आरके श्रीवास्तव, रौतहट ०८ गते साउन ।
लोकतान्त्रिक पत्रकार संघको संशोधित विधानअनुसार महाेत्तरीका विकास कुमार मण्डललाई केन्द्रीय सदस्य पदमा मनोनीत गरिएको छ। संघका अध्यक्ष कामरेन्द्र वर्माले मनोनयनको जानकारी दिँदै उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
मण्डललाई मनोनीत गरिएको विषयमा संघका अध्यक्ष वर्माले पठाएको पत्रमा देश, मधेश, पत्रकारिता क्षेत्र तथा पार्टीको हितमा उहाँको कार्यकाल उल्लेखनीय रहने विश्वास व्यक्त गरिएको छ ।

केन्द्रीय सदस्यमा मनोनीत भएपछि मण्डलले आफूले पाएको जिम्मेवारीलाई इमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
लोकतान्त्रिक पत्रकार संघले पत्रकारिता क्षेत्रमा सक्रियरूपमा लागिरहेका व्यक्तिहरूलाई जिम्मेवारी प्रदान गर्दै आएको छ। संघको यो कदमले संगठनात्मक सुदृढीकरणमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
काठमाडौं, साउन ७ — पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ दुई साताको संयुक्त राज्य अमेरिका भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्।
भ्रमणका क्रममा श्रेष्ठले (क्यालिफोर्निया) लस एन्जेल्स, सान फ्रान्सिस्को, यूटा, सिकागो, टेक्सास, बोस्टन, वासिङ्टन डिसी, भर्जिनिया, बाल्टिमोर (मेरिल्यान्ड), कनेक्टिकट, न्यूयोर्क लगायतका विभिन्न स्थानहरूमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए।

उनले प्रवासमा सक्रिय विभिन्न संघ–संस्था, गैरआवासीय नेपाली संघ (एनआरएनए), बुद्धिजीवी, प्राध्यापक, इन्जिनियर, चिकित्सक, व्यवसायी लगायतका व्यक्तिहरूसँग भेटघाट गर्दै समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक विषयमा छलफल गरेका थिए।
श्रेष्ठले कार्यक्रमहरूमा शुभकामना आदान–प्रदान गर्दै प्रवासी नेपालीहरूको विचार, सुझाव र समर्थनप्रति आभार व्यक्त गरेका थिए।
उनको भ्रमणले नेपालप्रति प्रवासी नेपाली समुदायको चासो, सहयोग र सहभागिता अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
- अभिमनु कुमार पटेल, रौतहट, ७ गते साउन । सीमावर्ती क्षेत्रको सुरक्षामा चौबीसै घण्टा तत्पर सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहटले सुरक्षा मात्र होइन, मानवसेवा र सामाजिक उत्तरदायित्वमा समेत आफुलाई समर्पित गर्दै आएको छ।
भर्खरैको घटनामा, रौतहट माधवनारायण नपा वडा नं ४ विषनपुरवाकी २८ वर्षीया लक्ष्मीनिया देवीलाई डेलिभरीको समयमा A+ve ब्लडको आपतकालीन आवश्यकता परेको थियो। यस्तो संकटपूर्ण अवस्थामा सशस्त्र प्रहरी बलमा कार्यरत हबल्दार उपेन्द्र मुखियाले प्रादेशिक अस्पताल गौर पुगेर तुरुन्तै रक्तदान गरे।

सामाजिक उत्तरदायित्वमा सक्रिय उक्त गणका प्रहरी उपरीक्षक संतोष बस्नेतका अनुसार, चालु आर्थिक वर्षमा मात्रै गण तथा मातहतका कार्यालयहरूबाट ६३ जना सशस्त्र प्रहरी जवानहरूले बिरामीका लागि स्वेच्छिक रक्तदान गरेका छन्। “हाम्रो टोली मात्र सुरक्षा कार्यमा सीमित छैन, जब समाजलाई रक्तको आवश्यकता पर्छ, हामी त्यहाँ पनि उपस्थित हुन्छौं,” एसपी बस्नेतले बताए।
सामाजिक कार्य र रक्तदानमा अग्रसर यस गणले हरेक वर्ष स्थापना दिवसको अवसरमा पनि सामूहिक रक्तदान गर्दै आएको छ। यस वर्ष वैशाख महिनामा मात्र २४ जना सशस्त्र प्रहरी जवानले रक्तदान गरेका थिए।
एसपी बस्नेतका अनुसार, “प्रादेशिक अस्पताल गौरमा होस् वा पर्सा जिल्लाको वीरगंजमा, जब कहिले रक्तको खाँचो पर्दछ, सिधै हामीलाई सम्झिने चलन बनेको छ। आवश्यकता अनुसार रौतहटबाट प्रहरी जवान पठाएर रक्तदान गराउने काम हामीले गर्दै आएका छौं।”
एसपी बस्नेतले विगत ५ महिनादेखि प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा, सीमावर्ती क्षेत्रदेखि ग्रामीण बस्तीसम्म शान्तिको अनुभूति दिलाउने खालका रणनीतिहरू अपनाएका छन्। सुरक्षा मात्र होइन, समाजप्रति जिम्मेवार अभिव्यक्तिको रूपमा रक्तदान, जनसहभागिता, सहकार्य र मानवता प्राथमिकतामा परेको उनले स्पष्ट पारे।
“हामीले प्रत्येक समस्यालाई राज्यको तर्फबाट सेवा गर्ने अवसरको रूपमा लिन्छौं। रगत होस्, विपत होस्, अपराध नियन्त्रण होस् वा जनताको विश्वास, सशस्त्र प्रहरी बल एक परिवार हो जसले राष्ट्र र जनताको सेवा नै धर्म ठानेको छ,” उनले बताए।
देशको दक्षिणी सीमावर्ती क्षेत्रअन्तर्गत पर्ने रौतहट, जहाँ अवैध क्रियाकलाप, तस्करी, आपराधिक गतिविधिहरूको जोखिम उच्च छ, त्यहाँ सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहट कानून पालन, शान्ति सुरक्षा र सीमा निगरानीमा बलियो गढको रूपमा परिचित छ। तर, यति मात्र होइन, यो गण सामाजिक सेवा, सद्भाव र मानवीय भावनामा समेत जिम्मेवार संस्थाको रूपमा स्थापित हुँदै आएको छ।
- रक्तदान जस्ता संवेदनशील कार्यमा निरन्तरता दिँदै, संकटमा परेका नागरिकको साहारा बनेको यो गण रौतहट जिल्लामा पहिलो संस्थाको रूपमा यथार्थ सेवाको उदाहरण बनिरहेको छ। यसरी, सुरक्षा र सेवा दुबै मोर्चामा क्रियाशील सशस्त्र प्रहरी बल, नेपाल नं. ११ हे.क्वा. रौतहट आज एक प्रेरणादायी संस्थाको रूपमा जिल्लामा स्थापित बन्दै गएको छ।
प्रेमचन्द्र झा,साउन ७ गते
रौतहट । जिल्लामा दुई दिनको अन्तरालमै सिचाइका लागि मोटर चलाउँदा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ।
बुधबार बिहान ७ बजेतिर रौतहटको माधव नारायण नगरपालिका–४ बिसनपुर्वा मानपुरका करिब ४० वर्षीय रामबाबु मुखियाको करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै खेतमा सिचाइ गर्न मोटर चलाउने क्रममा विद्युत प्रवाह भएको तारले छोएपछि उनी गम्भीर घाइते भएका थिए। तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर ल्यादा पनि बिहान ७:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। शव सोही अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हिजो मंगलबार दिउँसो १ बजे रौतहटको कटहरिया नगरपालिका–२ जमुनियाका करिब ५२ वर्षीय मोक्तार देवानको पनि त्यस्तै घटनामा ज्यान गएको थियो। उनी पनि आफ्नै खेत सिचाइ गर्नका लागि मोटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। तत्कालै गरुडा स्थित ग्राण्डी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव पोस्टमार्टमका लागि गौर अस्पताल पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले दुवै घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। खेत सिचाइका क्रममा सुरक्षाका मापदण्ड नअपनाउँदा करेन्ट लाग्ने घटनाहरू बढिरहेका छन्। स्थानीय प्रशासनले यसप्रकारका दुर्घटना न्यूनीकरण गर्न सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन।
काठमाडौं, ७ गते साउन ।
सामाजिक सुरक्षा कोषले आ.व. २०८१/८२ मा उल्लेखनीय प्रगति गर्दै कुल २३ लाख ७४ हजार ४८६ जना श्रमिकलाई सामाजिक सुरक्षा योजना अन्तर्गत आवद्ध गराएको जनाएको छ । कोषले औपचारिक, वैदेशिक, अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरूलाई समेट्दै सामाजिक सुरक्षाको दायरा निरन्तर विस्तार गरिरहेको छ ।
प्रेस विज्ञप्ति अनुसार, कोषमा आवद्ध रोजगारदाता संख्या २० हजार ९५१ पुगेको छ भने यस आ.व. मा मात्रै ८ लाख ८२ हजार ९४६ जना नयाँ श्रमिक आवद्ध भएका छन् । औपचारिक क्षेत्रमा ६ लाख ०१ हजार ८२५, वैदेशिक क्षेत्रमा १७ लाख ७१ हजार ५३७ र अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा १ हजार १२४ जना श्रमिक समावेश भएका छन् ।

कोषले यस आ.व. मा मात्रै रु २५ अर्ब ३६ करोड योगदान संकलन गरी कूल योगदान रकम रु ८३ अर्ब ६५ करोड पुर्याएको छ । सामाजिक सुरक्षा योजनाहरु अन्तर्गत औषधि उपचार, दुर्घटना, अशक्तता, आश्रित परिवार तथा वृद्ध अवस्था योजना मार्फत विभिन्न शीर्षकमा रु १५ अर्ब ७५ करोड भुक्तानी गरिएको छ ।
औषधि उपचार तथा मातृत्व सुरक्षा योजनामा १,१०,६९६ जनालाई २ अर्ब १५ करोड, दुर्घटना तथा अशक्तता योजनामा ५,९३३ जनालाई २० करोड, आश्रित परिवार योजनामा ७४५ जनालाई २६ करोड र वृद्ध अवस्था योजनामा १,१२,८६८ जनालाई १३ अर्ब १३ करोड भुक्तानी गरिएको कोषले जनाएको छ ।

यस आ.व. मा मात्रै ३ लाख ६२ हजार दावी भुक्तानीमार्फत रु ५ अर्ब ८७ करोड प्रदान गरिएको छ। विशेष सापटी, घर सापटी र शैक्षिक सापटी योजनाहरु मार्फत ३४ हजार ९७ जनालाई कुल ७ अर्ब ४ करोड भुक्तानी गरिएको उल्लेख गरिएको छ।
स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यस आ.व. मा २४ वटा नयाँ स्वास्थ्य संस्था स्वचालित प्रणालीमा आबद्ध गरिँदा हालसम्म १०७ संस्थामा ‘Dedicated Line’ मार्फत सेवा दिइएको छ। साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुविधाका लागि १२ वटा वित्तीय संस्थासँग सम्झौता गरिएको छ ।
सामाजिक सुरक्षा योजनाको दायरा व्यापक बनाउन औपचारिक क्षेत्रका श्रमिकहरुको परिवारमा समेत स्वास्थ्य सेवा विस्तार गरिएको छ । अस्पतालमा भर्ना भई उपचार गराउँदा अब १० लाखसम्मको खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधा उपलब्ध हुने कोषले जनाएको छ ।
कोषका अनुसार आगामी चार वर्षमा श्रमिक र उनीहरूको परिवारको स्वास्थ्य जिम्मा कोषमार्फत लिने गरी योजना निर्माण भइरहेको छ । यस अभियानले राज्य प्रतिको अपनत्व भावना बढाउने र सामाजिक सुरक्षा कोषलाई राष्ट्रिय पुँजी परिचालनको माध्यम बनाउने विश्वास व्यक्त गरिएको छ ।
कोषले सामाजिक सुरक्षाका माध्यमबाट दिगो सामाजिक संरक्षण, समावेशी श्रम बजार र उत्पादनशीलता अभिवृद्धिमा योगदान पुर्याउने रणनीति अनुसार काम गरिरहेको छ । कोषको दायरा विस्तार र सबै नागरिकलाई समेट्ने उद्देश्यका साथ योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई सबैका लागि बनाउने दृढता दोहोर्याइएको छ ।
काठमाडौं —
जिल्ला प्रशासन कार्यालय काठमाडौँले ब्लु डायमन्ड सोसाइटीभित्रको अनियमितता छानबिन गर्ने भएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उजुरीपछि अनियमितता छानबिन गर्ने प्रक्रिया सुरु भएको प्रशासनले जनाएको छ।
प्रशासनले ब्लु डायमन्डभित्रको अनियमितता छानबिन गर्न उजुरी परेपछि ७ दिने समय दिएर पत्र काटेको सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति राम रिजालले जानकारी दिए।
शुक्रवारको मितिमा तयार भएको पत्र सोमबार मात्रै ब्लु डायमन्डले बुझेको उनले बताए। “प्रशासन कार्यालयमा आएर पत्र लिएर जानु भएको छ, ७ दिनभित्र लिखित जवाफ दिन भनेका छौँ,” उनले भने।
प्रशासनको सङ्घसंस्था हेर्ने शाखाबाट आइतबार सोसाइटीकी तत्कालीन अध्यक्ष सञ्जीव गुरुङ (पिंकी) लाई फोन गरेर पत्र लिन आउन भनिएको थियो। “२ बजेसम्म मिटिङ छ, ५ बजेसम्म आउँछु भने पनि भोलिपल्ट मात्र पत्र बुझेको थाहा भएको छ।”
पत्र बुझेको भोलिपल्टै सोसाइटीविरुद्ध उजुरी गर्नेहरू “को को रहेछन्?” भन्दै प्रशासन कार्यालयमा सोसाइटीबाट भन्दै तीन जना पुगेका थिए। “पत्रको जवाफ दिनुहोस्, उजुरीको नाम किन चाहियो?” भनेपछि “गएछन्,” सहायक प्रमुख जिल्ला अधिकारी रिजालले भने, “अब जवाफ कुर्छौँ।”
ब्लु डायमन्डका संस्थापक अध्यक्ष सुनिल बाबु पन्त र सदस्यहरूको साथ पाएकी नुमा लिम्बु चञ्चलाले छ्यापछ्याप्ती समाचारमा आएको “नाम समेत नपढ्ने घमन्डी” को संज्ञा दिइन्। “उजुरी गर्नेको नाम पनि थाहा रैनछ? समाचार पढ्दा रैनछन् क्यारे,” चञ्चलाले भनिन्।
चञ्चलाले सोसाइटीकी भूमिका श्रेष्ठले प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई फोन गरेको पनि थाहा पाएको सुनाइन्। “भूमिकाको पनि मिलेमतो रहेछ कि क्या हो?” चञ्चलाले शङ्का व्यक्त गरिन्, “भूमिका त्यसरी अनियमितताको ढाकछोप गर्न नलाग्नु पर्ने हो।”
समुदायका झन्डै सय जना व्यक्तिहरूले हस्ताक्षर गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दिएको उजुरीमा संस्थाभित्र “व्यापक आर्थिक दुरुपयोग, लैङ्गिक रूपान्तरणको नाममा अवैज्ञानिक अभ्यास र समुदायको नाममा व्यक्तिगत लाभ लिने कार्य हुँदै आएको” लेखिएको छ।
प्रशासन कार्यालयले संस्थाको “वार्षिक विवरण, कार्यक्रम, आन्तरिक संरचना, निर्णय प्रक्रिया, स्रोतको विवरण, लगत र भौतिक सम्पत्तिको विवरण” पेस गर्न भनेको छ। उजुरीमा माग गरिएकै विषयमा जवाफ मागेको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताए।
“लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको नाममा स्थापित संस्था अहिले समुदायकै लागि असुरक्षित स्थल बन्दै गएको” जस्ता आरोप नै आरोप सदस्यहरूले लगाएका छन्। सन् २००८ देखि साधारण सभा नगरेको, वरिष्ठ प्राविधिक सल्लाहकारको पदमा बस्न उपाध्यक्ष उमेश श्रेष्ठलाई प्रश्न उठेपछि मात्र सन् २०२५ मा अध्यक्ष पद हस्तान्तरणको नाटक गरेको आरोप समुदायका सदस्यहरूले लगाएका छन्।
“सडकमा बधाई माग्न जानेहरूसँग हप्ता असुली गरेको, संस्था भित्रका निर्णयहरू खुला छलफलबिना बन्द कोठामा गरिएको, नयाँ सदस्यता नथपिने, असहमति जनाउनेहरूलाई निकाल्ने” जस्ता प्रवृत्ति हाबी भएको उजुरीको जवाफ दिन अब ब्लु डायमन्ड सोसाइटी बाध्य बनेको छ।
संस्थापक अध्यक्ष पन्तले “पटकपटक छलफलका लागि समय माग्दा नदिएको” सार्वजनिक मन्तव्य नै दिएका छन्। चञ्चलाले “घर भित्रको विवाद घरभित्रै समाधान गर्न धेरै प्रयास गरेको” बृहत् नागरिक आन्दोलनले अघिल्लो साता गरेको छलफलमा व्यक्त गरेकी थिइन्।
“तेस्रोलिंगी पहिचान बोकेका व्यक्तिहरूलाई जबरजस्ती पुरुष वा महिला कोटिमा रूपान्तरण गरिनु, जथाभाबी हर्मोन थेरापी र लैङ्गिक रूपान्तरण सर्जरीका लागि प्रोत्साहन गरिनु, ‘सम्मान गृह’ को नाममा सञ्चालित संरचनाहरू यौन गतिविधिको आश्रयस्थलमा रूपान्तरण हुनु, लैङ्गिक अल्पसङ्ख्यक युवाहरूलाई मानसिक यातना दिइनु, काउन्सिलरको नाममा असम्वेदनशील र अपरिपक्व व्यक्ति राखिनु, पारदर्शी प्रणाली नहुँदा दातृ संस्थाहरूको सहयोग गलत हातमा पर्नु, राज्यको बजेट अपारदर्शी रूपमा खर्च हुनु” लगायतका उजुरीको पनि संस्थाले लिखित जवाफ दिनु पर्नेछ।
उजुरीमा संस्थाले प्राप्त गरेको “जग्गा, भवन र स्रोतहरू सीमित व्यक्तिको हितमा प्रयोग भएको” भन्दै कडाइका साथ छानबिनको माग गरिएको छ। “समुदायको नाममा खुलेको संस्था समुदायकै लागि असुरक्षा र विभेदको माध्यम बन्नु अत्यन्त दुःखद र लाजमर्दो अवस्था हो,” उजुरीमा भनिएको छ।
उजुरीकर्ताहरूले “समावेशी सहभागिता सुनिश्चित गर्न साधारण सभा तुरुन्त बोलाउनुपर्ने, संस्थाको संरचना परिवर्तन गरिनुपर्ने, समावेशी सदस्यता नीति ल्याइनुपर्ने र पूर्वाग्रही कार्यशैलीमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने” माग राखेका छन्।
उनीहरूले ब्लु डायमन्डका गतिविधिहरूमा स्वतन्त्र छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, समाज कल्याण परिषद् र अन्य निगरानी निकायहरूसमक्ष पनि पहल चालेका छन्।
संस्थाभित्र “पारदर्शिता नहुनु, निर्णय प्रक्रियामा समुदायको सहभागिता नहुनु र संस्थालाई निजी स्वार्थको भर्याङ बनाइनु”लाई संस्थापक अध्यक्ष एवं संविधान सभा सदस्य पन्तले गलत भनेका छन्।
नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान, अधिकार र सामाजिक सम्मानका लागि लामो सङ्घर्ष भएको छ। यस्तो अवस्थामा तिनकै नाममा स्थापना गरिएको संस्था आफ्नै समुदायमाथि अन्याय र विभेदको कारक बनेको आरोप गम्भीर मात्र नभई चिन्ताजनक पनि भएको कुनै पनि संस्थामा आबद्ध नभएका समुदायका अभियन्ताहरूले बताए।
काठमाडौं –
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपाल सरकार र दातृ निकायहरूले छुट्याएको रकम अपारदर्शी ढङ्गले खर्च भएको आरोप तीव्र रूपमा उठ्न थालेको छ।
विभिन्न सामाजिक सञ्जालहरूमा सक्रिय अधिकारकर्मी र अभियन्ताहरूले सार्वजनिक रकमलाई व्यक्तिगत र संस्थागत स्वार्थमा दुरुपयोग गरिएको भन्दै, तत्काल छानबिन र पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि सञ्चालित MSM/TG लक्षित एचआइभी परियोजनामा पनि अनियमितता भएको सार्वजनिक भएको छ। परियोजनामा बाँकी रहेको ८ करोड गायब पारिएको आरोप ब्लु डायमन्ड सोसाइटीमाथि लागेको छ।
लिड नेपाल, झापा दमककी कार्यकारी निर्देशक एवं हाल मायाको पहिचान नेपालमा कार्यरत नुमा लिम्बु (चञ्चला)ले, “बाँकी ८ करोड रकम अहिले कहाँ, कसरी र के उद्देश्यका लागि खर्च भइरहेको छ?” भनेर प्रश्न गरेकी छन्।
USAID/PEPFAR बन्द भएपछि, उक्त परियोजनाको बाँकी रकम ब्लु डायमन्ड सोसाइटीलाई हस्तान्तरण गरिएको थियो। तर, “त्यो रकम अहिले कहाँ, कसरी र के उद्देश्यका लागि खर्च भइरहेको छ?” चञ्चलाले सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गरेकी छन्।
“यति धेरै स्टाफहरू निकालेको अवस्थामा, त्यो पैसा के मा लगाइएको हो?” भनेर प्रश्न उठ्न थालेको छ,” उनले भनिन्, “हामी सबैले माग गर्नुपर्छ, यो रकमको प्रयोगबारे पूर्ण पारदर्शिता होस्।”
उनका अनुसार, यो रकम कमजोर वर्ग र सार्वजनिक स्वास्थ्यको लागि छुट्याइएको हो, व्यक्तिगत वा संस्थागत स्वार्थका लागि होइन। “खर्च विवरण, काम गर्ने सङ्घसंस्थाहरू, लक्षित कार्यक्रम र हालको कार्यान्वयन अवस्था सबै खुलस्त गरिनुपर्छ,” उनले माग गरिन्।
‘सार्वजनिक रकम, सार्वजनिक उत्तरदायित्व’ भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्न, चञ्चलाले नागरिक, अधिकारकर्मी र सरोकारवालाहरूलाई आवाज उठाउन आह्वान पनि गरेकी छन्।
उनको भनाइमा, हालको अवस्थाले समुदायभित्र असन्तोष बढाइरहेको छ। परियोजनाको नाममा आएको करोडौँ रकमले समावेशी स्वास्थ्य सेवा प्रवाहमा सुधार ल्याउने कि फेरि केही व्यक्तिको सम्पत्ति विस्तार गर्ने माध्यम बन्ने भन्ने बहस चर्कँदै गएको छ।
नेपालमा पहिलोपटक कानुनी रूपमा विवाह दर्ता गराउन सफल समलिङ्गी जोडी माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथिको निरन्तर अन्याय र संस्थागत बेवास्ताबारे सार्वजनिक रूपमा आक्रोश व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा मायाको पहिचान नेपालका सचिव पाण्डेले भने, “अन्याय देख्ने आँखाको दृष्टि किन फरक? रवि लामिछानेलाई अन्याय भयो भन्दै हस्ताक्षर गर्न दौडिने ब्लु डायमन्ड सोसाइटीका पात्रहरू, दशकौँदेखि हामीमाथि हुँदै आएको अन्याय देख्दैनन् किन?”
“न त समुदायले गरिबी निवारण पायो, न सम्मान, न सुरक्षाको हक, न स्वास्थ्य, न राम्रो शिक्षा, न रोजगार। हामी बाँचेका छौँ लाञ्छना, बेवास्ता र हिंसामा। हाम्रो पीडा ट्रेन्ड होइन, सधैँ चुप बस्ने विषय होइन। अन्यायको मापदण्ड तिमीहरूको सुविधा अनुसार चल्दैन,” पाण्डेले फेसबुकमा लेखेका छन्।
उनले स्पष्ट पारे, “यो कानुन तिमीहरूको जागिरको हिस्सा होइन, साझा सम्पत्ति हो। हामी अब चुप छैनौँ, भण्डाफोर हुनेछ।”
समानताको नाममा समुदायलाई सधैँ यौन पेसामा मात्रै सीमित राख्ने प्रवृत्तिप्रति पनि पाण्डेले आपत्ति जनाए। “कहिले व्यवसायकरण, कहिले उपयोग? सधैँ इस्टनबाजीले हामीलाई थिचेर राखिन्छ। यो समुदायले अब बुझिसकेको छ, छारो हाल्ने खेल धेरै भयो।”
“लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकार केही ५–१० जनाको होइन। यो सिङ्गो समुदायको विषय हो। केहीको घमन्ड र अहङ्कारले नेपालको कानुनलाई किन्ने सपना देख्न छाड। यो कानुन बिक्दैन, हामीले बेच्न दिँदैनौँ,” पाण्डेले कडा शब्दमा चेतावनी दिए।
नेपालमा पहिलोपटक कानुनी रूपमा मान्यता प्राप्त समलिङ्गी विवाह दर्ता गराउन सफल बनेका माया र सुरेन्द्रको आवाज, अब व्यक्तिगत पीडाभन्दा पर पुगेर संस्थागत उत्तरदायित्व, न्याय, र समान अधिकारको लडाइँमा बदलिएको देखिएको छ।
अधिकारकर्मी सञ्जीवनी लामा (सन्ध्या)ले फेसबुकमा लेखेकी छन्, “हात्तीको एउटा दाँत देखाउने र अर्को चपाउने हुन्छ रे, अहिले त्यस्तै अवस्था छ। सङ्घसंस्थालाई दातृ निकायले दिएको रकम माथि पोस्टमा बसेर काम गर्नेहरूका लागि ब्रह्मलुट भइरहेको छ। यस्तो कार्यको निष्पक्ष छानबिन अति आवश्यक छ।”
यस्तै, सामुदायिक सरोकारवाला अमर तामाङ बलको भनाइमा, “समुदायका लागि भनेर छुट्याइएको रकम कुनै हालतमा दुरुपयोग हुनुहुँदैन। पीडित समुदाय मरेको मर्यै, रकम कुम्ल्याउनेहरू खाएर छेरेको छेर्यै। यो स्वीकार्य छैन। कानुनी रूपमा तत्काल पारदर्शी खर्च विवरण सार्वजनिक गर्नुपर्छ।”
समुदाय सुधार अभियानका अभियन्ता देवेन्द्र बहादुर खत्रीले फेसबुकमा संक्षिप्त टिप्पणी गर्दै लेखेका छन्, “बिजेतीमा हक पुगेका रहेछन्, यो नील हिरा समाजका सदस्य–अध्यक्षहरू।”
समाज सुधार, समानता र पारदर्शिताको माग गर्दै उठेका यस्ता प्रश्नहरूलाई बेवास्ता गर्न नसकिने अधिकारकर्मीहरूको भनाइ छ। उनीहरूले सार्वजनिक स्वास्थ्य र कमजोर समुदायको नाममा आएको सहयोगको दुरुपयोग हुँदा, त्यसको असर प्रत्यक्ष पीडितहरूमाथि पर्ने भएकाले यसबारे तत्काल छानबिन र जबाफदेही प्रक्रिया सुरु गर्नुपर्ने माग गरेका छन्।
सार्वजनिक रकम, सार्वजनिक उत्तरदायित्व – यही नारामा आवाज उठाइरहेका अधिकारकर्मीहरूले अब कुनै पनि हिनामिना ढाकछोप गर्न नदिने चेतावनी दिएका छन्।
बज्जिकाञ्चल संवाददाता,रौतहट, ०६ गते साउन ।
नेपाली काँग्रेस रौतहटले गौर नगरपालिकामा स्थायी पार्टी कार्यालय निर्माणका लागि ५ कठ्ठा ९ धुर जग्गा खरिद गरी ऐतिहासिक पहलको थालनी गरेको छ । जिल्ला सभापति एवम् मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादवको दृढ संकल्प र नेतृत्व क्षमताले यो कार्य सफल भएको हो ।
सभापति यादवले उक्त अवसरमा प्रतिक्रिया दिँदै भने, “नेपाली काँग्रेस जस्तो विचार र सिद्धान्तमा आधारित पार्टीलाई संस्थागत गराउने बाटो भौतिक संरचनाबाट सुरु हुन्छ । गौरमा हाम्रो आफ्नै कार्यालय हुनु केवल भौतिक उन्नति मात्र होइन, यो संगठनको आत्मसम्मानको प्रतीक पनि हो।”
उनले थपे, “रौतहटमा काँग्रेस पार्टीले देश र मधेश आन्दोलनमा अग्रणी भूमिका खेलेको गौरवपूर्ण इतिहास छ। सोही गौरवलाई आत्मसात गर्दै सबै कार्यकर्ताको अपनत्व हुने किसिमले कार्यालय भवन निर्माण गरिनेछ।”
नेपाली काँग्रेसले वर्षौंदेखि भाडाको संरचनाबाट पार्टी सञ्चालन गर्दै आएपनि अब भने स्थायी संरचना निर्माणको बाटो खुलेको छ। यो अभियान मधेश प्रदेश समितिका सभापति कृष्णप्रसाद यादवको मार्गदर्शन तथा पार्टीका जिल्ला सचिव मिथिलेश कुमार मिश्र लगायतका नेपाली काँग्रेसका नेताहरूकाे सक्रियतामा अघि बढाइएको हो ।
जग्गा खरिदका लागि आवश्यक सबै प्राविधिक, कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरिएको सचिव मिश्रले जानकारी दिए । उनका अनुसार, खरिद गरिएको जग्गाको मूल्य प्रति कठ्ठा रु २५ लाख रहेको छ, र यसमा जिल्लाका विभिन्न नेताहरू, कार्यकर्ता, शुभेच्छुक र चन्दा सहयोगदाताको उल्लेखनीय भूमिका रहेको छ ।
विश्लेषकहरूका अनुसार, यो निर्णयले पार्टीभित्र संरचनात्मक सुदृढीकरणमा नयाँ आयाम थप्नेछ। यसले कार्यकर्तामा ऊर्जा थप्ने, संगठनमा स्थायीत्व ल्याउने र जिल्लाको राजनीतिक भूमिकामा काँग्रेसको उपस्थिति थप प्रष्ट बनाउने अपेक्षा गरिएको छ ।
सचिव मिश्रले भने, “पार्टी कार्यालयको निर्माणले काँग्रेसप्रति प्रेम, समर्पण र निष्ठा भएका सबैमा उत्साह थपेको छ।”
सभापति यादवको नेतृत्वमा अघि बढाइएको यो कदम केवल तत्कालीन आवश्यक्ता पूरा गर्ने कार्य होइन, भविष्यप्रति गरिएको दीर्घकालीन लगानी हो, जसले रौतहटको काँग्रेस इतिहासमा नयाँ युगको थालनी गर्ने विश्वास गरिएकाे छ ।
आरके श्रीवास्तव,राैतहट,०६ गते साउन ।
नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा सोमबार रौतहटको चन्द्रपुर नगरपालिका–८, सन्तपुर बेतौनास्थित कोटिहोम परिसरमा वृक्षारोपण तथा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस रौतहट जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न सो कार्यक्रममा दर्जनौं प्रजातिका बिरुवाहरू रोपिएका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका मधेश प्रदेशका अर्थमन्त्री तथा कांग्रेस रौतहटका जिल्ला सभापति सुनिलकुमार यादवले वीपी कोइरालाको योगदान आज पनि प्रेरणादायी रहेको उल्लेख गरेका छन् ।

उनले भने, “महामानव वीपी कोइरालाले नेपालको मात्र होइन, भारतको स्वतन्त्रता आन्दोलनमा समेत ऐतिहासिक भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले देखाएको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मार्ग आजको सन्दर्भमा झन् सान्दर्भिक बनिरहेको छ।”
मन्त्री यादवले वर्तमान राजनीतिक परिवेशमा वीपीका मूल्य र सिद्धान्तलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै वीपी कोइरालालाई शोषित, पीडित र वञ्चित वर्गको मुक्तिको संवाहकको रूपमा स्मरण गरेका छन् ।
कार्यक्रममा अन्य वक्ताहरूले पार्टी सुदृढीकरणका लागि संगठनात्मक अनुशासन र विचारप्रति प्रतिबद्धता आवश्यक रहेको बताए ।
वि.सं. १९७१ भदौ २४ गते जन्मिएका वीपी कोइराला २०१६ जेठ १४ गते नेपालका प्रथम प्रजातान्त्रिक प्रधानमन्त्री बनेका थिए । २०३९ सालको साउन ६ गते उहाँको निधन भएको थियो । नेपाली कांग्रेसले प्रत्येक वर्ष यस दिनलाई “वीपी स्मृति दिवस” का रूपमा देशभर विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । राैतहटमा मनाईएकाे साे कार्यक्रममा नेपाली काँग्रेस राैतहटका नेतागणहरूकाे सहभागीता रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,०६ गते साउन ।
रौतहटको गरुडा नगरपालिका–४ स्थित नापी कार्यालय नजिकै चेकजाँचको क्रममा प्रहरीले ठूलो परिमाणमा लागुऔषध जस्तो देखिने गाँजा बरामद गरेको छ । मङ्गलवार बिहान करीब ८:३० बजे चपुर–गौर सडकखण्डमा चेकजाँचको क्रममा एक कार भागेपछि प्रहरीले उक्त सवारी साधन झाझपुल नजिकै सडकको पश्चिम साइडमा खाल्टोमा करीब १० फिट तल फसेको अवस्थामा फेला पारेको थियो ।
चेकजाँच गर्दा ग ३ च ६८९६ नम्बरको रातो रङको कारको डिक्कीमा प्लास्टिकका १३ वटा पोका फेला परेका छन् । जसमा अन्दाजी १३३ केजी लागुऔषध गाँजा जस्तो देखिने पदार्थ लुकाइएको थियो । गाडी चालक भने घटनास्थलबाट फरार भएको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाडी र लागुऔषध इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखिएको छ । फरार चालकको पहिचान र खोजी कार्य तीव्र रूपमा भइरहेको ईप्रका गरूडाका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।
प्रहरीले लागुऔषध कारोबार नियन्त्रण गर्ने उद्देश्यले सडकमा निगरानी र चेकजाँच कार्यलाई अझ सशक्त बनाइरहेको जनाएको छ।