२०८३ बैशाख १५
२०८३ बैशाख १५

काठमाडौं, १७ फागुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमको सरुवा भएको छ।

मन्त्रिपरिषद्ले सहसचिव गौतमलाई लोकसेवा आयोगमा सरुवा गरेको हो। उनको ठाउँमा भर्खरै सहसचिवमा बढुवा भएका जयबहादुर भण्डारीलाई ल्याइएको छ।

गौतम मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुखका रुपमा काम गर्दै आएका थिए।न्युज कारखाना

काठमाडाैं, १७ फागुन ।

देशका विभिन्न स्थानबाट लागूऔषधसहित १५ जना पक्राउ परेका छन् । काठमाडौंकाे कागेश्वरी मनोहरा नगरपालिका-५ थलिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६८ मिलिग्रामसहित बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ४४ वर्षीय प्रदिप कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

कैलालीकाे धनगढी उपमहानगरपालिका-३ भन्सारबाट अवैध लागूऔषध ब्राउनसुगर ४० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१ शिवनगर बस्ने २२ वर्षीय भरत राज जोशीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

झापाकाे बिर्तामोड नगरपालिका-६ बुट्टाबारी स्टाफ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्रामसहित भद्रपुर नगरपालिका-५ घर भई अर्जुनधारा नगरपालिका-११ बस्ने २५ वर्षीय सुरज बिश्चकर्मालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

झापाकै अर्जुनधारा नगरपालिका-११ गिरी बन्दु टिस्टेट चिया बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय बिनम उराउ र ३० वर्षीय कुमार सुब्बा रहेका छन् । अस्थायी प्रहरी पोष्ट बर्सपार्कबाट खटिएको प्रहरीले सुब्बालाई १ ग्राम १ सय ९० मिलिग्राम र उराउलाई ४ सय मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

झापाकै मेचिनगर नगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४७ ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-१० कालिस्थान घर भई मेचिनगर नगरपालिका-६ सुनगाभा टोल डेरा गरी बस्ने २६ वर्षीय प्रकाश पौडेल, काठमाडौं महानगरपालिका-१६ ढुङगे अड्डा बस्ने ३० वर्षीय ईश्वर अधिकारी र झापा अर्जुनधारा नगरपालिका-१० कालिस्थान बस्ने २२ वर्षीय पुजन तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

नवलपरासी पूर्वकाे गैंडाकोट नगरपालिका-२ नारायणी पुलबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित सोही नगरपालिका-२ बस्ने २१ वर्षीय अभिशेक गुरूङ समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कर्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

मोरङकाे विराटनगर महानगरपालिका-१७ स्लामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २४ मिलिग्रामसहित सोही महानगरपालिका-१२ बस्ने ४० वर्षीय प्रभात कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ग.५ प ३७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित चालक कटुवाललाई पक्राउ गरेको हो ।

लमजुङकाे सुन्दरबजार नगरपालिका-६ खत्रीठाटीबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१६ बस्ने ५१ वर्षीय प्रेम पराजुली र सोही महानगरपालिका-१९ बस्ने ४० वर्षीय जिवन पौडेल रहेका छन् । ईलाका प्रहरी कार्यालय सुन्दरबजारबाट खटिएको प्रहरीले ग.११ प ९४४० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

बाँकेकाे खजुरा गाउँपालिका-६ सिमलघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रकाश बहादुर धामी र १९ वर्षीय बिजय घिमिरे रहेका छन् । ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । न्युज कारखाना

 

काठमाडौं, १७ फागुन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेलो रङको धातुको पत्थर जडित करिब ४६ ग्राम २० मिलिग्राम तौलको औठी २ थान र करिब ४५ ग्राम ३६ मिलिग्राम तौलको सिक्री १ थानसहित काभ्रेपलाञ्चोक मण्डनदेवपुर नगरपालिका-५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ बस्ने ५२ वर्षीय नारायण कृष्ण श्रेष्ठ  पक्राउ परेका छन् ।

 

नेपाल एयरलाईन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा पाइन्टको गोजीमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको उक्त धातुसहित उनलाई पक्राउ गरेको हो । न्युज कारखाना

 

 रौतहट,१७ गते फागुन ।

रौतहट–रौतहट जिल्लाको मौलापुर नगरपालिकामा दादुरा–रुबेला खोप अभियान फागुन २७ गतेदेखि सुरु हुने भएको छ । आज मौलापुर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको स्थानिय तह स्तरीय खोप समन्वय समिति तथा संचारकर्मीहरुको गोष्ठी कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।

 

मौलापुर स्थित नगरपालिकाको सभाकक्षमा ९ वटै वडाका वडाध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु,सञ्चारकर्मीहरु बिच खोप सञ्चालन सम्बन्धि जानकारी गराइएको थियो । मौलापुरका स्वास्थ्य संयोजक अच्छेलाल साहका अनुसार तेस्रो चरण अन्तर्गत फागुन २७ गतेदेखि सुरु हुने उक्त अभियान अन्तर्गत मौलापुरमा १७ हजार १ सय ६३ जना बालिबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ ।

 

सो अभियान नगरभरि चैत १ गते सम्म चल्ने छ । उनका अनुसार, दादुरा–रुबेला खोप अभियान अन्तर्गत नगरका स्वास्थ्य संस्था, शिक्षण संस्था लगायतका स्थानमा गरी २१ खोप केन्द्र स्थापना गरिने छ । सो अभियान सफल पार्न ३२ जना कर्मचारी परिचालन गरिने उनले बताए । बिहिबार भएको अभिमूखीकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रौतहटका खोप फोकल पर्सन अनिल कुमार कर्णले अभियानलाई सफल पार्न सबैजनाको भूमीका महत्वपूर्ण हुने भन्दै सहयोगका लागि आग्रह गरे ।

 

 

सो अवसरमा सबै वडाका वडाध्यक्ष, प्रधानाध्यापकहरु, सबै शाखाका प्रमुख, सञ्चारकर्मी लगायतकाको पनि सहभागीता रहेको थियो ।

काठमाडौं, १७ फागुन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई नेपाल वायुसेवा निगम सुधारबारेको ‘प्रतिवेदनमाथिको प्रतिवेदन’ बुझाइएको छ ।

 

निगम सुधारका लागि भन्दै पूर्वगर्भनर दिपेन्द्रबहादुर क्षेत्री नेतृत्व टोलीले बनाएको प्रतिवेदनमाथि अध्ययन तथा कार्यान्वयन सिफारिस गर्न भन्दै बनाइएको पूर्वक्याप्टेन कुलबहादुर लिम्बू नेतृत्वको सिफारिस समितिले बिहीबार मन्त्री किराँतीलाई प्रतिवेदन बुझाएको हो ।

 

मन्त्री किराँतीसहित मन्त्रालयका सचिव दिपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवाराज अधिकारीलाई संयुक्त रुपमा समितिले बुझाएको प्रतिवेदनमा आन्तरिक लेखा परीक्षण प्रभावकारी बनाउने, सञ्चालक समितिको निर्णय र निगम सुशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने, तेस्रोमा निगमलाई आर्थिक रुपले प्रभावकारी बनाउन सोल्टी होटलको सेयर बिक्री गर्ने र निगमको यथार्थपरक व्यावसायिक कार्ययोजना बनाउन प्रतिवेदनमा दिइएको सुझावलाई प्रभावकारी कार्यन्वयन हुनुपर्ने उल्लेख छ ।न्युज कारखाना

महोत्तरी, १७ फागुन । 

रातु नदी उत्त्खननको बिषयलाई लिएर राजनीति दलहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । पर्यावरणलाई नै असर पार्ने गरी मापदण्डविपरीत बर्दिवासस्थित रातु खोलाको विभिन्न खण्डमा अवैध उत्त्खनन भएको भन्दै बिहीबार दलहरुले सयुक्त रुपमा मुद्दा दर्ता गरेका हुन् ।

 

वातावरणमा प्रतिकुल असर पार्नेगरी आईई रिपोर्ट बनाएको, मापदण्डविपरीत नदिजन्य पदार्थ उत्त्खनन गरेको, स्थानीय सरकारले नै अवैध दोहनमा पक्षपोषण गरेको जस्ता प्रश्न उठाएर मुद्दा  दायर गरिएकाे हाे ।

नेकपा एमाले, माओवादी केन्द्र, लोसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमतसहितका  प्रतिनिधिहरुले १२ वटा कार्यालयहरुलाई विपक्षी बनाएर  उत्प्रेषणयुक्त परमादेशको आदेश माग गर्दै रिट दायर गरेका हुन् ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महोतरी जिल्ला समन्वय समिति, महोतरी, बर्दिबास नगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालयको कार्यालय महोतरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेश, उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालय मधेश प्रदेश, देव विष्णु कन्टक्सन एण्ड सप्लायर्स प्रा.लि.,राजेश एण्ड ब्रदर्श निर्माण तथा सप्लायर्स प्रा.लि.दोलखा जिल्ला भिमेश्वर नगरपालिका र राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समिति सातादोवाटो ललितपुरलाई विपक्षी बनाइएको छ ।

उक्त रिटको यही फागुन २० गते नै पेशी तोकिएको निवेदकको तर्फबाट बहस गर्ने अधिबक्ता पदम बहादुर श्रेष्ठले जानकारी दिए ।न्युज कारखाना

 

 

काठमाडौं, १७ फागुन ।

प्रतिपक्षी दल राप्रपाले संसदमा जरुरी सार्वजनिक प्रस्ताव दर्ता गरेको छ । रसिया–युक्रेनको युद्धमा नेपालीलाई बचाउन माग गर्दै बिहीबार राप्रपाले जरुरी सार्वजनिक प्रस्ताव दर्ता गरेको हो ।

 

संघीय संसद् सचिवालयको कार्यव्यवस्था परामर्श समितिमा दर्ता गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा  उल्लेख गरिएको छ, ‘नेपाली आमाका हजारौ राष्ट्र सपुतहरु विना कारण सीमित आर्थिक प्रलोभनमा परी रसिया र युक्रेन बीचको युद्धमा सहभागी गराइएको अन्तराष्ट्रिय जगतमै जघन्य अपराध ठानिने मानव तस्करी गरी युद्ध स्थलमा लगी सयौं घाइते र कयौंको मृत्यु भएको हुँदा यो नेपालको सार्वभौम प्रतिनिधि सभा, यस्तो जघन्य अपराधको विषयमा छलफल गर्नुपर्ने र सम्बन्धित मन्त्रालय र सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने अत्यन्त आवश्यक भएको हुँदा नेपाली आमाका छोराछोरीलाई ज्यान बचाउनको लागि जरुरी सार्वजनिक प्रस्ताव पेश गर्दछु ।’

प्रस्तावमा छलफल गर्नुपर्नाको कारण ‘हजारौं नेपाली आमाका सन्तानहरु विना कारण आज रसिया र युक्रेन बीचको युद्धमा मृत्यु हुनु परेको र युद्धमा फसेकाले तत्काल उद्धार गरिदिनु हुँन अत्यावश्यक भएकोले’ उल्लेख गरिएको छ  ।

प्रस्तावकमा प्रमुख सचेतक ज्ञानबहादुर शाही छन् भने समर्थकमा विना लामा, अनिशा नेपाली र वीना जैसवाल रहेका छन् । न्युज कारखाना

काठमाडौं, १७ फागुन ।

नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका महाधिवेशन पक्षधरले वृहत हस्ताक्षर अभियान सुरू गरेका छन् ।

 

केही दिनअघि ९ बुँदे अपील जारी गर्दै तोकिएको मितिमा नेविसंघको १२ औं महाधिवेशन गर्नुपर्ने माग गरेको उनीहरुले महाधिवेशन गराउन दबाब सृजना गराउने उद्देश्यले वृहत हस्ताक्षर अभियान सुरु गरेका हुन् ।

 

गत मंगलबार महाधिवेशन पक्षधर मानिएका स्ववियु परिषद केन्द्रीय अध्यक्ष एवं नेविसंघ केन्द्रीय सदस्य निराजन नेपाल तथा नेविसंघ केन्द्रीय सदस्यहरु भानुभक्त जोशी, राज थेबे, दोर्ची शेर्पा, भुपेन्द्र थेबे, आकाश कार्की, एनपी जोशीलगायतले ९ बुँदे संयुक्त अपील जारी गर्दै तोकिएको मितिमा नेविसंघको १२ औं महाधिवेशन गर्नुपर्ने माग गरेका थिए ।

 

उनीहरूले हस्ताक्षर अभियान पनि जारी राखेका हुन् । नेविसंघको जारी केन्द्रीय कार्यसमिती बैठकको दोस्रो दिन बैठक प्रारम्भ अगाडिदेखि मुख्य प्रवेशद्वारमा ब्यानर टागेर नै वृहत्त हस्ताक्षर अभियानको सुरु गरेका हुन् ।

 

बुधबार महाधिवेशन पक्षधर समूहले देशका विभिन्न जिल्लाबाट आएका केन्द्रीय सदस्यसँग सल्लाह गरेर बैठकलाई सफल बनाउन अपील गर्दै महाधिवेसन केन्द्रीत ७ बुदे एजेण्डा प्रस्तुत गरेर   छलफल गरी पारित गरिनुपर्नेमा जोड दिएको छ ।

 

महाधिबेसन पक्षधर समूहले महाधिवेशनको विकल्प महाधिबेसन नै रहेको भन्दै तोकिएको मितिमै महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गर्दै आएको छ । न्युज कारखाना

काठमाडौं, १७ फागुन । 

महिलालाई कुवेत पठाइदिन्छु भनी श्रीलंका पुर्‍याएर बन्धक बनाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका-४ घर भएका ४७ वर्षीय मदुला मियाँ भनिने मुर्तुजा मियाँ रहेका छन्। प्रहरीले उनलाई दुई दिनअघि काठमाडौं नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो। उनीसहितका व्यक्तिले भिजिट भिसामा एक महिलालाई कुवेत लैजाने भनी श्रीलंका पुर्‍याएको मानव बेचबिखन ब्युरोका प्रमुख एसएसपी ओम रानाले बताए।

 

रानाका अनुसार मियाँसहितका व्यक्तिले श्रीलंकाको कोलम्बो पुर्‍याएर ती महिलालाई बन्धक बनाएका थिए। नेपाल प्रहरी तथा संघ-संस्थाको सहयोगमा ती महिला नेपाल फर्काइएकी थिइन्।

 

नेपाल फर्किएपछि उनले मियाँविरूद्ध जाहेरी दिइन्। उक्त जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको एसएसपी रानाले बताए। अन्य व्यक्तिहरूको खोजी भइरहेको रानाले बताए।

 

रानाका अनुसार ती महिलाको घरको आर्थिक अवस्था कमजोर थियो।

 

मियाँले मासिक नेपाली २० देखि २२ हजारसम्म तलब पाइने भन्दै फकाए। कुवेतमा घरेलु कामदारको रूपमा लगाइदिने प्रलोभन पारेर २०७३ साल जेठ १५ गते सुनौली हुँदै भारतको नयाँदिल्ली पुर्‍याए।

 

भारतमा भएका एजेन्टले १० दिनको भिजिट भिसामा ती महिलालाई कोलम्बो पठाएका थिए।

 

‘त्यसरी पठाउँदा प्रतिवादीहरूले श्रीलंकाको कोलम्बोमा बुद्धको दर्शन गर्न जान लागेको भन्नु भनी सिकाएर पठाएको अनुसन्धानमा खुलेको छ,’ रानाले भने।

 

कोलम्बो पुगेपछि श्रीलंकन मुलका एक एजेन्टले ती महिलालाई जिम्मा लिए। उनले ठूलो संख्यामा महिलाहरूलाई ६८ दिनसम्म राहदानीलगायतका कागजात जफत गरी बन्धक बनाएर राखे।

 

कोलम्बोबाट २०७३ सालमै उद्धार गरिएकी ती महिलाले जाहेरी दिए पनि मियाँ फरार थिए।

 

पक्राउ परेका मियाँलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।   न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।