काठमाडौं । नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा पुन: गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार देवकोटालाई मन्त्री नियुक्त गरेका हुन् ।
मन्त्री देवकोटाले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन्।
देवकोटा यसअघि ऊर्जा मन्त्री थिए। तर,नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि उनी मन्त्री पदबाट पदमुक्त भएका थिए। गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएपछि उनलाई माओवादी केन्द्रले कारवाही गरेको थियो। यसका विरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए ।
सर्वोच्चले नेपाल समाजवादी पार्टीका सांसद देवकोटालाई माओवादीले कारवाही गर्न नमिल्ने भन्दै अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चले उनकै पक्षमा फैसला गरेपछि देवकोटा पुन: मन्त्री बनेका हुन्।न्युज कारखाना
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका पाँच बिना विभागीयमन्त्रीलाई जिम्मेवारी दिइएको छ । उनीहरुलाई मन्त्रालय फुटाएर जिम्मेवारी दिइएको हो ।
भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालयका महाशाखा एक अर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ । जसमा वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय र उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालयलाई भने यथावत् राखिएको छ ।
मुख्यमन्त्री सोडारीले माओवादी केन्द्रका उपनेता समेत रहेका अक्कलबहादुर रावललाई जलस्रोत तथा सहरी विकास मन्त्रालय र लक्ष्मी विकलाई शिक्षा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
त्यस्तै एमालेका वीरबहादुर थापाले वन वातावरण तथा सहकारी मन्त्रालय र हिरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउँदा नेकपा एकीकृत समाजवादीकी माया पन्तले उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिएका छन्।
सोडारीले कार्यविभाजन गरेको पत्र प्रदेश प्रमुख नजिर मियाँलाई पठाएका छन् । मन्त्रालय फुटेपछि यसअघि विभागीय जिम्मेवारीमा रहेका मन्त्रीहरुको मन्त्रालय पनि परिवर्तन भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, टीका थापालाई कृषि तथा भूमि सुधार मन्त्रालय, माओवादी केन्द्रका ओमविक्रम भाटलाई स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी दिइएको छ ।न्युज कारखाना
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बबरमहलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडक खण्डमा निर्माण भएको फल्चा शैलीको बस बिसौनी आजबाट शुभारम्भ भएको छ ।
महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फल्चा उद्घाटन गरेकी हुन् । यसअघि (२०८१ जेठ १ गते) बाट सडकको अर्को किनाराको फल्चा सञ्चालनमा ल्याइसकिएको छ ।
‘यी संरचनाहरु काठमाडौँको पहिचानसँग जोडिएको नेवा निर्माण शैलीका स्मारक बन्नेछन् । काठमाडौँको पहिचान मुख्य सडकबाट प्रवर्धन हुनेछ ।’ समुदघाटनपछि बोल्दै उपप्रमुख सुनिता डंगोलले भने, ‘सहरी सेवा वितरण र सुविधा व्यवस्थापन गर्ने कामसँग मौलिकता जोड्दै लगिनेछ ।’
परम्परागत निर्माण सामग्री, शिल्प र शैली पछ््याउनु परेकोले आधुनिक संरचना निर्माणभन्दा लगानी र निर्माण अवधि धेरै लागेको वडाध्यक्ष रामकुमार के. सी. ले जानकारी दिए । यसरी निर्माण गरिएको संरचनाको सुरक्षा गर्न फल्चाका उपभोक्ता, पैदलयात्री तथा स्थानीयबासी सबैले समान दायित्व बोध गर्नु पर्ने केसीको भनाइ थियो ।
कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरेर बिसौनी निर्माण गरिएको हो । वडा सदस्य एवं निर्माण संयोजक सतिश तण्डुकार भन्छन्, ‘बस्नका लागि काठकै मेच राखिएका छन् । विसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन् ।’ उन्का अनुसार २ वटा बस बिसौनी निर्माण सम्पन्न गर्दा करिब ५३ लाख रुपैयाँ खर्च भएको छ ।
फल्चा उद्घाटन अवसरमा जम्मा भएका स्थानीय र सर्वसाधारणले मौलिक शैलीको संरचनाले सुन्दरतासँगै समृद्धि दर्शाएको प्रतिक्रिया दिए ।
यसपछि अब नयाँ बानेश्वर चोक वारिपारि २ वटा यस्तै शैलीका बस बिसौनी निर्माण गर्ने योजना रहेको तण्डुकारले जानकारी दिए । न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्न प्रस्ताव गरेका छन् ।
असार १९ गते बुधबार बिहान बस्ने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई प्रस्ताव गरेको जानकारी दिएका छन् ।
उनले भनेका छन्- ‘बैठक लाइभ गर्न मैले सभापतिलाई आग्रह गरेको छु । हाम्रो अडिट जनताले गरून् । गर्ने वा नगर्ने केही केही भन्नुभएको छैन ।
बुधवार बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालको समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । दुई नेताबिच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ ।
यस अघि शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ओली निवास बालकोटमा भेटवार्ता भएपछि राजनीतिक वृत तरंगित भएको छ । हालको सत्ता समीकरणमा सरकार विस्तार, बजेटलगायतका विषयमा विवाद बढिरहेका बेला देउवा र ओलीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । न्युज कारखाना
काठमाडौं । आज असार १६ गते नेपालमा संसद् दिवस मनाइँदैछ । हरेक वर्ष संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा संसद् दिवस मनाउने गरिन्छ ।
नेपालमा आज विभिन्न कार्यक्रम गरेर संसद् दिवस मनाइँदैछ । नेपालले २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ ।
यस दिवसको अवसरमा सभामुख देवराज घिमिरेले शुभकामना दिँदै लोकतन्त्रको प्रवर्द्धन र संसदलाई जनमुखी बनाउन आजको दिनले प्रेरणा दिने बताएका छन् । यस्तै उनले लोकतन्त्रको मन्दिरका रुपमा परिचित संसदको आधारभूत चरित्रप्रति सबै सजग र सचेत रहनु पर्ने बताएका छन् । न्युज कारखाना
काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै, अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयकमाथि छलफल गरी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
कार्यसूची:
१. ‘आर्थिक विधेयक, २०८१’ माथि छलफल हुने ।
२. ‘आर्थिक विधेयक, २०८१’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने ।
३. अर्थ मन्त्री वर्षमान पुनले-
(क) ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
(ख) ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
४. ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने ।
५. अर्थ मन्त्री वर्षमान पुनले:-
(क) ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
(ख) ‘भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
६. ‘भन्सार महसुल विधेयक, २०८१’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने ।
७. अर्थ मन्त्री वर्षमान पुनले ‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने ।न्युज कारखाना
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुदै छ ।
आजदेखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।
महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन् । ती दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरेका छन् ।
महाधिवेशनमा एक हजार ८४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ । पार्टी अध्यक्ष नेपालले आइतबार महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।
पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ । काठमाडौँ उपत्यका बाहिरका प्रतिनिधिहरू आइसकेको जनाइएको छ।
महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ । महाधिवेशनस्थललाई आकर्षक बनाउन सिगारिएको छ । करिब तीन वर्षअघि एमालेबाट विभाजित भएर गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई एमालेकै निरन्तरताको रुपमा दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ । एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको छ ।
एकीकृत समाजवादीको अध्यक्षका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले दाबि गरेका छन् । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताएका छन् ।
‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताए ।
“हजारौँ महान् शहिदहरू, हजारौँ बेपत्ता योद्धाहरू र लाखौँ क्रान्तिकारी योद्धाहरूले त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “यी उपलब्धीहरूलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ ।”
जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि क.बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गरेको स्मरण गर्दै प्रधानमन्त्रीले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा भएको महान् जनयुद्धको दौरानमा समेत उनको महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरे ।
एकदलीय निरङ्कुश पञ्चायती व्यवस्थाका विरूद्ध जनताले गरिरहेको वीरतापूर्ण प्रतिशोधमाथि दमनस्वरूप २०४० सालको माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चोक जिल्लाको पिस्करमा सर्वसाधारण जनतामाथि निर्मम दमन र हत्या भएको थियो ।
स्थानीय समुदायले माघीको अवसरमा शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम भइरहँदा पञ्चायती शासकहरूले गरेको आक्रमणमा परी पिस्करमा इले थामी र वीरबहादुर थामी लगायतका योद्धाहरूले उच्च बलिदान गरेका थिए ।
उक्त घटनामा छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरूण नेपाल, सरेश नेपाल, गोपाल थपलिया लगायतका दर्जनौँ योद्धाले जेलनेल र यातनाको सामना गर्नुपरेको थियो । जगतबहादुर बोहरा उक्त घटनामा सख्त घाइते भएका थिए । न्युज कारखाना
काठमाडौं । वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउन १ गते देखि पूर्णरुपमा अनलाइन मार्फत हुने भएको छ ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रवार साँझ विदेश स्थित नेपाली नियोगका प्रमुखहरू तथा कर्मचारीहरु का लागि आयोजित अभिमुखीकरण कार्यक्रममा निर्देशन दिँदै उक्त व्यवस्था बारे स्पष्ट पारेका हुन् ।
नयाँ व्यवस्था अनुसार रोजगारदाता कम्पनीले नेपालवाट कामदार लैजाने नियोगसमक्ष पेश गरेको आवश्यक कागजातहरु साउन १ गते देखि अनलाइन मार्फत प्रमाणीकरण हुने भएकोले सेवाप्रवाह समयानुकुल एबं चुस्त हुने भएको छ ।
सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा यस सेवालाई आवद्ध गरी नयाँ व्यवस्था लागू गर्न लागेको हो ।
खाड़ी मुलुक एवं मलेसिया लगाएत नेपाली कामदार माग हुने अन्य देशहरूमा रहेका नेपाली राजदुतावासहरु ले साउन १ गते देखि मागपत्र प्रमाणीकरण अनिवार्यरुपमा अनलाइन मार्फत गर्नु पर्ने बताउँदै परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने सरकारको नीति अन्तर्गत यो व्यवस्था लागू गरिएको हो । अनिवार्य रूपमा लागू गर्न अघिनै नयाँ प्रणालीसँग अभ्यस्त हुनुका लागि आजैबाट परीक्षण सुरु गर्दा हुन्छ ।’
परराष्ट्रमन्त्री श्रेष्ठले समस्यामा परेका नेपाली नागरिकहरुको खोजतलाश / उद्दार, मृतको शव झिकाउने, राहत / क्षतिपूर्ति, गुनासो सम्बोधन लगायतका अनलाइन सेवालाई सबै नियोगहरु ले अनिवार्य रूपमा प्रयोगमा ल्याउने व्यवस्था गर्न पनि निर्देशन दिए ।न्युज काखाना