काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अस्वस्थ भएपछि उपचारका लागि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका छन् ।
अस्पताल स्रोतका अनुसार गुरुङलाई ज्वरो आउनुका साथै ढाड दुख्ने र शरीर तथा खुट्टामा डाबरजस्ता खटिरा देखिएको छ ।
रसुवामा आएको भीषण बाढीपछि करिब १० दिनसम्म निरन्तर उद्धार, राहत तथा विपद् व्यवस्थापनमा खटिएका गुरुङ अत्यधिक धपेडीका कारण अस्वस्थ भएको हुन सक्ने चिकित्सकले बताएका छन् ।
उनको स्वास्थ्य अवस्थाबारे थप परीक्षण तथा उपचार भइरहेको बताइएको छ ।एभरेष्ट न्यूज एजेन्सी,
एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
थापाले शनिबार खड्का र आइतबार कोइरालासँग भेट गरी पार्टीको आन्तरिक अवस्था तथा आगामी महाधिवेशनबारे छलफल गरेका हुन् ।
आज दिउँसो भएको भेटमा सभापति थापा र नेता कोइरालाबीच पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान तथा संगठनलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको थियो । कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका थिए ।
कोइरालाले पार्टी एकताका लागि आफूले आवश्यक त्याग गर्न तयार रहेको बताएका थिए । जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताएका थिए ।
यसैबीच, आसन्न महाधिवेशन तथा भोटेकोशी बाढीपछिको राहत र पुनर्निर्माणलगायत विषयमा छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठकमा पार्टीभित्रको पछिल्लो विवाद र आगामी राजनीतिक रणनीतिबारे समेत बैठकमा छलफल हुने बताइएको छ ।एभरेष्ट न्यूज एजेन्सी
नुवाकोट । भोटेकोशी बाढीबाट नुवाकोटमा २६०८ जना सम्पर्कविहिन भएका छन् ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले दिएको अपडेट अनुसार नुवाकोटबाट १८७७ पुरुष, ४६५ महिला, १०४ विदेशी पुरुष, १०७ विदेशी महिला र ५५ जना नखुलेका मानिस सम्पर्कविहिन रहेका छन् ।
प्रशासनले अहिलेसम्म जिल्लाका ३४०३ जनाको उद्धार गरिएको जानकारी दिएको छ । त्यसैगरी नुवाकोटमा अहिलेसम्म १९३ जनाको शव निकालिएको छ । जसमा १२० जना लिंग पहिचान नभएका रहेका छन् . । एभरेष्ट न्यूज एजेन्सी
गोरखा । चुमनुब्री गाउँपालिका–४ नामरुङस्थित थेराङ खोलामा बाढी आएर पुलहरू बगाएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ ।
भदौ २१ गते बिहान करिब ३ः३० बजे आएको बाढीले चुमनुब्री गाउँपालिका–४ र २ जोड्ने फलामे पुल तथा गाउँपालिकाबाट नामरुङ जंगलतर्फ जाने बुढीगण्डकी नदीमाथिको झोलुङ्गे पुल बगाएको प्रशासनले जनाएको छ ।
प्रशासनले अर्को सूचना जारी नभएसम्म मनास्लु तथा लार्केपास पदमार्गमा यात्राको तयारीमा रहेका वा यात्रामा रहेका पदयात्रीलाई पदयात्रा नगर्न र नगराउन आग्रह गरेको छ ।
विपद्जन्य घटना वा असामान्य अवस्था सिर्जना भएमा तत्काल नजिकको सुरक्षा निकाय, प्रहरी चौकी वा स्थानीय तहलाई जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ।एभरेष्ट न्यूज एजेन्सी
वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव क्यासिनोमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार राति प्रहरीले वीरगञ्जस्थित गण्डकको क्लार्क रिसोर्टमा रहेको क्यासिनोमा विशेष अभियान सञ्चालन गर्दा अध्यक्ष यादवसहित आठ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय पोखरीयाका इन्चार्ज समेत रहेका प्रहरी इन्स्पेक्टर प्रदिप पौडेल समेत रहेको बताइएको छ ।
प्रहरीले क्यासिनो परिसरबाट गाउँपालिकाको ना१झ १६८७ नम्बरको सरकारी स्कर्पियोसमेत नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले अध्यक्ष यादवसहित आठ जना नियन्त्रणमा परेको पुष्टि गर्दै आज सार्बजनिक गर्ने तयारी गरेको बताएको छ ।
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १३४१ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १३४१ जनाको शव फेला परेको हो । जसमा रसुवामा १६३, नुवाकोटमा १९५, धादिङमा ६७, चितवनमा ३६२, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२० जनाको शव फेला परेको छ ।
अहिलेसम्म ९९ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण ४ हजार ९९६ जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा रसुवाका १९६७, नुवाकोटका २३४० र विदेशी नागरिक ५८९ रहेको विवरणमा उल्लेख छ । त्यस्तै करिब १०० जना सुरक्षाकर्मी र कर्मचारी अझै सम्पर्कविहिन रहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जाजरकोटका भूकम्प प्रभावित १८८ लाभग्राहीलाई निजी आवास पुनर्निर्माणका लागि अनुदानको पहिलो किस्ता पठाइएको छ ।
आवास पुनर्निर्माण सम्झौता गरेका लाभग्राहीलाई प्रतिघरधुरी ५० हजार रुपैयाँका दरले रकम उपलब्ध गराइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको हो ।
विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदानसम्बन्धी दोस्रो संशोधित कार्यविधि, २०८३ अनुसार आवास पुनर्निर्माण सम्झौता भएपछि अनुदान रकम लाभग्राहीको बैंक खातामा भुक्तानी गर्ने व्यवस्था रहेको छ ।
पहिलो किस्ता प्राप्त गरेपछि लाभग्राहीले आवास निर्माण गरी जगको तहसम्मको काम सम्पन्न गर्नुपर्नेछ । त्यसपछि प्राविधिक जाँच तथा निर्माण सम्पन्न भएको प्रतिवेदनका आधारमा दोस्रो किस्ताको रकम उपलब्ध गराइने प्राधिकरणले जनाएको छ ।