह आइतबार बिहान आफ्नै विद्यालयको कार्यालय भवनको तेस्रो तल्लामा पासो लागेको अवस्थामा भेटिएका थिए। उनको शव पोष्ट मार्टमकोलागि टिचिङ्ग हस्पिटल काठमाडौं लगिएको छ।

यता प्रहरीले अहिलेसम्मको घटना प्रकृतिले आत्महत्याको सङ्केत गरे पनि अनुसन्धान जारी रहेको बताएको छ। प्रहरीले थप अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्टपछिमात्र केही बताउन सकिने सक्ने बताए।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।