आरके श्रीवास्तव,राैतहट,मंसिर ०६ गते ।
राैतहटकाे गरूडा नगरपालिकामा सञ्चालित मेयर कप २०८२ काे उपविजेता गरूडा–५ महम्मदपुर क्रिकेट टिमलाई वडाबाट सम्मान गरिएको छ । आज एक कार्यक्रमकाे आयोजना गर्दै वडा अध्यक्ष रामबिनोद जयसवालले टिमका खेलाडीहरूलाई टीका लगाई गम्छा ओढाएर सम्मान प्रदान गरेका हुन् ।

मेयर कपकाे फाइनलमा गरूडा–१ जयनगर विजयी बनेको थियो । विजेता टिमले नगद १ लाख २५ हजार, प्रमाणपत्र र कप प्राप्त गरेको थियो भने उपविजेता गरूडा–५ महम्मदपुरले ६५ हजार नगद, प्रमाणपत्र र कप हात पारेको थियो ।
कार्यक्रमका क्रममा टिमका कप्तान रामाशंकर पटेलले खेलाडीहरूलाई आवश्यक पर्ने खेल सामाग्री उपलब्ध गराउन आग्रह गरेका थिए । सो अवसरमा वडा अध्यक्ष जयसवालले खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पिच व्यवस्थापनका लागि २५ हजार नगद सहयोग गर्ने घोषणा पनि गरे ।
उनले पहिले पनि खेलाडीहरूको हौसला बढाउने काम गरेको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । सम्मान कार्यक्रम पछि खेलाडीहरूले प्राप्त गरेको कप वडा अध्यक्ष जयसवाललाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा खेलाडी, स्थानीयवासी तथा वडा कार्यालयका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।








