काठमाडौं,२०८२ साउन ३१ गते शनिबार ।
सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूले सम्पूर्ण नेपालीलाई सत्य, शान्ति, न्याय, प्रेम र समृद्धिको मार्गमा अग्रसर हुन आग्रह गर्नुभएको छ ।
काठमाडौंको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, ठमेलद्वारा शनिबार आयोजित ‘श्रीकृष्णाष्टमी तथा चैतन्य झाँकी अनावरण एवं प्रवचन’ कार्यक्रममा सम्बोधन गर्दै उपराष्ट्रपति यादवले उक्त आग्रह गर्नुभएको हो ।
उहाँले श्रीकृष्णको जीवन केवल धार्मिक आस्थाको विषय नभई गहिरो आध्यात्मिक ज्ञानको स्रोतका रूपमा समेत रहेको बताउनुभयो । श्रीकृष्णको बाल्यकालदेखि युवावस्थासम्मका घटनाहरूले सेवा, नेतृत्व, समता र निष्काम कर्मको सन्देश दिएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘अर्जुनको सारथी बनेर श्रीकृष्णले सेवा भावको उच्चतम उदाहरण प्रस्तुत गर्नुभयो, जसले देखाउँछ—नेतृत्व शक्ति मात्र होइन, सेवा पनि हो ।’
श्रीकृष्णको जीवनकथा संगीत, नृत्य, चित्रकला र साहित्यमा प्रेरणाको स्रोत बनेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले श्रीकृष्णको बाँसुरीको धुनलाई प्रेम, सौन्दर्य र आध्यात्मिक आनन्दको प्रतीकका रूपमा व्याख्या गर्नुभयो । उहाँले श्रीकृष्णलाई सत्य, प्रेम, करुणा र दायित्वबोधका प्रतिबिम्बका रूपमा चित्रण गर्दै उहाँको जीवनले व्यवहारमा उतार्नुपर्ने नैतिक मूल्यहरू बोकेको बताउनुभयो ।
‘श्रीकृष्णको कर्मयोगको दर्शनले व्यक्ति र समाजलाई कर्मशील, उत्तरदायी र विवेकी बनाउने सूत्रहरू प्रदान गर्दछ,’ उहाँले भन्नुभयो, ‘यी सूत्रहरू आत्मसात गर्न सके समाजमा सद्भाव, सांस्कृतिक समृद्धि, नैतिक पुनर्जागरण र जीवनको सार्थकता प्राप्त गर्न सकिन्छ ।’ उपराष्ट्रपति यादवले ब्रह्माकुमारी संस्थाले स्थापनाकालदेखि नै नेपाली समाजमा शान्ति, सद्भाव र आध्यात्मिक चेतना फैलाउने कार्यमा योगदान दिँदै आएकोमा प्रशंसा गर्दै धन्यवाद समेत व्यक्त गर्नुभयो ।








