२०८३ बैशाख १५
२०८३ बैशाख १५

काठमाडौँ, १७ फागुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताएका छन् ।

चालु आवको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा बिहीबार प्रधानमन्त्रीले निर्णय नलिएकै र पन्छाएकै कारणबाट मुलूकलाई कति हानि नोक्सानी वा क्षति हुन सक्छ भन्ने मूल्याङ्कन गर्ने प्रणाली स्थापित गर्नुपर्ने बताए ।

“पछिल्लो समयमा प्रशासनयन्त्रमा काम गरे कारवाही भोग्नुपर्ने तर, कामै नगरे बच्न सकिने मनसाय बढ्दै गएको देखिन्छ”, प्रधानमन्त्री प्रचण्डले भने, “अब यसको गम्भीर समीक्षा गर्नुपर्ने बेला भइसकेको छ । यसको असर अन्ततः हाम्रा उपलब्धि र राजनीतिक व्यवस्थाको रक्षा र विकासमा पर्छ भन्ने हेक्का राख्नु जरूरी छ ।”

 

सबैभन्दा ठूलो चुनौती समयमै निर्णय नगर्ने, निर्णय पन्छाउने र अन्तरनिकाय समन्वयमा आवश्यक पहल नलिने प्रवृत्ति देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नियम बमोजिम गतिशील र सिर्जनशील निर्वाह गर्नुपर्नेमा जोड दिए ।

 

“मैले बारम्बार जोड दिँदै आएको छु, प्रचलित ऐन, नियमको परिधिभित्र रही निर्णय गर्न कसैले हिच्काउनु हुँदैन, पर्दैन,” प्रधानमन्त्रीले भने, “कुनै पनि सार्वजनिक पदाधिकारीले असल नियतले गरेको निर्णयको बचावट गर्न र त्यस्तो कर्मचारीको संरक्षण गर्न म सदैव प्रतिबद्ध छु । तसर्थ सोही बमोजिम गतिशील र सिर्जनशील भूमिका निर्वाह गर्न तत्पर रहनुहोला ।”

 

तोकिएका लक्ष्य हासिल नहुनुका पछाडिका कारण र समस्यालाई पहिचान गरी तत्काल सुधार कार्य अघि बढाउन आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले समग्र प्रशासनिक संयन्त्रको कार्यान्वयन क्षमता बढाई अपेक्षित नतिजा निर्धारित समयमै हासिल गर्नुपर्ने बताए । उनले आम नागरिकलाई उपलब्ध गराउने सार्वजनिक सेवा छिटोछरितो, गुणस्तरीय र लागत किफायती हुने किसिमले प्रवाह गर्न निर्देशन दिए ।

 

किटान गरेको लक्ष्यअनुसार उपलब्धि किन हासिल हुन सकेन भन्ने अहिलेसम्म पनि चित्त बुझ्दो जवाफ नआएको भन्दै प्रधानमन्त्री प्रचण्डले बजेट अभाव भएको, तयारी नपुगेको, जनशक्ति नपुगेको, कानुनी समस्या देखाएर कामबाट सधैँ नै अड्किने र पन्छिने परम्पराले कहिलेसम्म निरन्तरता पाउने हो भनि प्रश्न गरे ।

 

“नीति तथा कार्यक्रम, बजेट र कार्यक्रमबीच तादम्यता नमिल्दा परिणाम आइरहेको छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “मन्त्रालयहरू तथा अन्य निकायले निर्धारित वार्षिक लक्ष्य र सूचकअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय लिन हिच्किचाउने प्रबृत्ति मौलाउँदै जानु सकारात्मक सन्देश होइन ।”

 

मन्त्रालयगत कार्यसम्पादनस्तरको आँकडा हेर्दा बढी पुँजीगत खर्च गर्ने र विकास निर्माणसँग सम्बन्धित मन्त्रालयहरूको प्रगति स्थिति कमजोर हुनुले पुँजी निर्माणको स्थिति कमजोर देखाएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रगति समीक्षाबाट देखिएको नतिजाले गम्भीर बनाएको र यसले परम्परागत कार्यशैलीमा परिवर्तन गर्नैपर्ने अनिवार्य भएको बताए ।

 

आफैँले तय गरेका लक्ष्य कार्यान्वयन नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रचण्डले चाहेको परिणाम प्राप्तिका लागि प्रक्षेपण क्षमता, प्राथमिकता निर्धारण, स्रोत परिचालन र खर्च प्रशोचन क्षमता सधैँ नै कमजोर रहने हो त भन्ने आशङ्का पैदा भएको बताए ।

 

“यी लक्ष्यहरू सबै मन्त्रालय र निकायले आफैँ तय गरिएका हुन् । लक्ष्य हामी आफैँले निर्धारण गर्ने तर कार्यान्वयनमा हामीले लक्ष्यअनुरूप प्रगति हासिल गर्न नसक्नुका कारण के हुन् ? प्रधानमन्त्रीले प्रश्न गरे, “ हामीले तयार गर्ने योजना, कार्यक्रम, बजेट विन्यास र सोको कार्यान्वयनका विषयमा गम्भीर समीक्षा गर्नैपर्छ । यसो नगरी हाम्रो समीक्षा पनि परम्पराभन्दा माथि उठ्न सक्दैन ।”

 

पुँजीगत खर्चको वृद्धि एवं विकास आयोजना र कार्यक्रमहरूको व्यवधानरहित सञ्चालनका लागि अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र विषयगत मन्त्रालयले संयुक्त रूपमा थप प्रयास गर्न आवश्यक रहेको उनले उल्लेख गरे ।  प्रधानमन्त्री प्रचण्डले मातहतका आयोजनाको प्रभावकारी कार्यान्वयनमा पूर्ण उत्तरदायित्व वहन गर्दै नतिजा हासिल हुने गरी कार्यसम्पादन गर्न निर्देश निर्देशन दिए ।न्युज कारखाना

 

रौतहट, १७ फागुन ।

रौतहटको चन्द्रनिगाहपुरमा लामो समयदेखि आफूले दुध बेचेको पैसा नपाएपछि रौतहटका दूध उत्पादक किसानहरूले बिहीबार पूर्व-पश्चिम राजमार्गमा दुई घण्टाको लागि बन्द गरेर प्रदर्शन गरेका छन् ।

नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसीले रौतहटका दूध उत्पादक किसानको हालसम्मको करिब ७ करोड रुपैयाँ तिर्न बाँकी छ ।  गत भदौको दोश्रो सातायता फागुन १५ गते सम्मको कुल भुक्तानी देशभरका किसानहरुको करिब ७ अर्ब डिडिसिले दूधको पैसा समयमा भुक्तानी नदिएपछि रौतहटका दूध उत्पादक किसानहरुले आन्दोलनका कार्यक्रम तय गरी पूर्व-पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुर मुख्य सडक खण्डमा दुई घण्टाको लागि चक्काजाम गरेका छन्।

 

दूध उत्पादक जिल्ला संघ रौतहटका अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार सम्बन्धित निकायको ध्यानाकर्षण गराउन दूध उत्पादक किसानहरूले १७ गते पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगापुरमा २ घण्टा चक्काजाम गरेको बताएका छन्।

 

यो कार्यक्रम देशभरका ७७ वटै जिल्लामा दूध उत्पादक किसानहरुले गर्ने समेत रौतहट जिल्ला दुध उत्पादक संघका अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

 

विगत ६ महिनादेखि दूध बिक्री गरेको पैसा नपाएपछि व्यावसायिक रुपमा पशुपालनमा लागेका किसानहरूलाई घर चलाउन नै समस्या भएपछि उनीहरुले आन्दोलन गर्न बाध्य भएको किसानहरूले बताएका छन् ।

६ महिनासम्म दूधको पैसा नदिएका निजी तथा सरकारी स्वामित्वका डेरीहरुले समयमा किसानले उत्पादन गरेको दुध समेत खरिद नगर्दा किसानहरु दुध फाल्न बाध्य भएको उनीहरूको गुनासो रहेको छ । दुध बेचेको पैसा समयमा नआउँदा व्यवसायिक रुपमा ठूलो संख्यामा पशुपालन गर्दै आएका रौतहटका किसानहरु मारमा परेका छन् ।

सरकारले आफूहरूको समस्या समयमा समाधान नगरेका कारण आफूहरूले बाध्य भएर विभिन्न संघर्षका कार्यक्रम गर्नुपरेको उत्पादक जिल्ला संघ रौतहटका अध्यक्ष अधिकारीको भनाइ रहेको छ । न्युज कारखाना

काठमाडौँ, १७ फागुन ।

नेपाली फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ नेपाल र भारत बाहेकको प्रदर्शन र वितरणको अधिकार खरिद गरेको एमएसएम इन्टरटेन्मेन्टस्ले प्रदर्शनका लागि वितरण गर्दै छ ।

 

उक्त कम्पनिका अनुसार संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई वितरण र प्रदर्शन गर्दै छ ।

 

नेपाली फिल्मको बजार विस्तार र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका एमएसएम इन्टरटेनमेन्टस्ले ‘जात्रा’का दुवै शृङ्खला दर्शकको मन जितेको कारण विश्वभर एकसाथ भव्य रुपमा प्रदर्शन हुने जनाएको छ । उक्त कम्पनिका सञ्चालक छत्र थापाले प्रवासमा रहनुभएका नेपाली दर्शकले निर्देशक प्रदीप भट्टराई, षट्कोण आर्ट्स, रवीन्द्रसिंह बानियाँको समुहलाई अन्यको तुलनामा बढी विश्वास गर्नुका साथै आशावादी रहने गरेको बताए ।

 

वितरक थापाले भने,‘नेपाल झैँ विदेशमा दर्शकको प्रतीक्षामा रहनुमा जात्राको अघिल्लो शृङ्खलाले बनाएको ब्राण्डको विश्वसनीयता र सफलता पनि हो ।’ विशेषतः विदेशमा मौलिक नेपालीपन बोकेको फिल्मको बजार बलियो देखिएको छ । सोही कारण एमएसएम इन्टरटेनमेन्टस्ले आगामी लाइनअपमा ‘पुजार सार्की’,‘घर ज्वाईं’,‘रीमै’ जस्ता फिल्म छन्, जसमा नेपाली मौलिकता र विषयलाई समेटिएको छ ।

 

फिल्मका कार्यकारी निर्मातासमेत रहेका अभिनेता रवीन्द्रसिंह बानियाँले ‘जात्रा’ शृङ्खलाको सफलता र दर्शकको प्रतीक्षाले नै ‘महाजात्रा’ तयार भएको बताए । ‘हामीलाई दर्शकसँगै समीक्षकमार्फत पाएको प्रतिक्रियाले समेत शृङ्खलालाई निरन्तर दिन हौसाएको हो’, कार्यकारी निर्माता बानियाँले ।

 

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसमे निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहनेछ ।

 

फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।न्युज कारखाना

काठमाडौं, १७ फागुन ।

नेपाली बजारमा सुनको भाउ आज तोलामा २०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।

 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बुधबार छापावाल सुन १ लाख १८ हजार २०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो ।

बिहीबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ तोलाको १३ सय ७५ रुपैयाँ कायम रहेको छ । बुधबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो । न्युज कारखाना

चितवन, १७ फागुन । 

भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ ।

निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरिएको हाे। ठेक्का आह्वानकाे म्याद एक महिना राखिएकाे छ ।

महानगर र बागमती प्रदेश सरकारकाे लागत साझेदारीमा रंगशालाको बाँकी काम अगाडि बढाउन लागिएको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट सहयाेग जुटाएर निर्माण गरिरहेकाे रंगशालाकाे लागि आर्थिक अभाव भएपछि रंगशालाकाे काम राेकिएकाे थियाे ।

 

फाउण्डेशनले निर्माण सामाग्रीकाे करिब १८ कराेड रूपैयाँ उधाराे रहेकाे बताएकाे छ ।न्युज कारखाना

काठमाडौं, १७ फागुन ।

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

 

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

 

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत  कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।न्युज कारखाना

काडमाडौं, १६ फागुन ।

निर्वाचन आयोगले १५ वैशाखमा हुने उपनिर्वाचनका लागि २२ चैतमा अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।

प्रदेशसभा सदस्य चयनका लागि इलाम–२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ को १ मा १५ वैशाखमा हुने निर्वाचनका लागि आयोगबाट मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम २०८० स्वीकृत भएको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

 

स्वीकृत कार्यक्रमअन्तर्गत १८ फागुनमा आयोगको वेवसाइट मतदाता नामावली प्रकाशन गरिने छ। उक्त मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्ठा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन २९ फागुनदेखि ५ चैतसम्मको अवधि निर्धारण गरिएको उनले जानकारी दिए ।

 

उक्त अवधिमा निर्वाचन कार्यालय वा वडा कार्यालयमार्फत निवेदन, सूचना र उजुरी दिन सकिनेछ । यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानून बमोजिम छानविन गरी मतदाता नामावली अद्यावधिक गरिने आयोगले जनाएको छ। अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली २२ चैतमा प्रकाशन गरिने कार्यक्रम रहेको प्रवक्ता पौडेलले बताए ।
न्युज कारखाना

बारा १६ फागुन।
मकवानपुरमा नेपाल सरकारका कर्मचारी भएर बारा स्थित अरूको जग्गा देखाएर भिडियो बनाइरहेका वन कर्मचारीसहित दुईजनालाई स्थानीयले नियन्त्रणमा लिएका छन्।

 

बाराको आदर्श कोतवाल गाउँपालिका ५ स्थित द्रुतमार्गको बाटोमा जोडिएको सडककालोपत्रे छेउमै अरूको जग्गा देखाएर भिडियो बनाइरहेका दुवैजनालाई  सरकारी नम्बरको मोटरसाइकलसमेत स्थानीयले नियन्त्रणमा लिएकाे हाे ।

पक्राउ पर्नेमा मकवानपुर मनहरी वन कार्यालयका कार्यालय सहयोगी दिलबहादुर कार्की, र हेटौंडा उमनपा १७ का बसन्त रेग्मी रहेका छन्।  स्थानीयले उनीहरूले प्रयोग गरेको बा प्रदेश ०३००१ ब ३४५ नम्बरको सरकारी मोटरसाईकलसहित वडा कार्यालयमार्फत प्रहरी चौकी चिउँटाहामा बुझाएका छन्।

स्थानीय युवा राजकुमार दासले जग्गा धनीलाई थाहै नदिई दलालहरुले नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री गरिरहेको घटना पटकपटक भइरहेको कारण यिनीहरुलाई पक्राउ गरी प्रहरीलाई बुझाएको बताएका छन्। पक्राउ परेका दुवैजनामाथि कानुनी कारवाही हुनुपर्ने स्थानीयले माग गरेका छन्।

पक्राउ परेका रेग्मी र कार्कीले आफूहरुलाई ललितपुरका एकजना जग्गा कारोबारीले उक्त जग्गा दुईसाता अघि ल्याएर देखाएको बताएका थिए। पक्राउ पर्दा उनीहरूले ललितपुरका व्यवसायी भनिएकालाई पटकपटक फोन गर्दा उठाएन, एकछिन पछि उनले स्विचआफ गरेको थियो। प्रहरी चौकी चिनुटाहाका प्रमुख असई सिवेन्द्र यादवले दुवैजना पक्राउ परेको पुष्टी गरेका छन्। उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया पठाउने असई यादवले बताएका छन्।

यसअघि मंगलवबार आदर्श कोतावल गाउँपालिका ५ स्थित अरूको जग्गा नापजाँच गरिरहेका काठमाडाैँ घर बताउने रौशन अधिकारी र बारा घर बताउने छोटेलाल साहलाई स्थानीयले पक्राउ गरी प्रहरीमा बुझाएका थिए ।

बारा प्रहरी प्रवक्ता डिएस्पी दधिराम न्यौपानेले पक्राउ परेका चारैजना नियन्त्रणमा रहेको बताउँदै घटनाबारे आवश्यक अनुसन्धान भईरहेको जानकारी दिएका छन्।
‘हामी जग्गाधनी भनिएका लाई बोलाउँछौं, यिनीहरुलाई सोधबुझ गर्छौं दोषी ठहर भएमा कानुन बमोजिम कारवाही हुन्छ,’ प्रवक्ता डिएस्पी न्यौपानेले भने । पछिल्लो समय बारा, रौतहटलगायत मधेश प्रदेशको जिल्लाहरुमा अरूको जग्गा देखाएर नक्कली कारोबार गर्ने दलालहरुको बिगबिगी बढेको छ।
न्युज कारखाना

काठमाडौं, १६ फागुन ।

बरिष्ठ नेता राजेन्द्र महतोले अलग गतिबिधि गर्न थाले पछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समिति बैठक डाकेको छ ।

 

जस अनुसार लोसपा नेपालले महोत्तरीको बर्दिबासमा फागुन २७–२९ गतेका लागि केन्द्रीय समिति बैठक डाकेको हो ।

लोसपाबाट वरिष्ठ नेता महतोलगायतका नेताहरू अलग भए पछिको स्थिति टुंगो लगाउने बारेमा सो बैठकमा छलफल हुनेछ ।

 

महतोले राष्ट्रिय मुक्ति आन्दोलनको नाममा अलग प्रशिक्षण र माइतिघर बानेश्वर क्षेत्र निषेधित क्षेत्र तोडने कार्यक्रम सुरू गरे पछि अध्यक्ष महन्थ ठाकुरले पार्टीको केन्द्रिय समिति बैठक बोलाएका हुन् ।
न्युज कारखाना

 

काठमाडौं, १६ फागुन ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले लिखित असहमति राख्दै पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारका सदस्यबाहेक अरुलाई स्थान छैन भन्ने सन्देश दिएको बताएका छन् ।

 

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा पार्टीको कार्यविभाजनको निर्णयप्रति लिखित असहमति राख्दै उनले सो बताएका हुन् । स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इन्चार्ज दुवैबाट पदच्यूत गरेर प्रदेशमा हाललाई विना मगरलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको छ ।

कार्यविभाजनमा अध्यक्ष प्रचण्डले आफ्नो भाइ र बुहारीलाई  जिम्मेवारी दिएर केहीको खोसिएपछि उनले प्रचण्डलाई बुझाएको लिखित असहमतिपत्रमा उल्लेख गरिएको छ, ‘विधान अधिवेशन लगतै बसेको स्थायी समितिको बैठकमा विधानबारे एजेन्डा नै नराख्नु अधिवेशनले पारित गरेको निर्णयहरुको भाषिक रुपले सम्पादन गरी कार्यान्वन गर्ने कार्यभारप्रति बेवास्ता गर्नु र पारित विषयलाई बेवास्ता गरी विधि विहीनतालाई निरन्तरता दिने उद्देश्य देखिनु दुःखद् कुरा हो । विधान अधिवेशनबाट पारित भएका निर्णयहरू सम्पादन गरी तुरुन्त कार्यान्वय गर्न माग गर्दछु । कार्य विभाजन गर्दा पार्टी निर्माण गर्ने संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा कतिपय प्रदेशहरूमा कार्य विभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत बेवास्ता गरी विधिविपरीत आफ्नो अनुकूलतामा गरिएको निर्णयप्रति असहमति जाहेर गर्दछु । जनप्रतिनिधिहरू पार्टीको इन्चार्ज नरहने नीति मलगायतका कमरेडहरुलाई लागू गरेको भने पनि नारायण दाहाललाई बागमती प्रदेशको सहइन्चार्ज बनाउने निर्णयले के उद्देश्य रहेको छ भन्ने स्पष्ट गरेको छ ।’
न्युज कारखाना

 

 

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।