आरके श्रीवास्तव,रौतहट, भदौ १६ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) रौतहट जिल्ला समितिको आयोजनामा सोमबार चन्द्रपुर चौकमा भूमि विधेयकको विरोधमा बृहत विरोध प्रदर्शन सम्पन्न भएको छ । “मधेशी एकता जिन्दावाद! उपेन्द्र यादव जिन्दावाद!” नारासहित आयोजित कार्यक्रममा सहभागीहरूले सो विधेयकलाई “राष्ट्रघाती” भन्दै तीव्र विरोध जनाए ।
कार्यक्रममा जसपा नेपालकी केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य पुजा चाैधरीले वन विनाश गरेर मधेशलाई मरुभूमि बनाउने नियोजित प्रयत्न अन्तर्गत ल्याइएको सो विधेयकले मधेशी जनताको हक, हित, र अस्तित्वमाथि गम्भीर प्रहार हुने चेतावनी दिए । उनले भूमि विधेयक खारेज नगरे सरकारविरुद्ध अझ कडा आन्दोलन छेडिने बताए ।
वक्ताहरूले गौर राजनीतिक घटनालाई समेत स्मरण गर्दै मधेशको पीडा र बलिदानलाई बिर्सिन नहुने कुरा औंल्याए । प्रदर्शनमा सयौंको संख्यामा सर्वसाधारण, विद्यार्थी, महिला, युवा तथा पार्टीका कार्यकर्ताहरू सहभागी थिए ।
जसपाले यस प्रकारका विरोध कार्यक्रमलाई जिल्लाभरि फैलाउने र संघीय सरकारमाथि दबाब सिर्जना गर्ने योजना समेत सार्वजनिक गरेको छ ।








