२०८३ श्रावण ९
२०८३ श्रावण ९

काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को संस्थापक सेयर बैंकले लिलामी बिक्री खुला गरेको छ ।

बैंकले निफ्राको १० लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १०१ रुपैयाँको दरले  आवेदन दिन सक्नेछन् भने न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । यो कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसमा साउन १५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।न्युज कारखाना

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

मंगलबार सुन तोलाको एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि सोमबार पनि सुनको मुल्य तोलाको १ लाख ४६ हजार ३ सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी आज प्रतितोलाको १७९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

रौतहट ।

रौतहटको कटहरियास्थित तलब भत्ताको माग गर्दै नेपाल बिद्यालय कर्मचारी तथा बाल विकास शिक्षक युनियन नगर कार्यसमितिले नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

नगरभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण बिद्यालय कर्मचारीहरू, बाल विकास सहयोगी कार्यकर्ताले तलव र भताको माग गर्दै ज्ञापन पत्रमार्फत आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल विकास सहयोगी कार्यकर्ताले आर्थिक बर्ष २०७९/०८० को वैशाख देखि अषाढ मसान्त सम्मको न्यूनतम थप तलव , यस आर्थिक वर्षको वैशाख देखि अषाढ सम्मको तलब र प्रति महिना दुईहजारको दरले प्रोत्साहन भत्ता समेतको रकम निकासा नभएर कसैले पनि न पाएर कठिनाई भएको छ।

सम्पूर्ण विद्यालय कर्मचारी र सहयोगी कार्यकर्ताले १५ दिन भित्र तलब निकासा नभएमा निम्न अनुसारको आन्दोलन गर्न बाध्य हुनेछौं ज्ञापन पत्रमा भनिएको छ ।

आगामी भदौ २ गतेदेखि ३ गतेसम्म कटहरिया नगरपालिकामा धर्ना बस्ने, भदौ ४ गते हात्तमा कालो पट्टी बाँधेर आआफ्नो विद्यालयमा काम काज गर्ने र भदौ ५ गतेदेखि कटहरिया नगर क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कटहरियास्थित सम्पूर्ण सामुदायिक बिद्यालयहरुमा बिद्यालय कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ता गरी झन्डै ६० जना कार्यरत रहेका छन ।

कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल उपमेयर रिता देवी यादवसहित जनप्रतिनिधि कर्मचारी गरी ११ जना भ्रष्टाचार मुद्दामा अख्तियार द्वारा दोषी ठहर भएर झण्डै १ महिना अघि निलम्बित भएपछि नगरको जवाफदेहिता अन्यौल बनेको छ ।न्युज कारखाना

रौतहट । रौतहटको गरुडा नगरपालिका स्थित झाँझ खोलामा बेवारिसे अवस्थामा एकजना पुरुषको शव बरामद भएको छ ।

गरुडा ५ स्थित झाँझखोलमा नाम वतन नखुलेको अन्दाजी ५०/५५ बर्षको पुरुषको शव बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन ।

आज बिहान ८ बजे खोलाको पानीमा उक्त शव तैरिरहेको अवस्थामा स्थानियले देखेर सुरक्षा बेश दुधियाभारमा जानकारी गराएका थिए।सुरक्षा बेश दुधियाभारका प्रमुख इन्स्पेक्टर संजित कुमार सिंहको कमाण्डमा ५ जना र ईलाका प्रहरी कार्यालय गरुडाबाट  १० जनाको संयूक्त टोलीले उक्त शव लाई बिहान ८बजेर ५० मिनेटमा खोलाबाट बाहिर निकाली घटना स्थलामा मुचुल्क उठाउने कार्य भईरहेको छ ।

बरामद शवको हालसम्म पहिचान नखुलेको तथा पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाईने सशस्त्र प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।न्युज कारखाना

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो र नेइमार जस्ता सुपरस्टार खेलाडी साउदी प्रो लिगमा गएपछि अहिले साउदी फुटबल ठुला खेलाडीको लक्ष्य हुन थालेको छ । अहिले खेलाडीको ट्रान्सफर विन्डो खुली रहेको बेला प्रिमियर लिगका ठुला खेलाडीले साउदी लिग जाने तयारी गरेका छन् ।

यस रिपोर्टमा साउदी प्रो लिगमा जानसक्ने प्रिमियर लिगमा खेलिरहेका हाइप्रोफाइल खेलाडीको बारेमा चर्चा गर्दै छौं ।

यस सूचीमा सबै भन्दा अगाडी आर्सनलबाट खेलिरहेका ब्राजिलका गाब्रियल जिससको नाम रहेको छ । आर्सनलमा पर्याप्त खेल समय नपाएका कारण असन्तुष्ट रहेका जिसस साउदी क्लब अल अहलीमा जानसक्ने बताइएको छ । हाल ब्राजिलको टिममा समेत नपरेका जिसस उनको पुर्व क्लब म्यानचेस्टर सिटीका सहकर्मी रियाद महरेजसँग पुनर्मिलन हुनसक्ने बताइएको छ ।

त्यस्तै ब्राजिलकै अर्को खेलाडी रिचार्लिसनले पनि साउदी लिग जान सक्ने बताइएको छ । हाल टोटनह्यामबाट खेलिरहेका रिचार्लिसनलाई अल अहली क्लबले नै चासो देखाएको छ । यस अघि उनी अल हिलाल जाने चर्चा रहेको थियो ।

साउदी जाने ठुलो खेलाडीको सूचीमा बेल्जियमका प्लेमेकर केभिन डी ब्रुनेको नाम अगाडी आएको छ । हाल म्यानचेस्टर सिटीबाट खेलिरहेका ब्रुनेले सिटी छोड्ने लगभग निश्चित रहेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार ब्रुनेले साउदी क्लब अल इत्तिहादसँग मौखिक सहमति गरिसकेको बताइएको छ । ब्रुने आफैले पनि केहि समय अघि युरोपमा दश बर्ष खेल्दा कमाएको पैसा साउदीमा एक बर्षमा कमाउन सक्ने भन्दै आफु नजिकका सबैले साउदी जान भनिरहेको बताएका थिए ।

त्यस्तै ब्राजिलियन गोलकिपर एडरसन पनि साउदी क्लब जाने लाइनमा रहेका छन् । हाल म्यानचेस्टर सिटीबाट खेलिरहेका एडरसनलाई साउदी क्लब अल इत्तिहादले अफर गरेको बताइएको छ ।

त्यसैगरी हाल लिभरपुलबाट खेलिरहेका ब्राजिलका अर्का गोलकिपर एलिसन बेकरलाई साउदी क्लब अल नासरले अफर गरेको बताइएको छ ।  उनको लिभरपुलका पुर्व सहकर्मी साडियो मानेसँग अल नासरमा पुनर्मिलन हुनसक्ने बताइएको छ ।

त्यस्तै लिभरपुलका स्टार खेलाडी मोहमद सलाहको नाम पनि साउदी लिग जानसक्ने खेलाडीको सूचीमा रहेको छ । सलाहलाई साउदी क्लब अल इत्तिहादले १५० मिलियन युरोको अफर गरेको बताइएको थियो । उनको लिभरपुलमा अब एक बर्ष सम्झौता रहेको छ । यस अवस्थामा उनी लिभरपुलमा खेलिरहने वा क्लब छोड्ने भन्ने विषय अझै स्पष्ट रहेको छैन । तर उनलाई साउदी क्लबले भित्र्याउने पहल भने गरिरहेका छन् ।

त्यस्तै हाल म्यानचेस्टर युनाइटेडमा खेलिरहेका ब्राजिलियन खेलाडी क्यासेमिरोलाई भित्र्याउन अल नासर र अल इत्तिहादले इच्छा देखाएका छन् । म्यानचेस्टर युनाइटेडले पनि क्यासेमिरोलाई बेच्ने बताइएको छ । युनाइटेडले क्यासेमिरोलाई ३० मिलियन युरोमा बेच्ने बताइएको छ ।

त्यसैगरी ब्राजिलियन मिडफिल्डर लुकास पाक्वेटा पनि अल नासरमा जाने सक्ने चर्चा चलेको छ । त्यसैगरी चेल्सीबाट खेलिरहेका स्पेनका गोलकिपर केपा आरिजाबालागा पनि साउदी क्लबको निशानामा रहेका छन् । उनलाई अल इत्तिहादले चासो देखाएको मिडिया रिपोर्टमा बताइएको छ ।न्युज कारखाना

 

८ साउन, महोत्तरी 

जर्मन नागरिक गुड्रन कर्विन्सले महोत्तरीमा फेला पारेको मध्यपाषण युगको हतियार कारखानाको बिषयमा मधेश प्रदेश सरकारले चासो देखाएको छ  ।

जिल्लाको बर्दिवासस्थित पाटुमा रहेको यस ठाँउको थप अध्यन गरी पुरातात्विक पर्यटन केन्द्रकोरुपमा विकास गर्न गुरुयोजना वनाउने मुख्यमन्त्री सतिश कुमार सिंहले वताए ।

होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेशले सोमवार आयोजना गरेको घुमौ मधेश, बुझौ मधेश भन्ने कार्यक्रममा स्थलगत अनुगमनको क्रममा मुख्यमन्त्री सिंहले १० हजार बर्ष पहिला मानवको चहलपहल रहेको बिषय निक्कै रोचक रहेको प्रतिक्रिया दिए ।

पुरातात्विक महत्वका  हिसावले महत्वपूर्ण भएको बताउदै यसलाई संरक्षण गर्न स्थानीय सरकारले समेत योजना वनाउनुपर्नेमा  मुख्यमन्त्री सिंहले जोड दिए ।

सन् १९८५ को दशकमा १० वर्ष लगाएर पाटुको अध्ययन गरेकी थिइ कर्विन्सले  रातो माटोले पुरिएको अवस्थामा हजारौं मध्य पाषण युगका हतियारहरु भेटिएपछि यो नै मध्यपाषण युगको हतियार कारखाना भएको निष्कर्ष निकालेकी थिइन । जुन युग १० देखि १२ हजार बर्ष पहिलाको मानिन्छ ।

उन्ले  आफ्नो किताब (प्रिहिज्टोरिक कल्चर्स इन नेपाल भोलम १, पुष्ट २३९, सन २००७) मा  अहिलेको पाटु र रातु नदी वरपरको मानव सभ्यता भियतनामको सभ्यतासँग मिल्दोजुल्दो भएको र भारतिय सभ्यतासँग कुनै मेल नखाएको पुष्टि गरेकी थिइन ।

कार्विन्सले किताबमा उल्लेख गरेअनुसार ढुंगा, हड्डी वा काठबाट एकातिरको भाग धारिलो बनाएर बनाइएको साना हतियार, ढुंगाका टुक्राहरु हजारौ संख्यामा भेटिएका थिए । तिनीहरुलाइ ३० देखि ७० सेन्टिमिटर मुनि राता माटामा उत्खनन् गर्दा सजिलै भेटिए । अर्को रहस्य त के थियो भने हतियारहरुको स्वरूप भारतमा मध्य पाषण युगमा पाइएका जस्ता थिएनन् । यिनीहरु भियतनाममा पाइएजस्ता भएको हुनाले यांहाका मानवहरु भारततर्फबाट आएको दावी गरे पनि दक्षिणपूर्व तर्फबाट आएका थिए भन्ने संकेत गर्ने पनि उल्लेख गरिएको छ ।

पर्यटकीय गन्तव्यहरुको खोजी गर्ने उदेश्यले होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशले आयोजना गरेको स्थलगत अनुगमनमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँले पनि पाटुको पुरानो मानव सभ्यताको बिषयमा चासो देखाएका छन । नेपालमा पहिलो पटक रेकर्ड भएको १२५५ को शक्तिशाली भूकम्पले समेत  यस क्षेत्रको चुरे पहाड १० फिट माथी उठेको तथ्यहरु फेला परेका छन । यी विवध कारणले पनि यस ठाँउलाई मधेश कै पुरातात्विक केन्द्रकोरुपमा विकास गर्न प्रयास गर्ने मन्त्री मियाँले वताए  ।न्युज कारखाना

काठमाडौ, साउन ०८ । सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदन दिने आज साउन ८ गते अन्तिम दिन रहेको छ ।

लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिइसक्नु पर्नेहुन्छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा साउन ७ गते साँझ ५ः०७ बजेसम्ममा १ अर्ब ८९ करोड ३१ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । क्रेडिट रेटिङ संस्थाले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जनाउने ‘केयर एनपी बीबी’ रेटिङ प्रदान गरेको छ ।

यस लघुवित्तले साउन ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । न्युज कारखाना

काठमाडौँ ।

डेमोक्रेट पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेको कमला ह्यारिसलाई १९३ डेमोक्रेट सांसदको समर्थन पाएकी छन् ।

राष्ट्रपति जो बाइडेन २०२४ को राष्ट्रपतिको दौडबाट बाहिरिएपछि कमला ह्यारिस राष्ट्रपतिको दौडमा अगाडी बढेकी छन् । उनको पहिलो चुनौती डेमोक्रेट नेताहरुको समर्थन पाउनु रहेको छ । अहिले पनि कैयौं नेताहरुले उनलाई उम्मेदवारको रुपमा समर्थन गर्न हिच्किचाइरहेका छन् । यसमा सबै भन्दा ठुलो नाम पुर्व राष्ट्रपति बाराम ओबामाको रहेको छ । ओबामाले बाइडेन राष्ट्रपतिको उम्मेदवारीबाट पछि हटेकोमा प्रसंशा गरेपनि ह्यारिसको समर्थन गरेका छैनन् । उनले डेमोक्रेटिक पार्टीको अगस्तमा हुने कन्म्भेन्सनमा सहि उम्मेदवार छान्ने बताएर ह्यारिसलाई समर्थन नगर्ने संकेत दिएका छन् ।

अर्कोतर्फ अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले कमला ह्यारिसलाई आगामी अमेरिकी राष्ट्रपतिका लागि समर्थन गरेकी छन् । क्लिन्टन सन् २०१६ मा डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार थिइन् । त्यसपछि उनी ट्रम्पसँग हारेकी थिइन् ।

क्लिन्टनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म कमला ह्यारिसलाई लामो समयदेखि चिन्छु । उनी एक प्रतिभाशाली वकिल हुन्। कमला ह्यारिसले दोषी अपराधी डोनाल्ड ट्रम्प र ‘प्रोजेक्ट २०२५’ को स्वतन्त्रता लिने एजेन्डा विरुद्ध लड्नेछिन् । तर, यो काम उनी एक्लैले गर्न सक्दैनन् ।’ हिलारीले कमला ह्यारिसलाई समर्थन गर्न देशवासीलाई अपिल गरेकी छन् ।

सीएनएनले बाइडेनको समर्थन पाए पछि ह्यारिसले आफ्नो पक्षमा समर्थन जुटाउन १० घण्टा नेताहरुसँग कुरा गरेको उल्लेख गरेको छ । यस क्रममा ह्यारिसले पूर्व राष्ट्रपति बराक ओबामा र बिल क्लिन्टनका साथै पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनसँग पनि कुरा गरेको दाबि गरिएको छ ।

बाइडेनदेखि हिलारी क्लिन्टनसम्म सबैले कमला ह्यारिसको उम्मेदवारीलाई समर्थन गरे पनि, डेमोक्रेटिक पार्टीको सम्भावित उम्मेदवार अझै बनेकी छैनन् । डेमोक्रेटिक पार्टीमा राष्ट्रपतिको उम्मेदवारका लागि अझै धेरै उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचन आउन करिब १०० दिन बाँकी छ तर डेमोक्र्याटिक पार्टीमा नयाँ उम्मेदवार कसरी छनोट गर्ने भन्ने विषयमा अहिलेसम्म कुनै समाधान हुन सकेको छैन । अब डेमोक्रेटिक पार्टीको नेशनल कन्भेन्सन अगस्ट १९ बाट सुरु हुँदैछ, जसमा नयाँ उम्मेदवार चयन हुने बताइएको छ ।

यस अघि उपराष्ट्रपति ह्यारिसले राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरेपछि पहिलो पटक सार्बजनिक रुपमा सम्बोधन गरेकी छन् । यसक्रममा उनले राष्ट्रपति बाइडेनको कामको प्रशंसा गर्दै बाइडेनले चार वर्षमा धेरै राष्ट्रपतिले दुई कार्यकालमा गर्न नसक्ने काम गरेको बताइन् ।

ह्यारिस पेरिस ओलम्पिक अघि ह्वाइट हाउसमा अमेरिकी खेलाडीहरूको अभिनन्दन समारोहमा आइपुगेकी थिइन्। कोभिड पोजिटिभ भएका कारण बाइडेन कार्यक्रममा उपस्थित थिएनन् ।

न्युज कारखाना

काठमाडौँ ।

गएको शुक्रबार माइक्रोसफ्टद्वारा सञ्चालित कम्प्युटर प्रणालीमा भएको गडबडीको कारण सारा विश्व चिन्तित भएको बेला चीनमा सबै कुरा राम्ररी चलिरहेको थियो ।

शुक्रबार साइबरसेक्युरिटी फर्म क्राउडस्ट्राइकको अपडेटले माइक्रोसफ्ट प्रणाली चलाउने कम्प्युटरहरूमा निलो स्क्रिन देखा पर्यो र विश्वका धेरै भागहरूमा एयरलाइन्स र अन्य व्यापार सेवाहरू अवरुद्ध भयो, तर चीन भने यसबाट जोगियो ।

आखिर, चीन के कारणले जोगियो ? चीनले के गर्‍यो, जसको कारणले यसको असर परेन ? यसको जवाफ धेरै सजिलो छ । वास्तवमा, क्राउड स्ट्राइकको प्रयोग चीनमा नहुनु ।

क्राउडस्ट्राइकको अपडेटको कारण, माइक्रोसफ्ट प्रणालीहरू चलाउने कम्प्युटरहरूले अचानक काम गर्न छोड्यो । माइक्रोसफ्टले यस घटनामा विश्वभरका ८५ लाख कम्प्युटर प्रभावित भएको बताएको छ ।

चीनमा धेरै कम व्यापार वा सेवा समूहहरू छन् जसले अमेरिकी कम्पनीबाट सफ्टवेयर किन्न चाहन्छन् किनभने अमेरिकी कम्पनीहरूले चीनलाई आफ्नो साइबर सुरक्षाको लागि खतरा मान्छन्।

यी कम्पनीहरू चीनबाट निस्किएको कथित साइबर खतराको बारेमा धेरै मुखर छन् । बाँकी विश्वको विपरीत, चीन माइक्रोसफ्टमा निर्भर छैन । चीनको बजारमा अलिबाबा, टेन्सेन्ट र हुवावे जस्ता घरेलु प्रविधि कम्पनीहरूको प्रभुत्व रहेको छ र अधिकांश क्लाउड सेवाहरू यी कम्पनीहरूको कब्जामा छन् । त्यसैले, विन्डो डाउनको खबर बाहिर यो बाँकी विश्व प्रभावित बन्द चीनमा भने शान्त नै थियो ।

उदाहरणका लागि, चिनियाँ सामाजिक सञ्जाल साइटहरूमा केही प्रयोगकर्ताहरूले मात्र चिनियाँ शहरहरूमा अवस्थित शेराटन, मेरियट र ह्याट जस्ता अन्तर्राष्ट्रिय होटल चेनहरूको होटलहरूमा चेक-इन गर्न नसकेको गुनासो गरेको देखियो ।

पश्चिमा आईटी कम्पनीहरुबाट चीनको दुरी किन ?

पछिल्ला केही वर्षहरूमा चीनका सरकारी संस्था, कम्पनी र पूर्वाधार सञ्चालकहरूले आफ्ना आईटी प्रणाली विदेशी कम्पनीहरूको सट्टा स्वदेशी कम्पनीहरूलाई हस्तान्तरण गरेका छन् । केही विश्लेषकहरूले यो समानान्तर नेटवर्कलाई ‘स्प्लिन्टरनेट’ भनेका छन् ।

जोस केनेडी ह्वाइट, सिंगापुरमा आधारित साइबर सुरक्षा विशेषज्ञ भन्छन्, ‘यसले विदेशी टेक अपरेशनहरू बारे चीनको रणनीतिको बारेमा बताउँछ ।’ उनी भन्छन्, ‘माइक्रोसफ्टले चीनमा स्थानीय साझेदार, २१ भायनेटमार्फत सञ्चालन गर्दछ, जसले यसको विश्वव्यापी पूर्वाधारबाट स्वतन्त्र रूपमा सेवाहरू प्रदान गर्दछ । यो सेटअपले विश्वव्यापी आईटी अवरोधको अवस्थामा चीनको बैंकिङ र उड्डयन क्षेत्रहरू सुरक्षित छन् ।’

चीनको दृष्टिकोणमा, विदेशी प्रणालीहरूमा निर्भरताले राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्छ । त्यसैले सरकारले त्यस्ता प्रणालीहरूमा निर्भरता कम गर्न जोड दिएको बताइन्छ ।

यो ठ्याक्कै उही कदम हो जुन केही पश्चिमी देशहरूले २०१९ मा चिनियाँ टेक कम्पनी हुवावेको टेक्नोलोजीमा प्रतिबन्ध लगाएको थियो ।

त्यस्तै, २०२३ मा बेलायती सरकारले चिनियाँ सामाजिक सञ्जाल टिकटकलाई सरकारी उपकरणहरूमा प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो । त्यसयता अमेरिकाले चीनलाई उन्नत सेमीकन्डक्टर चिपहरू बेच्नबाट रोक्ने प्रयास गरिरहेको छ । यससँगै अमेरिकी कम्पनीहरूलाई चिनियाँ प्रविधिमा लगानी गर्न पनि रोक लगाइएको छ ।

अमेरिकी सरकारले राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर यी सबै प्रतिबन्धहरू लगाइएको बताएको छ ।

चीनको आधिकारिक पत्रिका ‘ग्लोबल टाइम्स’ मा शनिबार प्रकाशित सम्पादकीयमा चिनियाँ प्रविधिलाई रोक्नका लागि यी कदमहरूलाई हल्का इशारामा उल्लेख गरिएको छ ।

सम्पादकीयमा लेखिएको छ, ‘केही देशहरू लगातार सुरक्षाको कुरा गर्छन् । तिनीहरूले अवधारणालाई सरल बनाएका छन् । तर तिनीहरूले वास्तविक सुरक्षालाई बेवास्ता गर्छन् । यो विडम्बना हो ।’

खुला विश्व बजारको वकालत तर घरेलु बजारमा नियन्त्रण

चीनले अमेरिकाले विश्वव्यापी प्रविधि कसले प्रयोग गर्न सक्छ र कसरी प्रयोग गर्ने भनेर निर्णय गर्ने प्रयास गरेको आरोप लगाउने गर्दछ । तर यसको एउटा कम्पनीले कुनै सावधानी नअपनाउँदै शुक्रबार विश्व स्तरमा यति ठूलो अराजकता फैलायो ।

‘ग्लोबल टाइम्स’ ले एकाधिकारवादी प्रवृत्ति भएका ठूला इन्टरनेट कम्पनीहरूलाई लिएको छ । अखबारले लेखेको छ, केहि देशहरूले नेटवर्क सुरक्षाको लागि केवल केहि शीर्ष कम्पनीहरूमा पूर्ण निर्भरताको वकालत गर्छन् । तर यसले शासन परिणामको समानुपातिक बाँडफाँडलाई मात्र रोक्दैन तर नयाँ सुरक्षा जोखिमहरू पनि सिर्जना गर्दछ ।

यहाँ समान लाभहरूको सन्दर्भ सम्भवतः बौद्धिक सम्पत्ति अधिकारमा चलिरहेको बहसको सन्दर्भ हो किनभने चीनले प्राय: पश्चिमी प्रविधिको प्रतिलिपि वा चोरी गरेको आरोप लगाइएको छ ।

चीनले बौद्धिक सम्पदाको चोरी वा प्रतिलिपिलाई अस्वीकार गर्दै आएको छ । उसले प्रविधिको खुला विश्व बजारको माग गरिरहेको छ । तर यसले आफ्नो घरेलु बजार बाहिरी प्रविधि कम्पनीहरूलाई खोल्न दिदैन र सम्भव भएसम्म समिति गर्न खोज्छ ।

यद्यपि, शुक्रबारको विश्वव्यापी आईटी आउटेजबाट चीन पूर्ण रूपमा अछुतो थिएन । यसले यहाँका केही कर्मचारीलाई असर गरेको छ । जसका कारण उनको छिटो छुट्टी भएको छ ।

चीनमा शुक्रबारको प्रारम्भिक बिदाका कारण सामाजिक सञ्जाल साइटहरूमा ‘थ्याङ्क यु माइक्रोसफ्ट’ ट्रेन्डिङ भएको थियो । धेरै पोष्टहरूमा, आईटी आउटेजको कारण कम्प्युटरको निलो स्क्रिनमा त्रुटि प्रतीकहरूको फोटोहरू पोस्ट गरिएको थियो ।

न्युज कारखाना

काठमाडौँ ।

हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपमा ठुलो घाटा भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले तीन सदस्यीय समिती गठन गरेको छ ।

आइसीसीले सोमबार टी–२० विश्वकपको व्यवस्थापन पुनरावलोकन गर्न तीन सदस्यीय समिति गठन गरेको हो । यो समितिमा न्युजील्यान्डका पूर्व ब्याट्सम्यान रोजर टोसे र आईसीसीका अन्य दुई निर्देशक लसन नायडू र इमरान ख्वाजा रहेका छन् । न्युयोर्क, फ्लोरिडा र डलासमा खेलहरू आयोजना गर्न आईसीसीलाई दुई करोड अमेरिकी डलरभन्दा बढी घाटा भएको अनुमान गरिएको छ ।

आईसीसीले दिएको जानकारी अनुसारयो समितिले यस वर्षको अन्त्यमा बोर्डलाई रिपोर्ट बुझाउनेछन् ।

अमेरिकामा भएका खेलहरुमा करिब १५ करोड अमेरिकी डलर बजेट छुट्याएको र बजेटमा उल्लेख्य वृद्धि भएको पाइएको छ, जसमा विश्वका केही प्रभावशाली बोर्ड सदस्यहरूले आपत्ति जनाएका छन् । ड्रप-इन पिचहरूको खराब स्तर, टिकट प्रणाली र लजिस्टिक समस्याहरूले आईसीसीको समस्याहरू थपेको थियो । त्यस्तै विश्वकप आयोजनका क्रममा भएका विभिन्न टेन्डरको अवार्डमा पनि आशंका गरिएको छ ।

समितिले आईसीसीका केही शीर्ष अधिकारीको भूमिकाबारे पनि गहिरो अनुसन्धान गर्ने विश्वास गरिएको छ । आईसीसीका प्रतिस्पर्धा प्रमुख क्रिस टेटलीले यसअघि नै राजीनामा दिएका छन् । तर, हरेक वर्ष आयोजना हुने ठूला आईसीसी प्रतियोगिता (पुरुष र महिला) प्रभावित हुने आधिकारिक कारण दिइएको थियो ।
न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।