२०८३ कार्तिक ६
२०८३ कार्तिक ६

जनकपुरधाम । मधेश प्रदेश सरकार विस्तारमा सत्ता गठबन्धन दलहरुमा विवाद भएको छ ।

मन्त्रालय भागबण्डामा विवाद भएपछि सोमबार गरिने भनेको सरकार स्थगित भएको छ । सोमबार नेकपा एमालेका शारदा थापा, मनोज सिंह र लखन लाल दासले शपथ लिने तयार गरेको अवस्थामा सत्ता साझेदार दल नेकपाले असन्तुष्टि जनाएपछि सरकार विस्तार रोकिएको हो ।

नेकपाले अर्थ मन्त्रालयसहित चार मन्त्रालयको अडान राखेको बताइएको छ भने भागबण्डामा नेकपालाई अर्थसहित तीन मन्त्रालय दिने सहमति भएको बताइएको थियो । त्यस्तै एमालेले चार मन्त्रालय र कांग्रेसलाई मुख्यमन्त्रीसहित चार मन्त्रालयको सहमति भएको थियो ।

मधेशमा यसअघि सत्ता साझेदार रहेका जनमत र जसपा नेपाललाई बाहिर राख्दै मुख्यमन्त्री कृष्णप्रसाद यादवले गत सोमबार नेकपा एमाले र नेकपाको समर्थनमा विश्वासको मत लिएका थिए ।एभरेष्ट न्यूज एजेन्सी

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

किर्ते जन्मदर्ता, नागरिकता तथा राहदानी बनाएको आरोपमा जिल्ला अदालत पर्साले मंगलबार ३५ दिने पक्राउ पुर्जी जारी गर्दै अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।

नगर प्रमुख सिंहमाथि अर्काकी छोरीलाई आफ्नै सन्तानका रूपमा देखाएर सरकारी कागजात तयार गरिएको आरोप लागेको छ ।

अभियोगपत्र अनुसार नगर प्रमुख सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी रिता भट्टराईलाई आफ्नी श्रीमतीका रूपमा देखाउँदै २०७१ माघ २० गते रुबिना श्रेष्ठको जन्मदर्ता गराएका थिए । सोही जन्मदर्ताका आधारमा २०७५ साउन १० गते नागरिकता बनाइएको र त्यसको १२ दिनपछि राहदानीसमेत जारी गरिएको अनुसन्धानबाट खुलेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय पर्साले गत जेठ १ गते चारवटा अलग-अलग मुद्दा दर्ता गरेको थियो । तीमध्ये दुईवटा लिखत सम्बन्धी कसुर, एउटा झुट्टा विवरण पेस गरी नागरिकता बनाएको तथा अर्को राहदानीसम्बन्धी कसुर रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

१२ जेठ, रौतहट । देशमा नयाँ सरकार गठन भएर सुशासन कायम हुने आश गरिए पनि रौतहटबाट तस्करीको जालो समाप्त हुन सकेको छैन ।

कागलाई बेल पाक्यो, हर्ष न विस्मात भने झै जुनसुकै सरकार आएपनि रौतहटको तस्करी नरोकिने भएको छ । अहिले रौतहट तस्करहरूका लागी सुरक्षित ट्रान्जिट प्वाइन्ट बनेको छ । जिल्लाको मुख्य नाका गौर, बंकुल, लक्ष्मीपुर बेलबिछवा, रापपुर खाप सहितका सबै नाकाबाट अहिले खुलेआम तस्करी भइरहेको स्थानीयको गुनासो छ ।

हाल रौतहटमा खाद्यान्न, कपडा, मोटरपार्टस, भैंसी, कुखुरा, मदिरा, चिनी लगायतको तस्करी भइरहेको छ । सुरक्षाकर्मीकै मिलेमतोमा जिल्ला देखी प्रदेशका अधिकारीहरुले समेत तस्करहरु संग रकम बुझेर संगठित तस्करीको लाइन संचालनमा छुट दिएका छन । भारतसँग सिमा जोडिएका विभिन्न नाकाहरुबाट निस्केका विभिन्न सामानहरु गरुडा चन्द्रनिगाहपुर हुदै देशका विभिन्न भागमा सहजै पुगिरहेका छन ।

गौरस्थित मुख्य नाकाबाट “किरनिया” भनेर चिनिने एक महिलाले संगठित तस्करीको लाइन चलाइरहेकी छिन । भारत र नेपाल दुवैतर्फको नागरिकताधारी किरनियालाई सशस्त्र प्रहरीबलले सघाएको छ । गौरबाट रुपेश दास, अमरेन्द्र, राजेश पासवान, सदाम, निरज जयसवाल र राधेश्याम साह लगायतका तस्करहरुले अवैधरुपमा भारतबाट नेपाल सामान ओसारपसार गरिरहेका छन ।

गौरस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टका सुरक्षाकर्मीकै सेटिङ्गमा लक्ष्मीपुरबाट मदिरा, बंकुलबाट चिनी, केरा लगायतका अन्य सामग्री, रामपुरखापबाट कपडा, सुर्ति, कुखुरा, स्पेयर पार्टस लगायतका सामानको तस्करी भइरहेको छ । सुरक्षाकर्मी र तस्करको मिलेमतोका कारण राज्यले दैनिक लाखौं रुपैयाँ राजस्व गुमाइरहेको छ ।

उता लक्ष्मीपुर–बेलबिछवा नाकाबाट रुपेश र सुरेश नाम गरेका व्यक्तिहरूले नेपाली मदिरा भारततर्फ पठाउने गरेका छन ।

यता बङ्कुल नाकामा पनि विजय कुशवाहा समूह सक्रिय रहेको बताइन्छ । पूर्व वडा अध्यक्षसमेत रहेका कुशवाहा त्यहाँका “मुख्य नाइके” का रूपमा चिनिने गरेका छन् । दैनिक रूपमा भारतबाट कुशवाहाले विभिन्न सामानहरु ओसारपसार गराइरहेका छन ।द नेपाली मेडिया

सर्लाही, १२ जेठ । सर्लाही प्रहरीले बरहथवा नगरपालिकाको लौकट टोलबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गर्न सफल भएको छ ।
बरहथवा नगरपालिका–१२ लौकट टोलमा अपरिचित व्यक्तिहरु भरुवा बन्दुक बोकेर हिडडुल गरिरहेको खवर प्रहरीलाई प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरहथवा र हिरापुरबाट खटिएका संयुक्त टोलीले वागमती नगरपालिका–२ सुकुमवासी टोलका ३८ बर्षीय बुद्धिमान घलानलाई भरुवा बन्दुक सहित पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
प्रहरीले घलानको खानतलासी गर्दा उनको साथबाट एक थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने फलामको रड, प्लाष्टिक तथा स्टिलको डब्बामा राखिएको कालो धुलो पदार्थ, साईकलमा प्रयोग हुने ८० थान फलामका बल तथा फलामको रडका टुक्राहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।
बरामद गरिएका मध्ये एक डब्बामा ३५ ग्राम र अर्कोमा १४० ग्राम कालो पदार्थ रहेको बताउदै उनले घलान संगै रहेका अन्य तीन जना प्रहरीलाई देख्नासाथ फरार भएको हुँदा तिनीहरुको खोजी कार्य जारी रहेको बताए ।
पक्राउ परेका घलानविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट सात दिनको म्यादको अनुमति लिएर थप अनुसन्धान जारी रहेको डिएसपी राईले भने ।तराई टोप

रौतहट, १२ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका–४ मा मदिरा सेवन गरी लठ भई मातिएका व्यक्तिले बाटो हिँडिरहेका अर्का युवकलाई धक्का दिँदा भूईमा लडेर मृत्यु भएको छ ।
घटनामा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ का ३० वर्षीय विष्णु सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए । भूईमा लडेर अचेत भएका सुवेदीको उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरी श्रोतबाट बुझिएको छ ।
प्रहरीका अनुसार बाराको निजगढ नगरपालिका–६ घर भई हाल चन्द्रनिगाहपुरमा डेरा गरी बस्दै आएका ३८ वर्षीय विमल मोक्तानले मदिरा सेवन गरेका अवस्थामा सडकमा हिँडिरहेका अर्का युवक सुवेदीलाई धक्का दिएका थिए ।
घटनाका बेला मोक्तान र उनकी श्रीमतीबीच सडकमै विवाद भइरहेको बताइएको छ । सोही क्रममा त्यहाँबाट हिँडिरहेका सुवेदीलाई मोक्तानले एक्कासी धकेलेपछि उनी सडकमा लडेर गम्भीर घाइते भएका थिए ।
सडकमा लडेपछि सुवेदी अचेत अवस्थामा पुगेका थिए । घटनापछि स्थानीयवासी तथा आफन्तले तत्कालै सुवेदीलाई चन्द्रनिगाहपुर स्थित रिसरेखा अस्पतालमा उपचारका लागि पुर्याएका थिए । अस्पतालमा प्रारम्भिक उपचारपछि चिकित्सकले थप उपचारका लागि अन्यत्र रेफर गर्न सुझाव दिए । तर आर्थिक अभावका कारण परिवारले उनलाई घरमै फर्काएको बताइएको छ ।
घर फर्काइएका सुवेदीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको र गएराति करिब १२ बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाए । प्रहरीले आरोपित विमल मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।तराई टोप

वीरगञ्ज, १२ जेठ । खुला सीमाको फायदा उठाउदै पर्सामा लागूऔषधको सेवनकर्ता मात्रै होइन, तस्करीको जालो तीव्र रूपमा फस्टाउदै गएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वैशाख महिनामा मात्रै लागूऔषधको ३१ जना कारोबारी पक्राउ परेका हुन् ।
पक्राउ गरेकाहरूबाट ८ किलो ४ सय ग्राम गाँजा, १६ ग्राम ४ मिलिग्राम ब्राउन सुगर, ४ किलो ३१ ग्राम चरेस तथा ३० हजार ५ सय १७ वटा ट्रामाडोल ट्याब्लेट बरामद गरेको पर्सा प्रहरीको तथ्याँकमा उल्लेख रहेको छ ।
गएको शनिबार राति पर्सा प्रहरीले खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित दुई युवकलाई पक्राउ गरे । ना ३९ प २५३२ नम्बरको स्प्लेन्डर मोटरसाइकलमा भेडियाहीबाट मिलनचोक तर्फ आउँदै गरेका वीरगन्ज–३२ परसवाका २० वर्षीय राहुल सिंह र बारा जितपुर सिमरा–७ खालका टोलका १९ वर्षीय नन्दन गुप्ताको साथबाट प्रहरीले ८ ग्राम ४० मिलिग्राम लागूऔषध बरामद गरेको थियो ।
यस्तै वैशाख २५ गते वीरगन्ज–१६ स्थित शंकराचार्य गेट चेकपोस्टमा भारतबाट नेपालतर्फ आउँदै गरेका चार जना लागूऔषध तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ६ सय मिलिग्राम खैरो हेरोइन सहित २७ वर्षीय विकासकुमार साह र २३ वर्षीय कविन पराजुली पक्राउ परेका थिए भने ५ ग्राम खैरो हेरोइन तथा शून्य दशमलव २५ मिलिग्राम सेतो हेरोइन सहित २० वर्षीय सागर घिमिरे र २३ वर्षीया पूजा जिम्बा पक्राउ परेको थियो ।
प्रहरीले ३ ग्राम ३७ मिलिग्राम खैरो हेरोइन सहित २९ वर्षीय अन्जन थापा र १९ वर्षीय रोमश बम्जनलाई नियन्त्रणमा लिएको थियो । साथै ५३ वटा प्रतिबन्धित ट्याब्लेट सहित ३७ वर्षीय राजु बनियाँ र ५२ वर्षीय अलिहदन मियाँ पनि पक्राउ परेको तथ्याँकमा उल्लेख छ ।
पर्सा प्रहरीले ‘लागूऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान’ सञ्चालन गरेपछि दैनिकजसो साना स्तरका कारोबारी पक्राउ पर्न थालेका छन् । प्रहरीका अनुसार वीरगन्ज कारागारमा सजाय भुक्तान गरिरहेका कैदीबन्दी मध्ये झण्डै आधा जसो लागूऔषध मुद्दासँग सम्बन्धित रहेका हुन् । पछिल्लो समय महिलाहरू समेत लागूऔषध कारोबारमा संलग्न हुँदै गएको प्रहरी तथ्यांकले देखाएको छ ।
पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार लागुऔषधको कुलतमा फसेकाहरू भारतबाट लुकाइछिपाइ लागूऔषध ल्याउने र सेवन गर्ने प्रवृत्ति बढ्दो छ ।
“कुलतमा फसेकाहरू भारतमा गएर लागूऔषध सेवन गर्ने र नेपाल आउने प्रयास गर्छन्,” उनले भने, “यस्ता व्यक्तिलाई पहिचान र पक्राउ गर्न सूचना प्रणाली नै मुख्य आधार बनेको छ ।”
खुला सीमा, वैज्ञानिक परीक्षण प्रणालीको अभाव तथा भारतमा सहज रूपमा उपलब्ध प्रतिबन्धित औषधिहरूका कारण नेपाली युवाहरु कुलतमा फस्दै जाँदा सुरक्षाकर्मीलाई लागूऔषध नियन्त्रणका लागि मुख्य चुनौती बन्दै गएका छन् ।तराई टोप

रौतहट, जेठ १२ । रौतहटको वृन्दावन नगरपालिका–७ धमौरा गढी टोलमा सोमबार साँझ आएको हावाहुरीका कारण कच्ची घर भत्किँदा ३५ बर्षिया एक महिलाको मृत्यु भएको छ।
घटनाको जानकारी पाउना साथ प्रहरी चौकी हर्षाहाबाट प्रहरी सहायक निरीक्षक सुमन परियार तथा इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा टोलीले घाइतेको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
स्थानीय बच्चेलाल रायको टायलको छानो तथा बाँसको बार भएको एकतल्ले कच्ची घर हिजो साँझ करिब ७ः३० बजेको समयमा आएका हावाहुरीका कारण घर भत्किँदा उनकी ३५ वर्षीया श्रीमती फुलकुमारी देवी च्यापिएर गम्भीर घाइते भएकी थिइन्।
घाइते देवीलाई उपचारका लागि बेटर नेपाल अस्पताल, गरुडामा लगिएकोमा चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए। मृतकको शव प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाए ।तराई टोप

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकमा उपस्थित हुने जानकारी गराउँदै विपक्षी दलहरूलाई बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले विरोध जारी राखेपछि सभामुख अर्यालले प्रधानमन्त्री सदनमा आउने तयारीमा रहेको र संसद्मा उठेका विषयबारे जानकार रहेको बताएका हुन् ।

उनले भने-‘ ‘सरकार र प्रधानमन्त्रीसँग मेरो छलफल भइरहेको छ, प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ, सदनमा छलफल भएको विषयमा प्रधानमन्त्री जानकार हुनुहन्छ ।’

सभामुखको आग्रहपछि पनि नेपाली कांग्रेससहितका विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विरोध जारी राखेका थिए ।

विपक्षी दलहरूले सरकार प्रतिपक्षको आवाज दबाउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर जनताको आवाज सुन्न आग्रह गरेका छन् ।

पहिलो बैठक १५ मिनेटका लागि स्थगित भए पछि शुरु भएको दोस्रो बैठकमा पनि विपक्षी दलहरुले विरोध गरिरहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी बागमती र गण्डकी  प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई  भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशको तराई भू-भागका  एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई  भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी,  बागमती र गण्डकी प्रदेशका तराई  भू–भागका थोरै स्थानहरूमा  हावाहुरीको सम्भावना रहेको छ।

त्यस्तै आज राती  कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी र  मधेश प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भाग तथा सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ जेठ १२ गते मंगलबार ईस २०२६ मे २६ नेपाल सम्बत ११४६ अनालाथ्व दशमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल दशमी, चन्द्रमा कन्या राशिमा, हस्त नक्षत्र, सिद्धि योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ११ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५२ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर १३ मिनेट देखि ८ बजेर ३४ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

मेष राशि

आजको दिन कामकाजमा प्रगति हुने संकेत देखिन्छ। रोकिएका योजना फेरि अघि बढ्न सक्छन् र नयाँ अवसरहरू पनि प्राप्त हुन सक्छन्। कार्यक्षेत्रमा तपाईंको मेहनत र सक्रियताको प्रशंसा हुने सम्भावना छ। आर्थिक रूपमा सुधारका संकेत देखिए पनि अनावश्यक खर्च बढ्न सक्ने भएकाले सावधानी आवश्यक हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो रहनेछ। प्रेम सम्बन्धमा खुलेर संवाद गर्दा गलतफहमी हट्नेछ। स्वास्थ्यतर्फ थकान वा तनाव महसुस हुन सक्ने भएकाले आराममा ध्यान दिनु राम्रो हुनेछ।

वृष राशि

आजको दिन स्थिर र सन्तुलित रहने संकेत छ। काममा धैर्य राख्दा राम्रो परिणाम प्राप्त हुनेछ। व्यवसाय वा रोजगारीमा क्रमिक सुधार देखिन सक्छ। आर्थिक रूपमा सानो लाभ प्राप्त हुने सम्भावना छ। परिवारबाट सहयोग र हौसला प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ, तर खानपानमा ध्यान दिनु आवश्यक छ।

मिथुन राशि

आज आत्मविश्वास र उत्साह दुवै बढ्नेछन्। नयाँ योजना सुरु गर्न वा महत्वपूर्ण निर्णय लिन उपयुक्त समय देखिन्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले काम सहज बन्नेछ। आर्थिक रूपमा सुधारका संकेत छन्। अध्ययन, लेखन, सञ्चार वा सिर्जनात्मक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुन सक्छ। यात्राको सम्भावना पनि देखिन्छ। परिवारमा खुसीको वातावरण बन्नेछ।

कर्कट राशि

आज मन केही संवेदनशील बन्न सक्छ। कामको चाप र जिम्मेवारीले मानसिक थकान बढाउन सक्छ। आर्थिक रूपमा सामान्य अवस्था रहनेछ, तर खर्च बढ्ने सम्भावना भएकाले सावधानी आवश्यक छ। परिवारसँग समय बिताउँदा राहत मिल्नेछ। स्वास्थ्यतर्फ पेट वा पाचनसम्बन्धी समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ।

सिंह राशि

आज प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना छ। काममा तपाईंको नेतृत्व क्षमता र निर्णय शक्ति प्रभावकारी देखिनेछ। व्यवसायमा लाभको संकेत छ। सामाजिक रूपमा मान–सम्मान बढ्नेछ। परिवारको साथले आत्मबल बढाउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना पनि देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ।

कन्या राशि

आज निर्णय गर्दा हतार नगर्नु राम्रो हुनेछ। काममा केही ढिलाइ वा अवरोध आउन सक्छ, तर धैर्य राख्दा समाधान भेटिनेछ। आर्थिक रूपमा स्थिरता रहनेछ। परिवारसँगको सम्बन्धमा समझदारी आवश्यक हुनेछ। नयाँ योजना वा लगानी अघि बढाउँदा सोचविचार गर्नु उपयुक्त हुनेछ। स्वास्थ्यमा सामान्य कमजोरी वा थकान महसुस हुन सक्छ।

तुला राशि

आजको दिन उत्साहजनक र उपलब्धिमूलक रहने संकेत छ। नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ। आर्थिक रूपमा सुधार आउने संकेत देखिन्छ। प्रेम सम्बन्धमा खुसी र निकटता बढ्नेछ। सामाजिक भेटघाट र सहकार्यबाट लाभ मिल्न सक्छ। कला, संगीत वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्ने समय हो। परिवारमा रमाइलो वातावरण बन्नेछ।

वृश्चिक राशि

आज जिम्मेवारी र कामको दबाब बढ्न सक्छ। मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुने सम्भावना छ। आर्थिक लाभको संकेत भए पनि खर्च पनि बढ्न सक्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। पुराना समस्या समाधानतर्फ अघि बढ्ने संकेत देखिन्छ। स्वास्थ्यतर्फ आरामको कमीले थकान महसुस हुन सक्छ।

धनु राशि

आज नयाँ अवसर र नयाँ योजना दुवै प्राप्त हुन सक्छन्। रोकिएका कामहरू अघि बढ्नेछन्। आत्मविश्वास बढ्नेछ र सकारात्मक सोचले सफलता दिलाउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना छ। आर्थिक रूपमा सुधारका संकेत छन्। परिवार र साथीभाइसँगको सम्बन्ध राम्रो रहनेछ। विद्यार्थीहरूका लागि दिन उपलब्धिमूलक बन्न सक्छ।

मकर राशि

आज काममा स्थिरता आउनेछ। जिम्मेवारी धेरै भए पनि मेहनत र धैर्यले राम्रो परिणाम दिलाउनेछ। आर्थिक रूपमा सन्तुलन कायम रहनेछ। परिवारको साथ र सहयोगले मनोबल बढाउनेछ। भविष्यका योजना वा लगानीबारे सोच्ने समय उपयुक्त देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ।

कुम्भ राशि

आज सोचविचार गरेर निर्णय लिनुपर्ने दिन हो। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ। सहकर्मी वा साथीभाइको सहयोगले काम सहज बन्नेछ। नयाँ अवसर प्राप्त भए पनि हतारमा निर्णय नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा धैर्य र समझदारी आवश्यक रहनेछ। स्वास्थ्यमा सामान्य तनाव महसुस हुन सक्छ।

मीन राशि

आज मन शान्त र सकारात्मक रहनेछ। काममा क्रमिक प्रगति हुनेछ र मेहनतको फल प्राप्त हुन थाल्नेछ। परिवारबाट साथ, सहयोग र हौसला प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास र निकटता बढ्नेछ। अध्ययन, कला, लेखन वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्न सक्छ। आर्थिक अवस्था सामान्य रहे पनि सानो लाभ प्राप्त हुने सम्भावना छ। दिन समग्रमा सुखद र सन्तुलित रहने संकेत देखिन्छ ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।