केही दिनअघि भारतीय प्रधानमन्त्रीका एकजना पूर्व निजी सुरक्षा अधिकारी लक्की बिष्टले नेपाल सरकार एक महिनाभित्रै ढल्ने दाबी गरे ।
पूर्व ‘रअ एजेन्ट’ बिष्टले नवभारत टाइम्ससँगको अन्तर्वार्तामा आफुसँग नेपालको सरकार ढल्ने सूचना रहेको दाबी गर्दै भनेका छन्, ‘केही दिनपछि एउटा अर्काे समाचार सुन्नुहुनेछ, नेपाल सरकार ढल्नेवाला छ । १० दिन १५ दिन भित्र खबर आउनेवाला छ कि फेरि सरकार ढल्दैछ । जुन दुई महिनाअघि बनेको थियो ।’
त्यसो त नेपाल सरकारका वर्तमान नेतृत्व अर्थात् प्रधानमन्त्री केपी शर्मा ओली केही हप्ताअघि चीन भ्रमणमा गएर फर्किए लगत्तै सरकार ढल्छ भनेर निकै चर्चा हुन्थ्यो । ओली नेतृत्वको टोली चीन पुगे, फर्किए । फर्किएको पनि हप्तादिन बढि भइसक्यो । उनी चीन जाने तयारी गर्दागर्दै र नफर्किएसम्म ओली आउने वित्तिकै सरकार ढल्छ भनेर दाबी गर्नेहरु केही दिन यता चुपचाप थिए ।
तर, फेरि बिष्टको अन्तरवार्ता सार्वजनिक भएसँगै पुनः सरकार ढल्दैछ भन्दै सामाजिक संजाल भर होहल्ला मच्चाई रहेका छन् । त्यो होहल्ला मच्चाउने को हुन ? राजनीतिक दलका नेता कार्यकर्ता ? नेताका आडमा सरकारलाई ‘मौरिको चाका’ जसरी निचोरेर स्वार्थसिद्धि गर्न पल्किएकाहरु ? सत्ताधारी विचौलीया ?
अन्यथा, देशमा आफ्नो भविष्य सुनिश्चित नदेखेर बिदेश पलायन हुनकै लागि पासपोर्ट बोकेर दलाललाई पैसा बुझाउन दौडिरहेका नेपालीलाई सरकार ढल्दा के चिन्ता ? संघर्षले थाकेर सडकका पेटिमा भोकभोकै दौडधुप गरिरहेका नेपालीलाई सरकार ढल्दा के को दुख ? गरिबीकै कारण उपचार नपाएर मृत्युको पर्खाईमा बसेका नेपालीलाई सरकार ढल्दा के को पिडा ? अन्यायमा परेर न्याय माग्न जाँदा सत्ताको बतासबाट थप पिडित बनेपछि आँसु बगाउँदै हिँडेका नेपालीलाई सरकार ढल्दा के को ढाढस ? गरिब, असहाय, निमुखा अनि चाकडी गर्न नजान्ने नेपालीलाई सरकार ढल्दा अनि फेरिँदा के को खुसी ?
चर्काे राजनीतिक अस्थिरता र उथलपुथलबाट पिल्सिएर सरकार प्रति अपनत्व भाव गुमाएका नेपालीलाई लागि सक्यो, ‘जुन जोगी आए पनि कानै चिरेको ।’
खैर, आफुलाई पुर्व ‘रअ एजेन्ट’ बताउने बिष्टले २ महिना अघि बनेको नेपाल सरकार फेरि ढल्दैछ भनेका थिए । बिष्टकै कुरालाई लिएर सामाजिक संजालमा होहल्ला मच्चाउने उनीहरु यस्ता छन्, कसैले ‘कागले कान लग्यो’ भन्दियो भने त्यो कागको पछाडि दौडिएर आफु ‘खाल्डो’मा पर्दासम्म कान समाउँदैनन् ।
सायद उनीहरुलाई थाहा नहुन सक्छ ! नेपालमा २ महिना अघि कुनै सरकार बनेको छैन । वर्तमान नेपाल सरकार बनेको मंसिर ३० गतेबाट ठ्याक्कै ६ मिहना पूरा भयो । नेपाली कांग्रेसको समर्थनमा एमालेका अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । र, निरन्तर सरकारको प्रधानमन्त्रीकै रुपमा छन् ।
अब सोच्नुस्, ती बिष्टको भनाई अनुसार २ महिना अघि मात्रै बनेको र महिना दिन भित्रै ढल्नेवाला नेपाल सरकार कुन हो ?
हुनसक्छ बिष्टले अन्तरवार्ताका क्रममा वर्तमान नेपाल सरकार कहिले बनेको थियो ? त्यो मिती बिर्सिएका हुन् । अनि यो पनि हुनसक्छ, ओली नेतृत्वको सरकार महिना भित्रै ढल्दैछ । जे सुकै होस् । आम सर्वसाधरण नेपालीहरुका निम्ती भने यो खबर ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात्’ भने जस्तै हो ।
यद्यपी, यस्तो भन्दै गर्दा देश र जनताले राजनीतिक स्थिरता खोजिरहेका छन् । त्यसको जगमा दिगो बिकास खोजेका छन् । धार्मिक, ऐतिहासिक र प्राकृतिक विविधताले विश्वकै नमुना देशको समुन्नत सम्बृद्धि खोजेका छन् । शान्ति अनि सुशासनको सुनिश्चितता खोजेका छन् । राष्ट्रप्रेमी, देशभक्ति र स्वाभिमानी ‘भिजनरी’ नेतृत्व खोजेका छन् । जनताप्रति जिम्मेवार, उत्तरदायी, जवाफदेही र पारदर्शी ‘सरकार’ खोजेका छन् ।
तर, नेपालीहरुका यि चाहाना ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै भएको छ । जनजिब्रोमा आउने गर्छ, ‘एउटा राजा हटाएर सयौँ राजा ल्यायौँ ।’ आज नियाल्ने हो भने नेपाल र नेपालीका ऐतिहासिक, परम्परागत मुल्य-मान्यता, धर्म-संस्कृती, धराशायी बनाइँदैछ । देशको नक्सामा समेटिएको भूभागमा बस्ने नेपालीले खुलेर म नेपाली हुँ भन्न सक्ने अबस्था छैन । विज्ञान र नयाँ सम्यतासँगै आएका प्रविधीको दासत्व प्रवृत्तिका कारण समाजमा विकृत्रि, विसंगति सँगै नयाँ थुप्रै चुनौतीहरु देखा परेका छन् । पुराना पुस्ता सरकारको कार्यशैली देखेर वाक्कदिक्क छन् । नयाँ पुस्तालाई भरोसा नै छैन । राज्य, सत्ता र नेतृत्वप्रत्ति वितृष्णा बढ्दो छ । अन्याय, अत्याचार, भ्रष्ट्रचारको जालो मौलाउँदै छ ।
समाज, देश, सत्ता र सरकारको नेतृत्व गर्नेहरु विधी, पद्धति, नियम, कानुन र मार्यादाको उल्लंघन गर्दै हिँडिरहेका छन् । जसका कारण ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने भाष्य स्थापित हुँदैछ । सर्वसाधरणले समान अधिकारको प्रत्याभुति गर्न पाएका छैनन् । जताततै नातावाद, कृपावाद र चाकडीप्रथाले नराम्रोसँग जरा गाडेको छ । अनुत्पादक क्षेत्रमा देशको लगानी बढि छ । टुक्रे योजनाले प्राथमिकता पाउँदैछ । सामाजिक हितका निम्ती हैन्, सत्ताको नेतृत्व र तीनका आसेपासेका स्वार्थसिद्धिका लागि योजना विनियोजन गरिन्छ । त्यसको उचित कार्वान्वयन हुँदैन । बिकासे योजनामा गुणस्तरीयता भन्दा बढि कमिसनको हिसावकिताब चेकजाँच गरिन्छ ।
एकातर्फ, देशमा स्वदेशी तथा विदेशी लगानी ल्याउने तर्फ सरकारको ध्यान छैन । देशमा भएका उद्योग, कलकारखानाले नियमित पारदर्शी हिसावले राजश्व बुझाउँदैनन् । उपयोग गरेको बिजुली तथा पानीको महशुल तिर्दैनन् । कम्पनी घाटामा देखाउँदै अकुत सम्पती थुपारिरहेका छन् ।
अर्काेतर्फ, नव उद्यमीहरुका निम्ती सरकारले सुरक्षाको ग्यारेन्टी दिन सकेको छैन । सोझासाझा जनताले जेनतेन गरेर चलाउन सुरु गरेका कम्पनी र उद्योग कलकारखानाहरु राज्यको चर्काे कर असुली धन्दाका कारण खण्डहर बन्दैछन् । सरकारले लगानीको ग्यारेन्टी दिने कुनै कार्यक्रम ल्याउँदैन् । अनुदान, सहुलियत पूर्ण कर्जा सामान्य नागरिकले पाउँदैनन् ।
अझैपनि कतिपय जनताले उचित गुणस्तरीय उपचार हैन्, सिटामोल मात्रै नपाएर ज्यान गुमाउनु पर्ने बाध्यता कायम नै छ । नेताको उपचारका निम्ती भने सरकारले करोडौँ रकम खर्च गर्छ । हिजो जनताको जनजीवन फेर्ने सपना देखाएर चप्पल पट्काउँदै सत्तामा पुगेकाहरुको जीवनशैली आज लोभलाग्दो छ । गुणस्तरीय आधारभुत आवश्यकता हरेक नागरिकको पहुँचमा कागजमा मात्रै सिमित हुन पुगेको छ । कानुन छ, कार्वान्वयन छैन । कार्वान्वयन हुन्छ, समानता हुन्न । समग्रमा भन्नुपर्दा देशको हालत सम्हाल्नै नसक्ने गरि बिग्रिँदैछ । यसतर्फ समयमै ध्यान पु¥याउन नसके राष्ट्रकवि लक्ष्मीप्रसाद देवकोटाले कवितामा ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ भने जस्तै नहोला भन्न सकिन्न !
अहिलेसम्म आलोपालो प्रधानमन्त्री, मन्त्री बनेकाहरुलाई देशको यो कान्तिविजोक हुँदा मनमा के लाग्छ ? त्यो मलाई थाहा छैन् ।
तर, मलाई यत्ति थाहा छ । थुप्रै निर्मला पन्तहरुले न्याय पाउन सकेका छैनन् । तुइन तरिरहँदा नदीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीहरु अझै भेटिएका छैनन् । नारायणहिटी, मदन भण्डारी जस्ता हत्याकाण्ड ‘रहस्यको गर्भ’ मै छ । देशको अर्थतन्त्र रेमिट्यान्सले नै धानिरहँदा पनि विपिन जोशीहरुका अबस्था बेखबर छन् । अन्ततः अर्काको देशमा आफ्नो रगत, पसिना अनि स्वाभिमान वेचेर धन अनि खुसी किन्न परदेश गएकाहरु ‘कफनमा’ फर्किन बाध्य छन् । उनीहरुका असह्य पीडा, रोदन, चित्कार अनि अन्तिम श्वास फेर्दा नेपालप्रतिको भावना सरकारले महसुश गर्न सकेको छैन ।
मलाई यो पनि थाहा छ । आफू व्यवसायका कारण आर्थिक रूपमा डुबेका र त्यसका लागि सरकारी नीतिहरू दोषी रहेको भन्दै संसद भवन अगाडी आफैँलाई आगो लगाएर जलाएका प्रेम आचार्यहरुको गुनासो बुझ्न सकेको छैन । न त देशमा आफ्नो भविष्य नदेखेर जतिसक्दो छिटो स्वदेश छाड्न पाउँ भन्दै बालकुमारीमा प्रदर्शन गर्दागर्दाै सरकारी गोली खाएर मृत्युवरण गरेका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतहरुको मनोकांक्षा सुन्न सकेको छैन ।
यति लेख्दै गर्दा त्यसोभए देशमा बिकास नै भएको छैन त ? भन्ने प्रश्न उब्जिन सक्छ । हो, बिकास भएको छ । तर, त्यति मात्रै जति समयमापन विकासक्रम अनुसार न्युनतम नभई नहुने थियो ।
समयसँगै देशमा थुप्रै राजनीतिक परिवर्तन भए । तन्त्र फेरियो । दल फेरिए । नेता फेरिए । सरकार ढल्यो । नयाँ सरकार बन्यो । प्रत्रानमन्त्री फेरिए । मन्त्री फेरिए । तर, के देशमा कति तीनै राजनीतिक दलले देशमा ‘तन्त्र’ फेर्ने बेला देखाएका सपना जस्तै मुलुकको अबस्था फेरियो त ? चुनावअघि जनतासँग प्रतिबद्धता गरेजस्तै जितेपछि पटकपटक मन्त्री प्रधानमन्त्री अनि जनप्रतिनिधी बनेकाहरुले भनेजस्तै नयाँ व्यवस्थामा जनताको अबस्था फेरियो त ?
हो मलाई थाहा छ, यो देशमा पटकपटक सरकार ढल्यो, ढालियो । अनि, फेरियो । तर, त्यो ढालेको व्यवस्था, ढालिएको सरकार अनि फेरिएका नेतृत्वले राष्ट्र, राष्ट्रियता सँगै आम नेपालीहरुका निम्ती के गरे ?
सत्य, तथ्य अनि निष्पक्ष भएर सायदै यसको जवाफ कसैले दिन सक्ला !
तर, मलाई लाग्छ । यसको जवाफ हरेक नेपाली नागरिकले माग्नुपर्छ । देशको यो दुरावस्थामा हुँदासम्मको नैतिक जिम्मेवारी सबैले लिनुपर्छ । किनकी, प्रश्न गर्नेले उत्तर पनि दिन सक्नुपर्छ । फल प्राप्तीको चाहाना राख्नेले पसिना बगाउन सक्नुपर्छ । राष्ट्रले मलाई के दियो भनेर सोध्नेले देशका निम्ती मैले यो दिएँ भन्न सक्नुपर्छ । फलानो फलानोका कारण देश बिग्रियो भनेर गाली गर्नेले राष्ट्रहितका निम्ती योगदान गर्न तयार हुनुपर्छ ।
अब आम नेपालीलाई के गुम्यो ? के बिग्रियो भनेर आरोपप्रत्यारोप मात्रै गरेर बस्ने छुट छैन । देशको दुरावस्थाका कारण निराश बनेर नेतालाई गाली गर्दैमा भाविपुस्ताको ‘सराप’ बाट उन्मुक्ति पाइँदैन् ।
त्यसैले अब समस्त नेपालीले व्यबस्थालाई दोष दिन छाड्नुपर्छ । नेतालाई गाली गरेरै खुसी भइराख्ने प्रवृत्ति त्याग्नुपर्छ । वितृष्ण र नकरात्मक दृष्टिकोणलाई तिलान्जली दिनुपर्छ । सँगै सुरु गर्नुपर्नेछ, सम्बृद्ध राष्ट्र बनाउने अभियान ! जनताप्रति उत्तरदायी, जिम्मेवार, पारदर्शी, जवाफदेही, दुरदर्शी, भिजनरी, परिपक्क, राष्ट्रप्रेमी नेतृत्व बनाउने अभियान !
सायद, त्यसपछि बन्नेछ । आम नेपाली ‘जनताको सरकार, नेपाल सरकार’ ।
जय देश ! जय नेपाल !