एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा आयोजित एनडीटिभी विश्व शिखर सम्मेलन २०२६ मा भारत–नेपाल सहकार्यबाट समृद्धि हासिल गर्ने विषयमा सम्बोधन गरेका छन् ।
नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित सम्मेलनमा अर्थमन्त्री वाग्लेले ‘निकटतामार्फत समृद्धि : भारत–नेपाल अवसर’ विषयक विशेष सत्रमा अतिथि वक्ताका रूपमा सम्बोधन गरेका हुन् ।
वाग्लेले नेपालमा विपद्का बेला भारतले गरेको सहयोगको प्रशंसा गर्दै विपद् व्यवस्थापन, पोषण र स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा द्विपक्षीय तथा क्षेत्रीय सहकार्यलाई संस्थागत गर्नुपर्ने बताएका छन् । वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग प्रत्यक्ष संवाद गर्दै नेपाल–भारत सम्बन्ध र दक्षिण एसियाका साझा हितबारे छलफल गरेका थिए ।
संवादका क्रममा वाग्लेले नेपालमा हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको जलवायु परिवर्तनबाट प्रभावित विपद् तथा सन् २०१५ को भूकम्पका बेला भारतले गरेको सहयोगको स्मरण गरे । उनले दुवै घटनामा विपद् आएको केही घण्टाभित्रै भारतले सहयोग उपलब्ध गराएको उल्लेख गर्दै नेपाल भारतप्रति आभारी रहेको बताए ।
‘नेपालको मन्त्रीका रूपमा म भन्न सक्छु, रसुवा भोटेकोशीको हालैको विपद् र सन् २०१५ को भूकम्पमा भारतबाट असाधारण सहयोग प्राप्त भएको थियो। दुवै घटनामा विपद् आएको केही घण्टाभित्रै भारत सहयोगका लागि उपस्थित भएको थियो,’ वाग्लेले भने ।
उनले विपद् प्रतिकार्य, पोषण र स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा भारत र नेपालबीच मात्र नभई त्रिपक्षीय तथा उपक्षेत्रीय तहमा समेत सहकार्यलाई संस्थागत गर्न सकिने सम्भावनाबारे प्रश्न उठाएका थिए ।
जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले सम्भव भएका क्षेत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनजस्ता औपचारिक संस्थागत संयन्त्रको महत्त्व रहेको बताए । तर, पछिल्लो समय समान सोच भएका देशबीच आवश्यकताअनुसार सहकार्य गर्ने र ठोस नतिजामा केन्द्रित हुने अभ्यास बढिरहेको उनको भनाइ थियो ।
यसअघि बिहीबार साँझ अर्थमन्त्री वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको सत्रमा सहभागिता जनाएका थिए । त्यसक्रममा उनले प्रधानमन्त्री मोदीसँग संक्षिप्त भेटघाट तथा कुराकानीसमेत गरेका थिए ।
उनी सम्मेलनमा सहभागी हुन बिहीबार नयाँदिल्ली पुगेका थिए ।
काठमाडौं । दक्षिण अफ्रिकाले दोस्रो टेस्टमा अस्ट्रेलियालाई एक इनिङ्स र ३१ रनले पराजित गरेको छ । योसँगै तीन खेलको टेस्ट शृङ्खला १–१ को बराबरीमा पुगेको छ । अस्ट्रेलिया तीन वर्षपछि पहिलो पटक इनिङ्स अन्तरले पराजित भएको हो ।
वर्षाका कारण खेलका पहिलो दुई दिन जम्मा ४३ ओभर मात्रै सम्भव भएको थियो । त्यसपछि दक्षिण अफ्रिकाले कप्तान टेम्बा बावुमाको १७९ रनको शतकीय पारीको मद्दतमा पहिलो इनिङ्स ९ विकेट गुमाएर ४२५ रनमा घोषित गरेको थियो। मार्को यानसनले ८५ र साइमन हार्मरले ८२ रन बनाए ।
जवाफमा अस्ट्रेलियाको पहिलो इनिङ्स ९९ रनमै समेटियो । स्टिभ स्मिथले सर्वाधिक २८ रन बनाए। दक्षिण अफ्रिकाका मार्को यानसनले पाँच विकेट लिए भने कागिसो रबाडा र वियान मुल्डरले दुई–दुई विकेट हात पारेका थिए ।
फलोअनमा परेको अस्ट्रेलियाले दोस्रो इनिङ्समा २९५ रन बनायो । ट्राभिस हेडले १२१ रनको शतकीय पारी खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। एलेक्स केरी ३७ रनमा अविजित रहे ।
दक्षिण अफ्रिकाका रबाडाले दोस्रो इनिङ्समा चार, मुल्डरले तीन र हार्मरले दुई विकेट लिए । रबाडा र यानसनले खेलमा कुल ६–६ विकेट लिएका थिए । अस्ट्रेलिया सन् २०२३ मा भारतसँग इनिङ्स अन्तरले पराजित भएयता पहिलो पटक यसरी हारेको हो । दोस्रो टेस्टमा दक्षिण अफ्रिकाको जितसँगै तीन खेलको शृङ्खला १-१ खेलको बराबरी भएको छ भने तेस्रो तथा निर्णायक खेल अक्टोबर २७ देखि केपटाउनमा हुने तालिका छ ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । चर्चित फ्रेन्चाइज फिल्म ‘कबड्डी’को पाँचौं श्रृंखलालाई ‘द फाइनल म्याच’ आजदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ ।
यो फिल्मको पहिलो दुई भागमा काजीले मैयाँलाई एकोहोरो प्रेम गरेका थिए भने त्यसपछिका दुई भागमा काजीको जीवनमा नयाँ सोल्टिनीहरू आएका थिए । अब भने ‘कबड्डी ५’मा काजी र मैयाँको मिलन भएको छ भने काजीको जीवनमा अवरोध खडा गर्न विपिन कार्कीको आगमन भएको ट्रेलरबाट बुझ्न सकिन्छ ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ राई, विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्तान, सुरज यादव, रमेश बज्राचार्य, ज्ञानु जोशीलगायतको अभिनय देख्न सकिनेछ ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ निर्मातामा छन् । सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन छ ।
यस फिल्मले नेपाली बक्स अफिसमा असोज ३० गतेदेखि प्रदर्शनमा आएको अ बाट आमा- २ र असोज ३१ गतेदेखि प्रदर्शनमा आएको छ माया छपक्कै- २ सँग प्रतिष्पर्धा गर्ने भएको छ ।एभरेष्ट न्यूज एजेन्सी,