<
काठमाडौं, २५ मंसिर ।
आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले तराई–मधेशमा शितलहर र देशभरि चिसोबाट कठ्यांङग्रिएर जनता मर्ने अवस्था आएको भन्दै उनीहरुलाई बचाउनको लागि सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् ।
आज (मंगलबार) एक भिडिओ सन्देश जारी गर्दै साहले शितलहर सुरू भएको र तराई/मधेशका जनता प्रभावित हुन थालेको भन्दै सरकारले पूर्वतयारी नगरेकोमा आक्रोश पोखे । उनले भने,‘अहिले तराईमा शितलहर सुरु भएको छ, आम जनजीवन कष्टकर बन्दैछ ।
विगत वर्षहरुमा झैं अहिलेपनि मान्छेहरु चिसोले कठ्यांग्रिएर मर्ने, स्वास्थ्य समस्या बढ्ने, पशु चौपाया प्रभावित हुने, बालीनाली नष्ट हुने, कृषि उत्पादन घट्ने, व्यापार–व्यवसाय पनि प्रभावित हुने, हुस्सुको कारण सडक दुर्घटनासमेत बढ्ने अनि घरबारविहीनहरु झनै प्रभावित हुने अवस्था छ, कैदीबन्दीहरुको पनि जीवन सकसपूर्ण हुने अवस्था छ । यस्तो पीडादायी अवस्थामा सरकारको तर्फबाठ पूर्वतयारीको काम केही भएको देखिएन ।
म सरकारको नेतृत्वमा भएकाहरुसँग सोध्न चाहन्छु–तपाईंहरुसँग मानवीय संवेदना छ कि छैन् ? यदि छ भने त्यसको पूर्वतयारीसम्बन्धी के काम गर्नुभयो ? बिरामीको निधन भएपछि डाक्टरको के काम ? यदि तपाईंहरुमा थोरैपनि जवाफदेहिता छ भने शितलहर प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नुहोस ।’ उनले चिसोबाट नागरिक बचाउनको लागि सरकारलाई विशेष आर्थिक प्याकेज ल्याउनको लागि पनि अपिल गरेका छन् ।
उनले भनेका छन्–‘यसको लागि विशेष आर्थिक प्याकेज ल्याउनुहोस । जनता बचाउनको लागि न्यानो कार्यक्रम ल्याउनुहोस । लत्ता–कपडाको व्यवस्था गर्नुहोस, निःशुल्क दाउराको व्यवस्था गर्नुहोस । दैनिक, रोजिरोटी गर्न समस्या भएकाहरुलाई राहतको व्यवस्था गर्नुहोस ।
छानो नभएकाहरुलाई जाडोमा सेल्टरमा राख्नुहोस । कैदीबन्दीहरुलाई पनि चिसोबाट बचाउन उचित व्यवस्था गरियोस । सरकारले यो शितलहरबाट जनता बचाउने काम गरेन भने जनता चुप लागेर बस्दैनन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1