<

 

मञ्जय राम, कटहरिया, असार २५ गते ।

वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार देवादिदेव महादेवको पूजा आराधनासहित गोदान, पूर्णपात्र गरी व्रत सुरु भएको छ । साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुःख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रुपमा मनाउने गरेका छन् ।

यस वर्ष साउन २५, ३१, ७ र १४ गते गरी चार वटा सोमारी ब्रत परेका छन । शास्त्रीय मान्यताअनुसार चार वटा सोमबार परेको वर्षबाट पनि नयाँ व्रतालुले आराधना गर्न सक्छन् ।

साउने सोमबारको व्रत गरेमा यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त गरिने शिवपुराण लगायत धर्मावलीको विश्वास रहेका छन् ।

साउने सोमबार र तीजको हरितालिका व्रत महिलाले मात्र गर्नुपर्ने भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतानुसार महिला पुरुष दुवैले यो व्रत गर्नुपर्छ ।

प्रायः परिवारमा महिलाले सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन्छन् । धेरैले शिवजीको महिना भनी साउनमा मांस, मदिरा सेवन गर्दैनन् ।

कतिपयले वर्षमा एकपटक साउन महिनामा घरमा वैदिक रुद्राभिषेक समेत गर्ने परम्परा छ । साउनमा विशेष गरी महिला तथा कुमारीहरुले हरियो रंगको सिंघार, गेरही रंगको लुगा तथा फलफूलले सो व्रत बस्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0