बज्जिकाञ्चल संवाददाता,रौतहट, भदौ १६ ।
जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले शहीद राम मनोहर यादवको आठौं स्मृति दिवस आइतबार विविध कार्यक्रमहरू गरी मनाएका छन् । रौतहट सहित देशका विभिन्न स्थानमा आयोजित कार्यक्रममार्फत यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँका योगदानको स्मरण गरिएको छ ।
यस अवसरमा रौतहटको राजदेवी नगरपालिकामा पार्टीका केन्द्रीय सदस्य तथा नगर प्रमुख उम्मेदवार विकास कुमार यादवको नेतृत्वमा सरसफाई तथा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको थियो । राजदेवी मन्दिर परिसरमा भएको उक्त कार्यक्रममा सहभागीहरूले मन्दिर क्षेत्र सफा गर्नुका साथै विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षणको सन्देश दिएका थिए ।

शहीद राम मनोहर यादव २०७५ साल भदौ ८ गते बर्दिया जिल्लामा तत्कालीन स्वास्थ्य मन्त्रीलाई प्रश्न सोध्न गएका थिए । उक्त घटनालाई लिएर प्रहरीद्वारा पक्राउ गरिएका यादवलाई हिरासतमा चरम यातना दिइएको थियो । यातनाका कारण उहाँको २०७५ साल भदौ १५ गते प्रहरी हिरासतमै मृत्यु भएको थियो । जनमत पार्टीले उहाँको मृत्युलाई राज्यद्वारा गरिएको हत्या भन्दै न्यायको माग गर्दै आएको छ ।
पार्टीका अनुसार राम मनोहर यादवका बलिदान र संघर्षले आजको राजनीतिक आन्दोलनलाई ऊर्जा प्रदान गरेको छ । स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमहरूमा सहभागी वक्ताहरूले शहीद यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँका सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।








