२०८३ बैशाख १८
२०८३ बैशाख १८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल गरेका छन् ।

सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले पेश गरेको प्रस्ताव बारे शनिबार बुढानिलकण्ठमा पार्टीका पुर्व तथा वर्तमान पदाधिकारीहरुबीच छलफल भएको र ठोस सहमतिमा पुग्न नसकेको एक पदाधिकारीले बताएका छन् ।  अब आइतबार केन्द्रीय समितिको बैठक अघि फेरी छलफल हुने बताइएको छ ।

सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग यस अघि पटक पटक गरेका छलफल निष्कर्षमा पुग्न सकेका छैनन् ।

पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा विवादित बनेको छ ।

सभापति देउवाले दुवै महामन्त्रीका प्रस्तावलाई परिमार्जित गरेर पारित गर्न चाहेका छन् । महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुने छ । सभापति देउवाले चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहेका छन् ।

त्यस्तै देउवा पक्षले महामन्त्री शर्माले राखेको प्रस्ताव मान्य नहुने भन्दै  सो प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्दै आएका छन् ।

महामन्त्रीद्वयको प्रस्तावमा सहमति हुन नसक्दा मंगलबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक भदौ १६ गते आइतबारका लागि बोलाइएको छ ।न्युज कारखाना

काठमाडौँ । पेरिस ओलम्पिकमा टेनिस स्वर्ण पदक जितेका नोभाक जोकोभिच युएस ओपनबाट बाहिरिएका छन् ।

नोभाक अष्ट्रेलियाका खेलाडी एलेक्सेई पोपिरिनसँग ४-६, ४-६, ६-२ र ४-६ को सेटमा पराजित भएसँगै युएस ओपनको तेस्रो चरणबाटै बाहिरिएका हुन् ।

यस वर्ष भएको विम्बल्डन ओपनको तेस्रो राउण्डमा जोकोभिच र पोपिरिनबीचको खेल भएको थियो, जसमा पोपिरिनले जोकोभिचसँग हार बेहोरेका थिए । तर युएस ओपनमा पोपिरिनले जोकोभिचलाई पराजित गर्दै प्रतियोगिताबाट बाहिर पठाएर सो हारको बदला लिएका छन् ।

एटीपी वरियतामा दोस्रो स्थानमा रहेका जोकोभिचलाई २८औं स्थानमा रहेका पोपिरिनले पराजित गरेका छन् ।

यस वर्ष, रोलान्ड ग्रोस र विम्बल्डन ओपन विजेता कार्लोस अल्काराजले पनि यूएस ओपनको दोस्रो चरणमा बोटिक भान डे जान्डस्चाल्पसँग हार बेहोरेका थिए । नोभाक यति छिट्टै युएस ओपनबाट बाहिरिएको सन् २०१७ यता पहिलो पटक हो ।न्युज कारखाना

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले रेस्टुरेन्ट मालिकहरूलाई मद्दत गर्न सक्छ ? के यसले नयाँ स्वादिष्ट व्यञ्जनहरू तयार गर्न मद्दत गर्न सक्छ ?

स्पार्टक अरुत्युनयान दुबईमा डेलिभरी चेन डोडो पिज्जामा मेनु विकास प्रमुख हुन् । उनले च्याट जिपिटीलाई दुबईमा उत्कृष्ट पिज्जा रेसिपी बनाउन आग्रह गरे । च्याट जिपिटीले रेसिपी बनायो । उनी भन्छन्, ‘हामीले यसलाई सुरु गर्यौं, यो हिट पनि भयो र अझै पनि हाम्रो मेनुमा छ ।’

दुबईको ३० लाख जनसंख्यामध्ये ९० प्रतिशत बाहिरबाट आएका छन् । स्पार्टक भन्छन्, ‘यहाँ संसारका विभिन्न संस्कृतिका मानिसहरू छन् । जसमा भारतीय, पाकिस्तानी, फिलिपिन्स, अरब र युरोपेलीहरू समावेश छन् । च्याट जिपिटीलाई हामीले आफ्नो सहरको सांस्कृतिक विविधतालाई ध्यानमा राखी पिज्जा रेसिपी सुझाव दिन आग्रह गरेका थियौं । जस अनुसार च्याट जीपीटीले अरबी शवर्मा चिकन, इन्डियन ग्रिल गरिएको चीज, मध्य पूर्वी ज़ाटार जडीबुटी, र सेतो तिल ससको संयोजन भएको रेसिपी सुझाव दियो ।  डोडो पिज्जाका ग्राहकहरू यसको प्रशंसा गरेर थाकेका छैनन् ।’

उनले भने- ‘एक शेफको रूपमा, म पिज्जामा यी सामग्रीहरू कहिल्यै प्रयोग गर्दिन, तर स्वादहरूको संयोजन अद्भुत थियो ।’

यद्यपि, एआईले सुझाव दिएका केही अन्य प्रकारका पिज्जाहरू मेनुमा कहिल्यै बनाइएन । स्ट्रबेरी र पास्ता, वा ब्लूबेरी र दलिया जस्तै । संसारका विभिन्न कुनामा प्रयोगहरू भइरहेका छन्

डलास भेलभेट ट्याकोसमा काम गर्ने भेनेसियो विलिसले एआई प्रयोग गरेका छन् । भेनेसिया यस रेस्टुरेन्टका पाक निर्देशक हुन् । उनी एआईको बारेमा धेरै उत्साहित छिन, त्यसैले उनले च्याट चीजिपी (Chat Cheegp) लाई टाको बनाउने जिम्मेवारी सुम्पिइन् ।

विलिस भन्छिन्, एआईलाई उनको निर्देशनमा उनले आठ सामग्रीहरू प्रयोग गर्न भनेकोमा, एउटा टर्टिला र एउटा प्रोटिन समावेश थियो । केही धेरै फरक संयोजनहरू देखा पर्यो । रातो करी, नरिवल टोफु र अनानासले केहि स्वादिष्ट बनाउँछ भन्ने मलाई विश्वास थिएन ।’ विलिसले तीनवटा रेसिपी लिएर बनाएका झींगा र स्टेक ट्याको एक हप्तामा २२ हजार बिक्री भयो।

लन्डनका ककटेल निर्माता जुलियन डे फेरेल भन्छन्, उनी एआई प्रयोग गर्नदेखि सावधान छन् किनभने यसको सुझावहरूमा सामान्य ज्ञानको कमी छ । उनले एआई च्याटबटहरू जादू नभएको बताउछन् ।

सिएटलको वाशिंगटन विश्वविद्यालयमा भाषाविज्ञानकी प्राध्यापक एमिली बेन्डरले चेतावनी दिदै भन्छिन- एआईले अनलाइन पढेर सबै कुरा सिकेको छ । यदि च्याट जिपिटीले रेसिपी जस्तो देखिने केहि कुरा बताउन सक्षम छ भने, यो रेसिपी पहिले नै इन्टरनेटमा अवस्थित छ । एआईले कसैको कुकिंग ब्लगबाट यो रेसिपी चोरेको हुन सक्छ, जसका कारण उनीहरूको पाठकको संख्या र विज्ञापनको आम्दानी घटेको हुन सक्छ ।’

वेटरोजका इनोभेसन म्यानेजर लिजी हेउड भन्छिन्- ‘हामीले स्म्यास बर्गर सुरु गर्यौं र एकै समयमा युकेमा तीन देखि चार स्म्यास बर्गर रेस्टुरेन्टहरू खोल्न थाल्यौं । गत वर्षदेखि एआईले सामाजिक सञ्जालमा ८० देखि ९० प्रतिशतको उछाल दर्ता गरेको छ र  हामीले यसलाई तीन महिना भित्र हाम्रो परीक्षण स्टोरहरूमा सुरू गर्यौं । ‘

सिंगापुरमा बसोबास गर्ने इटालियन स्टेफानो क्यान्टुले एउटा एआई एप बनाएका छन्, जसले तपाइँलाई तपाइँको फ्रिज र अलमारीमा के छ भन्ने आधारमा रेसिपी सुझाव दिन्छ । उनले यसलाई ‘शेफ जीपीटी’ नाम दिएका छन् ।

यो एपमा ड्रप डाउन मेनुहरू छन् जसले गर्दा तपाईंले आफ्नो भान्साकोठामा के छ भनेर छनोट गर्न सक्नुहुन्छ, वा तपाईं हतारमा हुनुहुन्छ, वा तपाईं राम्रो कुक हुनुहुन्न । त्यसपछि एआईले रेसिपी र त्यो डिशको तस्वीर प्रस्तुत गर्छ ।

यो एप लन्च भएको डेढ सातामै ३० हजार प्रयोगकर्ता भएको क्यान्टुले बताए ।

अर्कोतर्फ, दुबईमा डोडो पिज्जाका मालिकहरू विश्वास गर्छन्, एआईलाई एक रोचक उपकरणको रूपमा हेर्नु पर्छ तर तपाईले यसको आधारमा सम्पूर्ण मेनु बनाउन सक्नुहुन्न । यद्यपि, दुबईमा डोडो पिज्जाबाट अनलाइन अर्डर गर्ने ग्राहकहरूले एआई-सुझाव गरिएको पिज्जा टपिङहरू पनि छनौट गर्न सक्ने विकल्प दिइएको छ ।न्युज कारखाना

काठमाडौँ । बलिवुडमा शाहरुख खान सबै भन्दा बढी धनी कलाकारको रुपमा अगाडी रहेका छन् । शुक्रबार सार्बजनिक भएको हुरुन इण्डिया रिच लिष्टमा समेत शाहरुख खानले इन्ट्री गरेका छन् ।

जस अनुसार श्हरुख खानको अहिलेको सम्पत्ति कुल ७३ सय करोड रहेको छ । शाहरुखले अभिनयबात कमाउने बाहेक उनको फिल्म प्रोडक्सन कम्पनि रेड चिलिज रहेको छ भने आइपिएल टिम कोलकोता नाइट राइडर्स समेत रहेको छ ।

त्यस्तै बलिवुडमा शाहरुख खानपछि उनकै विजिनेस पार्टनर समेत रहेकी अभिनेत्री जुही चावलाको ४६ सय करोडको सम्पत्ति रहेको छ । जुही चावलाको शाहरुख खानसँग रेड चिलिज र कोलकोता नाइट राइर्ड्स दुवैमा साझेदारी रहेको छ ।

त्यसपछि बलिवुड अभिनेता ऋतिक रोशन तेस्रो स्थानमा रहेका छन् । ऋतिकको कुल सम्पत्ति कुल २ हजार करोड रहेको छ । ऋतिकपछि चौथो नम्बरमा महानायक अमिताभ बच्चन रहेका छन् । अमिताभ बच्चनको कुल सम्पत्ति १६ सय करोड रहेको पछिल्लो रिपोर्टमा उल्लेख छ । अमिताभ बच्चनको अभिनय बाहेक थुप्रै कम्पनीहरुमा रणनीतिक लगानी रहेको छ ।

त्यस्तै पाँचौं स्थानमा बलिवुडका निर्माता एवम निर्देशक करण जोहर रहेका छन् । करणको कुल सम्पत्ति १४ सय करोड रहेको छ । करण जोहरको मुख्य कमाई फिल्म निर्माण कम्पनि धर्मा प्रोडक्सन रहेको छ ।न्युज कारखाना

सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि उहाँले यस्तो धारणा राखेका हुन् ।

आगामी मंसिरमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने नहुने अन्योल बढिरहेको बेला पूर्वप्रधानमन्त्री प्रचण्डले निर्धारित समयमै हुनुपर्ने बताए । ‘दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ, यसमा राजनीति गर्ने भुल सरकारले नगरोस्’उनले भने, ‘यसमा पनि राजनीति गरेर दशौं राष्ट्रिय खेलकुद पछि सार्न खोजियो भने यो हजारौं खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ।’

उनले निर्माणको अन्तिम चरणमा रहेको रंगशाला पश्चिम नेपालको खेल क्षेत्र र खेलाडीको वृत्ति विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । ‘यो अहिलेसम्मका रंगशालामध्ये विभिन्न ठाउँमा देखिएका कमीकमजोरी सच्याएर आधुनिक प्रविधिको प्रयोग गरेर जुनरुपमा निर्माण करिव करिव सम्पन्न हुने चरणमा गएको छ। यो हामी सबैका लागि खुशी र गौरवको कुरा हो’, उनले भने,‘माओवादी केन्द्रले प्रदेशको नेतृत्व गरेका बेला खासगरी मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्री बिमला केसीको पालामा यो रंगशालाई प्रदेशको गौरवको आयोजनाको रुपमा अघि सारिएकाले पनि यो हाम्रा लागि विशेष अर्थ र महत्वको छ ।’

रंगशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको पाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको अत्यधिक सदुपयोग गर्नुपर्ने बताए । लुम्बिनी, कर्णाली र सदूरपश्चिमको खेल क्षेत्रका लागि यो केन्द्र बन्ने र देशभरिकै खेलाडीका लागि पनि राष्ट्रिय खेलकुदको सुर्खेतमा आयोजना गर्न सकिने ढोका खुलेको टिप्पणी पनि उनले गरे । आफू तीन पटक प्रधानमन्त्री हुँदा लगातार खेल क्षेत्रको विकासलाई प्राथमिकता दिंदै आएको पनि उनले स्पष्ट गरे ।

अनुगमनका क्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्व खेलकुदमन्त्री बिमला केसी, कर्णाली खेलकुद परिषदका सदस्य–सचिव विश्वामित्र सञ्ज्याल लगायतका खेल पदाधिकारीको उपस्थिति रहेको थियो ।
न्युज कारखाना

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारालिम्पिक ऐतिहासिक काश्य पदक जितेकी छन् ।

पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन्।

पहिलो चरणमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् ।  तर, क्वार्टरफाइनलमा पलेशा ब्राजिलकी सिल्भाना फर्नान्डेसविरुद्ध १०-८ ले पराजित भएकी थिइन् ।

दोस्रो चरणमा पराजित भएको कारण उनले रिपाचेजमा मौका पाएकी थिइन्। जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले पराजित गर्दै उनी काश्य पदकका लागि नजिक पुगेकी थिइन् ।  त्यसपछि उनले काश्य पदकको प्रतिष्पर्धामा सर्बियाकी मारिजा मिचेभलाई पराजित गरेर काश्य पदक जितेकी थिइन् ।

पलेशा छनोटचरण पार गर्दै पेरिस पारालिम्पिक नेपालको प्रतिनिधित्व गरेकी हुन् । गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन्।न्युज कारखाना

काठमाडौँ । डिज्नी र रिलायन्स इन्टरटेनमेन्ट मर्ज हुने भएपछि भारतीय मनोरञ्जन क्षेत्र तरंगित बनेको छ ।

भारतीय प्रतिस्पर्धा आयोग अर्थात् सीसीआईबाट स्वीकृति प्राप्त गरेसँगै अब डिज्नी र रिलायन्सको मर्जरले भारतीय मनोरन्जन उद्योगमा आफ्नो प्रभाव देखाउने विश्लेषण हुन थालेको छ । यो भारतको सबैभन्दा ठूलो मनोरञ्जन कम्पनी बन्नेछ । यो खेलकुदको पावरहाउस पनि बन्नेछ । कम्पनीका भारतभर ७५ करोड दर्शक हुनेछन् ।

यो मेगा मर्जरमा डिज्नी स्टारका ८० च्यानल र रिलायन्स भायाकम १८ का ४० च्यानल थपिनेछन् । अर्थात् त्यहाँ जम्मा १२० च्यानल हुनेछन् । यद्यपि, यी मध्ये केही च्यानलहरू बन्द हुन सक्ने पनि बताइएको छ । दुबैसँग अ-आफ्ना ओटीटी एपहरू छन् । डिज्नी हटस्टार र जियो सिनेमा । मर्जरपछि बनेको नयाँ कम्पनीमा २ लाख घण्टा डिजिटल कन्टेन्ट हुनेछ ।

भायकम १८ सँग बिसिसीआई प्रबन्धित क्रिकेट खेलहरूको टिभी अधिकारहरू पनि छन्, जबकि डिज्नी स्टारसँग २०२७ सम्म आईपीएल प्रसारण गर्ने टिभी अधिकारहरू छन् । त्यस्तै रिलायन्ससँग आफ्नो ओटीटी प्लेटफर्म जियो सिनेमामा आइपिएल देखाउने अधिकार छ । रिलायन्सका समाचार च्यानलहरू यस सम्झौताको हिस्सा हुने छैनन्, किनकि तिनीहरू नेटवर्क १८ समूह अन्तर्गत पर्दछन् ।

संयुक्त उद्यमलाई ३० हजार भन्दा बढी डिज्नी सामग्री सम्पत्तिहरूको इजाजतपत्र सहित भारतमा डिज्नी फिल्महरू र निर्माणहरू वितरण गर्ने विशेष अधिकारहरू पनि दिइनेछ । वाल्ट डिज्नीका सीईओ बब इगरले मर्जरका बारेमा हालै भनेका छन्- ‘बजारमा धेरै प्रतिस्पर्धा छ, त्यसैले मर्जरले ठूलो कम्पनी बनाउँछ, जसले यसलाई बजारमा शीर्षमा रहन मद्दत गर्नेछ ।’

नयाँ कम्पनीसँग सबैभन्दा ठूलो ओटीटी ग्राहक आधार हुनेछ । डिज्नी हटस्टरका करिब ३.६ करोड भुक्तान गरेका ग्राहक छन् र रिलायन्ससँग १.५ करोड भुक्तान गरेका ग्राहकहरू छन् । अर्थात् दुवैका कुल ५.१ करोड सब्सक्राइबर छन् ।

रिलायन्ससँगको साझेदारीले डिज्नीलाई आफ्नो व्यवसाय बढाउन र जोखिम कम गर्ने अवसर दिनेछ । साथै, यसले मुकेश अम्बानीलाई २८ बिलियन डलरको मनोरञ्जन क्षेत्रमा बलियो पकड दिनेछ । नयाँ कम्पनीले सोनी र नेटफ्लिक्स जस्ता कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्नेछ ।

मर्जरबाट बनेको नयाँ कम्पनीको टिभी र स्ट्रिमिङ क्षेत्रहरूमा भारतीय विज्ञापन बजारको ४० प्रतिशत हिस्सा हुनेछ । नयाँ कम्पनीको क्रिकेट विज्ञापन राजस्वमा एकाधिकार नै हुनेछ । क्रिकेटका अलावा विम्बल्डन टेनिस च्याम्पियनसिप, मोटो जीपी र इङ्लिस प्रिमियर लिगको पनि प्रसारण अधिकार हुनेछ ।

भारत मनोरञ्जन सेवाहरूको लागि ठूलो बजार हो । यस्तो अवस्थामा नेटफ्लिक्स, अमेजन जस्ता अमेरिकी स्ट्रिमिङ कम्पनीहरू भारतीय बजारतर्फ आकर्षित भएका छन् । डिज्नी र रिलायन्स पनि ओटीटीमा छन्, जसले नेटफ्लिक्स र अमेजनबाट प्रतिस्पर्धाको सामना गरिरहेको छन् ।

यी दुवै कम्पनीले प्रयोगकर्ताको संख्या बढाउन सस्तो योजनाहरू लन्च गर्न सक्छन् । यसको प्रत्यक्ष लाभ दर्शकले पाउनेछन् । एकै साथ, डिज्नीका दर्शकहरूले रिलायन्सको सामग्रीमा पहुँच पाउनेछन् र रिलायन्सका दर्शकहरूले डिज्नीको सामग्रीमा पहुँच पाउनेछन् ।

यो सम्झौता ८.५ बिलियन डलर को छ । मर्जरपछि बनेको कम्पनीमा रिलायन्सको ६३.१६ प्रतिशत र डिज्नीको ३६.८४ प्रतिशत सेयर रहनेछ । नीता अम्बानी यसको अध्यक्ष हुनेछिन् । यो सम्झौता ६ महिनाभित्र पूर्ण रुपमा लागु हुने अपेक्षा गरिएको छ । सम्झौता पूरा गर्न, यसलाई भारतीय कम्पनी न्यायाधिकरणको स्वीकृति पनि आवश्यक हुनेछ ।न्युज कारखाना

काठमाडौँ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि  राजीनामा दिएका छन् ।

उनले मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउदै राजीनामा दिएका हुन् । सरकारले चौथो वरियताका एकनारायण अर्याललाई मुख्य सचिव बनाएपछि दोस्रो वरियताका भट्टराईले राजीनामा दिएका छन् ।

यस अघि पहिलो वरियतामा रहेका राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले पनि राजीनामा दिएका थिए । न्युज कारखाना

काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले शेख हसिना सरकारका आठ मन्त्री र उनको पार्टी अवामी लिगका छ जना सांसदलाई देश छाड्न प्रतिबन्ध लगाएको छ । एन्टी करप्सन कमिशनका वकिल हुसेन जहाँगीरले सो कुराको पुष्टि गरेका हुन् ।

प्रतिबन्धमा परेका पूर्वमन्त्रीहरूमा जाहिद मलिक, दिपु मोनी, मोहिबुल हसन चौधरी नौफेल, साधनचन्द्र मजुमदार, नुरुल मजिद महमूद हुमायुन, कमल अहमद मजुमदार, शाहजहान खान र कमरुल इस्लाम रहेका छन् ।

देश छाड्न प्रतिबन्ध लगाइएका ६ पूर्व सांसदहरुमा सलीम उद्दीन, मामुनुर रसिद किरण, कुजेन्द्रलाल त्रिपुरा, काजिम उद्दिन, नूर आलम चौधरी र जियाउर रहमान रहेका छन् ।

यसैबीच, अदालतले शेख हसिना सरकारमा वाणिज्यमन्त्री रहेका टिपु मुन्शीलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । ढाकाको मुख्य महानगरीय मजिस्ट्रेट अदालतले यस्तो आदेश दिएको हो ।

राजधानीको बड्डा प्रहरी चौकीमा सुमन सिकदार नामका व्यक्तिको हत्या गरेको अभियोगमा मुन्सीलाई हिरासतमा राखिएको छ । उनलाई र्‍यापिड एक्सन बटालियनले पक्राउ गरेको थियो । न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।