काठमाडौं, १७ माघ ।
नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर दोषी ठहर भएको छ ।
सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि गरेको फैसलालाई मंगलबार सदर गर्दै भाटभटेनीले कर छलेको ठहर गरेको हो । न्यायाधीशहरु कुमार चुडाल, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजस्व ठगी गरेको विषयमा यसअघि सर्वोच्च अदालतबाट गरेको आदेश सदर गर्ने फैसला गरेको हो ।
यससँगै भाटभटेनीले कर, जरिबाना थप दस्तुर तथा ब्याजसमेत गरी डेढ अर्ब रुपैयाँभन्दा धेरै रकम बुझाउनुपर्ने भएको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले २०७६ पुस २६ गते फैसला गर्दै भाटभटेनीलाई दोषी ठहर गरेको थियो । यो फैसलाविरुद्ध पुनरावलोकन निवेदन दायर भएको थियो ।
पुनरावलोकनको सुनुवाइपछि पुनः अदालतले दोषी ठहर गरेको हो । अदालतले यसअघिको फैसलामा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर, अरुण इन्टरकन्टिनेन्टल, शङ्कर ग्यास, महेश बानियाँ र आईएटी प्रालिलाई दोषी ठहर गरेर बिगो भराउने फैसला गरेको थियो । भाटभटेनीले अदालतमा पुनरावलोकनको मुद्दा दर्ता गराएर राजस्व तिर्न अस्वीकार गरेको भए पनि अदालतको फैसलासँग राजस्व ब्याज र जरिबानासहित बुझाउनुपर्नेछ । अदालतको यो फैसलाले नक्कली भ्याट बिलमा अब नयाँ नजिर स्थापित भएको छ । न्युजकारखाना
काठमाडौं, १७ माघ ।
साझा यातायातले प्रमुख कार्यकारी अधिकृतका लागि पुनः दरखास्त आह्वान गरेको छ।
खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वान गरे पनि तोकिएको म्यादभित्र दरखास्त प्राप्त नभएको भन्दै साझाले आज पुनः आवेदन मागेको हो। १५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ।न्युजकारखाना
काठमाडौं, १७ पुस ।
जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैँछन् ।
आज टियु मैदानमा एपीएफ क्लब र कर्णाली प्रदेशबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच खेल हुदैँछ ।
अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ७ खेलमा सबै खेल जितेर १४ अंकसहित शिर्ष स्थानमा रहेको छ र पुलिसले फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ ।
त्यस्तै, त्रिभुवन आर्मी क्लब ८ खेलमा ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ र फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
त्यसैगरी, बागमती प्रदेशले आफ्ना ९ खेलमा १२ अंकनै हासिल गर्दै तेस्रो स्थानमा छ भने मधेश प्रदेशले पनि आफ्ना ९ खेलमा १२ अंकसहित चौथो स्थानमा रहेका छन् ।
त्यस्तै एपीएफ क्लब ८ खेलमा १० अंकसहित पाँचौं स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ८ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर छैटौं स्थानमा रहेको छ । कर्णाली प्रदेश ८ खेलमा ६ अंकसहित सातौं स्थानमा रहेको छ ।
त्यसैगरी गण्डकी प्रदेशले ८ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ८ खेलमा एक जित र ७ हार बेहोरेर नवौं स्थानमा छ । त्यस्तै कोशी प्रदेशले खेलेका ९ खेलमा एक जित र ८ बेहोरेर पुछारमा रहेको छ ।न्युजकारखाना
काठमाडौं, १६ माघ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली नेपालको समकालीन राजनीतिको सबैभन्दा प्रभावशाली नेता भएको बताएकी छन् ।
मंगलबार काठमाडौंमा संसद्मा केपी शर्मा ओली पुस्तकको विमोचन गर्दै भण्डारीले ओलीले नेपाली राजनीतिमा शीर्षस्थान बनाउन सफल हुनुभएको बताइन् ।
ओली समकालीन राजनीतिमा कुशल पहिचान बनाउन सफल भएको भण्डारीको भनाइ छ । ‘यस पुस्तकका नायक केपी शर्मा ओलीज्यू समकालीन राजनीतिक नेताहरूमा कुशल पहिचान बनाउनुभएको नेता हुनुहुन्छ, सर्वाधिक प्रतिभाशाली नेताका रूपमा उच्च स्थान प्राप्त गर्न सफल हुनुहुन्छ’, भण्डारीले भनिन् ।
ओली नेपाली कला, साहित्य, संस्कृति, धर्म, दर्शन र विज्ञान लगायतका विषयमा समेत गहन ज्ञान भएको नेता भएको भण्डारीले टिप्पणी गरिन् ओली सबैका लागि प्रेरणा र ज्ञानको स्रोत भएको उनले बताइन् ।
संसद्मा ओलीले गरेको भाषण राजनीतिक हिसाबले मात्र नभएर विधागत ज्ञानका दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेका उनले बताइन् । त्यसैले सो पुस्तक पठनीय र ग्रहणीय ग्रन्थ भएको उनको भनाइ छ ।
सो पुस्तक इतिहास अध्ययन गर्न चाहने भावी पुस्ताका लागि महत्त्वपूर्ण हुने भण्डारीले बताइन । उनले पुस्तक एतिहासिक दस्ताबेज बन्ने प्रष्ट पारिन् ।न्युजकारखाना
काठमाडौँ, १६ माघ ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गरेका छन् । मंगलबार सिंहदरबारस्थित रक्षामन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री खड्काले सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सलाई स्वागत गर्नुहुँदै यस भ्रमणले दुई देशको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पु¥याउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल र बेलायतबीच लामो समयदेखिको गहिरो द्विपक्षीय सम्बन्ध रहेको र उक्त सम्बन्ध जनस्तरसम्म फैलिएको बताए । उनले दुई देशबीच लोकतन्त्र, मानवअधिकार, कानुनको शासन र स्वतन्त्रता, मानव मूल्य र मर्यादाका विषयमा साझा धारणा रहेको उल्लेख गरे ।
उनले गत वर्ष नेपाल र बेलायतको मैत्रीसन्धीको एक सय वर्ष पूरा भएको र अर्को एक सय वर्षका लागि जग बसाल्ने काम भएको बताए । उनले बेलायत नेपालको प्रमुख विकास साझेदार रहेको र कठिन समयमा समेत बेलायतले सहयोग र समर्थन गर्दैै आएकोमा प्रसन्नता व्यक्त गरे ।

उनले ब्रिटिस सेनामा सेवारत ब्रिटिश गोर्खाहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्नुहँदै सन् १९९७ अघि सेवानिवृत्त भएका ब्रिटिश गोर्खालीहरूको आफ्ना बेलायती समकक्षहरूसँग समान पेन्सन र सुविधा उपलब्ध गराउन गरेको माग सम्बन्धमा बेतालयको तर्फबाट सकारात्मक पहलको निमित्त अनुरोध गरे ।
यस विषयमा आपसी समझदारीमा समाधानका लागि द्विपक्षीय समिति गठन भई विगत लामो समयदेखि छलफलमा रहेको भए पनि ठोस नतिजा हासिल भई नसकेकोले यस सम्बन्धमा ब्रिटिस सरकारको तर्फबाट थप उदारताका लागि अनुरोध गरे ।
नेपाल र बेलायतबीचको विगत लामो समयदेखिको सैन्य सहयोग आदान–प्रदान हुँदै आएको र नेपाली सेना र बेलायती सशस्त्र बलहरूले द्विपक्षीय तालिम तथा सहयोग आदान प्रदानमा मिलेर काम गरिरहेको बताए ।
सन् २०२३ अक्टोबरमा क्याम्ब्रियन गस्तीमा १० नेपाली सेनाले भाग लिएको स्मरण गर्दै नेपाली सेनाका लागि ‘एक्सप्लोसिभ अर्डिनेन्स डिस्पोजल’ होल्डिङ युनिट स्थापना गर्न ब्रिटिश सरकारको तर्फबाट भएको सहयोग महत्वपूर्ण रहेको उल्लेख गरे ।
सो अवसरमा बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले बेलायत गोर्खा सैनिकबारे उठाएको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको उल्लेख गरे । अन्तर्राष्ट्रिय सुरक्षा वातावरण थप जटिल बन्दै गइरहेकोले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा मिलेर काम गर्नुपर्ने अवस्था सृजना भएको बताए ।
साथै अन्तर्राष्ट्रिय शान्ति स्थापनामा शान्ति सैनिक खटाउने दोस्रो ठूलो राष्ट्रको हैसियतमा नेपालको भूमिका महत्त्वपूर्ण रहेको विचार व्यक्त गर्दै उनले उनले बेलायतले आगामी दिनमा नेपालसँग थप सहकार्य गर्ने इच्छुक रहेको बताए । उनले बेलायतको प्रतिकुल आर्थिक अवस्थाको वाबजुद पनि नेपाललाई उपलब्ध हुँदै आएको सहयोग निरन्तर रूपमा प्राप्त भइरहने विश्वास समेत दिलाए ।
शिष्टाचार भेटका अवसरमा रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, सहसचिव बाबुराम अधिकारी, परराष्ट्र मन्त्रालयका अधिकारीका साथै बेलायती राजदूत एवं अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।न्युजकारखाना
काठमाडौँ। माघ २२ गते
प्रारम्भ हुने संसदलाई ‘बिजनेश’ दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन् ।
मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रालयका अधिकारीहरू बोलाएर आगामी संसद अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूको तयारीबारे छलफल गरेका हुन् ।

अघिल्लो संसद अधिवेशनले कानुन निर्माणका प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समीक्षा भइरहेका बेला छलफलमा प्रधानमन्त्रीले संसदलाई बिजनेश दिने र अधिवेशनलाई प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिएका हुन् ।

“अघिल्लो वर्ष संसदले कानुन निर्माणमा उदाहरणीय काम गर्न सकेन भन्ने समीक्षा छ। सरकारले पनि “बिजनेश” दिएन भन्ने मत पनि छ। तर, यसपटक त्यस्तो नहोस्,” मन्त्रालयलाई निर्देशित गर्दै बैठकमा प्रधानमन्त्रीले भने, “संसद सुरू हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयकहरू दर्ता गर्नेगरि तयारी गरौँ। मुख्यसचिवले फलोअप गर्नुहोला। मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गरेर विधेयक ल्याउनुहोला। राम्रो तयारी गर्नुहोला। यसपटक संसदलाई व्यवस्थित रूपले बिजनेश दिनुपर्छ। त्यो गुनासो नआउने गरी काम गर्नुहोला।”
छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले कानुनी परीक्षण र आर्थिक दायित्वको समेत परीक्षण भइसकेका विधेयकहरू छिटो संसद पठाउनुपर्ने बताउँदै त्यसका लागि आवश्यक तयारी गर्न मन्त्रालयलाई निर्देशित गरे ।
बैठकमा मन्त्रालयका सचिव उदयराज सापकोटाले आगामी संसद अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूका निम्ति मन्त्रालयले आवश्यक गृहकार्य गरेको बताउँदै यस अधिवेशन प्रारम्भ हुनेबित्तिकै केही “बिलहरू” पेश गर्न सकिने गरी तयारी गरिएको बताए ।
सचिव सापकोटाले केही विधेयकहरू संसद अधिवेशन प्रारम्भ भएलगत्तै संसदमा दर्ता गर्न सकिने बताउँदै थप विधेयकका द्रूततापूर्वक काम गरिने जानकारी दिए ।न्युजकारखाना
काठमाडौं, १६ माघ ।
नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो सुधार गरेको तथ्यांक सार्वजनिक गरिएको छ ।
मंगलबार ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकांक (सिपिआई) २०२३ मा नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो सुधार गरेको देखिएको हो ।
सार्वजनिक तथ्यांकअनुसार २०२३ मा १०० मा ३५ अंक ल्याएर नेपाल १०८औँ स्थानमा रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा एक अंक थप्दै नेपाल दुई स्थानमाथि उक्लिएको छ ।
अघिल्लो वर्ष नेपालले ३४ अंक पाएर ११०औँ स्थान थियो। जसअनुसार अघिल्लो वर्षको तुलनामा यसवर्ष नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो प्रगति हासिल गरेको हो । न्युजकारखाना
काठमाडौं, १६ माघ ।
संसदीय समितिले पश्चिम नवलपरासीको रामग्राम क्षेत्रको उत्खनन गर्ने निर्णयको कागजात मगाउँदै जवाफ मागेको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पश्चिम नवलपरासीको रामग्राम क्षेत्रको उत्खनन गर्ने निर्णयको कागजातसहित सात दिनभित्र जवाफ दिन बारे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई भनेको छ ।
‘लुम्बिनी विकास कोषले सर्वसाधारणको ११६ बिघा जमिन अधिग्रहण गर्ने गरी गौतमबुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासी रामग्राम क्षेत्रमा उत्खनन एवं बौद्ध स्तुप निर्माण तथा भाडामा (९९ वर्ष सम्म) दिने गरी बिनाप्रतिस्पर्धा निजी कम्पनीसँग समझदारी गरेको भन्ने समाचारप्रति यस समितिको गम्भीर ध्यानाकर्षण भएको छ । तपसिलका विषयमा के कसो भएको हो सोको जानकारी समितिलाई ७ दिनभित्र उपलब्ध गराउनुहुन माननीय सभापतिज्यूको निर्देशानुसार अनुरोध गर्दछु,’ समितिका सचिव एकराम गिरीले मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ ।
रामग्राम क्षेत्र विकासको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटीलाई दिन लुम्बिनी विकास कोष सहमत भएपछि संसदीय समितिले चासो राखेको हो । प्रधानमन्त्री प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारीको निर्माण कम्पनी ’प्रमिस्ड ल्यान्ड’ लाई रामग्राम क्षेत्रको जग्गा अधिग्रहण, गुरूयोजना तयारी र सोही अनुसार निर्माण गर्न दिन कोषले सैद्धान्तिक सहमति प्रदान गरेको हो।
सोही विषयमा लेखा समितिले सरकारलाई पत्र लेखेर सम्झौताबारे अहिलेसम्म भएका सबै निर्णय उपलब्ध गराउन पनि निर्देशन दिएको छ।न्युजकारखाना
काठमाडौ, १६ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहिदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन् ।

शहिद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, “नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहिदहरूले उच्च बलिदान गर्नुभएको छ, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।”

शहिदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने बताउँदै प्रधानमन्त्रीले शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेका छन । उनले जहानीया राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति विसं १९९७ सालमा आफ्नो जीवनको बलिदान गर्नुहुने महान् शहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायतका शहिदको स्मरण र सम्मान ब्यक्त गरेका छन ।
सम्पूर्ण बेपत्ता योद्धाहरूको उच्च सम्मानपूर्वक स्मरण गर्दै प्रधानमन्त्रीले भने, “घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गर्दछु ।” प्रत्येक वर्ष माघ १६ गतेलाई शहिद दिवसको रूपमा मनाउँदै आएको छ ।न्युजकारखाना
शशिनगर, १६ माघ ।
भरतपुर महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’ अन्तर्गत भरतपुर १८ को श्री माध्यमिक विद्यालय शशिनगरका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रेनु दाहालले विद्यालयको सुधारका लागि प्राप्त मात्रमा भौतिक पूर्वाधारहरू निर्माण गर्दै आगामी दिनमा विद्यार्थीको माग अनुसार नै शैक्षिक गतिविधिहरू अगाडि बढाउने गरी कार्यक्रमहरू ल्याइने योजनाहरू रहेको बताइन्।
महानगर भित्रका विद्यालयलाई विद्यालय भवन, रङ्ग रोगन, फल सिलिङ, जस्तापातालगायतका कामसँगै विभिन्न अतिरिक्त क्रियाकलापहरू, विभिन्न प्रविधि मैत्री शिक्षालाई ध्यानमा राख्दै पठनपाठनको गुणस्तरलाई महानगरले जोड दिएको उनले बताइन्। अहिलेको परिवेस सुहाउँदो व्यवहारिक शिक्षामा जोडिनका लागि व्यवहारिक शुक्रबारको नीतिलाई महानगरले अगाडि सारेको उनको भनाइ थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुकमान गुरुङको सभाध्यक्षयतामा विद्यालयमा न्यानो कपडा वितरण गरिएको हो।यस आर्थिक वर्षमा २१ वटा सामुदायिक विद्यालयमा रहेका बालबालिकालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमअन्तर्गत भरतपुर महानगरले काम गरी रहेको छ।
यस आर्थिक वर्षमा न्यानो कपडा वितरणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। यसअघि चार वर्षमा ६५ विद्यालयका ७ हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकिएको महानगरले छ।न्युज कारखाना