<

काठमाडौं, मंसिर ७

विद्युतीय गाडीको आयात तीन गुणाले बढेको छ।

चालु आर्थिक वर्षको चार महिना (साउनदेखि कात्तिक)मा दुई हजार ७ सय ८७ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको छ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा जम्मा एक हजार १८ वटा यस्ता विद्युतीय गाडी आयात भएको थियो।

गत वर्षभन्दा यस पटक विद्युतीय गाडीको आयात १७३ प्रतिशतले बढेको हो। पछिल्लो समय व्यवसायी र सरकारले नै विद्युतीय गाडी आयातलाई प्राथमिकता दिँदै आएको छ। विद्युतीय सवारी साधन सञ्चालनलाई प्रोत्साहन गर्ने नीतिहरूका कारण आयात बढेको भन्ने बुझिन्छ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिक महिनामा मात्रै छ सय ५२ वटा विद्युतीय गाडी आयात भएको छ।

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म ५० किलोवाटसम्म मोटर क्षमता भएको १२ सय ७९ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको छ। ५१ देखि एक सय किलोवाटसम्म मोटर क्षमता भएको १४ सय ८१ वटा, १०१ किलोवाटदेखि दुई सय किलोवाटसम्म मोटर क्षमता भएको १७ वटा र २०१ किलोवाटदेखि ३०० किलोवाट मोटर क्षमता भएका १० वटा विद्युतीय कार आयात भएका छन्।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा ६ अर्ब ७३ करोड २७ लाख ५० हजार बराबरको विद्युतीय कार, जीप र भ्यान आयात हुँदा सरकारले दुई अर्ब ९६ करोड ९९ लाख हजार बराबरको राजस्व संकलन गरेको छ।

तथ्यांक अनुसार सो आवधिमा चीनबाट ५० किलोवाटसम्म मोटर क्षमता भएका दुई सय ५ वटा, भारतबाट एक हजार ६२ वटा र इन्डोनेसियाबाट १२ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्।

त्यस्तै, ५१ देखि १ सय किलोवाटसम्म मोटर क्षमता भएकामध्ये १३ सय ४९ वटा चीनबाट, एक सय ३१ वटा भारतबाट आयात भएका छन्।

एक सयदेखि दुई सय किलोवाटसम्म मोटर क्षमता भएकामध्ये १३ वटा कार, जिप र भ्यान चीनबाट आयात गरिएको छ। दुई सयभन्दा बढी क्षमता भएको १० गाडीमध्ये ७ वटा चीन र ३ वटा अमेरिकाबाट आयात गरिएको छ।

यसर्थ, नेपालमा सबैभन्दा धेरै गाडी चीन र त्यसपछि क्रमश: भारत, इन्डोनेसिया, अमेरिका, जर्मनी र कोरियाबाट भएको तथ्यांकले देखाएको छ।

सेतोपाटी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0