२०८३ कार्तिक ६
२०८३ कार्तिक ६

काठमाडौँ । काठमाडौँको पशुपति क्षेत्रबाट उद्धार गरिएका सडक सहयोगापेक्षीहरुको वास्तविकता पहिचान गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।

काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमले संयुक्त रुपमा वडा नम्बर  ८ तिलगंगामा सञ्चालन गरिएको सेन्टरमा पहिलो दिन मंगलबार २८ जनालाई राखिएको छ । यस दिन विहान ३६ जनालाई उद्धार गरिएको थियो । उनीहरुमध्ये सेन्टरमा पुगेपछि पर्खाल नाघेर ६ जना भागेको महानगरले जानकारी दिएको छ ।

मंगलबार नै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सेन्टरमा पुगेर पूर्वाधार, सुविधा, व्यवस्थापन र सहयोगापेक्षीका अपेक्षाका विषयमा जानकारी लिएकी थिइन् । उद्धार गरिएकाहरुसँग कुरा गर्दै डंगोलले पारिवारिक अवस्था, सडकमा आउनु परेको कारण, शारीरिक अवस्था, परिवार र सरकारसँगका अपेक्षा लगायत विषयमा जानकारी लिएकी थिइन् । खानपान र बसोबास व्यवस्थाको कुरा गर्दै उनले, विरामीलाई उपचारको व्यवस्था मिलाउन निर्देशन दिएकी छन् ।

कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले, सेन्टरको पूर्वाधारलाई व्यवस्थित र सुरक्षित बनाउन कोषले काम गर्ने बताए ।  उद्धार गरिएकामध्ये ४ जनामा मानसिक समस्या छ । १ जना ज्येष्ठ नागरिकलाई कुकुरले टोकेर घाइते बनाएको छ । उद्धारबाट व्हिलचेयर प्रयोगकर्ता र वैशाखी प्रयोगकर्तालाई समेत सेन्टरमा ल्याइएको मानव सेवा आश्रमका उपत्यका इञ्चार्ज कृष्ण पौडेलले जानकारी दिए ।

उद्धार गरिएकामध्ये ६ जना महिला र बाँकी सबै पुरुष रहेको र उमेरका हिसाबले सबैभन्दा पाको उमेरको व्यक्ति ७८ वर्षको र सबैभन्दा कान्छो २५ वर्षको व्यक्तिका रहेको महानगरले जानकारी दिएका छन् । त्यस्तै उद्धार गरिएका सोलुखुम्बु, सर्लाही, मकवानपुर, साँखु, सुनसरी, मोराङ., बारा, महोत्तरी, खोटाङ्, धनकुटा, सुर्खेत, दोलखासहित स्थानका व्यक्ति रहेका छन् । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ५८ सयले बढेर तोलाको २ लाख ९६ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९१ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७५ रुपैयाँले बढेर ५०५५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४८८० मा कारोबार भएको थियो ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफू राजीनामा नदिने स्पष्ट पारेकी छन् ।

निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि पत्रकारहरुले राजीनामाको लागि लोकभवन कति बेला जाने भन्ने प्रश्नको जवाफ दिदै आफुले राजीनामा नदिने बताएकी हुन् । उनले भनिन्- ‘म किन जाने ? हामीले हारेको भए पो जाने, यदि म जितेको भए, म शपथ ग्रहण अघि नै राजीनामा दिने थिए । लोकभवन जाने प्रश्न नै आउने थिएन । चोरी गरेर जितेपछि उनीहरुलाई लाग्छ, मैले राजीनामा दिनुपर्छ भने त्यो हुनेवाला छैन ।’

पश्चिम बंगालको निर्वाचन परिणाम सार्वजनिक भएपछि राजनीतिक माहोल तातेको छ । तृणमूल कांग्रेसकी प्रमुख बनर्जीले निर्वाचन प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाउँदै प्रशासनिक स्तरमै अनियमितता भएको आरोप लगाएकी छन् । उनले आफूहरू पराजित नभएको दाबी गर्दै जबर्जस्ती हराइएको बताइन् । उनले निर्वाचन आयोगसँग मिलेमतो गरेर विपक्षी दल विजयी भएको आरोपसमेत लगाइन् ।

तृणमूल कांग्रेसले निर्वाचन परिणामको समीक्षा गर्न १० सदस्यीय टोली गठन गरेको छ । उक्त टोलीले हारका कारण र भनिएका अनियमितताबारे छानबिन गर्ने जनाइएको छ । बनर्जीले निर्वाचन आयोगको भूमिकामाथि पनि प्रश्न उठाएकी छन् । उनका अनुसार आयोगले जनताको संवैधानिक अधिकार संरक्षण गर्न नसकेको आरोप छ । मतदानपछि मतदान मेसिनमा उच्च मात्रामा चार्ज रहनु शंकास्पद भएको उनले उल्लेख गरिन् ।

उनले निर्वाचनअघि आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको, विभिन्न स्थानमा छापा मारिएको र प्रशासनिक अधिकारीहरू परिवर्तन गरिएको आरोप लगाइन् । साथै सत्तापक्ष र निर्वाचन आयोगबीच मिलेमतो भएको दाबी गर्दै सम्पूर्ण राज्य संयन्त्र आफूहरूको विरुद्ध प्रयोग गरिएको बताइन् ।

मतगणनाका क्रममा पनि दुर्व्यवहार भएको आरोप लगाउँदै उनले आफ्ना प्रतिनिधिलाई गणना कक्षमा प्रवेश गर्न नदिइएको र कुटपिट गरिएको बताइन् । सुरक्षाकर्मी र बाहिरी व्यक्तिहरूले आक्रमण गरेको दाबी गर्दै आफूलाई समेत धक्का दिइएको र शारीरिक दुर्व्यवहार भएको उनले उल्लेख गरिन् । बनर्जीले यस्तो प्रकारको निर्वाचन जीवनमै पहिलोपटक देखेको बताउँदै आफ्नो पार्टीलाई योजनाबद्ध रूपमा पराजित गराइएको दोहोर्‍याइन् । साथै अब आफू साधारण नागरिकका रूपमा स्वतन्त्र रूपमा आवाज उठाउने उनले बताइन् ।

सोमबार सम्पन्न मतगणनामा २९४ सदस्यीय बिधान सभामा भाजपाले २०७ सिट जितेको छ भने तृणमूल कांग्रेसले केवल ८० सिट मात्र जितेको छ ।एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ बैशाख २३ गते बुधबार ईस २०२६ मे ६ नेपाल सम्बत ११४६ वछलाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, जेष्ठ कृष्ण पक्ष चतुर्थी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, सिद्ध योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २२ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–

आज तपाईंमा उत्साह र ऊर्जा भरपूर रहनेछ । रोकिएका काम अघि बढ्ने संकेत छन् । कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ, जसले भविष्यमा राम्रो लाभ दिनेछ । आर्थिक पक्षमा आम्दानी भए पनि खर्च नियन्त्रण गर्नुपर्ने देखिन्छ । परिवारसँग समझदारी बढ्नेछ र सम्बन्ध अझ मजबुत हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)–

धैर्य राख्नु पर्ने दिन छ । साना–साना कुरामा मन अशान्त हुन सक्छ । काममा ढिलाइ भए पनि अन्ततः सफलता हात पर्नेछ । आर्थिक अवस्था सामान्य रहनेछ । स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्, खानपान मिलाएर लिनु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) –

आज सकारात्मक सोचले काममा प्रगति हुनेछ । नयाँ योजना सुरु गर्न अनुकूल समय छ । साथीभाइ र सहकर्मीबाट राम्रो सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना देखिन्छ । प्रेम सम्बन्धमा नजिकपन बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

कामको चाप बढ्न सक्छ । निर्णय गर्दा सोचविचार गरेर अघि बढ्नुस् । परिवारबाट सहयोग पाइनेछ । खर्च बढ्ने संकेत भएकाले अनावश्यक खर्च घटाउनु राम्रो हुन्छ । स्वास्थ्य सामान्य रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आत्मविश्वास बढ्ने दिन छ । कार्यक्षेत्रमा प्रशंसा पाउने सम्भावना छ । नयाँ अवसर आउन सक्छन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । यात्राको योग पनि देखिन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) –

आज केही चुनौती आउन सक्छन् । काममा अवरोध भए पनि धैर्यले पार लगाउन सकिन्छ । आर्थिक पक्षमा सावधानी अपनाउनुहोस् । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)–

सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ । नयाँ चिनजान र सम्बन्ध विस्तार हुनेछ । आर्थिक लाभको संकेत छ । परिवारसँग रमाइलो समय बित्नेछ । प्रेम सम्बन्धमा मिठास बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)–

काममा जिम्मेवारी बढ्नेछ । केही दबाब महसुस हुन सक्छ । धैर्य र लगनशीलताले सफलता दिलाउनेछ । विवादबाट टाढा रहनु राम्रो हुन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)–

भाग्यले साथ दिनेछ । नयाँ अवसर प्राप्त हुन सक्छ । शिक्षा र ज्ञानको क्षेत्रमा प्रगति हुनेछ । यात्राको सम्भावना छ । आर्थिक लाभ पनि हुने संकेत छ ।

मकर (भो, जा, जि, जु, जे, जो, खा, खि, खु)–

आज सतर्क रहनु पर्ने दिन छ । आर्थिक लेनदेन गर्दा ध्यान दिनुहोस् । काममा साना बाधा आए पनि धैर्यले समाधान गर्न सकिन्छ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)–

साझेदारीको काममा सफलता मिल्नेछ । साथीभाइबाट सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । आर्थिक पक्ष पनि राम्रो रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)–

काममा व्यस्तता बढ्नेछ । मेहनतअनुसार परिणाम प्राप्त हुनेछ । स्वास्थ्यमा ध्यान दिनुहोस् । आर्थिक स्थिति सामान्य रहनेछ । परिवारसँग समय बिताउँदा मन शान्त हुनेछ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आगामी महासचिव पदमा महिलालाई चयन गर्न चीनले समर्थन जनाएको छ ।

चीनले विश्व संस्थाको नेतृत्वमा पहिलोपटक महिला देख्न पाउँदा खुशी हुने जनाएको हो । संयुक्त राष्ट्रसंघको ८० वर्षे इतिहासमा अहिलेसम्म कुनै महिलाले महासचिवको जिम्मेवारी सम्हालेकी छैनन् । अहिले नयाँ महासचिव चयन प्रक्रिया सुरु भइसकेको छ ।

उक्त पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा छन् । संयुक्त राष्ट्र मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेट र संयुक्त राष्ट्र व्यापार तथा विकास सम्मेलनकी महासचिव रेबेका ग्रिनस्पान महिला उम्मेदवारका रूपमा दौडमा रहेका छन् । यसैगरी अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसी र सेनेगलका पूर्व राष्ट्रपति म्याकी साल पनि प्रतिस्पर्धामा छन् ।

संयुक्त राष्ट्रसंघमा चीनका स्थायी प्रतिनिधि फू कोंगले महिलालाई महासचिव बनाउने पक्षमा आफूहरू रहेको बताएका छन् । उनले ८० वर्षपछि महिला नेतृत्व देख्न पाउनु महत्वपूर्ण उपलब्धि हुने उल्लेख गरेका छन् ।

गत महिना उम्मेदवारहरूले सदस्य राष्ट्र र नागरिक समाजसँग अन्तरक्रियामार्फत आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए । सो क्रममा उनीहरूले किन आफू योग्य उम्मेदवार हुन् भन्ने विषयमा प्रश्नहरूको सामना गरेका थिए ।

चीनले भने हालसम्म कुनै एक उम्मेदवारलाई प्राथमिकता नदिएको जनाएको छ । फू कोंगले महासचिव चयनका लागि चीनका केही मापदण्ड रहेको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघ अहिले संवेदनशील मोडमा रहेको र बहुपक्षीय प्रणालीप्रति प्रतिबद्ध, स्वतन्त्र र सशक्त नेतृत्व आवश्यक रहेको बताएका छन् ।

राष्ट्रसंघको महासचिवको निर्वाचनको प्रक्रिया शुरु भएको छ । महसचिवको मनोनयनपछि अन्तरक्रियात्मक सत्रहरू जारी रहेका छन् र उनीहरूले आफ्ना योजनाहरू प्रस्तुत गर्नेछन् र प्रश्नहरूको जवाफ दिइरहेका छन् ।  यद्यपि महासभाले साधारण बहुमतले विजेता निर्धारण गर्छ, सुरक्षा परिषद्ले अन्तिम निर्णय गर्छ, किनकि संयुक्त राष्ट्र संघको बडापत्रले सुरक्षा परिषद्को सिफारिसमा महासभाले महासचिव नियुक्त गर्ने आदेश दिएको छ । नयाँ महासचिवको कार्यकाल जनवरी १, २०२७ देखि शुरु हुने छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने भएको छ । वैशाख ९ गते काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो ।

समितिका अनुसार समस्याग्रस्त सहकारीका करिव ७६ हजार बचतकर्ताहरुको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् । पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रुपमा वर्गीकरण गरिएको छ । कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि धेरै काम भइसकेको र अब फिर्ता गर्ने काम सुरु हुने जानकारी दिइन् । ‘यसमा धेरै काम गरिसकेका छौं । साना बचतकर्ताको रकम पहिले फिर्ता गर्छौँ’ मन्त्री रावलले भनिन् । समितिले आफ्नो कार्यविधि तय गर्दै ‘बचत फिर्ता कार्य आरम्भ गर्ने र कर्जा असुलीमा प्राथमिकता दिने नीति अबलम्बन गरिने’ जनाएको छ ।

समितिले मागदाबीकर्ता बचतकर्ताहरुको बचत फिर्ता गर्ने कार्य आगामी जेठको पहिलो हप्ताबाट आरम्भ हुने र मागदाबी छुट भएका बचतकर्ताहरुको पुनः मागदाबी गर्ने समय आगामी साउनको पहिलो हप्तामा खुला गरिने पनि जनाएको छ ।

समितिका अनुसार, नेपाल सरकारबाट चक्रीय कोषमा विनियोजित रकम सम्बन्धित समितिको कोषबाट नपुग हुन गएमा सापटीका रुपमा मात्र खर्च गरिने पनि स्पष्ट पारेको छ ।

समितिका सदस्य सचिव रविन ढकालले कर्जा असुलीका लागि समितिले कानुन बमोजिम कठोर नीति अबलम्बन गर्ने जानकारी दिए ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख २८ गतेदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

यसअघि  बैशाख १७ गतेदेखि आव्हान गरेको संघीय संसदको अधिवेशन स्थगित गरिएको थियो ।

सरकारले संसद अधिवेशन स्थगित गरेर विभिन्न कानुन संशोधन गर्न अध्यादेश ल्याएपछि पुन: संसद अधिवेशन बोलाएको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) को फुजैराहस्थित तेल बन्दरगाहमा भएको आक्रमणप्रति भारतले असन्तुष्टि जनाएको छ ।

भारत सरकारले उक्त घटनामा तीन जना भारतीय घाइते हुनु दुःखद रहेको भन्दै यसलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ ।

भारतले सबै पक्षलाई तत्काल हिंसा रोक्न र सर्वसाधारणलाई निशाना नबनाउन आग्रह गरेको छ । साथै पश्चिम एसियामा शान्ति र स्थायित्व कायम राख्न वार्ता र कूटनीतिक माध्यम नै उचित उपाय हुने बताएको छ । भारतले अन्तर्राष्ट्रिय कानुनअनुसार होर्मुज क्षेत्रमा जहाजहरूको आवागमन अवरोधबिना जारी रहनुपर्नेमा जोड दिएको छ ।

यसअघि युएईले उक्त आक्रमण इरानतर्फबाट भएको दाबी गरेको थियो । उसले १२ बैलिस्टिक क्षेप्यास्त्र, ३ क्रुज क्षेप्यास्त्र र ४ ड्रोनलाई अवरोध गर्न सफल भएको जनाएको छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सर्वसाधारण र महत्वपूर्ण पूर्वाधारलाई निशाना बनाउने कार्य अस्वीकार्य हुने बताएका छन् ।

अर्कोतर्फ इरानले फुजैराहस्थित तेल क्षेत्रमा लागेको भीषण आगलागीका लागि अमेरिकालाई जिम्मेवार ठहर गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार एक सैन्य अधिकारीले उक्त क्षेत्रमा आक्रमण गर्ने कुनै योजना नभएको बताएका छन् । ती अधिकारीका अनुसार अमेरिकाले होर्मुज क्षेत्रमा जबर्जस्ती मार्ग खोल्ने प्रयास गरेपछि अवस्था बिग्रिएको हो । यस घटनाले क्षेत्रीय स्थायित्वमा खतरा उत्पन्न गरेको इरानको आरोप छ ।

उक्त घटना अमेरिकाले होर्मुज क्षेत्रमा ‘प्रोजेक्ट फ्रिडम’ नामक अभियान सुरु गरेलगत्तै भएको बताइएको छ, जसको उद्देश्य जहाजहरूको आवागमन पुनः सुचारु गराउने रहेको छ । यसको प्रतिक्रियास्वरूप इस्लामिक रिभोलुसनरी गार्डले अनुमति बिना कुनै पनि सैन्य वा व्यापारिक जहाजलाई उक्त मार्ग प्रयोग गर्न नदिने चेतावनी दिएको छ ।

इरानले होर्मुज क्षेत्रमा आफ्नो नियन्त्रण रहेको दाबी गर्दै आफ्नो नियम पालना गर्ने जहाजहरूलाई मात्र आवागमन गर्न दिइने जनाएको छ । यसअघि पनि इरानी नौसेनाले चेतावनीका रूपमा अमेरिकी युद्धपोततर्फ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको दाबी गरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज मंगलबार नेप्से ८.७८ अंकले बढेर २७१२.८६ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३५ कम्पनिका ७७ लाख ३४ हजार १२ कित्ता शेयर ३ अर्ब ४३ करोड ९० लाख ६८  हजार ३९२ मा कारोबार भएको थियो ।  आज विकास बैंक, फाइनान्स, होटल्स, माइक्रो फाइनान्स, निर्जीव वीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी अपर लोहोरे खोला हाइड्रोको शेयरमा ११.१६ प्रतिशतले बढेको छ सोलु हाइड्रोको शेयर ७.५६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी फरवार्ड माइक्रो फाइनान्सको शेयर ९.३१ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको २३ करोड ५७ लाखको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १२ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ को सिरिज अन्तर्गत आज नेपाल र ओमानबीच खेल हुदैछ ।

टियु क्रिकेट मैदानमा हुने यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै ओमानले पहिला बलिङ गर्ने भएको छ ।

जारी सिरिजमा नेपालले युएईविरुद्धका दुवै खेलमा जित हासिल गरेको छ भने यसअघिको ओमानविरुद्धको खेलमा हार बेहोरेको थियो । त्यस्तै ओमानले युएईविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो भने नेपाललाई पहिलो खेलमा पराजित गरेको थियो ।

लिग-२ मा भने ओमान २७ खेलमा ३१ अंकसहित तेस्रो स्थानमा छ । त्यस्तै नेपाल भने २३ खेलमा १६ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।

त्यस्तै एकदिवसीय खेलमा नेपाल र ओमान अहिलेसम्म ८ पटक आमने सामने भएका छन् । जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ ।

आज टिममा दुई परिवर्तन गरिएको छ । आज भीम सार्की र सोमपाल कामीको स्थानमा आसिफ सेख र करण केसीलाई खेलाइएको छ ।

यस खेलमा नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), आसिफ सेख, आरिफ सेख, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल खेल्दैछन् ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।