इन्दीप कोइराला,बारा, २९ वैशाख ।
जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुहीमा पिकअपको ठक्करबाट बसमा सवार यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा कालिकामाई गाउँपालिका २ का नागेन्द्र महतो रहेका छन् ।
वीरगन्जबाट काठमाडौंतर्फ जादै गरेको ना६ख ९३६१ नम्बरको बसलाई विपरीत दिशाबाट आएको प्रदेश २-३ -००१ च २४५२ नम्बरकाे पिकअपले ठक्करबाट दिँदा ५२ वर्षीय महतोको मृत्यु भएको हो । पिकअपले बसलाई ठक्कर दिँदा झ्यालबाट टाउको निकालेका महतोलाई गम्भीर चोट लागेको थियो । घटनालगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पथलैया-वीरगन्ज व्यापारिक मार्गअन्तर्गत भलुही चोकमा घटना भएको हो । बस र पिकअपका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
काठमाडौं, २९ वैशाख
‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स २०२३’ मा सहभागी हुन बंगलादेशको राजधानी ढाका पुगेका परराष्ट्र मन्त्री एनपी साउद र सोही सम्मेलनमा भाग लिन पुगेका भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।
दुई नेताबीच भेट भएको तस्बिर सामाजिक सञ्जाल ट्विटरमा सेयर गर्दै भारतीय विदेश मन्त्री जयशंकरले दुई पक्षीय सम्बन्ध, विद्युत, कनेक्टिभिटी र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको उल्लेख गरेका छन् ।
साथै, परराष्ट्र मन्त्री साउदलाई जयशंकरले बधाई पनि दिएको उल्लेख गरेका छन् ।
शुक्रबार र शनिबार २ दिन चल्ने उक्त कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री साउद ढाका प्रस्थान गरेका थिए ।
रौतहट, वैशाख २८ ।
रेड टेलिभिजनकी संस्थापक स्वर्गीय श्रीमती रामा देवी यादवको पूण्यतीथिको अवसरमा प्रदान गरिने “रामा यादव स्मृति पत्रकारिता पुरस्कार” २०८० बाट प्राईम टेलिभिजनका संचारकर्मी सिर्जना कार्कीलाई प्रदान गरिएको छ ।
श्रीमती रामा यादव स्मृति प्रतिष्ठानद्धारा विहिवार रेड टेलिभिजनको सभा हल गौरमा आयोजित एक कार्यक्रमबीच आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले संयुक्त रुपमा कार्कीलाई उक्त पुरस्कारको राशी र प्रमाण पत्र प्रदान गरेको हो ।
यसैगरी रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट पोखराको पत्रकार अनिषा जयन्ती श्रेष्ठलाई आजै उक्त कार्यक्रममा नगद प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको रेड टेलिभिजनका संयोजक जयप्रकाश यादवले जानकारी दिए ।
२६ हजार पाँच रोपइयासहित उक्त पत्रकारिता पुरस्कार स्वास्थ्य क्षेत्रमा रहेका विकृति एवं विसंगति हटाउनमा कलम चलाउने महिला पत्रकारलाई पुरस्कृत गर्दै आएको बताइएको छ ।
रामा यादव स्मृति पत्रकारिता परस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले कोरोना कालमा जोखिम मोलेर पत्रकारिता गर्दै आएका कतिपय संचारकर्मीहरुले ज्यान गुमाउनु परेको दुःखद अवस्थालाई स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई दुर गर्न अथक प्रयास गरेका संचारकर्मीहरुका लागि रामा यादव स्मृति पत्रकारिता पुरस्कारबाट संचारकर्मीहरुलाई राम्रो अवसर प्रदान गरेको चर्चा गरे ।
उनले पत्रकारिता पेशा समाज प्रति उत्तरदायी भएर काम गर्नुपर्ने जिकिर गर्दै तराई मधेशका जिल्लाहरुमा देखिएका कुरितीहरुलाई हटाउदै स्वच्छ, निष्पक्ष, सत्य पत्रकारिता गर्न सम्पूर्ण संचारकर्मीहरु संग आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले संचारकर्मीहरुको काँधमा ठूलो जिम्मेवारी रहेको हुँदा सत्य, तथ्य, बस्तुपरकलाई ख्याल गर्दै रिर्पोटिंग गरेमा मात्रै समाचारको उद्देश्य पुरा हुने बताए ।
पत्रकार समाजको ऐना हुन्छ, ठिक त्यसै रुपमा संचारकर्मीहरु आफूहरुलाई त्यसैमा रुपमान्तरित गरेर पत्रकारिता गरेमा समाज, जिल्ला र राष्ट्रमा खोजे जतिको परिवर्तन हुने र देश विकासको गतिमा अघि बढ्ने धारणा उनले राखे ।
साथै एक पत्रकारले गर्नुपर्ने काम कत्र्तव्यलाई बुझेर मात्रै पत्रकारिता गर्नुपर्ने अन्यथा फेसबुके पत्रकारिताको कुनै औचित्य नरहेको स्पष्ट पारे ।
उक्त कार्यक्रममा नेपाल प्रहरीका एसपी विरबहादुर बुढा मगर, सशस्त्र प्रहरीका एसपी माधव रेग्मी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक चन्दन झा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष प्रविण शर्मा, सचिव मदन ठाकुर, दिनेश यादव, राकेश यादव, किशोरी यादव, चञ्चल झा लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
रन्धिर साह, रौतहट, वैशाख २८ ।
पासपोर्ट बनाउँनका लागि अनलाइन आवेदन फर्म भर्नमा विचौलियाहरुबाट ठगिदै आएका आम नागरिकहरुको हकमा जिल्ला प्रशासन कार्यालय रौतहटले आवेदन फर्म भर्ने व्यवस्थापन कार्यालय भित्रै मिलाएको छ ।
पासपोर्टको लागि आवेदन फर्म भर्न बाहिर साइवरहरुले सेवाग्राीसंग अनावश्यक रकम लिएर ठगिदै आएको गुनासो बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय (जिप्रका) रौतहटले गम्भीर भएर कार्यालयमै आवेदन फर्म भर्ने व्यवस्थापन मिलाएर अनावश्यक रुपमा विचौलियाहरुबाट ठगिने कार्यलाई नियन्त्रण गर्न यस्तो व्यस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताएका छन् ।
आउदो जेठ ८ गतेसम्म परिक्षण अवधी राखेर जेठ ९ गतेदेखि विधिवत रुपमा जिल्ला प्रशासन कार्यालयमै पासपोर्टको लागि आवेदन फर्म अनलाइन भर्ने व्यवस्थापन गर्दा ग्रामिण भेगबाट आउने सेवाग्राहरुलाई सुविधा पुग्ने तथा अनावश्यक रुपमा विचौलियाहरुको चंगुलबाट जोगिने उनले बताए ।
जनताहरुलाई प्रत्यक्ष रुपमा सहज र सरल ढंगबाट सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालयबाट त्यस्तो व्यवस्थापन गरिदा जनताहरुलाई निकै राहत पुग्ने प्रजिअ मिश्रले विश्वास गरेका छन् ।
सिन्धुली, वैशाख २८ गते ।
सिन्धुलीमा रक्षा संवाददाता अभिमूकरण कार्यक्रम सम्पन्न भएको छ । श्री मध्य पूर्वि पृतना हेड क्वाटर अन्तर्गत श्री ९ नम्बर बाहिनी अड्डा माझिटार ब्यारेकमा सञ्चालित चारदिने तालिम आज (बिहिबार) समापन्न भएको हो । राष्ट्रिय गानबाट सुरू भएको कार्यक्रम श्री मध्य पूर्वी पृतना हे.क्वा.का पृतनापति उप रथी प्रेम ध्वज अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो ।

अभिमूखिकरण कार्यक्रममा सेनाको काम, कर्तव्य, अधिकार र नेपाली सेनाले देशको रक्षाको अलावा राष्ट्रिय सम्पदा संरक्षण, विकास निर्माणको काम लगायको विभिन्न क्षेत्रमा सेनाको महत्वपूर्ण भूमिका बारे जानकारी गराईएको थियो । विदाई समारोह कार्यक्रमलाई समापन गर्ने क्रममा सम्बोधन गर्दै पृतनापति अधिकारीले यस प्रकारको कार्यक्रमले फरक व्यवसायीक विशेषता तथा जिम्मेवारी बोकेको नेपाली सेना र सञ्चारकर्मीबीचको पारस्परिक सम्बन्ध मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।

उनले भने नेपाली सेनाले काम गर्दै आएको अधिकार गर्दै राष्ट्रिय सुरक्षा, विकास निर्माण, प्रकृति संरक्षण तथा विश्व शान्ति प्रवर्द्धन जस्ता अति नै संवेदनशिल विषयमा सकारात्मक जनाधार श्रृजना गर्ने कार्य केवल सञ्चार जगतले काम गर्न सक्दछ । कार्यक्रम सहभागीहरूले गहिरो अभिरुचि र सक्रियता सहभागीतालाई दृष्टिगत गर्दा विषयवस्तु सम्बन्धि आधारभूत ज्ञान हासिल प्राप्त भएको भनी विश्वास व्यक्त गर्नु भयो ।

उनले भने यस कार्यक्रम पश्चात् आउँदा दिनहरूमा नेपाली सेना सम्बन्धित समाचार संकलन तथा संप्रेषणमा सहजता र स्पष्टता र सिघ्रता प्रदान हुँने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो ।

कार्यक्रममा नम्बर ९ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी शक्तिजंग वस्नेत लगायतको सहभागिता रहेको थियो । चार दिनसम्म सञ्चालन भएको रक्षा संवाददाता अभिमुखि कार्यक्रममा हे.कवा.बाट आएका प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए ।

दोलखा, रामेछाप, सिन्धुली, महोत्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र सप्तरी गरि १२ जिल्लाका १९ जना सञ्चारकर्मीको सहभागिता रहेको थियो । सहभागी सबैजना प्रमाणपत्र पनि हस्तान्तरण गरिएको थियो ।साथै ऐतिहासिक सिन्धुली गढि युद्व संग्रहालयमा पत्रकारहरुको टोलीलाई भ्रमण गराईएको थियो ।
इस्लामबाद ।
पाकिस्तानी पुर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि अराजकता मच्चिएको छ ।
उनको पक्राउ पछि भएको हिंसामा परी पेशावरमा ४ जनाको मृत्यु भएको छ भने ९१ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।
मंगलवार पक्राउ परेका पुर्व प्रधानमन्त्री इमरानलाई ८ दिनको लागि एनएबी हिरासतमा पठाइएको छ ।
यसैगरी, इमरानको गिरफ्तारीपछि शान्ति सुरक्षा कायम गर्ने भन्दै इस्लामाबाद, पञ्जाब र केपीमा सेना परिचालन गरिएको छ भने पीटीआईको विरोधपछि पञ्जाबमा मात्रै झण्डै एक हजार पक्राउ गरिएको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ ।
पीटीआईका नेताहरु असद उमरलाई आईएचसीबाट र फवाद चौधरीलाई एससीबाट गिरफ्तार गरिएको छ भने इमरानको गिरफ्तारीमा आईएचसीको फैसलाविरुद्ध पीटीआईले सर्वोच्च अदालत पुगेको छ ।
मुम्बई, २८ वैशाख ।
फिल्म ‘बाहुबली’ निर्देशक एसएस राजामौली आफ्नो लार्जर देन लाइफ फिल्मका कारण चर्चामा आइरहन्छन् । उनले दर्शकलाई ‘मख्खी’, ‘बाहुबली’ र ‘आरआरआर’ जस्ता फिल्म दिइसकेका छन् ।
यी निर्देशक यतिबेला पौराणिक कथा ‘महाभारत’ को कथामा फिल्म बनाउने तयारीमा छन् । राजामौली १० भागमा ‘महाभारत’ बनाउने तयारीमा छन् । ‘मैल महाभारत बनाउँदा एक वर्षको समयावधि लाग्नेछ । जुन १० भागको हुनेछ । म अहिले महाभारत बनाउनका लागि केही न केही सिकिरहेको छु । महाभारत बनाउने मेरो सपना हो । त्यो सपना पुरा गर्नमा दृढ छु,’ उनले भनेका छन् ।
राजामौली फरक शैलीको महाभारत बनाउने सोचमा छन् । ‘महाभारतको कथा त्यही हुनेछ, तर यसका पात्रहरुको काम भने गम्भीर किसिमको हुनेछ । जुन चरित्रका लागि महाभारत लेख्नेछु, त्यो तपाईं हामीले पढेको चरित्र भन्दा फरक हुनेछ’, राजामौली भन्छन् ।
राजामौली हाल महेश बाबुका साथ नयाँ फिल्मको तयारीमा छन् । यो फिल्म हाल प्रि प्रोडक्सन चरणमा छ ।
मुकेशकुमार यादव,सिरहा,२८ वैशाख।
सिरहामा प्रशोधित पिउने पानीको बोतलमा लेउ भेटिएको छ। गोलबजार नगरपालिका १० का वसन्त कुमार महतोले लहानकाे एक पान पसलबाट किनेको ऋषि जल नामक पानीको बोतलमा कागजको टुक्राजस्तो अखाद्य वस्तु देखिएको हो।
तिर्खाएका महतोले पानी किनेर बोतलकाे बिर्काे खाेल्न लाग्दा बोतल भित्र लेउ देखेपछि बोतल सुरक्षित राखि सञ्चारकर्मीहरुलाई देखाएका छन्। उनले बोतलमा भरिएको पानीमा समेत लापरबाही देखिनु जनस्वस्थ्यमाथिकाे खेलबाड भएको बताए । महतोले भने, ‘पछिल्ला दिनहरुमा मानिसले स्वास्थ्यको ख्याल गर्दै बोतलको पानी किनेर पिउने गरे पनि यसको विश्वसनीयता कम हुँदै गएको छ। पानीमा कहिले कागज, प्लाष्टिकको टुक्रा, मरेका किरा आदि देखिन्छ। यो मानव स्वास्थ्य माथिको खेलवाड हो।’
उनले यहाँ उत्पादन हुने पानीको गुणस्तर नियमनकारी निकायले समय सयमा चेक जाँच र नियमित अनुगमन नगर्दा उत्पादकहरुले लापर्वाही गरेको आरोप लगाए।
पानीमा भेटिएकाे विषयमा धारणा लिने क्रममा ऋषि जल उद्योगकाे आफूलाई म्यानेजर बताउने रामलोचन नामका व्यक्तिले ‘तपाइँले लिएको पानीमा फोहाेर पाइएको भए हामीलाई पठाइदिनुस्, कहाँबाट कमजोरी हुन गएछ त्यसलाई कारबाही गर्छु’ भन्ने जवाफ दिए ।
पानीमै फोहाेर कसरी पस्यो त ? भनेर जिज्ञासा राख्दा उनले ‘पत्रकारहरुको काम छैन, बजारमा खसीको मासु भनेर पाठी (बाख्रा) को मासु बेचिरहेको छ। तपाईंहरु देख्नुहुन्न। एउटा पानीको बोतलका कागजको टुक्रा देखियो भनेर यत्रो कुरा गर्नुहुन्छ’ भन्दै गैरजिम्मेवार जवाफ दिए ।
यस विषयमा सिरहा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले मानिसको स्वस्थयसँग खेलवाड गर्ने कसैको अधिकार नरहेको बताए । उनले भने, ‘हामी तत्काल अनुगमन गर्छौ, अनुगमन गरिसकेपछि ल्याब पठाउँछौ ल्याबको रिर्पोट के आउँछ, त्योअनुसार कानुन बमोजिम कारबाही हुन्छ।’
काठमाडौं, २८ वैशाख ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई अहिले नै दोषी र फरार करार गर्न नसकिने बताएका छन् ।
च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले अदालती प्रक्रियाले मात्र दोषी करार गर्न सक्ने बताए । तर, अहिले नै अपराधी हो भनेर करार गर्न नसकिने उनले बताए ।
भ्रष्टाचार प्रकरणमा एमालेका नेताहरु र एमालेको सरकारमा रहेकाहरुको मात्र नाम आएको भन्दै अध्यक्ष ओलीले जोसुकैको नाम आए पनि दोषी भए कारबाही गर्नुपर्ने बताए । तर, अदालतले दोषी सावित गर्नुअघि कसैलाई पनि दोषी आंशका गर्न सकिए पनि दोषी नै ठहर गर्न नसकिने उनको भनाइ छ ।
काठमाडौं, २८ वैशाख ।
नेपाल राष्ट्र बैंकले गत चैत मसान्तसम्म ७५२ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको जनाएको छ ।
चालु आर्थिक वर्ष २०७९÷८० को चैत मसान्तसम्मको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार ७५३ स्थानीय तहमध्ये ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७८ चैतसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।
राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या गत चैतसम्म ११९ रहेको छ । यसमध्ये २१ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६३ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या गत असार मसान्तमा ११ हजार ५२८ रहेकोमा गत चैत मसान्तमा ११ हजार ६४३ पुगेको छ ।
वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् गत चैत मसान्तसम्म २५९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १८५ संस्थाहरुको इजाजत खारेज हुन गई ७४ संस्था कायम भएका छन्।