काठमाडौँ । संयुक्त राष्ट्रसंघको नयाँ जलवायु प्रतिवेदनले आगामी पाँच वर्षभित्र पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने चेतावनी दिएको छ ।
प्रतिवेदनअनुसार यही अवधिमा पृथ्वीको सबैभन्दा तातो वर्षको कीर्तिमान पटक पटक तोडिन सक्ने सम्भावना रहेको छ । विश्व मौसम विज्ञान संगठनले सन् २०३० सम्म आर्कटिक क्षेत्रको तापक्रम करिब १ दशमलव ६६ डिग्री सेल्सियसले बढ्न सक्ने अनुमान पनि गरेको छ ।
प्रतिवेदनमा अमेजन क्षेत्रमा गम्भीर खडेरी र डढेलोको जोखिम बढ्ने उल्लेख गरिएको छ । वैज्ञानिकहरूले कोइला, तेल र ग्यासको बढ्दो प्रयोगका कारण विश्वव्यापी तापक्रम वृद्धि भइरहेको र यसले बाढी, खडेरी तथा अत्यधिक गर्मीजस्ता मौसमी विपद् झन् बढाउने बताएका छन् ।
संयुक्त राष्ट्रसंघको जलवायु निकाय र बेलायतको मौसम विभागले संयुक्त रूपमा तयार पारेको प्रतिवेदनमा सन् २०२६ देखि २०३० बीच विश्वको औसत तापक्रम औद्योगिक क्रान्तिअघिको अवस्थाभन्दा १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि रहने सम्भावना ७५ प्रतिशत रहेको उल्लेख छ ।
प्रतिवेदनअनुसार तापक्रममा सामान्य वृद्धि भए पनि यसले मानव मृत्यु, प्राकृतिक जोखिम र जीवजन्तुका प्रजातिमा गम्भीर असर पार्नेछ । प्रवाल भित्ते र हिमनदीजस्ता प्राकृतिक प्रणालीले थप तापीय दबाब सहन नसक्ने चेतावनी दिइएको छ ।
विश्व मौसम विज्ञान संगठनका अनुसार आगामी पाँच वर्षमध्ये कम्तीमा एक वर्षमा १ दशमलव ५ डिग्री सेल्सियसको सीमा पार हुने सम्भावना ९१ प्रतिशत रहेको छ । यस्तै सन् २०२४ मा बनेको पृथ्वीको सबैभन्दा तातो वर्षको कीर्तिमान फेरि तोडिने सम्भावना ८६ प्रतिशत रहेको जनाइएको छ ।
अनुमानअनुसार सन् २०३० सम्म प्रत्येक वर्षको तापक्रम १९औँ शताब्दीको अन्त्यतिरको अवस्थाभन्दा १ दशमलव ३ देखि १ दशमलव ९ डिग्री सेल्सियससम्म बढी रहनेछ ।
प्रतिवेदनमा ‘एल निनो’ को प्रभाव फेरि देखिन सक्ने सम्भावना पनि औँल्याइएको छ । छोटो अवधिको मौसम पूर्वानुमानमा ‘एल निनो’ सक्रिय हुन सक्ने संकेत देखिएको र यसको असर सन् २०२८ सम्म कायम रहन सक्ने विश्व मौसम विज्ञान संगठनले जनाएको छ । यसका कारण सन् २०२७ मा सन् २०२४ को तापक्रम रेकर्ड तोडिन सक्ने अनुमान गरिएको छ ।
संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले पछिल्ला वर्षहरूमा केही प्रगति भए पनि तापक्रम वृद्धि नियन्त्रण गर्ने प्रयास पर्याप्त नभएको बताएका छन् । प्रतिवेदनकी सहलेखिका मेलिसा सिब्रुकले १ दशमलव ५ डिग्री सेल्सियस अन्तिम सीमा नभएको उल्लेख गर्दै प्रत्येक ० दशमलव १ डिग्री तापक्रम वृद्धि हुँदै जाँदा यसको असर झन् गम्भीर बन्ने बताइन् ।
लन्डनकी जलवायु वैज्ञानिक फ्रेडरिक ओटोले यदि तापक्रम पूरा वर्ष १ दशमलव ५ डिग्रीभन्दा माथि रह्यो भने संसारले अत्यन्त खतरनाक मौसमीय अवस्था सामना गर्नुपर्ने चेतावनी दिएकी छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हाँसिल गर्न सबै तहका सरकार निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै राष्ट्र्रपति पौडेलले गणतन्त्र दिवसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण्ण राखी दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल गर्दै सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माण गर्न आ-आफ्नो क्षेत्रबाट योगदान पुऱ्याउनका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा सम्वद्ध सबैमा आह्वान समेत गरेका छन् ।
उनले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएक आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका श्रद्धेय नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी आमनागरिक, जनसमुदाय एवम् राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गरेका छन् ।
उनले भनेका छन्- ‘नेपाली जनताको लामो संघर्ष र बलिदानको प्रतिफल स्वरूप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो बैठकबाट वि.सं. २०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौं ।’
राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता भएको उल्लेख गरेका छन् । उनले यस ऐतिहासिक दिवसले सबै नेपालीहरूबीच आपसी विश्वास सहकार्य र राष्ट्रिय एकताको भावना अझ सुदृढ हुँदै जाओस् भन्ने कामना समेत गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जारी काभा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुदैछ ।
काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने फाइनल खेलमा इरान र काजकिस्तान खेल्दैछन् । फाइनल खेल अपराहन्न साढे ४ बजेदेखि शुरु हुने छ ।
इरानले नेपाललाई र काजकिस्तानले सेमिफाइनलमा भारतलाई पराजित गरेर फाइनलमा पुगेका हुन् । त्यस्तै तेस्रो स्थानका लागि आजै नेपाल र भारतबीच खेल हुदैछ । यो खेल दिउसो १ बजे हुनेछ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टिको वैधानिक समाधान पनि गणतान्त्रिक व्यवस्थामार्फत मात्रै सम्भव हुने बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले परिवर्तनको गति अपेक्षाअनुसार तीव्र हुन नसकेको स्वीकार गर्दै त्यसबाट प्रणालीप्रति असन्तुष्टि उत्पन्न हुन सक्ने र त्यस्ता असन्तुष्टिको वैधानिक समाधान पनि गणतान्त्रिक व्यवस्थामार्फत मात्रै सम्भव हुने जिकिर गरेका हुन् ।
उनले भनेका छन्- ‘चाहेजति गतिमा परिवर्तन हुन नसक्दा प्रणालीसँगै असन्तुष्टि हुन पनि सक्छ, तर ती असन्तुष्टिको वैधानिक रूपमा सम्बोधन गर्न पनि गणतान्त्रिक प्रणाली नै चाहिन्छ । त्यसैले, यस व्यवस्थाको रक्षा गर्न सकिए मात्र जनताले अवस्था परिवर्तन गर्न पाउँछन्। लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नारा बीचको भिन्नता समाजले तत्काल होइन, जीवन भोगाइको नतिजामा बिस्तारै थाहा पाउने कुरा हो ।’
ओलीले गणतन्त्र स्थापना नेपाली जनताको सात दशकभन्दा लामो संघर्ष, बलिदान र त्यागको परिणाम भएको बताएका छन् । उनले आजभन्दा ठीक १८ वर्षअघि नेपाली जनताले आफैं निर्वाचित गरेको संविधानसभाबाट गणतन्त्र घोषणा भएको ऐतिहासिक दिन भएको उल्लेख गरेका छन् । उनले बोल्ने, लेख्ने, संगठित हुने तथा राजनीतिक विचार राख्ने अधिकार प्राप्त गर्न हजारौं अग्रजहरूले जीवन बलिदान गरेको र धेरैले जेल, यातना तथा निर्वासन भोग्नुपरेको स्मरण गरेका छन् ।
ओलीले जनताको ठूलो संघर्षपछि हुकुमबाट चल्ने शासन प्रणाली अन्त्य भएर कानुनबाट चल्ने व्यवस्था स्थापना भएको बताएका छन् । व्यक्तिको इच्छाअनुसार चल्ने शासनको सट्टा लोकतान्त्रिक अङ्ग र संरचनाबाट सञ्चालन हुने पद्धति सुरु भएको उनको भनाइ छ । अध्यक्ष ओलीले गणतान्त्रिक अभ्यास छोटो समयमै भए पनि सामाजिक र भौतिक विकासमा उल्लेखनीय प्रगति भएको दाबी गर्दै गणतन्त्र केवल शासन प्रणाली परिवर्तन मात्र नभई नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण भएको बताएका छन् ।
उनका अनुसार शताब्दीयौँसम्म ‘प्रजा’ भएर बाँचेको समाज संविधानमार्फत सार्वभौम नागरिकमा रूपान्तरित भएको उल्लेख गर्दै गाउँगाउँसम्म स्थानीय सरकार पुगेको, राज्यका हरेक तहमा महिला, दलित, जनजाति, मधेशी तथा पिछडिएको समुदायको प्रतिनिधित्व बढेको, अभिव्यक्ति स्वतन्त्रता विस्तार भएको, डिजिटल सेवामा पहुँच बढेको तथा सडक र सञ्चार विस्तार भएका विषयलाई गणतन्त्रका उपलब्धिका रूपमा उल्लेख गरेका छन् ।
ओलीले जनताको निराशाबाट फाइदा उठाएर लोकतान्त्रिक संस्थामाथि अविश्वास फैलाउने र भावनालाई भड्काएर संरचना कमजोर बनाउने प्रवृत्तिप्रति पनि चेतावनी दिएका छन् । उनले संविधान, संसद्, न्यायपालिका र स्वतन्त्र प्रेसको रक्षा नै अहिले गणतन्त्रको रक्षा भएको बताएका छन् । लोकतान्त्रिक संस्थाहरू कमजोर भए समाज र जनताको भविष्य पनि असुरक्षित हुने उनको भनाइ छ ।
गणतन्त्र दिवसका अवसरमा अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि भएका संघर्ष सम्झन र लोकतन्त्र कमजोर भए भविष्य कस्तो हुन्छ भन्ने विषयमा गम्भीर चिन्तन गर्न सबैलाई आह्वान गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन आज गणतन्त्र दिवस मनाइदै छ ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।
हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बनेको थियो ।
विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।
विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।
आज गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना हुदैछ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुदैछ ।
हरेक वर्षको जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले आज बजेट ल्याउन लागेको हो।
यसका लागि संघीय संसदका दुवै सदनको संयुक्त बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । सोही बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेट सार्वजनिक गर्ने कार्यसूची संघीय संसद सचिवालयले सार्बजनिक गरको छ ।
गत बर्ष अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएका थिए । अर्थमन्त्री पौडेलले चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६० दशमलव १ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड २० दशमल ८ प्रतिश र वित्तीय व्यवस्थापन तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात १९. १ प्रतिशतको बजेट सार्वजनिक गरेका थिए । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जारी आइपिएलको दोस्रो क्वालिफायरमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल आज साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । दोस्रो क्वालिफायरको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टिमको यस सिजनको आइपिएल यात्रा समाप्त हुने छ ।
लिग चरणमा राजस्थानले अहमदाबादमा भएको अवे खेल जितेको थियो भने गुजरातले जयपुरमा त्यसको बदला लिएको थियो ।
गुजरात पहिलो क्वालिफायरमा साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरुसँग ९२ रनले पराजित हुँदै दोस्रो क्वालिफायर खेल्न लागेको हो । उता राजस्थानले इलिमिनेटरमा सनराइजर्स हैदराबादलाई ४७ रनले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको हो ।
यस सिजन नयाँ चण्डीगढमा भएका पाँच खेलमा पहिलो इनिङ्सको औसत योग २२० रन रहेको छ । २२३ रनको लक्ष्य समेत सहज रूपमा पछ्याइएको छ । तर नकआउट चरणको दबाबपूर्ण खेल भएकाले टस जितेर पहिले ब्याटिङ गर्नु फाइदाजनक हुन सक्ने अनुमान गरिएको छ ।
गुजरात टाइटन्स टोलीमा साई सुदर्शन, शुभमन गिल (कप्तान), जोस बटलर, वासिङ्टन सुन्दर, निशान्त सिन्धु, जेसन होल्डर, राशिद खान, अर्शद खान, कागिसो रबाडा, मोहम्मद सिराज र प्रसिद्ध कृष्णा रहेका छन् । राहुल तेवतियालाई प्रभाव खेलाडीका रूपमा राखिएको छ । त्यस्तै राजस्थान रोयल्स टोलीमा यशस्वी जैसवाल, वैभव सूर्यवंशी, ध्रुव जुरेल, रियान पराग (कप्तान), डोनोभान फरेरा, दासुन शनाका, रविन्द्र जडेजा, जोफ्रा आर्चर, नान्द्रे बर्गर, बृजेश शर्मा र यशराज पुञ्जा रहेका छन् ।
खेलअघि दुवै टोली उपाधिनजिक पुग्ने लक्ष्यसहित मैदानमा उत्रिने भएकाले प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आज ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७३ वर्ष पुगेको अवसरमा गरेक बर्ष मे २९ मा यो दिवस मनाउने गरिन्छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘हिमालयको भविष्यका लागि आवाजहरूलाई एकताबद्ध गर्दै’ भन्ने नाराका साथ यस बर्षको अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ ।
नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख अर्थात् आजकै दिन पहिलोपटक सगरमाथामा पाइला राखेका थिए । शेर्पा र हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७३औँ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरेर सगरमाथा दिवस मनाइदै छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।
हाल देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको केही स्थानहरूमा, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा भैरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भू-भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
त्यस्तै आज राती लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत बागमती, गण्डकी र कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । देशका तराई र पहाडी भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
आजको राशिफल बिस २०८३ जेठ १५ गते शुक्रबार ईस २०२६ मे २९ नेपाल सम्बत ११४६ अनालाथ्व त्रयोदशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल द्धादशी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, परिघ योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १० मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५४ मिनेटमा हुनेछ ।
आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १२ मिनेट देखि ७ बजेर ५२ मिनेटसम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज गणतन्त्र दिवस र विश्व सगरमाथा दिवस परेको छ ।
मेष
आजको दिन उत्साह र नयाँ सम्भावनाले भरिएको रहनेछ। रोकिएका कामहरू अघि बढ्ने संकेत देखिन्छ र कार्यक्षेत्रमा तपाईंको मेहनतको राम्रो मूल्यांकन हुन सक्छ। आर्थिक रूपमा केही सुधार आउने सम्भावना छ, तर अनावश्यक खर्च बढ्न सक्ने भएकाले सावधानी अपनाउनु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध मधुर रहनेछ र घरमा खुसीको वातावरण बन्न सक्छ। प्रेम सम्बन्धमा विश्वास र निकटता बढ्नेछ। स्वास्थ्यतर्फ थकान वा मानसिक तनाव महसुस हुन सक्ने भएकाले पर्याप्त आराम आवश्यक हुनेछ।
वृष
आजको दिन स्थिर र सन्तुलित रहने संकेत छ। काममा धैर्य राखे राम्रो परिणाम प्राप्त हुनेछ। व्यवसाय वा रोजगारीमा क्रमिक प्रगति देखिन सक्छ। आर्थिक रूपमा सानो लाभ प्राप्त हुने सम्भावना छ। परिवारबाट साथ र सहयोग मिल्नेछ, जसले आत्मविश्वास बढाउनेछ। प्रेम सम्बन्धमा समझदारी कायम रहनेछ। स्वास्थ्य सामान्य रहनेछ, तर खानपानमा ध्यान दिनु राम्रो हुनेछ।
मिथुन
आज आत्मविश्वास र उत्साह दुवै बढ्नेछन्। नयाँ योजना सुरु गर्न वा महत्वपूर्ण निर्णय लिन उपयुक्त समय देखिन्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले काम सहज बन्नेछ। आर्थिक रूपमा सुधारका संकेत छन्। अध्ययन, लेखन, सञ्चार वा सिर्जनात्मक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुन सक्छ। यात्राबाट लाभ मिल्ने सम्भावना पनि देखिन्छ। परिवारमा रमाइलो वातावरण बन्नेछ।
कर्कट
आज मन केही संवेदनशील बन्न सक्छ। कामको चाप र जिम्मेवारीले मानसिक थकान बढाउन सक्छ। आर्थिक रूपमा सामान्य अवस्था रहनेछ, तर खर्च नियन्त्रणमा राख्नु आवश्यक हुनेछ। परिवारसँग समय बिताउँदा राहत महसुस हुनेछ। स्वास्थ्यतर्फ पेट वा पाचनसम्बन्धी समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउनु राम्रो हुनेछ। दिनको अन्त्यतिर मन हलुका बन्ने संकेत देखिन्छ।
सिंह
आज प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना बलियो छ। कार्यक्षेत्रमा तपाईंको नेतृत्व क्षमता र निर्णय शक्ति प्रभावकारी देखिनेछ। व्यवसायमा लाभको संकेत छ। सामाजिक रूपमा मान–सम्मान बढ्नेछ। परिवारको साथले आत्मबल बढाउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना पनि देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ।
कन्या
आज धैर्य र संयम आवश्यक पर्ने दिन हो। काममा केही ढिलाइ वा अवरोध आउन सक्छन्, तर निरन्तर प्रयासले समाधान मिल्नेछ। आर्थिक रूपमा स्थिरता कायम रहनेछ। परिवारसँगको सम्बन्धमा समझदारी आवश्यक हुनेछ। नयाँ योजना वा लगानी अघि बढाउँदा सोचविचार गर्नु उपयुक्त हुनेछ। स्वास्थ्यमा सामान्य कमजोरी वा थकान महसुस हुन सक्छ।
तुला
आजको दिन उत्साहजनक र उपलब्धिमूलक रहने संकेत छ। नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ। आर्थिक रूपमा सुधार आउने संकेत देखिन्छ। प्रेम सम्बन्धमा खुसी र निकटता बढ्नेछ। सामाजिक भेटघाट र सहकार्यबाट लाभ मिल्न सक्छ। कला, संगीत वा सिर्जनात्मक क्षेत्रमा राम्रो प्रगति हुने समय हो। परिवारमा रमाइलो वातावरण बन्नेछ।
वृश्चिक
आज जिम्मेवारी र कामको दबाब बढ्न सक्छ। मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुने सम्भावना छ। आर्थिक लाभको संकेत भए पनि खर्च पनि बढ्न सक्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। पुराना समस्या समाधानतर्फ अघि बढ्ने संकेत देखिन्छ। स्वास्थ्यमा आरामको कमीले थकान महसुस हुन सक्छ, त्यसैले पर्याप्त विश्राम आवश्यक हुनेछ।
धनु
आज नयाँ अवसर र नयाँ योजना दुवै प्राप्त हुन सक्छन्। रोकिएका कामहरू अघि बढ्नेछन्। आत्मविश्वास बढ्नेछ र सकारात्मक सोचले सफलता दिलाउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना छ। आर्थिक रूपमा सुधारका संकेत छन्। परिवार र साथीभाइसँगको सम्बन्ध राम्रो रहनेछ। विद्यार्थीहरूका लागि दिन उपलब्धिमूलक बन्न सक्छ।
मकर
आज काममा स्थिरता आउनेछ। जिम्मेवारी धेरै भए पनि मेहनत र धैर्यले राम्रो परिणाम दिलाउनेछ। आर्थिक रूपमा सन्तुलन कायम रहनेछ । परिवारको साथ र सहयोगले मनोबल बढाउनेछ। भविष्यका योजना वा लगानीबारे सोच्ने समय उपयुक्त देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ।
कुम्भ
आज सोचविचार गरेर निर्णय लिनुपर्ने दिन हो। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ। सहकर्मी वा साथीभाइको सहयोगले काम सहज बन्नेछ। नयाँ अवसर प्राप्त भए पनि हतारमा निर्णय नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा धैर्य र समझदारी आवश्यक रहनेछ। स्वास्थ्यमा सामान्य तनाव महसुस हुन सक्छ।
मीन
आज मन शान्त र सकारात्मक रहनेछ। काममा क्रमिक प्रगति हुनेछ र मेहनतको फल प्राप्त हुन थाल्नेछ। परिवारबाट साथ, सहयोग र हौसला प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास र निकटता बढ्नेछ। अध्ययन, कला, लेखन वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्न सक्छ। आर्थिक अवस्था सामान्य रहे पनि सानो लाभ प्राप्त हुने सम्भावना छ। दिन समग्रमा सुखद र सन्तुलित रहने संकेत देखिन्छ ।एभरेष्ट न्यूज एजेन्सी