काठमाडौ, १३ भदौ ।
जीवन बिमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० मा कुल १ खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बिमा प्राधिकरणको गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांक अनुसार १५ वटा जीवन बिमा कम्पनी र दुई वटा लघुबिमा कम्पनीहरुले उक्त बिमा शुल्क आर्जन गरेका हुन् । जसमध्ये हालै सञ्चालनमा आएका दुई लघुबिमा कम्पनीले २ लाख रुपैयाँ बढी मात्र बिमा शुल्क आर्जन गरेका छन् ।
बिमा प्राधिकरणको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७८–७९ को तुलनामा गत आर्थिक वर्षमा जीवन बिमा कम्पनीहरुको बिमा शुल्क आर्जन २.६८ प्रतिशतले मात्र बढेको हो । अघिल्लो आर्थिक वर्षमा जीवन बिमा कम्पनीहरुले १ खर्ब ३८ करोड ६४ लाख ५ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको देखिन्छ । यस अवधिमा नेपाल लाइफ इन्स्याेरेन्सले सबैभन्दा धेरै ३७ अर्ब १७ करोड ५१ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।
त्यसपछि, लाइफ इन्स्याेरेन्स कर्पोरेसनले १७ अर्ब ४६ करोड १४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । तेस्रोमा, नेसनल लाइफ इन्सुरेन्स कम्पनीले १६ अर्ब ४३ करोड ११ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । यता, हालैदेखि सञ्चालनमा आएका दुई लघुबिमा कम्पनी गार्डियन माइक्रोलाइफ र क्रेष्ट माइक्रोलाइफ इन्सुरेन्सले क्रमशः १ लाख ४१ हजार रुपैयाँ र ६४ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् ।
काठमाडौ, १३ भदौ ।
सेयर बजार सुस्त बन्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से सूचक २.८२ विन्दुले घटेर १९९०.५९ अंकमा अडिएको छ । १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
दुई बाहेक बाँकी सबै समूह घटेका छन् । केही दिन यताको समग्र बजार मूल्यांकन गर्दा नेप्से साइडवेजमा गएको देखिन्छ । सूचकमा खासै उतारचढाव नहुने, कारोबार रकम पनि न्यून हुने अवस्थालाई सामान्यतयः साइडवेजको अवस्था मान्न सकिन्छ ।
नीतिगत अवरोध र चर्को बैंक ब्याजदरका कारण बजार प्रभावित हुँदै आएको छ । लाभांशको सिजन सुरु भइसकेको छ । बैंकहरुले समेत लाभांश घोषणा गर्न थालिसकेका छन् । बुधबारमात्रै माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । बैंकले बोनस सेयरलाई प्राथमिकता दिएको छ ।
अब क्रमशः अरु बैंक तथा सूचीकृत कम्पनीहरुले पनि लाभांश घोषणा गर्न थाल्नेछन् । समग्रमा अबको केही समय सेयर बजारका लागि लाभांशकै अवधि हुनेछ । यस्तो बेलामा पनि आम लगानीकर्ताको मनोबल भने निकै कमजोर देखिएको छ ।
यस दिन २७६ कम्पनीको ३८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा माछापुच्छ्रे बैंक अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्सुरेन्स र लक्ष्मी सनराइज बैंक रहेका छन् ।
काठमाडौ, १२ भदौ ।
सन नेपाल लाइफ इन्स्याेरेन्सको आईपीओ भदौ १५ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मचेन्ट बैंकिङका अनुसार १५ भदौ शुक्रबार बिहान ८ बजे आईपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ । यता, सन नेपाल लाइफको आईपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा २.३२ गुणा बढी आवेदन परेको छ ।
यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यसमा १५ लाख ७७ हजार ७४४ जनाले कुल १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ७ लाख ६८ हजार जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ८ लाख ९ हजार ७४४ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म ७६ लाख ८० हजार कित्ता आइपीओ सर्वसाधारणलाई प्रिमियम भाउमा बिक्री खुला गरेको हो । यस इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको थियो ।
यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मचेन्ट बैंकिङले गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस इन्स्याेरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०७९ मंसिर ६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० मंसिर ५ गतेसम्म बाहल रहनेछ ।
काठमाडौ, १२ भदौ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ११ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।
मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर स्वामित्व परिमार्जन भएको छ। संस्थाले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिवर्तन गरेको हो। जसअनुसार संस्थाले सेयर स्वामित्व परिवर्तन गर्दै संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गरेको छ।
यसअघि संस्थामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको थियो। हाल नेप्सेमा मिथिला लघुवित्तको कुल १९ लाख ६० हजार २७.५६ कित्ता सेयर सूचीकृत छ। जसमा परिवर्तित सेयर संरचनाअनुसार अब संस्थापक समूहको ९ लाख ९९ हजार ६१४.०६ कित्ता र सर्वसाधारण समूहको ९ लाख ६० हजार ४१३.५ कित्ता कायम भएको छ।
परिवर्तित सेयर संरचनाअनुसार दुवै समूहको सेयर सूचीकृत गरिएको नेप्सेले जनाएको छ।
काठमाडौ, १२ भदौ ।
नेप्से सूचक मंगलबार ५.०५ विन्दुले घटेर १९९३.४२ अंकमा अडिएको छ । २ वटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ८६ करोड ५१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत ४ समूह मात्र सकारात्मक बनेका छन् । समग्रमा सेयर बजारमा साइडवेजमा गएको छ ।
केही दिनयता बजार सूचक निकै सुस्त छ । दैनिक खरिदबिक्री रकम पनि न्यून भएको छ । बजार २ हजार विन्दुभन्दा थोरै तल आएर अड्किएको छ । १९ सय ९० भन्दा तल पनि नजाने अनि २ हजार अंक पार गरेर माथि जान पनि नसक्ने अवस्थामा बजार रहेको छ ।
यस दिन २७८ कम्पनीको ४० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३ करोड ६२ लाख रुपैयाँसहित कारोबार रकममा माछापुच्छे बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्सुरेन्स र नेपाल टेलिकम परेका छन् ।
काठमाडौ, १२ भदौ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ११ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, सोमबार छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको थियो ।
मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ६५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ६० रुपैयाँ कायम रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९२४.१२ डलरमा र चाँदी प्रतिऔंस २४.३३ डलरमा कारोबार भइरहेको छ ।
काठमाडौं, १२ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र लयमा फर्किंदै गएको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले विभिन्न आर्थिक सूचाकांक पेस गर्दै देशको अर्थतन्त्र लयमा फर्किएको दाबी गरेका हुन् ।
अर्थतन्त्रमा देखिएका समस्या विस्तारै समाधान हुँदै गएको दाबी गर्दै देशको रेमिट्यान्स बढेर गत असार मसान्तसमम १२ खर्ब २० अर्ब ५६ करोड पुगेको जानकारी दिए । १० महिनालाई आयात धान्ने सञ्चित रकम रहेको प्रधानमन्त्रीको भनाइ छ ।
काठमाडौ, १२ भदौ ।
सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन हो । दुवै फन्डले नगद लाभांश वितरण गर्न बुधबार बुक क्लोज गर्दैछन् । यसर्थ, आजसम्म कायम इकाइधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । दुवैले आर्थिक वर्ष २०७९–८० को नाफाबाट प्रतिफल वितरण गर्न लागेका हुन् ।
सिद्धार्थ इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित ५% नगद लाभांश वितरण गर्नेछ । यसआधारमा फन्डले नगद लाभांशमा ७ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले करसहित ६.५% नगद लाभांश वितरण गर्दैछ । यसआधारमा फन्डले नगद लाभांशमा ७ करोड ८० लाख रुपैयाँ खर्च गर्नेछ ।
सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फन्ड योजनामध्ये २ वटाका इकाईधनीले इकाइधनीलाई लाभांश घोषणा गरेका हुन् । यता, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ का इकाईधनीहरुलाई भने कुनै प्रतिफल वितरण नगर्ने क्यापिटलले जानकारी गराएको छ । इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ एक महिना अघि मात्रै नेप्सेमा सूचीकृत भएको हो । यी फन्डलाई सिद्धार्थ बैंकले प्रवर्द्धन गरेको छ ।
काठमाडौ, १२ भदौ ।
नेसनल हाइड्रोपावर कम्पनीको बुधबारदेखि सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२।७१ कित्ता सेयर लिलामी बिक्री खुला हुने भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।
लिलामी भर्ने अन्तिम म्याद भदौ २४ गतेसम्म तोकिएको छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । नेसनल हाइड्रोपावरले गत असार २९ गतेदेखि ५०% हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ । साथै, यसको आवेदन संकलन हुने बाँकी केन्द्रहरु यी रहेका छन् ।
काठमाडौ, १२ भदौ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बुद्धभूमि नेपाल हाइड्रोपावरको खुद नाफा ह्वातै बढेको छ । यसअवधिमा यस कम्पनीले १ करोड ११ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ४६ लाख ४० हजार रुपैयाँ घाटा व्यहोरेको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।
गत वर्ष १ करोड ३६ लाख १४ हजार रुपैयाँ रहेको विद्युत् बिक्रीबाट हुने आम्दानी यो वर्ष १६ करोड ४४ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अन्य स्रोतबाट यस कम्पनीले ८७ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले अन्य स्रोतबाट ३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ ०२ पैसा छ । चुक्ता पुँजी ४० करोड रुपैयाँ छ । यता, जगेडा कोष भने ४ करोड ९२ लाख ३७ हजार रुपैयाँ ऋणात्मक छ ।