बुटवल ।
नेकपा एमालेबाट लुम्बिनी प्रदेशको सरकारको नेतृत्व संसदीय दलका उपनेता चेतनारायण आचार्यले गर्ने भएका छन् ।
यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि केन्द्रको निर्देशनपछि आचार्य मुख्यमन्त्री बन्ने भएका हुन् ।
एमाले र कांग्रेसले आचार्यलाई मुख्यमन्त्री बनाउने गरि दाबि पेश गर्ने तयारी गरेका छन् ।
आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका थिए भने उनी माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए । त्यस्तै त्यसअघि लीला गिरी नेतृत्वको सरकारमा आचार्य ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री थिए ।
एमालेका केन्द्रीय सदस्य समेत रहेका आचार्य अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद हुन् । न्युज कारखाना
सुर्खेत ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । सोमबार माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिदै सरकार छोडेका हुन् ।
माओवादी केन्द्रबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री विरबहादुर शाही, उर्जा तथा जलस्रोत मन्त्री रणसिंह परियार र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग रावतले राजीनामा दिएका छन् ।
एमाले नेता यामलाल कँडेल नेतृत्वको सरकारमा अब कांग्रेस सहभागी हुने भएको छ । केन्द्रमा कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनेपछि कर्णाली प्रदेशको नेतृत्व एमालेले गर्ने सहमति अनुसार कँडेल नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ ।
योसँगै कर्णालीमा पहिलो पटक माओवादी प्रमुख प्रतिपक्षीमा पुगेको छ । न्युज कारखाना
काठमाडौँ ।
श्रीलंका भ्रमणअघि पत्रकार सम्मेलनमा भारतीय पुरुष क्रिकेट टोलीका नयाँ प्रशिक्षक गौतम गम्भीरले रोहित शर्मा र विराट कोहलीको भविष्यबारे टिप्पणी गरेका छन् ।
प्रशिक्षक बनेपछि पहिलो पटक पत्रकार सम्मेलनमा बोल्दै सोमबार गौतम गम्भीरले दुवै क्रिकेटरले सन् २०२७ को विश्वकपसम्म आफ्नो फिटनेस कायम राख्न सक्ने बताएका छन् ।
उनले भने, ‘मलाई लाग्छ कि उनले टी–२० विश्वकप र ५० ओभरको विश्वकपमा के दिन सक्छन् भन्ने देखाएको छ । मलाई लाग्छ दुबैमा र विशेष गरी च्याम्पियन्स ट्रफी र अष्ट्रेलिया भ्रमणका लागि धेरै क्रिकेट बाँकी छ ।’ उनले भने ‘दुवै धेरै उत्प्रेरित छन् र २०२७ को विश्वकपसम्म आफ्नो फिटनेस कायम राख्न सक्छन् । यो उनको व्यक्तिगत निर्णय हो । म भन्न सक्दिन कि उनीहरुमा कति क्रिकेट बाँकी छ तर यो पूर्णतया उनमा निर्भर छ ।’
गम्भीरले विराट र रोहित अझै पनि विश्व स्तरका खेलाडी रहेको र कुनै पनि टोलीले सकेसम्म लामो समयसम्म उनीहरूलाई साथ दिन चाहने बताए । न्युज कारखाना
काठमाडौँ ।
आज नेपाली बजारमा आज पनि सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मुल्य भने घटेको छ ।
सोमबार सुन तोलाको एक सयले बढेर एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार २ सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ घटेर तोलाको १७९० मा कारोबार भइरहेको महासंघले जनाएको छ । न्युज कारखाना
काठमाडौं ।
नेपाली कांग्रेस सांसद विनोद चौधरीले रवि लामिछानेले आइतबार प्रतिनिधि सभामा आफू लक्षित दिएको अभिव्यक्तिको आपत्ति जनाएका छन्।
पूर्वगृहमन्त्री समेत रहेका रास्वपाका सभापति लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनुसन्धान गरिरहेको हाजिरी जमानीमा छुटेको मान्छे सरकार बने लगत्तै बालकोट पुगेर गीत गाइरहँदा पहिल्यै शंका उत्पन्न भएको बताएका थिए ।
चौधरीले विवादित विगत र बर्तमान भएको र अहिले पनि राज्यको छानविनको घेरामा रहेको व्यक्तिले संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही नभएको बताएका छन् ।
उनले भनेका छन्-
प्रतिनिधिसभाको बैठकमा एक जना माननीयले मप्रति लक्षित गरेर जनतालाई दिग्भ्रमित पार्ने नियतले तथ्यहीन, अत्यन्तै नियोजित र कुण्ठापुर्ण अभिव्यक्ती दिएका छन् ।
जसकाप्रति मेरो घोर आपत्ति छ । विवादित विगत र बर्तमान भएको र अहिले पनि राज्यको छानविनको घेरामा रहेको व्यक्तिले जसरी संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे, ती स्टन्टको राजनीतिबाहेक अरु केही होइन ।
विगतमा सत्ताको चरम दुरुपयोग गरेर प्रहरी प्रशासनलाई चर्को दवाव दिएर ममाथि जुन प्रतिसोध साध्न खोजिएको थियो, हिजोको उनको अभिव्यक्ति त्यही स्टन्टको मानसिकताको निरन्तरता मात्रै हो ।
अन्तराष्ट्रिय संगीत दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँको निवास बालकोटमा भएको कार्यक्रमलाई असान्दर्भिक रुपमा जसरी राजनीतिकरण गर्ने दुष्प्रयास गरिएको छ, त्यो अत्यन्तै निन्दनीय छ । संसद्को रोष्टमलाई कसैको कुण्ठा व्यक्त गर्ने र गलत नियतले अरुमाथि प्रहार गर्ने थलो नबनाउन पनि आग्रह गर्दछु । न्युज कारखाना
काठमाडौँ ।
जो बाइडेन राष्ट्रपतिको दौडबाट बाहिरिएपछि पूर्व राष्ट्रपति बाराक ओबामाले एक विज्ञप्ति जारी गर्दै उनको प्रशंसा गरेका थिए । तर ओबामाले न त कमला ह्यारिसको नाम उल्लेख गरेका छन् न त उनको सम्पूर्ण वक्तव्यमा समर्थन नै गरेका छन् ।
ओबामाले आगामी पार्टीको नेशनल कन्भेन्सनमा आफ्नो पार्टीका नेताहरूले उत्कृष्ट नेता छान्ने आशा पनि व्यक्त गरेका छन् । ओबामाको भनाइपछि विभिन्न अड्कलबाजी सुरु भएको छ ।
बाइडेन राष्ट्रपतिको दौडबाट पछि हट्ने हो भने उनको स्थानमा डेमोक्र्याट पार्टीबाट मिशेल ओबामा राष्ट्रपतिको उम्मेदवार बन्न सक्छिन् भन्ने चर्चा केही समयअघि मिडियामा आएको थियो । तर, मिशेल ओबामाको कार्यालयले यी रिपोर्टलाई गलत घोषित गर्दै मिशेल ओबामाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने स्पष्ट पारेको छ ।
बराक ओबामाको राष्ट्रपतिको कार्यकालमा मिशेल ओबामा निकै लोकप्रिय थिएकी इन् र उनको लोकप्रियता अझै कायम छ ।
बराक ओबामा, प्रतिनिधि सभाका पूर्व सभामुख र डेमोक्र्याट पार्टीका वरिष्ठ नेता न्यान्सी पेलोसीले पनि कमला ह्यारिसको नामलाई समर्थन गरेको घोषणा गरेकी छैनन् ।
मिडिया रिपोर्टका अनुसार डेमोक्र्याट पार्टीका धेरै नेताहरू कमला ह्यारिसले डोनाल्ड ट्रम्पलाई हराउन सक्षम छैनन् भन्ने बुझाई छ । यस्तो अवस्थामा अब सबैको नजर अगस्टमा हुने डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशनमा छ, जसमा पार्टीले राष्ट्रपतिको उम्मेदवारको औपचारिक घोषणा गर्नेछ ।
महाधिवेशन अगाडि नै राष्ट्रपतिको उम्मेदवारको नाममा पनि सहमति हुन सक्नेछ । राष्ट्रपतिको उम्मेदवारीका लागि अन्य कुनै नेताले उम्मेदवारी दिएमा महाधिवेशनमा पार्टीका ६ सय सदस्यको समर्थन प्राप्त गर्नुपर्नेछ ।
जब जो बाइडेनले डेमोक्रेटिक पार्टीको राष्ट्रपतिको उम्मेदवारीबाट फिर्ता लिने घोषणा गर्दै एक विज्ञप्ति जारी गर्दै कमला ह्यारिसको नामलाई समर्थन गरे । धेरै अन्य डेमोक्र्याट नेताहरूले पनि तुरुन्तै कमला ह्यारिसलाई राष्ट्रपतिको लागि समर्थन गरे ।
बाइडेन बाहेक पूर्व राष्ट्रपति बिल क्लिन्टन र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले पनि कमला ह्यारिसलाई समर्थन गरेका थिए । साथै, पेन्सिल्भेनियाका गभर्नर जोश शापिरो, यातायात मन्त्री पीट बुटिगिग, सिनेटर क्रिस कुन्सले पनि कमला ह्यारिसलाई समर्थन गरे । भारतीय मूलकी कांग्रेस महिला प्रमिला जयपाल र ब्ल्याक डेमोक्र्याटका ब्ल्याक ककसले पनि कमला ह्यारिसको राष्ट्रपतिको उम्मेदवारीलाई समर्थन गरेका छन् । न्युज कारखाना
राैतहट,०६ गते साउन । गत असार २८ गते शुक्रबार चितवनको सिमलताल खसेको गणपति डिलक्समा यात्रारत सरोज कुमार साहले चार जनाको पुतला बनाई संस्कृतिअनुसार अन्तिम संस्कार गरेका छन् । त्रिशुली नदीमा बस खसेपछि साह पौडेर बाहिर निस्कन सफल भएका थिए । साहसँगै काठमाडौँबाट घरका लागि सोही बसमा थिए बुवा परशुराम साह, आमा मीनादेवी, भिनाजु नरेश साह र बहिनी रिंकु साह ।
असारको अन्तिम शुक्रबार त्रिशुलीमा खसेको बसमा सँगै यात्रा गरिरहेका धेरै जनाको शव बरामद भए पनि साहका चारै जनामध्ये कसैको पनि शव बरामद भएको छैन । आज शनिवार भारतीय एनडिआरएफको टोलीले सिमलताल क्षेत्रमा उद्धारको काममा लागेको सुनेपछि साह भक्कानिएका छन् । उनी भन्छन् – संस्कृतिअनुसार पुतला बनाएर दाह संस्कार गरिसकेको भए पनि कतै भेटिइहाल्छन् कि भन्ने लागिरहन्छ ।
एकसाथ पाँच जना हिँडेकामा चार आफन्त गुमाई आफू मात्र बाँच्न सफल साह भन्छन् – म आफैँ बाँचेको छु कि मरेको छु भन्ने छुट्याउन पनि कहिलेकाहीँ गाहारो लाग्दछ । भारतीय उद्धारकर्ताको टिमले बसको अवशेषसँगै हराइरहेका आफन्तको सास कि लास फेला पर्ने विश्वास आफूलाई रहेको साह बताउँछन् ।
पुतला बनाई दाह संस्कार गरिसकिएको छ तर श्राद्धकर्मसहित अन्य कर्महरु बाँकी नै छन् । त्रिशुलीमा हराइरहेका यात्रीका आफन्तहरुमा सास वा लास भेटिने आशा छँदैछ । एडिआरएफको टोलीले कुनै निष्कर्षमा पुर्याउने विश्वास रहेको चार जना आफन्त गुमाएर आफू मात्र बाँच्न सफल साहको भनाइ छ ।
रौतहट, ७ साउन । अक्सफार्म नेपालको आर्थिक सहयोग र ग्रामीण विकास केन्द्र नेपालको आयोजनामा सञ्चालित नेपालमा जलवायु परिवर्तन अनुकूलता तथा पैरवी परियोजना अन्तर्गत आइतबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
चालू आर्थिक वर्षमा पहिलो पटक राना खोल्सी र शिजाली खोल्सिमा जैविक टटबन्धन गरिएका क्षेत्रमा चन्द्रपुर १ डाडारोलमा मिक मार्किको रखालको घरदेखि संगिता सिजालीको घरसम्म र चुरे डाडाको छेउछाउमा विभिन्न प्रजातिका ४१० वटा बिरुवा रोपिएका छन्। ती बिरुवाहरुमा कटहर, निम, तेजपात, सैजन, बकाइनो, बेल, अम्बा, तित्री, महग्नी, लिची, कागती आदि समावेश छन् ।
वृक्षारोपण कार्यक्रममा प्रगतिशिल प्राबिका अध्यक्ष नेत्र बहादुर सिजाली, प्रगतिशिल सामुदायिक वनका पदाधिकारीहरु, प्रगतिशिल कृषककी अध्यक्ष संगिता सिजाली लगायत ४० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमबारे जानकारी दिँदै आरडिसी नेपालकी ज्योति फुयालले यो प्रयास स्थानीय पर्यावरणीय सन्तुलन कायम राख्न र जलवायु परिवर्तन न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । यस प्रकारका परियोजनाहरुले जलवायु परिवर्तनको असरबाट बच्न र अनुकूलन गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ। साथै, यसले स्थानीय बासिन्दाहरुलाई वृक्षारोपणमा सक्रिय सहभागिता गराउन प्रेरित गर्ने र वातावरण संरक्षण र भुक्ष्य र कटानलाई न्यूनीकरण गर्न योगदान पुर्याउने उद्देश्य लिएको छ।
काठमाडौँ । राष्ट्रपति जो बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले उनी सक्षम उम्मेदवार नभएको प्रतिक्रिया व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा ट्रम्पले बाइडेन राष्ट्रपतिको उम्मेद्वार हुनका लागि कहिल्यै योग्य नै थिएनन् भन्दै कडा प्रतिक्रिया दिएका छन् ।
ट्रम्पले भनेका छन्, ‘उनी झूट र झुटो समाचारका आधारमा राष्ट्रपति पदमा पुगेका थिए, आफ्नो बेसमेन्टबाट पनि बाहिर निस्केनन् । डाक्टर र मिडिया सहित उनको वरिपरि सबैलाई थाहा थियो, उनी राष्ट्रपति हुन सक्षम छैनन्, र थिएनन् । अब हेर्नुहोस्, उनले हाम्रो देशलाई के गरे, दशौं लाख मानिसहरू हाम्रो सीमा पार गर्दैछन्, जसको न त अनुसन्धान भइरहेको छ, न परीक्षण नै छ ।’
ट्रम्पले अगाडी भनेका छन्- ‘आतंकवादीहरू रेकर्ड संख्यामा आउँदैछन्। उनको राष्ट्रपतिको कारणले हामीलाई धेरै पीडा हुनेछ, तर हामी छिट्टै उनीहरूले गरेको क्षतिलाई ठिक गर्नेछौं ।’
८१ बाइडेनले चौतर्फी दबाब र आफ्नो प्रतिकुल स्वास्थ्यका कारण राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिदै वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवारका लागि समर्थन गरेका छन् ।न्युज कारखाना
काठमाडौँ । बंगलादेशमा बढेको प्रदर्शनपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार आइतबार मात्र ४२० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । जसमा ३०५ जना काकरभिट्टा बोर्डरबाट नेपाल भित्रिएका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म १२ सय विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्रले अहिलेसम्म बंगलादेशमा अध्ययनरत सबै नेपाली विद्यार्थी सुरक्षित रहेको जनाकारी दिएको छ । ढाकास्थित नेपाली दुताबास विद्यार्थीहरु, स्थानीय प्रशासन, कलेजको नियमित सम्पर्कमा रहेको र विधार्थीहरुलाई घरभित्र नै रहन आग्रह गरिएको जनाएको छ ।
बंगलादेशमा आरक्षणविरुद्ध जारी प्रदर्शन चर्किएपछि देशभर कर्फ्यू लगाइएको छ भने इन्टरनेटसहितका सुबिधा बन्द गरिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा सय भन्दा बढीको ज्यान समेत गएको छ । न्युज कारखाना