आरके श्रीवास्तव,राैतहट,भदौ २४ गते ।
काठमाडौं लगायत देशका प्रमुख शहरहरूमा सोमबार भएको जेनजी आन्दोलनमा प्रहरीले गोली प्रहार गर्दा १९ जनाको ज्यान गएको घटनापछि देशभरि चुलिएको आक्रोशको लहर आज रौतहटमा पनि देखिएको छ । यही आक्रोशको प्रतिबिम्बस्वरूप राैतहटकाे विभिन्न ठाउँहरूमा प्रदर्शनहरू भईरहेका छन् ।

कटहरिया नगरपालिका–२ स्थित छेदीचोकमा रहेको मण्टेसरी इन्टरनेशनल इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले पनि सडकमा उत्रिएर शान्तिपूर्ण रूपमा नाराबाजीसहित प्रदर्शन गरेका छन् । उनीहरूले “केपी चोर देश छोड”, “विद्यार्थी मार्न पाइँदैन”, “नेपाल सरकार मुर्दाबाद” लगायतका आक्रोशपूर्ण नारा लगाउँदै सरकारको कदमको कडा विरोध जनाएका थिए । कलिला उमेरका बालबालिकासमेत यति गम्भीर राजनीतिक घटनाप्रति जागरुक बनेर सडकमा उत्रिनु देशमा चुलिँदै गएको असन्तोष र निराशाको गम्भीर संकेत हो । यद्यपि प्रदर्शन शान्तिपूर्ण रहेको र कुनै अप्रिय घटना नभएको स्थानीयले जनाएको छ ।

गत सोमबार राजधानी लगायतका स्थानमा भएको जेनजी आन्दोलनमा सरकारको दमनकारी रवैयाप्रति आम नागरिक र विद्यार्थी समुदाय आक्रोशित बनेका छन् । अहिलेको सरकारद्वारा अपनाइएको कडा हस्तक्षेप र दमनात्मक शैलीले मुलुकलाई गम्भीर संकटतर्फ डोर्याइरहेको भन्दै आम नागरिक चिन्तित छन् । राैतहटमा भइरहेको यस्ता प्रदर्शनहरूले सरकारलाई जनभावनाको कदर गर्न र लोकतान्त्रिक मुल्य–मान्यताकाे सम्मान गर्न सन्देश दिएको विश्लेषकहरूको भनाइ छ ।








