२०८३ जेष्ठ १२
२०८३ जेष्ठ १२

पर्सामा लागूऔषधको तस्करी तिव्र, एक महिनामै ३१ जना कारोबारी पक्राउ

वीरगञ्ज, १२ जेठ । खुला सीमाको फायदा उठाउदै पर्सामा लागूऔषधको सेवनकर्ता मात्रै होइन, तस्करीको जालो तीव्र रूपमा फस्टाउदै गएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वैशाख महिनामा मात्रै लागूऔषधको ३१ जना कारोबारी पक्राउ परेका हुन् ।
पक्राउ गरेकाहरूबाट ८ किलो ४ सय ग्राम गाँजा, १६ ग्राम ४ मिलिग्राम ब्राउन सुगर, ४ किलो ३१ ग्राम चरेस तथा ३० हजार ५ सय १७ वटा ट्रामाडोल ट्याब्लेट बरामद गरेको पर्सा प्रहरीको तथ्याँकमा उल्लेख रहेको छ ।
गएको शनिबार राति पर्सा प्रहरीले खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित दुई युवकलाई पक्राउ गरे । ना ३९ प २५३२ नम्बरको स्प्लेन्डर मोटरसाइकलमा भेडियाहीबाट मिलनचोक तर्फ आउँदै गरेका वीरगन्ज–३२ परसवाका २० वर्षीय राहुल सिंह र बारा जितपुर सिमरा–७ खालका टोलका १९ वर्षीय नन्दन गुप्ताको साथबाट प्रहरीले ८ ग्राम ४० मिलिग्राम लागूऔषध बरामद गरेको थियो ।
यस्तै वैशाख २५ गते वीरगन्ज–१६ स्थित शंकराचार्य गेट चेकपोस्टमा भारतबाट नेपालतर्फ आउँदै गरेका चार जना लागूऔषध तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ६ सय मिलिग्राम खैरो हेरोइन सहित २७ वर्षीय विकासकुमार साह र २३ वर्षीय कविन पराजुली पक्राउ परेका थिए भने ५ ग्राम खैरो हेरोइन तथा शून्य दशमलव २५ मिलिग्राम सेतो हेरोइन सहित २० वर्षीय सागर घिमिरे र २३ वर्षीया पूजा जिम्बा पक्राउ परेको थियो ।
प्रहरीले ३ ग्राम ३७ मिलिग्राम खैरो हेरोइन सहित २९ वर्षीय अन्जन थापा र १९ वर्षीय रोमश बम्जनलाई नियन्त्रणमा लिएको थियो । साथै ५३ वटा प्रतिबन्धित ट्याब्लेट सहित ३७ वर्षीय राजु बनियाँ र ५२ वर्षीय अलिहदन मियाँ पनि पक्राउ परेको तथ्याँकमा उल्लेख छ ।
पर्सा प्रहरीले ‘लागूऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान’ सञ्चालन गरेपछि दैनिकजसो साना स्तरका कारोबारी पक्राउ पर्न थालेका छन् । प्रहरीका अनुसार वीरगन्ज कारागारमा सजाय भुक्तान गरिरहेका कैदीबन्दी मध्ये झण्डै आधा जसो लागूऔषध मुद्दासँग सम्बन्धित रहेका हुन् । पछिल्लो समय महिलाहरू समेत लागूऔषध कारोबारमा संलग्न हुँदै गएको प्रहरी तथ्यांकले देखाएको छ ।
पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार लागुऔषधको कुलतमा फसेकाहरू भारतबाट लुकाइछिपाइ लागूऔषध ल्याउने र सेवन गर्ने प्रवृत्ति बढ्दो छ ।
“कुलतमा फसेकाहरू भारतमा गएर लागूऔषध सेवन गर्ने र नेपाल आउने प्रयास गर्छन्,” उनले भने, “यस्ता व्यक्तिलाई पहिचान र पक्राउ गर्न सूचना प्रणाली नै मुख्य आधार बनेको छ ।”
खुला सीमा, वैज्ञानिक परीक्षण प्रणालीको अभाव तथा भारतमा सहज रूपमा उपलब्ध प्रतिबन्धित औषधिहरूका कारण नेपाली युवाहरु कुलतमा फस्दै जाँदा सुरक्षाकर्मीलाई लागूऔषध नियन्त्रणका लागि मुख्य चुनौती बन्दै गएका छन् ।तराई टोप

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।