बज्जिकाञ्चल संवाददाता,रौतहट, भदौ ११ ।
रौतहटमा हालै भएको महिला हत्या प्रकरणमा ज्यान गुमाएकी युवती रुबी कुमारी साहको हत्याको रहस्य खुलेको छ । विगत शनिबार रातिदेखि हराइरहेकी रुबीको शव आइतबार बिहान सुटकेसमा फेला परेको थियो । घटनामा संलग्न भएको स्वीकार गरेका लक्ष्मण पासवानले आत्मदाह प्रयास गरेपछि उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको पुष्टि भएको छ ।
रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुर निवासी ३० वर्षीय लक्ष्मण पासवानले गौर ५ स्थित आफ्नै डेरामा रुबीको हत्या गरेको बताएका थिए । बुधबार बिहान उनले हिन्दी भाषामा साढे ९ मिनेटको भिडियो सन्देश सार्वजनिक गर्दै घटनाबारे खुलासा गरेका थिए ।
भिडियोमा उनले रुबीलाई घाँटी थिचेर हत्या गरेको र शव सुटकेसमा हालेर अटो रिक्सामार्फत फालिदिएको बताएका छन् । उनीहरुले कक्षा १० मा पढ्दा भारतको सीतामढीमा विवाह गरेको तर रुबीकी आमाले त्यो सम्बन्ध अस्वीकार गरेका कारण दुवैजना मानसिक तनावमा परेको पासवानले भिडियोमा बताएका छन् ।
हत्या गरेपछि आफूलाई बाँच्छु भन्ने अधिकार नरहेको उल्लेख गर्दै उनले आत्मदाहको प्रयास गरेका थिए। बुधबार बिहान उनले गाउँदेखि केही परको चौरमा पेट्रोल खन्याई आगो लगाएका थिए । करिब ६० प्रतिशत जलेको अवस्थामा स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी उपचारका लागि काठमाडौं लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय, रौतहटका डिएसपी राजु कार्कीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएका छन् ।
पासवानको शरीरमा रुबीको तस्बिर अंकित ट्याटु, र “My Heart Ruby Kumari” लेखिएको शरिरका भागहरू पनि फेला परेका छन्, जसले उनीहरूको सम्बन्ध गहिरो रहेको संकेत गर्छ ।
प्रहरीले घटनाको सम्पूर्ण पृष्ठभूमि र हत्या पछाडिको कारणबारे विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ ।








