२०८३ मंसिर ८
२०८३ मंसिर ८

कागजमै तालिम, डेराबाटै चेक ! गरुडा नगरपालिकामा हाकिम नाथु र लेखापाल राजेशमाथि अनियमितताको आरोप

रौतहट, ८ मंसिर । रौतहटको गरुडा नगरपालिकामा भ्रष्टाचार र प्रशासनिक बेथिति बढेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह र लेखापाल राजेश साहमाथि विकास निर्माण तथा सामाजिक विकासका कार्यक्रमको बजेट दुरुपयोग गरेको गम्भीर आरोप लागेको छ।

लेखापाल साहको सक्रियतामा सामाजिक विकास र पूर्वाधार निर्माणका योजनामा ठूलो आर्थिक अनियमितता तथा कमिसनको चलखेल भएको स्थानीयको आरोप छ। गत आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तमा हतारहतार गुणस्तरहीन तथा अधुरा योजनाको समेत प्राविधिक मूल्याङ्कन गराई विभिन्न योजनाको शतप्रतिशत भुक्तानी गरिएको आरोप लगाइएको छ। यसले गर्दा नगरपालिकामा विकास निर्माणका काम प्रभावित भएको स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार मेयर कन्थमणि जयसवालको आग्रहमा गरुडा नगरपालिका आएका लेखापाल राजेश साह र प्रमुख प्रशासकीय अधिकृत नाथु साहले खरिद प्रक्रियामा समेत अनियमितता गर्ने गरेको आरोप छ। बोलपत्र प्रक्रियालाई छल्न फर्निचर, विद्युतीय सामग्री तथा मसलन्दजस्ता एउटै प्रकृतिका सामानलाई साना–साना बिल बनाएर कोटेसन वा सोझै खरिद गर्ने गरिएको स्थानीयको दाबी छ।

स्थानीय धिरेन्द्र यादवले नगरपालिकामा सामान खरिद गरेको बिल पेस गर्ने तर जिन्सी खातामा दाखिला नगर्ने तथा आवश्यकताभन्दा बढी मूल्यमा सामान खरिद गर्ने गरिएको आरोप लगाएका छन्। उनले नगरपालिकाको आर्थिक गतिविधिमाथि गम्भीर प्रश्न उठाउँदै अनियमितताको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।

त्यस्तै, नगरपालिकाका एक कर्मचारीले नाम नबताउने सर्तमा लेखापाल साहले सवारीसाधन, मेसिनरी तथा कार्यालयका उपकरण मर्मतका नाममा अस्वाभाविक बिल पेस गरी भुक्तानी लिने गरेको आरोप लगाएका छन्।

महिला, दलित, बालबालिका, युवा तथा कृषक लक्षित सीपमूलक तालिम, जनचेतनामूलक कार्यक्रम र गोष्ठीसमेत कागजमै सीमित राखेर भत्ता, खाजा तथा स्टेसनरीका नक्कली बिल बनाई भुक्तानी लिने गरिएको स्थानीयको आरोप छ। वास्तविक रूपमा कार्यक्रम सञ्चालन भए–नभएको तथा खर्चको विवरणबारे छानबिन गर्नुपर्ने उनीहरूको माग छ।

त्यसैगरी, नेपाल सरकारको मापदण्डविपरीत आफन्त तथा नजिकका व्यक्तिलाई करार र ज्यालादारीमा नियुक्त गरी तलबभत्ता खुवाउने गरिएको आरोपसमेत लेखापाल साहमाथि लागेको छ।

सवारीसाधनको लगबुक व्यवस्थित रूपमा नराख्ने तथा बिदाका दिन र निजी प्रयोजनमा प्रयोग भएका सवारीसाधनका लागि समेत कार्यालयबाट इन्धन कुपन जारी गर्ने गरिएको आरोप स्थानीयले लगाएका छन्। यस विषयमा लेखापाल राजेश साह र प्रमुख प्रशासकीय अधिकृत नाथु साहको सम्पत्तिसमेत छानबिन गर्न स्थानीयले माग गरेका छन्।अझ रोचक पक्ष त के छ भने कार्यालय छाडेर चन्द्रपुरस्थित डेराबाटै चेक काट्ने गरिएको आरोपसमेत उनीहरूमाथि लागेको छ। यस विषयमा प्रतिक्रिया लिन खोज्दा दुवै अधिकारी सम्पर्कमा नआएको समाचारमा उल्लेख छ।

नगरपालिकामा उठेका यी आरोपहरूको निष्पक्ष छानबिन गरी योजनाको भुक्तानी विवरण, खरिद प्रक्रिया, तालिम तथा गोष्ठीका खर्च र कर्मचारी नियुक्तिसम्बन्धी कागजात सार्वजनिक गर्न स्थानीयवासीले माग गरेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।