२०८३ श्रावण ९
२०८३ श्रावण ९

काठमाडौं । सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२)बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको भन्दै परेको रिट निवेदनको टुंगो संवैधानिक परिषद्‌बाट लाग्नुपर्ने आदेश गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासले प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्ने रिटको टुंगो संवैधानिक इजलासबाट गर्नुपर्ने आदेश गरेको हो ।

न्यायाधीश ढकालको इजलासले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र त्यसविरुद्ध परेको रिटमा गम्भीर संवैधानिक व्याख्याको अवस्था रहेको भनेको छ । ‘प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहित रहेको र सोको निरुपण संवैधानिक इजलासबाट हुनुपर्ने प्रकृतिको देखिँदा’ भन्दै उक्त रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश गरिएको छ ।

प्रधानमन्त्रीमा ओलीलाई नेपालको संविधानको धारा ७६ (२) अनुसार गरिएको नियुक्ति संविधानविपरीत भएको भन्दै अधिवक्तात्रय दीपक अधिकारी, खगेन्द्रकुमार चापागाईं र शैलेन्द्रकुमार गुप्ताले गएको असार ३१ गते रिट दायर गरेका थिए ।

रिटमा राष्ट्रपति तथा राष्ट्रपतिको कार्यालय, कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा तथा कांग्रेस संसदीय दलको कार्यालय, एमाले संसदीय दलका नेता केपी शर्मा ओली तथा संसदीय दलको कार्यालय र प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालयलाई विपक्षी बनाइएको छ ।न्युज कारखाना

काठमाडौं- ‘किताब जात्रा’को छैटौं संस्करण साउन १८ र १९ गते आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौंमा हुने भएको छ। किताब यात्रा फाउन्डेसनले आयोजना गर्ने किताब जात्रा यस वर्ष भौतिक रूपमा दुई दिन हुन लागेको हो।

‘किताब जात्राको छैठौं संस्करण घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौं,’ फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले भने, ‘हामी दुई वर्षपछि फेरि भौतिक रूपमै फेस्टिभल गर्दैछौं। प्रतिकूल अर्थतन्त्रका कारण २०८० को संस्करण हामीले गर्न नसकेपनि किताब जात्राको यात्रालाई यो वर्ष फेरि नयाँ आयामका साथ निरन्तरता दिँदैछौं।’

जात्रामा साहित्यका अतिरिक्त आर्थिक, सामाजिक, कलालगायतका क्षेत्रका समसामयिक विमर्श सञ्चालन हुनेछन्। फेस्टिभल कोअर्डिनेटर विकेश भट्टराईका अनुसार जात्रामा विमर्शका साथै काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइक, कला प्रदर्शनी, क्यालिग्राफी, रक्तदानजस्ता सहभागितामूलक सिर्जनात्मक गतिविधि हुनेछन्। जात्रामा मिस्टिक नेपाल अवधारणामा आधारित रहेर संगीत र कला क्षेत्रका विशिष्ट प्रस्तुति रहने उनले बताए।

लेखक र पाठकबीच अन्तरङ्ग विमर्श हुने जात्रामा यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, बैंकिंगलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरू समावेश हुने १५ वटा सेसन रहने डाइरेक्टर ऋषिराम अधिकारीले जानकारी दिए। साथै  ‘संगम श्रुति’ ब्यान्डको सांगीतिक प्रस्तुति पनि रहने उनले बताए।

पठन संस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउने उद्देश्यले स्थापित फाउन्डेसनले आयोजना गर्ने ‘किताब जात्रा’को यो संस्करणमा विविध क्षेत्रका पुस्तकहरूको विशेष प्रदर्शनी रहने किताब यात्रा प्रालिका सिइओ विकेश भट्टराईले जानकारी दिए। पुस्तक प्रदर्शनीको संयोजन अनलाइन पुस्तक बिक्रेता किताब यात्राले गर्दैछ।

किताब जात्रामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिनेछ। सर्लाही जिल्लाका शिक्षासेवी स्व. प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान हरेक वर्ष नेपाली साहित्य र वाङ्मयमा विशिष्ट योगदान दिने स्रष्टालाई प्रदान गरिन्छ।

गत वर्ष साहित्यकार ध्रुवचन्द्र गौतमलाई उक्त सम्मान प्रदान गरिएको थियो।

जात्राका अवसरमा ‘किताब यात्रा’ले आफ्नो प्लेटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गरिनेछ। गत वर्ष लेखक गिरिश गिरि लिखित ‘सत्यमोहन’लाई उक्त अवार्ड प्रदान गरिएको थियो।

किताब जात्राकै अवसरमा एक जनालाई खुला आवेदनको आधारमा किताब जात्रा पश्चात सिए अध्ययनका लागि ‘प्रेम प्रसाद मेमोरियल स्कलरशीप’ प्राइम सिएको सहकार्यमा छात्रवृति प्रदान गरिनेछ।

न्युज कारखाना

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबाहादुर महराले पदबाट राजीनामा दिएका छन् ।

महराले आज दिउँसो प्रदेशसभामा सम्बोधनपछि राजीनामाको घोषणा गरेका हुन् । केन्द्र सरकारमा सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा परेका थिए ।

८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद रहेका छन् भने दुई दलका कुल ५६ सांसद रहेकाले स्पष्ट बहुमत रहेको छ ।

महराको राजीनामासँगै एमाले संसदीय दलका नेता लिला गिरीले आज नै प्रदेशप्रमुख समक्ष सरकारका लागि दाबी पेस गर्ने तयारी गरिएको छ ।न्युज कारखाना

काठमाडौं । बलिवुड फिल्म ब्याड न्यूजले बक्स अफिसमा भने सुखद न्यूज पाएको छ ।

शुक्रबार रिलिज भएको विक्की कौशल, तृप्ति डिमरी र अमी विर्क अभिनित ब्याड न्यूजले भारतीय बक्स अफिसमा सुखद शुरुवात गरेको छ ।

शुक्रबार ८.६२ करोडको कमाई गरेको यस फिल्मले शनिबार १०.५५ करोड कमाई गरेको छ । दुई दिनमा फिल्मले १९.१७ करोड कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

यस फिल्मलाई आनन्द तिवारीले निर्देशन गरेका हुन् । फिल्ममा विक्की, तृप्ति र अमीका अलावा फातिमा साना सेख, सान्या मल्होत्रा, नेहा धुपियालगायतको पनि अभिनय रहेको छ । फिल्मलाई करण जोहरले निर्माण गरेका हुन् । न्युज कारखाना

काठमाडौँ । ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल सञ्चालनमा ल्याइएको छ ।

महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि महानगरपालिकाले १०६ वर्ष पुरानो डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो ।

ललितपुरका मेयर चिरीबाबु महर्जनले विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले थन्काएर राखेको अवस्था रहेकोमा अहिले अमेरिकाबाट पार्टहरु मगाएर मर्मत गरी सञ्चालनमा ल्याएको जानकारी दिएका छन् ।

उनले भने,‘विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले दमकल चलेको थिएन । रोक्की राखेको थियो । ७३–७४ सालमा दमकल लिलामीमा राखियो । त्यो सूचना पाउनेसाथ झिक्यौं । अमेरिकामा यसको पार्टस भेटियो र अहिले सञ्चालमा ल्याइएको छ।’

दमकलको चक्काहरु छन् कहिले पनि पञ्चड नहुँने र सिसाहरु पनि नफुट्ने प्रमुख विशेषता रहेको उनले जानकारी दिए । न्युज कारखाना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेबीच सत्ता–सहकार्यको लागि भएको असार १७ गते राति भएको ७ बुँदे सहमति सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका ती ७ बुँदामा संविधान संशोधन गर्नेदेखि लिएर कांग्रेस र एमालेले सरकारको नेतृत्व आलोपालो रुपमा गर्नेसम्मका बुँदा समेटिएका छन् ।

१. आम जनताको चाहनाबमोजिम राष्ट्रि हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ को २ अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने ।

२. राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा देखापरेका सवल र दुर्वल पक्ष तथा जटिलताको समिक्षा गरी राजनीतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदअनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकतामा दिने ।

३. अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरि विश्वसनीय व्यवसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने ।

४. राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति माननीय श्री शेरबहादुर देउवाले गर्ने ।

५. राष्ट्रिय हितको रक्षा गर्न भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तिव्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनको आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने ।

६. राष्ट्रिय सहमतिको सरकारको लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताको आधारमा र समान हैसियतमा सरकारमा सहभागिता रहने र अन्य राजनीतिक दललाई समेत सरकारमा समावेश गर्ने ।

७. राष्ट्रिय सहमतिको सरकारको मर्म र भावनाअनुरुप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावनाअनुरुप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तिव्रता दिने ।न्युज कारखाना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमति सार्वजनिक गर्दै दुई बर्षपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट गरेका छन् ।

दुई दलबीच भएको सहमति सार्बजनिक गर्दै आफु दुई बर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने बताएका हुन् ।

सातबुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने, संविधान संशोधनमा प्राथमिकता दिने, विश्वसनीय व्यवसायिक वातावरण तयार गर्ने, न्युनतम साझा कार्यक्रम तय गर्ने,  समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागिता जनाउने र संविधानको मर्म र भावनाअनुरुप प्रदेश सरकार सञ्चालन गर्ने र दुई वर्षसम्म केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने र ०८४ मंसिरमा हुने चुनावसम्म शेरबहादुर देउवाले नेतृत्व गर्ने रहेको संसदलाई जानकारी दिएका छन् ।   न्युज कारखाना

काठमाडौँ । बंगलादेशमा सरकारी जागिरहरूमा आरक्षण विरोधी हिंसा भड्किएपछि प्रहरीले शनिबारदेखि देशभर कडा कर्फ्यू लगाएको छ । यस अवधिमा राजधानी ढाकाका सबै भागमा सेनाले गस्ती गरेको थियो ।

सार्वजनिक जमघटमा प्रतिबन्ध लगाए पनि यो कर्फ्यु सायद अहिलेसम्मकै सबैभन्दा घातक भएको बताइएको छ । पछिल्ला दिनमा हिंसा बढेपछि अहिलेसम्म मृत्यु हुनेको संख्या ११५ नाघेको छ ।

बंगलादेशमा भड्किएको हिंसाका कारण अहिलेसम्म सयौं मानिस घाइते भएका छन् । शनिबार पनि केही टेलिभिजन च्यानल बन्द रहे भने अधिकांश पत्रपत्रिकाको वेवसाइट पनि बन्द रहे । ढाकास्थित अमेरिकी दूतावासले स्थिति अत्यन्तै अस्थिर भएको बताएको छ ।

देशमा लागू गरिएको कर्फ्यू शनिबार दिउँसो केही खुकुलो भए पनि आइतबार बिहान १० बजेसम्म लागू गरिएको थियो । कर्फ्यू लगाएसँगै बंगलादेश सरकारले देशमा मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ ।

अवस्था अस्थिर बनेपछि बंगलादेशमा अध्ययन गरिरहेका ८ सय भन्दा बढी नेपाली विद्यार्थीहरु स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ भने नेपाल सरकारले १७ जनालाई आफ्नो पहलमा स्वदेश फर्काउदै छ ।

त्यस्तै मिडिया रिपोर्टका अनुसार अन्य देशका हजारौं नागरिकले बंगलादेश छोड्ने क्रम जारी रहेको छ ।न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८० बाट पुरस्कृत हुने चार जना पुरस्कार प्रदान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले विपी स्मृति दिवसको दिन किशोर कुमार अधिकारी, होमनाथ दाहाल, डा. हरिप्रसाद पराजुली र डा. योगेन्द्रप्रसाद यादवलाई  पुरस्कार प्रदान गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार जनालाई विपी पुरस्कार दिने घोषणा गरेको थियो । न्युज कारखाना

काठमाडौँ । सफ्टवेयर कम्पनी माइक्रोसफ्टले शुक्रबार आईटी सेवामा आएको अवरोधका कारण विश्वभरका ८५ लाख कम्प्युटरले काम नगरेको जनाएको छ ।

साइबर सेक्युरिटी सफ्टवेयर क्राउडस्ट्राइकको अपडेटपछि आएको यस त्रुटिको बारेमा अहिलेसम्म कुनै तथ्याङ्क सार्वजनिक गरिएको छैन ।

यो घटनालाई साइबर इतिहासकै सबैभन्दा नराम्रो घटना भनिएको छ । माइक्रोसफ्टले आफ्ना प्रयोगकर्ताहरूलाई यसबाट बाहिर निकाल्न मद्दत गरिरहेको छ ।

कम्पनीले एक ब्लग पोष्टमा भनेको छ, ‘हामीले हाल ८५ लाख विन्डोज उपकरणहरू क्राउडस्ट्राइक अपडेटबाट प्रभावित भएको अनुमान गरेका छौं ।’

यस पोस्टमा, कम्पनीका उपाध्यक्ष डेभिड वेस्टनले भनेका छन्, यो संख्या विश्वभरका विन्डोज मेसिनको एक प्रतिशत भन्दा कम छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।