२०८३ कार्तिक ६
२०८३ कार्तिक ६

बारा । जीतपुरसिमरा वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेब खरेलले मेयर राजन पौडेलको दुरासयका कारण सोमवारको नगर सभामा दुःखद घटना भएको आरोप लगाएका छन् ।

वडा अध्यक्ष खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत नगरवासीहरुमा हार्दिक अपीलभन्दै लेख्नुभएको ‘स्टाटस’ मा यस्तो आरोप लगाएका हुन् । उनले जीतपुरसिमराको १०औं नगरसभामा भएको घटनामा मेयर पौडेल जिम्मेवार रहेको भन्दै ९ वटा आरोप लगाएका छन् । उनले मेयरले डिपीआरको नाममा ८२ लाख मिलेर हिनामिना गरेको र उपमहानगरपालिका वडा नम्बर ११ मा अबैध माटो चोरी काण्डमा करोडौं रकम  गुपचुप पार्न खोजेको, नगरभित्र शिक्षा क्षेत्र सुधार्ने नाममा चोर बाटोबाट दिइएको लाखौं पेस्की र काठमाडौको झा नेतृत्वको टोलीसंग भएको अबैध साँठगाँठ सार्वजनिक नहोस् भन्ने उद्देश्यले नगरसभामा भाँडभैलो गरेको आरोप लगाएका हुन् ।

त्यसैगरी गढीमाई नगरपालिका हुँदादेखि नै व्यपारीहरुलाई लाभ हुने गरी दिएको छुट, जीतपुरसिमरामा व्यापार संघ हुँदाहुदै वीरञ्जका व्यपारीलाई आर्थिक सल्लाहकार राखी उद्योगहरुबाट सेटिङ्ग गर्दै करोडौं रकम असुल गरेको घटना, नवलपरासी जिल्लादेखिका आफ्ना आसेपासे, नातेदार र कार्यकर्तालाई कमाउन दिएको योजनाबारे सार्वजनिक नहोस भन्ने मनसायले नगरप्रमुख पौडेले यस्तो कार्य गरेको वडा अध्यक्ष खरेलको भनाई छ ।

त्यस्तै कोटेशन अनिवार्य गर्दा  ठेकेदारहरुले दिने १५ प्रतिशत कमिशनको लोभमा परेर नगरबाट ठुला योजनाबाट विकास गराउने नाममा ३ पुस्तालाई पुग्ने सम्पत्ति कमाउन, विभिन्न कार्यक्रमको नाममा होटलको बिल, इन्धन र नगरभित्रको सम्पूर्ण खरिद समानबाट लिएको कमिशन सार्वजनिक हुने डरले पनि यस्तो घटना घटाइएको खरेलको आरोप छ ।

यसअघि कार्यपालिका र नगर सभाको नाममा चोर बाटोबाट अबैध र नितिगत भ्रष्टाचारका निर्णय छिराएकोले सोको पर्दाफास हुन्छ भन्ने डरले पनि मेयर पौडेल त्रसित बनेको उनको भनाई छ । वडा अध्यक्ष खरेलले विगत २ वर्षयता भएका यस्ता धेरै गलत कार्यहरूका कारण हालसम्म एक पटक पनि नगरको सार्वजनिक सुनुवाइ (जनतालाई खर्च र बिकास अनि भए गरेका कामको सार्वजनिक) गर्न नसकेको बताएका छन् ।

वडा अध्यक्ष खरेलले नगरपालिकाभित्र भएका अन्य अनिमितताका घटनामा पनि प्रमाणसहित आगामी दिनमा फेसबुकमा पोस्ट गर्ने चेतावनीसमेत दिएका छन् ।

उनले अगाडि लेखेका छन् – ‘गत आर्थिक वर्षमा ६७ करोड घाटा बजेट बनाएर नगरलाई असफल बनाउने सल्लाहकारको योजनामा चल्नुभएका मेयर पौडेलमा पैसाको नाममा दम्भ अनि घमण्ड बढेकोले नगरसभामा भएको सोमवारको घटनाले प्रष्ट पारेको छ ।’

जीतपुरमा नगरसभा बोलाएर सिमरा प्याराडाइज होटलमा बसेर नेताको परिवारलाई नोकरी र अन्य सदस्यलाई पैसाको प्रलोभनमा पारेर दस्तखत गराएको तथा बाक्लो सुरक्षा घेराभित्र सभा हल प्रवेश गर्नुभएका मेयर पौडेलले जम्मा २७ जना सदस्यले मात्रै उपस्थिति रेकर्ड गराएकोले २५ प्रतिशतको लागि आवश्यक ३१ सभासदको संख्या नपुग्दै कार्यक्रम शुरु गरेर नीति कार्यक्रम र बजेट सिलिङ्ग घोषणा नगरी तान्डब नृत्य मच्चाएको र सम्पन्न भनेको भनिएको सभाको बैधता र कार्यान्वयन कसरी होला भन्ने प्रश्न पनि वडा अध्यक्ष खरेलले गरेका छन् । न्युज कारखाना

काठमाडौं । पूर्वसभामुख एवं सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले आज पनि फैसला नसुनाउने भएको छ । आजका लागि फैसला सुनाउने भनिएको सो रिटको पेसी स्थगितको सूचीमा परेको छ ।

गत जेठ २३ गते प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दामा अन्तिम सुनुवाइ सकिएको थियो । भने आजका लागि फैसला मिती तोकेको थियो । अब स्थगितको सूचीमा परेकाले नयाँ पेशी तोकेर निर्णय सुनाईनेछ ।

यो मुद्दा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको थियो । लामो समयदेखि मुद्दा सर्वोच्चमा विचाराधीन रहेको यो मुद्धामा बहस सकिएपछि आजको लागि फसिला सुनाउने बताएको थियो ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।

माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो । त्यसबेला काभ्रे माओवादीको नेतृत्वमा सापकोटा, रहेकाले हत्यामा उनीहरुको संलग्नता रहेको पीडित परिवारले  दाबी गर्दै रिट दायर गरेको थियो । न्युज कारखाना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । सो भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैँ नेपालको विकास प्रयासमा योगदान पुर्‍याएको बताए । उनले नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका थिए ।

उनले नेपाल र चीनबिच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको उल्लेख गर्दै चिनियाँ तथा नेपाली भिक्षु, भृकुटी र कलाकार अरनिकोलगायतले दुई देशबिचको जनस्तरको सम्बन्ध र सांस्कृतिक आदान प्रदानलाई समृद्ध बनाउन ठुलो योगदान दिएको पनि बताए ।न्युज कारखाना

काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको नामबाट स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार मुद्दामा मधेश प्रदेशका पूर्व अर्थमन्त्री विजय यादवसहित ५ जना दोषी ठहर भएका छन्।

मङ्गलवार विशेष अदालतले मुद्दाको सुनुवाइ गर्दै प्रतिष्ठानमा १७ करोड ९८ लाख ३३ हजार भ्रष्टाचार भएको भन्दै मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री  यादव, प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र रायलाई दोषी ठहर गरेको हो ।

सर्लाहीको लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेश सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

झलनाथ खनाल प्रतिष्ठानले सर्प पालन गरेर एन्टिभेनम उत्पादनका लागि सर्लाहीको लालबन्दी नगरपालिकामा प्रतिष्ठानको सहकार्यमा ‘एन्टिभेनम प्रोडक्सन एन्ड रिसर्च सेन्टर, नेपाल स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने गरी रकम निकासा भएको थियो ।

प्रदेश सरकारबाट विनियोजित र सङ्घीय सरकारबाट प्राप्त हुने समपूरक अनुदान रकमबाट योजना अघि बढाउने भनिएकोमा बजेट निकासा भएपनि कामै नगरी करिब रू १८ करोड रकम हिनामिना भएपछि अख्तियारले २०८० साल असोज २१ गते विशेष अदालतमा पूर्वमन्त्री विजयकुमार यादवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुदा दायर गरेको थियो।

अदालतले दोषी ठहर गरेकाहरूको सजाय निर्धारणका लागि असार २५ गते पेशी तोकेको छ ।न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आइडल विजेता करण परियारलाई बधाइ दिएका छन् ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर  प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई बधाई दिदै गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए ।

सो अवसरमा प्रधानमन्त्रीले बधाइ दिँदै विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरेका थिए ।न्युज कारखाना

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशत्रय कुमार रेग्मी, अब्दुल अजिम मुसलमान र डा नहकुल सुवेदीको पूर्ण इजलासले सो रिट खारेज गरेको हो । रिट खारेज भएसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वैधानिकता पाएका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले उक्त व्यवस्था सरकार बनाउने अन्तिम विकल्प भएको र आफूले यसअघि नै विश्वासको मत लिइसकेको कारण अब हटाउन नपाइने जिकिर गरेका छन् ।

एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। उनले माओवादीलगायत सत्ता गठबन्धनका ५२ जना सांसदको समर्थन प्राप्त गरेका थिए। उनले प्रदेशसभाबाट विश्वासको मत पनि लिइसकेका छन् ।न्युज कारखाना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनसँगको बिआरआई सम्झौता अनुसार अनुदान नै लिने गरि छलफल भैरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले बीआरआईमा सकेसम्म अनुदान लिने गरि छलफल भएको जानकारी दिएका हुन् ।

चिनियाँ प्रतिनिधिमण्डल नेपालमा रहेको बेलामा बिआरआईमा हस्ताक्षर हुने सम्भावनापनि रहेको औंल्याएका दाहालले बिआरआई लिँदा अनुदानमा लिने र ऋणमा लिनुपर्ने विश्व बैंक र एडिबीकै व्याजदर बढीमा १.५ प्रतिशतभन्दा बढीमा नलिने बताएका हुन् ।

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठक काठमाडौंमा जारी छ । उक्त बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको छ ।न्युज कारखाना

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । उपसभामुख इन्दिरा राना मगरले  बहुमत पुगेकाले  प्रतिनिधिसभाबाट बजेट  पारित भएको घोषणा गरेकी हुन् ।

सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गरेका थिए। उक्त बजेटलाई अर्थमन्त्री पुनले पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।

बजेट पारितको प्रस्तावअघि प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले  विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राष्ट्रिय योजना आयोग,उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका नदीनाला नेपालकै सम्पत्ति भएको र नेपालले नै उपभोग गर्ने स्पष्ट पारेका छन् । उनले भने, “नेपालका नदीनाला नेपालकै हुन्, नेपालकै सम्पत्ति हुन्, नेपालले नै उपभोग गर्ने हो, यसमा स्पष्ट हुनुपर्छ ।”

आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको विनियोजनका सम्बन्धमा सांसदहरूले राख्नुभएको पूरक प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय र आर्थिक सुशासनका सम्बन्धमा राम्रा कामहरू भएको स्पष्ट पारे ।

आगामी आर्थिक वर्षको बजेट सन्तुलित र समन्यायिक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीब्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गर्नेगरी सरकार आगाडि बढेको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, “हामी अनुदानमै जाने हो । सहुलियतपूर्ण ऋणको सन्दर्भमा एक वा एक दशमलव पाँचभन्दा बढीमा नजाने भन्ने नै हो ।”

रू तीन करोडभन्दा साना आयोजना सङ्घले कार्यान्वयन नगर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालय र योजना आयोगले त्यस्ता आयोजनाहरू तल हस्तान्तरण सहयोग गर्ने बताए । न्युज कारखाना

काठमाडौँ । नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक आज सुरु भएको छ । काठमाडौंमा आज सुरु भएको १६औँ बैठकमा नेपाल र चीन बीच द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकको नेतृत्व नेपालका तर्फबाट सचिव लम्साल र चिनियाँ पक्षबाट चीनका उपविदेशमन्त्री सुन वेइडोङले गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार नेपालले छलफलका लागि चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रबर्द्धन , कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत एजेन्डा तय गरेको छ।

सोमबार काठमाडौं आएलगत्तै उपविदेशमन्त्री सुनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री सचिवालयका अनुसार मन्त्री सुनले बीआरआई परियोजना कार्यान्वयनका लागि दाहालसँग छलफल गरेका थिए । मन्त्री सुनले लामो समयदेखि बीआरआई परियोजनामाथि नेपालले ठोस कदम नचालेको गुनासो गर्दै उक्त परियोजना कार्यान्वयनका लागि ठोस कदम चाल्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।