बिरगंज/श्रावण-२४ गते।
सरकारी जागीर प्रति बिधार्थी तथा अभिभावकहरुको रुचि दिन प्रती दिन बढ्दै गएकोले सो कुराको मध्य नजर गर्दै,गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले सुबिधा सम्पन्न रहेको दक्ष जनशक्ति बाट प्रशिक्षण दिनका लागि बिरगंजमा मधेश लोकसेवा त्यारी केन्द्रको आज बिरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले उद्धाटन गर्नु भएको छ। सो त्यारी केन्द्र को उद्धाटन गर्दै उपप्रमुख आलम ले सो मधेस लोक सेवा त्यारी केन्द्र ले विद्यार्थीहरु को भबिस्य बनाउन एउटा महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्ने आफुले आशा लिएको बताए । लोक सेवा आयोग लगायत अन्य सरकारी सेवा आयोग मा बिद्यार्थीहरु को चासो बढ्दै गएको ले सुलभ शुल्कमा सबैको शिक्षामा पहुँच हुने मनसायले पाठन-पाठन गराउन उनले मधेश लोकसेवा त्यारी केन्द्र संग आग्रह गरे । बुधबार उद्धघाटन पश्चात संचालनमा आएका मधेश लोकसेवा त्यारी केन्द्रले लोक सेवा आयोग, शिक्षक सेवा आयोग, बैकिङ्ग त्यारी कक्षाहरु, सुरक्षा निकाय, कम्प्युटर कक्षा, प्राविधिक सेवा लगायत विभिन्न कोर्सहरु पढाउने सो त्यारी केन्द्रका निर्देशक निखिल पासवान ले बताए । उक्त उद्धाघाटन समारोहमा नेपाली कांग्रेसका २६ २७ र २८ नम्बर का वडा अध्यक्षहरु को उपस्थिति रहेको थियो भने सो कार्यक्रम मा विभिन्न राजनीति कर्मी,संचार कर्मी,पत्रकार एवम् शिक्षक, शिक्षिका तथा विभिन्न कलेज का बिद्यार्थीहरुको पनि उल्लेखनिय उपस्थिति रहेको थियो ।
काठमाडौं, २४ साउन ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै सरकारी निकायले मालिक हौं भन्ने नभइ जनताका सेवक हौं भन्ने भावले काम गर्नु पर्ने बताए।
रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७९-८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समिक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्वोधन गर्दै उपप्रधानमन्त्री खड्काले सरकारी निकायले अनावश्यक समय लिने, तथा फाइल अड्काएर राख्ने प्रवृति देखिएको भन्दै त्यसलाइ तत्काल अन्त्य गर्न निर्देशन दिए।
उपप्रधानमन्त्री खड्काले भने, ‘समय तालिका बनाउनुस्, कुन कामलाइ कति समय लाग्ने हो, जनताले देख्ने गरि सार्वजनिक जानकारी दिनुस् । सरकारी निकायमा काम गर्ने कार्यलय सहयोगि देखि मन्त्रीसम्म सबैले कुन काममा कति समय लाग्ने हो त्यो भन्नु पर्यो, तर ढिला सुस्ती गर्न पाइँदैन।’
कामका लागि निवेदन दर्ता देखि मन्त्रीको कार्यकक्षमा पुग्ननै हप्तौ दिन भन्दा बढी समय लाग्दा जनताले परिवर्तनको अनुभूति गर्न नसकेको भन्दै रक्षा मन्त्री समेत रहनु भएका उपप्रधानमन्त्री खड्काले राजनीतिक परिवर्तन भएर मात्र नपुग्ने भन्दै कार्यशैली तत्काल परिवर्तन गर्न मातहतका निकायलाइ निर्देशन दिए।
विकाश निर्माणका काम गर्न होस वा जनतालाइ दिनु पर्ने दैनिक सेवा प्रभाव संवन्धी विषय होस, निर्णय प्रकृयामा निकै ठूलो परिवर्तन आवश्यक देखिएकाले अब समय तालिका बनाएरै काम गर्नु पर्ने र समयमा तोकिएको काम नगर्ने वा गर्न नसक्नेलाइ के गर्ने भन्ने विषयमा समेत निर्णयगर्न उच्च सरकारी अधिकारीहरूलाई निर्देशन दिए।
कुनै पनि सरकारी काममा ढिला सुस्ती नगर्न निर्देशन दिँदै खड्काले भने, ‘निर्णयमा अल्मल्याने, सकेसम्म ढिला गरेकोमा मजा मान्ने, सकेसम्म फाइल थन्काएर यसो एक दुइ पटक हात जोडेर मेरो काम ढिला हुन थाल्यो, मेरो काम गरिदिनुसन भनेको कुरामा रमाउने जुन प्रवृति छ यो मालिक प्रवृति हो। हामी मलिक होइन, जनताका सेवक हौं, सेवक भएर सेवा दिनुस्।’
काठमाडौं, २४ साउन ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका दुई समूहबीच विवाद भएको छ।

संस्थापन र असन्तुष्ट समूहका दुई पक्षबीच नेविसंघको नयाँ समिती विस्तारको विषयलाई लिएर विवाद भएको हो।

दुवै समूह एकै पटक उत्रिएर नाराबाजी गर्दा अवस्था नियन्त्रणबाहिर जान नदिन प्रहरी परिचालनसमेत गरिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार नेविसंघ केन्द्रीय समितिमा ७१० जनालाई मनोनीत गरेपछि विवाद बढेको छ
नेता कृष्ण सिटौलासहित असन्तुष्ट समूहले बुधबार दिउँसो सानेपामा प्रदर्शन गरेका थिए। उनीहरूले समानान्तर समिति गठन र विद्रोहसहिताका योजना लिएर सानेपामा नाराबाजी गरेका हुन्।

महाेत्तरी, २४ साउन ।
सरकारले ल्याएको शिक्षा ऐन सम्बन्धी विधेकमा आपत्ति जनाउदै निजि तथा आवासिय विद्यालयहरुले ध्यानाकर्षण जनाएका छन ।
निजि तथा आवासिय विद्यालयका छाता संगठन प्यावसन र एनप्यावसनका बर्दिबास एकाईले आज स्थानिय सरकार र इलाका प्रशासन कार्यालयलाइ सयुक्त ज्ञापनपत्र बुझाउदै ध्यानाकर्षण जनाएका हुन । उक्त ज्ञापनपत्रमा सरोकारवालाहरुलाइ थाहा नै निदिई सुझावहरुको समेत सरकारले वेवास्ता गरेको भन्दै भत्सर्नासमेत गरिएको छ ।
एन प्यावसन नगर कमिटी बर्दिबासका अध्यक्ष नागेन्द्र क्यापछाकीले सरकारले ल्याएको बिधेक स्वेच्छाचारी, निरंकुश र निजि लगानीका विद्यालयहरुप्रती पुर्वाग्राही भएको हुनाले विद्यालय संचालनमा नै कठिनाई हुने बताए ।
त्यस्तै प्यावसनका अध्यक्ष सरोज प्रधानले पनि निजी तथा आवासिय विद्यालयहरुको सरकारले घाँटी निमोठन खोजेको भन्दै आपत्ती जनाएका छन् । निजि विद्यालयहरुले वित्तिय संस्थाहरुवाट संस्थागत विकासको लागी कर्जा लिएर लगानी गरेको वताउदै बिधेकमा उल्लेख भएको जस्तो ५ बर्षभित्रमा कर्जा अन्य दायित्वहरु भुक्तानी गर्न सक्ने व्यवहारिक अवस्था नरहेको प्रष्ट पारे ।
ज्ञापनपत्रमा भनिएको छ ` निजि शिक्षालयहरुमा गरिएको अरवौको लगानी र यस्ले राज्यलाइ दिएको प्रत्यक्ष र परोक्ष सेवाको बेवास्ता गर्दै ल्याइएको बिधेकका कयौ दफाहरु आपत्तिजनक छन ।´
समस्याको सम्बोधन गर्ने र गराउने कार्यमा ठोस कदमका लागी पहलकदमी नलिए निजि लगानीका सम्पुर्ण विद्यालय बन्द गरेर थप आन्दोलनका कार्यक्रम तय गर्ने पनि ज्ञापनपत्रमा सरकारलाइ चेतावनी दिइएको छ ।
काठमाडौं, २४ साउन ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कलाको माध्यमबाट दुई भूगोल र समुदायलाई जोड्न सकिने बताएका छन् । काठमाडौंमा बुधबार आयोजित नेपाल सेन्टर इन्टरनेशनलले आयोजना गरेको क्रस कन्ट्री आर्ट एक्जिबिसनको उद्घटान गर्दै उनलले कला र साहित्यले इतिहासदेखि वर्तमानसम्म नै फरक भूगोल र समुदायलाई जोड्दै आएको धारणा राखेका हुन् ।

कला प्रर्दशनीमा राखिएका कलाकृतिहरु साँच्चिकै सुन्दर र जीवन्त रहेको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले देश र समाजको विविधता अनुसार नै कलाकृतिमा पनि विविधता रहेकको बताए ।
एक देशले अर्को देशलाई, एकजातिले वा समुदायले अर्को जाति वा समुदायलाई बुझ्न र बुझाउन तथा इतिहासलाई वर्तमानसँग सामिप्यता गराउन पनि कला प्रर्दशनीको महत्व रहेको भन्दै अध्यक्ष तिमिल्सिनाले जनता–जनताको बीचमा सामिप्यता बढाउन र आपसी सम्बन्ध विस्तार गर्न पनि प्रर्दशनीले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल सेन्टर इन्टरनेशनलका संस्थापक निर्मलकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा आर्टस फर पिपल पोर्चुगलकी प्रमुख अन्ना अन्टुनेस, पोर्चुगलका लागि अवैतनिक राजदुत राजेन्द्र खेतान, नेपाल–जर्मन चेम्बर अफ कर्मसका सन्तोष कुवँर लगायतले कला प्रर्दशनीका बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल, पोर्चुगल, अर्जेन्टिना, बंगलादेश, पेरु र स्पेन गरि ६ देशका ११ जना कलाकारले तयार पारेका कलाकृतिहरु प्रर्दशनीमा राखिएको छ । प्रर्दशनी हुकुम दरबार कमलपोखरीमा ३ दिनसम्म चल्नेछ ।

इन्दीप कोइराला,बारा, २४ साउन ।
बारामा सामुदायिक वन समिति निष्क्रिय हुँदा वन अतिक्रमण तीव्र रुपमा बढ्दै गएको छ । वन क्षेत्र मानव अतिक्रमणको चपेटामा परे पनि नियन्त्रणको प्रयास हुन नसक्दा सो अतिक्रमण बढ्दै गएको हो ।जिल्लाको भरतगंजसिँगौल, चकरी, नयाँबस्ती, डम्मरपुर, भक्तलाल, ककरी, बोधवन, हरैया, जैतापुर, पथलैया लगायत विभिन्न स्थानमा गरी करीब १० हजार हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको हो ।
यस्तै निजगढ नगरपालिका वडा नं १ सिँगौलमा रहेको सबैभन्दा बढी अतिक्रमणमा परेको ब्रम्हबाबा सामुदायिक वनका सचिव राजकुमार थापाले बताए । उनले वन समितिका र स्थानीय जनप्रतिनिधिहरुनै नै अतिक्रमणमा लागेपछि वन अतिक्रमण बढेको बताए । वनका अध्यक्षको मृत्यु भएपछि यस सामुदायिक वनमा नयाँ पदाधिकारी हालसम्म गठन हुनसकेको छैन । स्थानीय जनप्रतिनिधि र वनले खासै चासो नराख्दा नयाँ समिति गठन हुन नसकेको स्थानीयहरुको आरोप समेत छ । जिल्लामा रहेका सामुदायिक र साझेदारी वन समितिका पदाधिकारीहरुको निष्क्रियताले अतिक्रमण बढेको हो ।
सिँगौलकै जनशक्ति सामुदायिक वनका अध्यक्ष निर्मल कुमार केसीले राजनैतिक हस्तक्षेपका कारण वन अतिक्रमण बढेको बताए । आफू फरक दलको र वडा अध्यक्ष मंगल लोप्चन फरक दलको भएकाले वडा अध्यक्षले आफूनिकट व्यक्तिलाई अध्यक्ष बनाउन चाहेकाले नयाँ कार्यसमिति बन्न नसकेको जनशक्ति सामुदायिक वनका अध्यक्ष निर्मल कुमार केसीले बताए ।
स्थानीयले वनजङ्गल क्षेत्रमा रुखको जरामा आगो लगाएर सुकाउने र अतिक्रमण गरी खेतीपाती, घरटहरा बनाएर कब्जा गरेको भए पनि नियन्त्रणका प्रभावकारी कार्य हुन सकेको छैन । वन समितिहरु निस्क्रिय भएका कारण संरक्षणमा चुनौती आएको निजगढ सबडिभिजन कार्यालय धन्सारका प्रमुख एवं सहायक वन अधिकृत रघुनाथ दासले बताए ।
यता डिभिजन वन कार्यालय बाराका प्रमुख अधिकृत विनोद सिंहले पनि बारामा वन अतिक्रमण भएको स्वीकार गरेका छन् । स्थानीय सरकार प्रहरी प्रशासनको सहयोगविना अतिक्रमण हटाउन नसकिने अबस्थामा पुगेको अधिकृत सिंहले बताए ।
बस्ती विस्तारको नाममा, सुकुम्बासी, भूमिहीन, खेतीपाती बिस्तारको नाममा, सरकारी विकास आयोजनाको नाममा वन अतिक्रमण भइरहेको आफूले पनि देखेको सिंह बताए । वन अतिक्रमण हुनुमा विशेषगरी वन छेउ छाउमा बस्ने मानिसहरुबाटै भएको र स्थानीय सामुदायिक वनका पदाधिकारी र स्थानीय जनप्रतिनिधिहरुबाट हौसाला पाएरै यस्तो कार्य भएको बताए ।
सरकारले वन क्षेत्र अतिक्रमण हटाउन इमान्दारीका साथ अघि बढ्न सकिरहेको छैन । त्यसो त अतिक्रमित वन क्षेत्रमा केही वर्ष खेतीपाती गर्दै आएकालाई जग्गाधनी पुर्जा वितरण गर्ने सरकारको नीतिका कारण बारामा हजारौं हेक्टर वन क्षेत्र गुम्ने अवस्था एकातिर छ भने यसबाट प्राकृतिक विपत्ति मानव समुदायले भोग्नुपर्ने निश्चित छ । चुरे क्षेत्रमा उत्खनन, जंगलको फँडानी, नदीबाट जथाभावी ढुंगा, गिटी र बालुवाको अवैध उत्खनन जस्ता कार्यले पनि भूमिगत पानीको सतह घटेकाले यतिखेर मधेशमा पानीको अवाभ हुँदा चापाकलमा पानी र खेत बारीमा पानीको अवाभ भइरहेको छ । समयमै वन विनाश हुन रोक्न र वृक्षारोपण गर्न सके यस्ता समस्यामा कमि आउने थियो ।
काठमाडौं, २४ साउन ।
प्रमुख राजनीतिक दलका शिर्ष नेताको बैठक बस्दैछ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख राजनीतिक दलका शिर्ष नेताको बैठक बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीनै दलका उपनेता र प्रमुख सचेतकहरु बैठकमा उपस्थित हुनेछन् ।
प्रतिनिधसभाकाे बैठक १ बजे बस्नु अगावै हाल अबरुद्द भइरहेकाे प्रतिनिधिसभा बैठक सुचारु गर्नका लागि सहमित खाेज्न उक्त बैठक बस्न लागेकाे हाे ।
काठमाण्डौं, २४ साउन ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो गृहजिल्ला रोल्पामा भएको बस दुर्घटनामा चार जनाको ज्यान गएकामा दुःख व्यक्त गरेका छन् ।
पुनले सामाजिक सञ्जालमार्फत दुर्घटनामा ठूलो मानवीय क्षति भएकामा मर्माहत भएको बताएका छन् । पुनले दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतक परिवारमा समवेदना व्यक्त गरे । पुनले दुर्घटनाका घाइतेको शिघ्र स्वास्थ्लाभको कामना गर्दै बढ्दो सडक दुर्घटना र त्यसबाट भइरहेका मानवीय क्षति न्यूनीकरणका लागि गम्भीर ध्यान दिन सरोकारवाला निकायसँग आग्रहसमेत रहेका छन् ।
उनले घाइतेको उपचारमा कुनै समस्या परे आफू र आफ्नो सचिवालयमा सम्पर्क राख्नसमेत भनेका छन् । रोल्पाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पुनले प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई घाइतेको उपचार र मृतकलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिनुका साथै उक्त कार्यमा आफ्नो समन्वय आवश्यक भए जानकारी गराउन भनेका छन् ।
रोल्पाको बाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना५ख २६१२ नम्बरको बस दुर्घटना त्रिवेणी गाउँपालिका–७ रिचीमा मंगलबार दुर्घटनामा परेको थियो । दुर्घटनामा माडी गाउँपालिका–४ का ५० वर्षका गोरख डाँगी, उनकी श्रीमती ४६ वर्षीया हस्ता डाँगी, माडी–२ का २२ वर्षीय प्रकाश बाँठा र परिवर्तन गाउँपालिका–३ का ४५ वर्षका भक्तबहादुर विकको ज्यान गएको थियो । दुर्घटनामा ११ महिने शिशुसहित १५ जना घाइते भएका छन् । प्रहरीले दुर्घटनामा चालकको लापरबाही देखिएको भन्दै चालक दाङको घोराहीका २४ वर्षीय हुमराज बस्नेतलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौ, २४ साउन ।
सन नेपाल लाइफ इन्स्याेरेन्सले ३२ साउनदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ बिक्री खुला गर्ने भएको छ । यस इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०५ ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गर्न लागेको हो । यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा ९६ लाख कित्ता आईपीओ सर्वसाधारणलाई निष्कासन गर्नेछ ।
यसमध्ये १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ५ प्रतिशत (४ लाख ८० हजार कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारण लगानीकर्ताले यसमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा १४ भदौसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस इन्सुरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
काठमाडौं, २४ साउन ।
सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जनता समाजवादी पार्टी नेपालले आकस्मिक रुपमा कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
पार्टी केन्द्रिय कार्यालय, बालकुमारी ललितपुरमामा आकस्मिक रुपमा बोलाईएको सो कार्यकारिणी समितिको बैठकले गौर हत्याकाण्ड छानबिन गर्ने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले समिति बनाउने बिषयमा छलफल हुनेछ । बैठक ११ बजेबाट सुरु हुनेछ ।
‘प्रधानमन्त्रीले गौर हत्याकाण्डका बारेमा छानबिन समिति बनाउन सहमति जनाएपछि त्यसवाट उत्पन्न परिस्थीतिका बारेमा आजको बैठकमा छलफल हुनेछ, सो छलफल पछि पार्टीले आफनो धारणा सार्बजनिक गर्नेछ’ एक नेताले भने । हिजो सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समिति बिचमा सहमति भएको थियो ।
उनका अनुसार उक्त सहमति अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउँनका लागि सरकारले उक्त समिति बनाउन लागेको बुझाई जसपा, नेपालको रहेको छ । उक्त हत्याकाण्ड छानबिन बिरुद्ध जसपाले घटनास्थल, गौर लक्षित आन्दोलनको कार्यक्रम गर्न सक्ने उनले जनाएका छन् ।
सरकारको सो सहमतिलाई लिएर अध्यक्ष यादवले सत्तारुढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरिसकेका छन् । स्रोतका अनुसार ‘आफुलाई फसाउँनका लागि’ उक्त समिति बनाउन लागेको यादवले सभापति देउवासमक्ष गुनासोसम्म राखिसकेका छन् ।
उनले सो बिषयलाई लिएर हिजो आफना पार्टीका शिर्ष नेता र सांसदहरुसँग पनि छलफल गरेका थिए ।