काठमाडौ, ११ भदौ ।
सेयर बजार सोमबार पनि सुस्त देखिएको छ । नेप्से सूचक २ हजार विन्दुमुनि छ । यसदिन सूचक ५.०९ विन्दुले बढेर १९९८.४८ अंकमा आएको छ । ९८ करोड ८६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । समग्रमा हेर्दा बजार साइडवेजमा गएको छ ।
बजार घट्दै जाँदा लगानीकर्ताको मनोबल थप कमजोर भएको अवस्था छ । लगानीकर्ताको सक्रिय सहभागिता नहुँदा कारोबार रकम कम भएको छ । लाभांशको सिजनमा लगानीकर्ता निष्कृय बस्दा बजार १९ सयको तहमा झरेको हो ।
यस दिन २७९ कम्पनीको ३६ लाख ७० हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा आएको छ । यसको ७ करोड ३१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र आइएमई लाइफ इन्सुरेन्स परेका छन् ।
काठमाडौ, ११ भदौ ।
नबिल बैंकले २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सोमबारबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय तीनधारा, विणामार्ग, दरबरमार्ग काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।
काठमाडौ, ११ भदौ ।
सुनको भाउ लगातार तेस्रो दिन स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार र आइतबार पनि सुनको भाउ स्थिर रहेको थियो ।
साेमबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १४ सय ६० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ६५ रुपैयाँ कायम रहेको थियो ।
काठमाडौ, ११ भदौ ।
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६४ अंकले बढेको छ । यससँगै सूचक १९९४.०३ विन्दुमा आएको छ । ५७ हजार ५३७ रुपैयाँको सेयर कारोबार भएको छ ।
५ कम्पनीको १९७ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ६ पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ ।
काठमाडौ, ११ भदौ ।
हाथवे इन्भेष्टमेन्ट नेपाले भदौ २१ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो ।
जसमध्ये २ प्रतिशत अर्थात् ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । त्यस्तै, २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकेको छ ।
बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारणले न्यूनतम २० कित्तादेखि १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ २५ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने असोज ४ गतेसम्म पनि आवेदन खुला रहनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीको आइपीओलाई इक्रा एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ ।
काठमाडौ, ११ भदौ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साेमबारको मूल्य सूची सार्वजनिक गरेको छ । जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ७०, भारतीय ठूलो गोलभेडा ८०,टनेल गोलभेडा सानो ६०, लोकल गोलभेडा सानो ४५,घिउ सिमी लोकल ७०,काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ , आलु रातो ५५,मुडे आलु रातो ४६,भारतीय आलु रातो ३५,लौका ७०,हरियो फर्सी रू ८०,घिरौला ६० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ ,बन्दा लोकल ४०, गाजर ११०, मूला सेतो ७०,मूला रातो ७०,भन्टा डल्लो ८०, भन्टा लाम्चो ६०,मकै बोडी ८०, टाटे सिमी ८०,तितो करेला ८०,ब्रोकाउली २५०, कागती १४० रुपैयाँ, भिण्डी रू ४०,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १८० रुपैयाँ ,लोकल काक्रो ७०,अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०,केरा दर्जन १४०,अनार ३०० रुपैयाँ, नासपाती ७०,आभोकाडो २५० रुपैयाँ,कालो अंगुर ४००,किवी ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३१५, छडी माछा २३५, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ६०,हरियो धनिया १५०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २००,गुन्दुक प्रतिकेजी २८०,भारतीय प्याज सुकेको ७३,लसुन हरियो १८०, रुख कटहर ४०,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ७०,शरीफा २५०,फूजी स्याउ ३५०,अम्बा १२०,जुनार ३००,तोफु ११०,पिंडालू ६०,तामा ९०,कन्य च्याउ १६० ,तने बोडी प्रतिकेजी ९० मा कारोबार भइरहेको छ ।
काठमाडौ, ११ भदौ ।
अरुण काबेली पावरले शतप्रतिशत हकप्रद सेयर सााेमबारदेखि बिक्री खुला गरेको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।
उक्त हकप्रद सेयरका लागि यसले असार २५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार २४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यस हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता औसत सुरक्षित रहेको संकेत गर्दछ ।
यसको हकप्रद सेयरको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र अरुण काबेलीको कार्यालय ट्रेड टावर थापाथलीबाट आवेदन दिन सकिनेछ । उक्त स्थानबाट आवेदन दिंदा चेकमात्र भुक्तानी हुने कम्पनीले जनाएको छ । हिमलयन र नबिल बैंकको तोकिएको शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।
यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि यसको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ ।
काठमाडौ, ११ भदौ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.५४ रुपैयाँ रहेको छ तथा युरोपियन युरो एकको खरिद दर १४२.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.१७ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८४.४५ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.८४ रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४२ पैसा कायम गरिएकाे छ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसामा तथा बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.९६ रुपैयाँ रहेको छ भने बिक्री दर १६६.७२ रुपैयाँमा खरिदबिक्री गर्न सकिनेछ ।
दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९६ पैसा र बिक्रीदर १० रूपैयाँ १ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साथै, साउदी रियाल एकको खरिद दर ३५.१७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३३ रुपैयाँमा, मलेसियन रिंगिट एकको खरिद दर २८.४४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५६ रुपैयाँमा तथा कुवेती दिनार १ को खरिदमूल्य ४२८.१७ पैसा विक्रीदर ४३०.१२ पैसामा काराेबार गर्न सकिनेछ ।
काठमाडौ, १० भदौ ।
नेप्से सूचक फेरि २ हजारको मनोवैज्ञानिक विन्दुभन्दा तल आएको छ । सूचक २०.५४ विन्दुले घटेर १९९३.३८ अंकमा आएको छ । १ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यसअघि पनि २ हजार विन्दुमुनि झरेको नेप्से बाउन्स ब्याक भएर पुनः सोही विन्दुमाथि गएको थियो । लाभांशको सिजन सुरु हुनै लाग्दा बजार भने निरन्तर घट्दोक्रममा रहेको छ । म्युचुअल फन्डबाहेक सबै समूह घटेका छन् ।
नीतिगत अवरोध र ब्याजदर वृद्धिका कारण सेयर प्रभावित भएको हो । मुख्यतयः यी दुई कारणले बजारमा आम लगानीकर्ताको मनोबल कमजोर बनेको छ ।
यस दिन २८० कम्पनीको ३८ लाख ९५ हजार कित्ता सेयर कारोबार भएको छ । ७ करोड ४६ लाख रुपैयाँसहित कारोबार रकममा एसियन लाइफ इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आईएमई लाइफ र सोल्टी होटेल परेका छन् ।
काठमाडौ, १० भदौ ।
अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको छ ।
यस कम्पनीले प्रिमियम मूल्यमा साधारण सेयर निष्कासन गर्ने प्रस्ताव अघि सारेको हो । सभा भदौ ३१ गते बिहान ११ बजे कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा सुरु हुनेछ । सभा अनलाइन अर्थात, जुम मार्फत् हुने कम्पनीले जनाएको छ ।
सभामा आर्थिक वर्ष २०७८-७९ को नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीको आर्थिक वर्ष २०७७-७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।