आजको राशिफल बिस २०८३ कार्तिक १८ गते बुधबार ईस २०२६ नोभेम्बर ४ नेपाल सम्बत ११४६ कौलागा दशमी -२५, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण पक्ष दशमी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, ब्रम्हा योग, विष्टी करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर १६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १९ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कामको चाप बढ्न सक्छ, तर प्राथमिकता छुट्याएर अघि बढ्दा जिम्मेवारी पूरा गर्न सकिनेछ। नयाँ व्यक्तिसँगको सम्पर्कले व्यावसायिक अवसर सिर्जना गर्न सक्छ। व्यापारमा मूल्य र गुणस्तरलाई ध्यान दिँदा ग्राहकको विश्वास बढ्नेछ। आर्थिक कारोबारमा पुरानो हिसाब मिलाउने समय छ। पारिवारिक विषयमा आफ्नो धारणा राख्दा संयम अपनाउनुहोला। प्रेम सम्बन्धमा साना कुरालाई लिएर दूरी बढ्न नदिनु राम्रो हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आर्थिक योजना बनाउन र भविष्यका लागि बचतको बाटो खोज्न अनुकूल समय छ। कार्यक्षेत्रमा स्थिर प्रयासले राम्रो परिणाम दिन सक्छ। व्यवसायमा नयाँ वस्तु वा सेवासम्बन्धी योजना अघि बढाउन सकिनेछ। आम्दानीको अवसर देखिए पनि खर्चको हिसाब राख्नुहोला। घरपरिवारमा सम्पत्ति वा आर्थिक व्यवस्थापनबारे छलफल हुन सक्छ। आफ्नो निर्णयमा परिवारको सुझाव समेट्दा सहजता आउनेछ। खानपानमा अनियमितता हुन नदिनुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बुध ग्रहसँग सम्बन्धित राशि भएकाले आज बौद्धिक क्षमता र संवादकौशल प्रभावकारी बन्न सक्छ। अध्ययन, लेखन, सञ्चार तथा व्यापारमा संलग्न व्यक्तिका लागि दिन उपयोगी रहनेछ। नयाँ योजना प्रस्तुत गर्दा समर्थन प्राप्त हुन सक्छ। काममा प्राप्त सूचनाको सत्यता जाँच गरेर मात्र निर्णय लिनुहोला। आर्थिक पक्षमा आम्दानीका सम्भावना खोज्न सकिनेछ। साथीभाइसँगको कुराकानीले नयाँ सोच विकास गर्न मद्दत गर्नेछ। प्रेम सम्बन्धमा स्पष्ट अभिव्यक्तिले आत्मीयता बढाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज केही समय एकान्तमा बसेर आफ्ना योजना र प्राथमिकताबारे सोच्न मन लाग्न सक्छ। कार्यक्षेत्रमा अरूको जिम्मेवारीसमेत पूरा गर्नुपर्ने अवस्था आउन सक्छ। महत्वपूर्ण निर्णय गर्दा पर्याप्त जानकारी जुटाउनुहोला। व्यापारमा नयाँ लगानीभन्दा चलिरहेको कारोबारलाई व्यवस्थित बनाउनु उचित हुनेछ। खर्चको दबाब महसुस हुन सक्छ। परिवारका सदस्यसँग मनका कुरा साझा गर्दा तनाव कम हुनेछ। व्यक्तिगत सम्बन्धमा पुराना गुनासा दोहोर्याउनुभन्दा समाधान खोज्नु राम्रो हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज सामाजिक सम्पर्क र समूहगत कामबाट लाभ लिन सकिनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वा सहकार्यको प्रस्ताव आउन सक्छ। आफ्नो नेतृत्व क्षमता देखाउने अवसर मिल्नेछ। व्यापारमा नयाँ ग्राहकसँग सम्बन्ध विस्तार हुन सक्छ। आर्थिक रूपमा अपेक्षा गरिएका केही काम अघि बढ्ने सम्भावना छ। साथीभाइसँगको भेटघाटले उत्साह बढाउनेछ। परिवारमा कुनै सदस्यको उपलब्धिले खुसी मिल्न सक्छ। प्रेम सम्बन्धमा एकअर्काको व्यस्ततालाई बुझ्नु आवश्यक छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज व्यावसायिक जीवनमा आफ्नो दक्षता देखाउने अवसर प्राप्त हुन सक्छ। कामको विवरण र कागजात व्यवस्थित राख्दा फाइदा हुनेछ। वरिष्ठ व्यक्तिसँग महत्वपूर्ण छलफल हुन सक्छ। व्यापारमा नयाँ सम्झौता गर्नुअघि सर्तहरू राम्ररी बुझ्नुहोला। आर्थिक पक्षमा आम्दानी बढाउनेभन्दा खर्च व्यवस्थापनमा ध्यान दिनुपर्नेछ। पारिवारिक जिम्मेवारी र कामबीच तालमेल मिलाउनु आवश्यक छ। स्वास्थ्यमा मानसिक थकान र निद्राको नियमिततालाई बेवास्ता नगर्नुहोला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज नयाँ ज्ञान र अनुभव प्राप्त गर्ने अवसर मिल्न सक्छ। अध्ययन, अध्यापन तथा यात्रासम्बन्धी योजना अघि बढाउन सकिनेछ। कार्यक्षेत्रमा आफ्नो विचार स्पष्ट रूपमा प्रस्तुत गर्दा सकारात्मक प्रतिक्रिया प्राप्त हुनेछ। व्यापारमा नयाँ क्षेत्रको सम्भावना खोज्न सकिनेछ। आर्थिक कारोबारमा कागजी प्रक्रिया पूरा गरेर मात्र अघि बढ्नुहोला। पारिवारिक वातावरण सहयोगी रहनेछ। प्रेम सम्बन्धमा भविष्यका योजनाबारे छलफल हुन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आर्थिक तथा व्यक्तिगत विषयमा गम्भीर निर्णय लिनुपर्ने हुन सक्छ। अरूसँगको लेनदेनमा पारदर्शिता कायम गर्नुहोला। कार्यक्षेत्रमा गोप्य राख्नुपर्ने सूचना र योजनाप्रति सतर्क रहनु आवश्यक छ। व्यापारमा साझेदारीको विषय उठ्न सक्छ, तर हतारमा सहमति नजनाउनुहोला। पुरानो आर्थिक दायित्व व्यवस्थापन गर्ने प्रयास सफल हुन सक्छ। परिवारमा विश्वासको वातावरण बनाउन खुला संवाद आवश्यक हुनेछ। भावनात्मक दबाबमा निर्णय नगर्नुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज साझेदारी र व्यक्तिगत सम्बन्धमा विशेष ध्यान दिनुपर्नेछ। कार्यक्षेत्रमा सहकर्मीसँगको समन्वयले कठिन काम सहज बनाउन सक्छ। नयाँ व्यावसायिक सम्झौताको सम्भावना छ। आफ्नो भूमिका र जिम्मेवारी स्पष्ट पारेर अघि बढ्नुहोला। आर्थिक विषयमा संयुक्त लगानी वा कारोबार गर्दा सबै पक्ष बुझ्नु आवश्यक छ। दाम्पत्य जीवनमा एकअर्काको विचारलाई सम्मान गर्दा सम्बन्ध बलियो बन्नेछ। सामाजिक क्षेत्रमा सक्रियता बढ्न सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज दैनिक कामलाई व्यवस्थित बनाउने र पुराना कमजोरी सुधार्ने अवसर छ। कार्यक्षेत्रमा नियमितता र समयपालनले राम्रो प्रभाव पार्नेछ। लामो समयदेखि बाँकी रहेका कागजी तथा प्रशासनिक काम पूरा गर्न सकिनेछ। व्यापारमा कर्मचारी र सहकर्मीसँगको समन्वय महत्वपूर्ण हुनेछ। आर्थिक रूपमा साना खर्च जोडिएर ठूलो हुन सक्ने भएकाले ध्यान दिनुहोला। परिवारमा व्यवहारिक सहयोग आवश्यक पर्न सक्छ। आफ्नो स्वास्थ्य र आरामका लागि पनि समय छुट्याउनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज सिर्जनात्मक काम र व्यक्तिगत रुचिका क्षेत्रमा प्रगति गर्न सकिनेछ। नयाँ योजना प्रस्तुत गर्दा सकारात्मक प्रतिक्रिया मिल्न सक्छ। विद्यार्थीका लागि अध्ययनमा ध्यान केन्द्रित गर्ने समय छ। व्यापारमा प्रचारप्रसार र नयाँ ग्राहकसँग सम्पर्क बढाउन सकिनेछ। आर्थिक विषयमा मनोरञ्जन वा विलासितामा हुने खर्च नियन्त्रण गर्नुहोला। सन्तान वा परिवारका सदस्यसँग रमाइलो समय बित्न सक्छ। प्रेम सम्बन्धमा आत्मीयता बढाउने अवसर मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
आज घरपरिवार र व्यक्तिगत जीवनका विषयले बढी समय लिन सक्छन्। घरको व्यवस्थापन वा मर्मतसम्भारसम्बन्धी योजना बन्न सक्छ। कार्यक्षेत्रमा नयाँ काम सुरु गर्नुअघि आवश्यक तयारी पूरा गर्नुहोला। व्यापारमा घरबाट सञ्चालन हुने काम वा पारिवारिक सहयोगबाट फाइदा लिन सकिनेछ। आर्थिक निर्णय गर्दा भावनाभन्दा वास्तविक आवश्यकतालाई प्राथमिकता दिनुहोला। परिवारका ज्येष्ठ सदस्यसँगको संवाद उपयोगी बन्न सक्छ। मन शान्त राख्न आफ्नो रुचिको काममा समय दिनु राम्रो हुनेछ । एभरेष्ट न्यूज एजेन्सी,
रामअधार यादब,रौतहट, भादौ १० गते
रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइल प्रयोगकर्ता लामो समयदेखि नेटवर्क समस्याबाट प्रभावित भएका छन्। नेटवर्क कमजोर हुँदा स्थानीयवासीलाई फोनमा कुराकानी गर्न तथा मोबाइल सेवा प्रयोग गर्न कठिनाइ भइरहेको छ।
कटहरिया नगरपालिका अन्तर्गत छेदीचोक र कटहरिया बजार क्षेत्रमा एनसेलका टावर रहे पनि झौवा गाउँलगायत आसपासका क्षेत्रमा वर्षौंदेखि नेटवर्क समस्या कायम रहेको स्थानीय समाजसेवी गणिलाल यादवले जानकारी दिनुभएको छ।
नेटवर्क कमजोर भएका कारण आवश्यक समयमा फोन सम्पर्क गर्न नसकिने, कुराकानी गर्दा आवाज स्पष्ट नआउने तथा पटक–पटक फोन काटिने समस्या रहेको स्थानीयवासीको गुनासो छ।
स्थानीय समाजसेवी यादवले एनसेल कम्पनी तथा सम्बन्धित निकायलाई यस समस्याप्रति गम्भीर ध्यान दिन आग्रह गर्दै यथाशीघ्र प्राविधिक टोली पठाई नेटवर्क समस्या समाधान गर्न अनुरोध गर्नुभएको छ।
स्थानीयवासीले सञ्चारजस्तो अत्यावश्यक सेवामा लामो समयदेखि समस्या भइरहेकाले सम्बन्धित निकायले तत्काल पहल गरी भरपर्दो र गुणस्तरीय नेटवर्क सेवा उपलब्ध गराउन माग गरेका छन्।
काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
समितिले सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना समक्ष बुझाएको प्रतिवेदनले विभिन्न समयमा भएका स्याटेलाइट ब्याण्डविथ खरिद तथा सम्झौतामा कानुनविपरीत कार्य, प्रक्रियागत कमजोरी, वित्तीय अनुशासन उल्लङ्घन तथा संस्थालाई आर्थिक हानि पुग्ने जस्ता गम्भीर प्रकृतिका कैफियत फेला परेको निष्कर्ष निकालेको छ ।
स्याटेलाइट ब्याण्डविथ खरिदका सन्दर्भमा विभिन्न निकायमा परेका उजुरी, महालेखापरीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई आधार बनाएर सञ्चार मन्त्रालयले गत जेठ २२ गते अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले शुक्रबार मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा विभिन्न अवधिमा भएका खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को व्यवस्था उल्लङ्घन भएको तथा त्यसबाट नेपाल टेलिभिजनलाई आर्थिक नोक्सानी पुगेको उल्लेख छ । जसबाट करिब रु २० करोड ६१ लाख ७३ हजार ४६९ बराबरको हानीनोक्सानी भएको देखिएको प्रतिवेदनमा जनाइएको छ ।
प्रतिवेदनअनुसार स्याटेलाइट ब्याण्डविथ भाडा खरिदका क्रममा प्रतिस्पर्धात्मक प्रक्रिया नअपनाई पुरानै दररेटमा सम्झौताको म्याद थप गरिएको, सेवा सुरु हुनुअघि नै भाडा भुक्तानी गरिएको, सेवा सुरु भएपछि पनि बढी रकमको बिल भुक्तानी गरिएको तथा लागत अनुमान अस्वाभाविक रूपमा बढाई आवश्यकताभन्दा बढी ब्याण्डविथ खरिद गरिएको पाइएको छ । सन् २०१२ मा प्राविधिक रुपमा असफल बोलपत्रदातालाई नै सेवा खरिदका लागि छनौट गरिएको गम्भीर विश्लेषणसहितको प्रतिवेदन समितिले मन्त्रालयलाई बुझाएको छ । त्यस्तै, प्रयोग गरिरहेको स्याटेलाइटको ‘डिजाइन लाइफ’ सकिने बेलामा सोहि सेवा प्रदायकसँग थप १० मेगाहर्ज ब्याण्डविथ खरिद गर्नेगरी सम्झौता गरिएको प्रतिवेदनले औंल्याएको छ ।
यस्ता कार्यका कारण विभिन्न अवधिमा नेपाल टेलिभिजनलाई आर्थिक क्षति पुगेको अध्ययन समितिले उल्लेख गरेको छ । त्यस्तै, स्याटेलाइट ब्याण्डविथको भुक्तानी प्रक्रियामा नेपाल सरकारको राजस्व खातामा जम्मा हुनुपर्ने कर तथा अन्य राजस्व दायित्वसमेत पूर्ण रूपमा पालना नभएको प्रतिवेदनमा उल्लेख छ । यसले वित्तीय अनुशासन र राजस्व व्यवस्थापनमा समेत गम्भीर कमजोरी देखिएको समितिको निष्कर्ष छ ।
अध्ययन समितिले सन् २०१२ को मूल सम्झौतादेखि त्यसपछिका पूरक सम्झौतासम्म संलग्न उच्च व्यवस्थापनका सदस्य तथा सञ्चालक समितिका पदाधिकारीले संस्थाको हितविपरीत निर्णय गरेको देखिएको उल्लेख गरेको छ । प्रतिवेदनमा उनीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेपाल टेलिभिजनलाई हानि पुग्ने गरी निर्णय गरेको भन्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाउनका लागि सिफारिस गरिएको छ । सञ्चालक समितिले निर्णयमा हेलचक्य्राइँ गर्दा सन् २०२२ जुन ६ मा नेपाल टेलिभिजनको सबै च्यानल करिब ३० मिनेट प्रशारण बन्द भएको पनि प्रतिवेदनमा जनाइएको छ ।
त्यस्तै, नेपाल टेलिभिजनभन्दा बाहिरबाट सञ्चालक समितिमा नियुक्त भएका पदाधिकारीलाई संस्थाभित्रका उच्च व्यवस्थापनबाट यथार्थपरक सूचना उपलब्ध नगराइएको तथा मन्त्रालय र नेपाल टेलिभिजनका प्राविधिक कर्मचारीले आफ्नो विज्ञताअनुसार जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको पनि प्रतिवेदनले औँल्याएको छ । लागत अनुमान तयार गर्ने क्रममा भएको लापरबाही तथा अस्वाभाविक निर्णयले संस्थालाई गम्भीर आर्थिक भार परेको निष्कर्ष अध्ययन समितिको छ ।
नेपाल टेलिभिजनले आफ्ना च्यानल भू–उपग्रहमार्फत प्रसारण गर्न सन् २००२ देखि विदेशी स्याटेलाइट ब्याण्डविथ सेवा प्रदायक कम्पनीसँग निरन्तर रूपमा भाडा सम्झौता गर्दै आएको छ । यस अवधिमा च्यानल थप गर्ने, स्ट्यान्डर्ड डेफिनेसन (एसडी) बाट हाई डेफिनेसन (एचडी) मा स्तरोन्नति गर्ने, पूरक सम्झौता गर्ने तथा उपकरण खरिदसम्बन्धी निर्णयहरूमा विभिन्न समयमा प्रश्न उठ्दै आएका थिए । प्रतिस्पर्धा बिनै खरिद, प्रक्रियागत अनियमितता, अनावश्यक आर्थिक भार, वित्तीय अनुशासन उल्लङ्घन तथा स्वार्थको द्वन्द्वजस्ता विषय देखिएको निष्कर्षसहित प्रतिवेदनले सम्बन्धित व्यक्तिमाथि कानुनबमोजिम आवश्यक कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । वैज्ञानिकहरूले प्रयोगशालामा कृत्रिम रूपमा मानव शुक्राणु विकास गर्ने दिशामा महत्वपूर्ण सफलता हासिल गरेका छन् । अनुसन्धानकर्ताले मानव स्टेम सेलबाट भविष्यमा परिपक्व शुक्राणु बन्न सक्ने प्रारम्भिक शुक्राणु कोशिका विकास गर्न सफल भएका हुन् । यो उपलब्धिले पुरुष बाँझोपनको कारण बुझ्न र भविष्यमा प्रजनन उपचारको नयाँ आधार तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अमेरिकाको पेन्सिल्भेनिया विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको यो अध्ययन वैज्ञानिक पत्रिका सेल स्टेम सेलमा प्रकाशित भएको छ । अनुसन्धानका क्रममा वैज्ञानिकहरूले पहिलोपटक मानव स्टेम सेलबाट तयार गरिएका प्रारम्भिक शुक्राणु कोशिकालाई विशेष जैविक वातावरणमा जीवित मुसाको शरीरमा विकास गराएका हुन् । उनीहरूको मुख्य उद्देश्य अहिले परिपक्व शुक्राणु उत्पादन गर्नु नभई मानव शुक्राणु बन्ने प्रारम्भिक जैविक प्रक्रिया राम्रोसँग बुझ्नु रहेको बताइएको छ ।
अनुसन्धानकर्ताका अनुसार यस प्रविधिबाट पुरुष बाँझोपनसम्बन्धी अनुसन्धानमा ठूलो सहयोग पुग्नेछ। हाल पुरुष बाँझोपनका करिब ४० प्रतिशत घटनामा वास्तविक कारण पत्ता लाग्न सकेको छैन। प्रारम्भिक शुक्राणु विकासको प्रक्रिया स्पष्ट रूपमा बुझ्न सके आनुवंशिक तथा जैविक कारण पहिचान गर्न सहज हुने र भविष्यमा नयाँ उपचार विधि तथा औषधि विकासको बाटो खुल्ने विश्वास गरिएको छ। यद्यपि प्रयोगशालामा तयार गरिएका यी कोशिका पूर्ण रूपमा कार्यक्षम छन् वा छैनन् भन्ने कुरा आगामी अध्ययनबाट पुष्टि गर्नुपर्ने अनुसन्धानकर्ताको भनाइ छ।
यस अध्ययनमा वैज्ञानिकहरूले मानव कोशिकालाई पुनः कार्यक्रम गरी बहुक्षमता स्टेम सेलमा रूपान्तरण गरेका थिए । त्यसपछि विशेष जैविक संकेतको प्रयोग गरेर ती कोशिकालाई प्रारम्भिक प्रजनन कोशिकामा परिवर्तन गरिएको थियो। ती कोशिकालाई विकासशील मुसाको अण्डकोषका सहायक कोशिकासँग मिसाएर मुसाको मिर्गौलामाथि बनाइएको विशेष जैविक थैलीमा प्रत्यारोपण गरिएको थियो, जहाँ कोशिकाले अनुकूल वातावरण पाएर विकास गरेका थिए।
करिब छ महिनापछि ती कोशिकाले अण्डकोषजस्तै नलीयुक्त संरचना बनाउँदै स्पर्मेटोगोनिया अवस्थासम्म विकास गरेको अनुसन्धानमा उल्लेख गरिएको छ । यही प्रारम्भिक कोशिकाबाट पछि परिपक्व शुक्राणु बन्ने प्रक्रिया सुरु हुने भएकाले यसलाई मानव प्रजनन विज्ञानमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। साथै, विकसित कोशिकामा सक्रिय भएका जीनहरू सामान्य मानव स्पर्मेटोगोनियासँग धेरै हदसम्म मिल्दोजुल्दो रहेको पनि अनुसन्धानले देखाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २२ सयले घटेर तोलाको २ लाख ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९८ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले घटेर ४९४५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५०२० मा कारोबार भएको थियो । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बाँकी हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, बाँकी पहाडी भू-भागमा आंशिक बादल लागेको छ र तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा तथा बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अन्य केही भू-भागमा तातो दिन हुने सम्भावना रहेको छ ।
आज राती कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा तथा बाँकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बागमती र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल बैठक आज बस्दैछ ।
रास्वपाको संसदीय दलको बैठक आज सिंहदबारस्थित संसदीय दल कार्यालयमा मध्याह्न १२: १५ बजे बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
महामन्त्री बुर्लाकोटीकाअनुसार संसदीय समितिका सभापतिहरू चयनको विषयमा छलफल हुन बैठक बोलाइएको छ ।
प्रतिनिधि सभाअन्तर्गतका विषयगत १० समितिका सभापतिको निर्वाचन बैशाख ४ गते शुक्रबार हुने कार्यतालिका रहेको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका क्लस्टरको सच्चा पहरेदार बन्न आह्वान गरेका छन् ।
प्रधानमन्त्री कार्यालयमा आज भएको छलफलमा उहाँले समानुपातिक सांसदहरूको भूमिकालाई राष्ट्रिय मूलधार र समुदायको सेतुको रूपमा व्याख्या गरेका थिए । प्रधानमन्त्री शाहले सांसदहरूलाई भने- ‘तपाईंहरूको पहिलो प्राथमिकता आफ्ना क्लस्टरका मुद्दा उठाउनु हो, त्यसपछि राष्ट्रिय कानुन निर्माणमा केन्द्रित हुनुहोस् र समग्र देशको विकासमा ध्यान दिनुहोस्। प्रत्यक्ष निर्वाचित एउटा क्षेत्रमा बाँधिएका हुन्छन्, तर तपाईंहरू देशभरका आफ्ना क्लस्टरका लागि आशाको केन्द्र हुनुहुन्छ ।’
प्रधानमन्त्री शाहले आगामी पाँच वर्षसम्म निरन्तर सहकार्यको प्रतिबद्धता जनाउँदै समस्या समाधानमा प्रविधिको प्रयोगमा जोड दिए ।
छलफलमा उठेका तात्कालिक विषयमा फलोअप गरिने र आगामी दिनमा आवश्यक सुझाव तथा समन्वयका लागि ‘डिजिटल माध्यम’ बाट सधैं खुला रहने उनको भनाइ थियो । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । सरकारले राष्ट्रिय प्राथमिकता निर्धारणका लागि तयार गरिएको ‘राष्ट्रिय प्रतिबद्धता’ मा सातै प्रदेशमा अत्याधुनिक र पूर्णता:पहुँचयुक्त खेल पूर्वाधारहरु निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।
राजनीतिक दलहरुसँग सुझाव मागिएको राष्ट्रिय प्रतिबद्धता पत्रमा विद्यालयस्तर देखि नै प्रतिभा पहिचान कार्यक्रम मार्फत स्कूल स्पोर्टसलाई पाठ्यक्रमको अभिन्न अङ्ग बनाइने उल्लेख छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । सरकारले राष्ट्रिय प्राथमिकता निर्धारणका लागि तयार गरिएको ‘राष्ट्रिय प्रतिबद्धता’ मा पाँच वर्षमा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउने लक्ष्य राखेको छ ।
राजनीतिक दलहरुसँग सुझाव मागिएको राष्ट्रिय प्रतिबद्धता पत्रमा औसत आर्थिक वृद्धिदर ७ प्रतिशत हासिल गरी प्रतिव्यक्ति नेपालीको आय ३ हजार डलर पुर्याउने लक्ष्य राखिएको छ ।
त्यस्तै सरकारले नेपालको कूल ग्राहस्थ उपत्पादन १०० अर्ब पुर्याउने लक्ष्य राखेको छ । मुलुकभित्र रोजगारीको विस्तार, सामाजिक सामन्जस्यता, अवसरको समानता र पर्यावरणीय सन्तुलनमा गुणात्मक सुधार आर्थिक विकासमा बाधक रहेका तथा असान्दर्भिक कानुन संशोधन तथा नयाँ कानुन निर्माण गरी समग्रमा व्यावसायिक वातावरणमा सुधार गरिने राष्ट्रिय प्रतिवद्धता पत्रमा उल्लेख छ। एभरेष्ट न्यूज एजेन्सी,