२०८३ कार्तिक ६
२०८३ कार्तिक ६

 काठमाडौं, १५ माघ ।

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले उक्त प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गरेका हुन्।

सरकारले गत मङ्सिर २१ गते एनसेलको शेयर खरिद बिक्रीको निर्णयका सम्बन्धमा प्रचलित कानुनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीको सम्बन्धमा पर्न सक्ने असरलगायतका विषयमा छानबिन गर्न पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो।

समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य थिए। समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधि दिइएपछि छानबिन नसकिएपछि म्याद थप गरिएको थियो।न्युजकारखाना

काठमाडौं, १५ माघ ।

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सञ्चार क्षेत्रको चौतर्फी विकासका लागि मिडियालाई सरकारको नियन्त्रण बाहिर ल्याउनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारण विधेयकमाथि संशोधन राख्दै उनले सरकारको नियन्त्रण बाहिर राखिएमा मात्र सञ्चार क्षेत्रको विकास हुने बताएका हुन् ।

अन्यथा  सरकारको जजमान मात्र गर्ने भए सरकारी मिडियाको अस्तित्व संकटमा आउने उनको चेतावनी छ । विधेयक वर्तमान आवश्यकताअनुसार नआएको बताउँदै उनले प्रसारण विधेयकले डिजिटल मिडियालाई पनि समेट्न नसकेको बताए । न्युजकारखाना

काठमाडौं, १४ माघ ।

काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ।

पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ।

समितिको संयोजक मेयर आफै रहने व्यवस्था रहेको र निर्णय नै नभएको विषयमा निर्णय भएको भनेर कोइरालाले पत्र पठाएको पाइएको भन्दै उनीसँग महानगरले स्पष्टीकरण सोधेको हो।

कोइरालाले २०७९ चैत २८ गते नगर शिक्षा समितिले निर्णय गरेको भन्दै विद्यालयमा असार २० विज्ञान विषयमा कक्षा सञ्चालन गर्न अनुमति दिएको पत्र पठाएका थिए। तर, शिक्षा समितिले त्यस मितिमा निर्णय नगरेको पाइएको शाहको सचिवालयले जनाएको छ।

कोइरालाले अनुमति दिएपछि रत्नराज्यले प्लस टुमा २२ जना विद्यार्थी भर्ना गरेर पढाउन थालेको छ।न्युजकारखाना

काठमाडौं, १४ माघ ।

नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल–चीन सम्बन्ध बिगार्न केही देश लागेको बताएकी छन् ।

काठमाडौंमा भएको राजनितिक दलका नेताहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा नेपाल–चीनबीचको राजनीतिक सम्बन्ध राम्रो भए पनि केही देशले भने भाँजो हाल्न खोजेको आरोप लगाएकी हुन् ।

केही देशले नेपाल–चीनबीचको राजनीतिक सम्बन्ध राम्रो भएको हेर्न नचाहेको आरोप लगाएकी उनले देशको नाम भने उल्लेख गरिनन् ।

क्षेत्रीय द्वन्द्व बढाउने र गलत अफवाह फैलाउने काम भइरहेकाले यसलाई चीर्न चीन र नेपालबीचको मित्रता अझ बलियो बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

 

नेपालमा चिनियाँ पर्यटकहरू आइरहेको बताउँदै उनले नेपालको पर्यटन विकासमा नीतिगत सुधारको आवश्यकता औँल्याइन् ।

 

नेपालमा थप पूर्वाधार विकास नीतिगत सुधारको खाँचो रहेको उनको भनाइ छ । न्युजकारखाना

काठमाडौं, १४ माघ ।

नेपाली कांग्रेसनिकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरिएको छ ।

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यी हुन् मनोनीत सदस्यहरू :
न्युजकारखाना

काठमाडौं, १४ माघ ।

काठमाडौँ महानगरपालिकाले धरहरामा आज देखी निःशुल्क पार्किङ दिने भएको छ ।

काठमाडौं महानगरपालिकाका अनुसार धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आज देखि निःशुल्क पार्किङ सेवा सर्वसाधारणका लागि खुल्ला हुन लागेको हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार धरहरा क्षेत्रका साथै पुरानो बसपार्क (काठमाडौं टावर) क्षेत्रमा सर्वसाधारणका लागि निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ  ।

उनका अनुसार न्युरोड क्षेत्रमा महानगरले पार्किङ निषेध गरे पछि विकल्पको रूपमा धरहरा र काठमाडौं टावरमा निःशुल्क पार्किङको ब्यवस्था मिलाइएको हो । सो पार्किङ क्षेत्रमा पार्किङ गरे बापत कुनै शुल्क लाग्ने छैन । न्युजकारखाना

काठमाडौं, १३ माघ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पाँच वर्ष भित्र नेपाललाई मेडिकल शिक्षाको स्वर्ग बनाउने बताएका छन् ।

२१५१औं ह्योल्मो सोनाम ल्होसारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले १०० देखि ३०० शैयाका अस्पतालहरुमा नर्स र प्यारामेडिक्सको पढाई हुने र ३०० शैयाभन्दा माथिका अस्पतालहरुमा एममिविविएस र विशेषज्ञ चिकित्सकको पढाई गर्ने गरि स्वास्थ्य मन्त्रालयले निर्णय गरि मन्त्रीपरिषदमा पठाएको र चिकित्सा शिक्षा आयोगमा पनि परामर्श भइरहेकोले ऐन परिवर्तन गरेर पाँच वर्ष भित्रै नेपाल मेडिकल शिक्षाको हव बनाएरै छाड्ने दावी गरेका हुन्।

मेडिकल शिक्षाका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउँदै मन्त्री बस्नेतले स्वदेशमा प्रसस्त संभावना भएर पनि चिकित्सा शिक्षा ऐनका केही प्रावधानका कारण हजारौं नेपाली विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि विदेश जान वाध्य भएको जानकारी दिए। चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर स्वदेशमै मेडिकलका कोटा बढाउने विषयमा मन्त्रिपरिषद् मात्र नभएर चिकित्सा शिक्षा आयोग पनि सकारात्मक भएकाले केही दिनमै चिकित्सा  शिक्षा ऐन परिमार्जन हुने मन्त्री बस्नेतले बताए।

नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि सार्क देशहरुका हजारौ विद्यार्थी समेत आउने संभावना भएकाले भविश्यमा नेपाल चिकित्सा शिक्षाको हव हुने मन्त्रीले  औंल्याए। समयमै  चिकित्सा शिक्षा ऐन परिमार्जन गर्न नसकिए अवको पाँच वर्ष पछि नेपालमा डाक्टर, नर्स र प्यारामेडिक्सको अभाव  हुने दावी गर्दै स्वास्थ्य मन्त्रीले राज्यले बेलैमा यस बिषयमा आवश्यक कदम चाल्न लागेको जानकारी दिए।

आफ्नो देशमा सर्वसुलव रुपमा पढ्न नपाएर कयौं विद्यार्थी मानसिक रुपमा तनावमा रहेको बताउदै मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संसोधन भएर यही पढ्न पाउने  प्रसस्त संभावना सिर्जना गरिए धेरै हदसम्म मानसिक समस्या समेत समाधान गर्न सकिनेमा जोड दिए।

नेपालमा मेडिकल कलेजहरु र अस्पतालहरुसँग वर्षमा ५ हजार भन्दा बढी एमविविएस पढाउन सक्ने क्षमता भए पनि विद्यमान चिकित्सा शिक्षा ऐनका प्रावधानका कारण १९ सय विद्यार्थीले मात्र स्वदेशमा पढ्ने अवसर पाईरहेका छन् भने दर्जनौ नर्स र प्यारामेडिक्स पढाउने कलेज बन्द भएका छन्।न्युजकारखाना

काठमाडौं, १३ माघ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारत भ्रमणमा गएका छन्।

भारतका प्रधानन्यायाधीश डा.डी वाई चन्द्रहुडको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानन्यायाधीश श्रेष्ठ शनिबार नेपाल वायु सेवा निगको विमानमार्फत नयाँदिल्ली प्रस्थान गरेका हुन्।

प्रधानन्यायाधीश श्रेष्ठ भारतीय सर्वोच्च अदालतको ७५औं वार्षिकोत्सवमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए।

प्रधानन्यायाधीश श्रेष्ठका साथमा उनकी पत्नी रोशनी अमात्य श्रेष्ठ र सर्वोच्च अदालतका रजिस्ट्रार बिमल पौडेल पनि सहभागी छन्।न्युजकारखाना

काठमाडौं, १३ माघ ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले हाल जेलमा रहेका पुर्व जनमुक्ति सेनाका कमाण्डरसँग भेटघाट गरेका छन् ।

 

हालै पक्राउ गरी डिल्लीबजारस्थित सदरखोरमा राखिएका पुर्व कमाण्डर जीतमान पुन मार्शलसँग भेटबार्ता गरेका हुन । उनी नेसपाका केन्द्रीय सदस्यसमेत हुन् ।

 

‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेसपाका केन्द्रीय सदस्य जीतमान पुन (मार्शल) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरी डिल्लीबजार कारागारमा राखिएकोमा वहॉलाई कारागार मै गएर भेटे,’ उनले भनेका छन, ‘त्यस लगत्तै प्रधानमन्त्री तथा पूर्व जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर क. प्रचण्डलाई भेटेर क. मार्शलको तत्काल रिहाइको पहल गर्न आग्रह गरेको छु ।’

 

उनलाइ चरेस तस्करीको आरोपमा पक्राउ परेको बताइँदै आईएको छ । मार्शललाइ भेटेर प्रधानमन्त्री प्रचण्डलाइ भेटन पुगेका पुर्व प्रधानमन्त्रीसमेत रहेका नेसपा अध्यक्ष भट्टराइले भनेका छन्, ‘यो केस  ‘बुढी (बुढो) मरी (मर्यो), हैन काल पल्क्यो’ भनेर बुझ्नु भन्ने जनोक्ति जस्तो हुनसक्छ है, सबैलाई चेतना भया ।’न्युजकारखाना

काठमाडौं, १३ माघ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालका युनिक उत्पादन, सेवा र वस्तुको यथेष्ट मार्केटिङ गर्न नसकिएको बताएका छन ।

 

नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले सबै मिलेर नेपाली उत्पादनको मार्केटिङ गर्न जरुरी रहेको बताएका हुन ।

 

‘युनिकनेस अहिले संसारभरि चलेको ट्रेन्ड हो । युनिकनेसबाट धेरै देश हामीभन्दा धेरै अगाडि छन् । नेपालमा युनिक उत्पादन गरेर संसारभरि मार्केटिङ गर्न सकिन्छ । उपभोक्ताले जहिले पनि अरुभन्दा फरक रुचाउँछन् । नेपालको एडभान्टेज भनेको युनिकनेस हो’ मन्त्री महतले भने,  ‘हाम्रो संस्कार, संस्कृति, जनजाति, वन्यजन्तु र एकता नेपालको विशिष्ट पहिचान हो ।’

 

मन्त्री महतले अगाडी भने,  ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ यसलाई मार्केटिङ भनिन्छ । उपभोक्ताको मनमा यो त मैले प्रयोग गर्नैपर्छ, उपयोग गर्नैपर्छ, खानैपर्छ, लाउनैपर्छ, जानैपर्छ, हेर्नैपर्छ र सुन्नै पर्छ, भन्ने छाप जसले छोड्न सक्छ, उसको बिक्छ । विज्ञापनले मात्र पुग्दैन, यसलाई दीगो बनाउनका लागि गुणहरु हुनैपर्छ । गुण भएन भने दीगो हुँदैन ।’

 

‘देशको अर्थतन्त्र समस्यामा थियो, विस्तारै सुधार हुँदैछ । हामीले धेरै राजनीतिक अरोह अवरोह पार गरिसक्यौं । अब अगाडि बढ्ने स्पष्ट मार्गचित्र छ । हामीले राजनीतिक पूर्वाधार तयार पारिसक्यौं, अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ । यो पूर्वाधार हामी तयार पार्न सक्छौं भन्ने कुरामा विश्वस्त छौं’ मन्त्री  महतले भने,  ‘हाम्रो आर्थिक सूचांक सकारात्मक छन् । मूल्यवृद्धि नियन्त्रणमा छ, ब्याजदर घटिरहेको छ । शेयर बजारमा सुधार भइरहेको छ । र, आर्थिक गतिविधि पनि विस्तारै चलायमान बन्दै गएको छ ।’

 

‘अहिलेको आवश्यकता भनेको आत्मविश्वास आर्जन गर्नुपर्ने छ । त्यसका लागि सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ । अहिलेसम्म हामीले धेरै नकारात्मक कुरा गर्यौं, यसले गर्दा हामी आत्मविश्वास कमजोर बन्यो । यथार्थ विषयवस्तुलाई नकारात्मक सन्देशले बल पुग्यो’ मन्त्री महतले भने,  ‘सकारात्मक सन्देश प्रवाहसँगै हाम्रो व्यापार व्यवसायमा आत्मविश्वास बढ्छ । उपभोक्ताको आत्मविश्वास बढ्छ । उपभोक्तामा आत्मविश्वास बढ्दा व्यापार व्यवसाय बढ्ने हो । व्यापार व्यवसायमा चलपहल हुनेवित्तिकै लगानी वृद्धि हुन्छ । यसले आर्थिक गतिविधि बढाउँछ ।’न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।