जनकपुरधाम, ०६ गते भदौ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, मधेश प्रदेशको नव गठित प्रदेश कार्यकारिणी समितिको प्रथम बैठक आज शुक्रबारका दिन जनकपुरधाम स्थित प्रदेश पार्टी कार्यालयमा सम्पन्न भएको छ । उक्त बैठक पार्टीका केन्द्रिय वरिष्ठ उपाध्यक्ष तथा मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलको अध्यक्षतामा बसेको हो ।
बैठकमा नवनियुक्त प्रदेश पदाधिकारीहरु तथा कार्यकारिणी समितिका सदस्यहरुले औपचारिक रुपमा पदभार ग्रहण गर्नुका साथै सपथ लिएका छन् । बैठकमा विभिन्न एजेन्डाहरुमा गम्भीर छलफल, संगठन सुदृढीकरणदेखि प्रदेश सरकारसम्बन्धी विषयसम्मका महत्वपूर्ण निर्णयहरु पारित गरिएको छ ।

बैठकमा संगठन विस्तार एवं सुदृढीकरण,वडा, पालिका, निर्वाचन क्षेत्र, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशन,मुलुकको वर्तमान समसामयिक राजनीतिक अवस्था र मधेश प्रदेश सरकारसँग सम्बन्धित विषयहरु लगायत विविध विषयमा छलफल गरिएको बुझिएको छ ।
बैठकमा प्रदेश कार्यकारिणी सदस्यहरुद्वारा प्रस्तुत विभिन्न सुझाव तथा सल्लाहहरुमा समेत विस्तृत छलफल गरिएको थियो । सहभागी सदस्यहरुले पार्टीलाई प्रदेशस्तरमा अझ मजबुत बनाउँदै संगठनात्मक गतिविधिहरुलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्टी नेतृत्वले उक्त बैठकलाई अत्यन्तै सफल र दिशानिर्देशक भन्दै आगामी दिनमा प्रदेशस्तरमा पार्टीको प्रभावकारिता वृद्धि गर्ने रणनीति अनुरूप कार्य अघि बढाइने जानकारी दिएको छ ।








