आरके श्रीवास्तव,राैतहट,मंसिर ०६ गते ।
राैतहटकाे गरूडा नगरपालिकामा सञ्चालित मेयर कप २०८२ काे उपविजेता गरूडा–५ महम्मदपुर क्रिकेट टिमलाई वडाबाट सम्मान गरिएको छ । आज एक कार्यक्रमकाे आयोजना गर्दै वडा अध्यक्ष रामबिनोद जयसवालले टिमका खेलाडीहरूलाई टीका लगाई गम्छा ओढाएर सम्मान प्रदान गरेका हुन् ।

मेयर कपकाे फाइनलमा गरूडा–१ जयनगर विजयी बनेको थियो । विजेता टिमले नगद १ लाख २५ हजार, प्रमाणपत्र र कप प्राप्त गरेको थियो भने उपविजेता गरूडा–५ महम्मदपुरले ६५ हजार नगद, प्रमाणपत्र र कप हात पारेको थियो ।
कार्यक्रमका क्रममा टिमका कप्तान रामाशंकर पटेलले खेलाडीहरूलाई आवश्यक पर्ने खेल सामाग्री उपलब्ध गराउन आग्रह गरेका थिए । सो अवसरमा वडा अध्यक्ष जयसवालले खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पिच व्यवस्थापनका लागि २५ हजार नगद सहयोग गर्ने घोषणा पनि गरे ।
उनले पहिले पनि खेलाडीहरूको हौसला बढाउने काम गरेको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । सम्मान कार्यक्रम पछि खेलाडीहरूले प्राप्त गरेको कप वडा अध्यक्ष जयसवाललाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा खेलाडी, स्थानीयवासी तथा वडा कार्यालयका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।
आरके श्रीवास्तव,सर्लाही,मंसिर ०६ गते ।
बज्जिका साहित्यको क्षेत्रमा दिएको अमूल्य योगदानका लागि साहित्यकार सञ्जय साह ‘मित्र’लाई ‘कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिकासेवी पुरस्कार २०८२’ प्रदान गरिएको छ । शनिबार सर्लाही सदरमुकाम मलंगवामा आयोजित एक विशेष समारोहमा उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान–पत्र प्रदान गरिएको हो ।

बज्जिका साहित्य समाज सर्लाहीले आयोजना गरेको पुरस्कार/सम्मान समर्पण कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, समाजका अध्यक्ष रामचन्द्र महतो कुशवाहालगायतले साहित्यकार साहलाई पुरस्कार प्रदान गरेका थिए । रौतहटका साहित्यकार मित्रको सम्मानपत्र बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किसुन दयाल यादवले वाचन गरेका थिए ।
सर्लाहीको विष्णु गाउँपालिका निवासी सेवानिवृत्त प्रहरी कर्मचारी महानन्द झाले दिवङ्गत दाजु सदानन्द झाको स्मृतिमा ‘कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिकासेवी पुरस्कार’ स्थापना गरेका हुन् । बज्जिका भाषा तथा साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिनेछ ।

कार्यक्रममा नेपाल र भारतका साहित्यकार तथा सङ्गीतकारलाई पनि सम्मान–पत्र प्रदान गरिएको थियो । सम्मानित हुनेहरूमा साहित्यकार विजय यादव ‘निर्बिज’, सञ्जयराज महतो, साधना कृष्ण, बुद्धवीर लामा, मणिभूषणप्रसाद सिंह तथा पत्रकार मनोज यादवलगायत रहेका थिए ।

सोही अवसरमा बज्जि त्रैमासिक पत्रिकाको लोकार्पण समेत गरिएको थियो । कार्यक्रमका प्रमुख आकर्षणमध्ये एक रहे साहित्यकार मित्रले प्रस्तुत गरेको बज्जिका भाषाको इतिहास, विकासक्रम र हालको अवस्थाबारे विस्तृत जानकारी ।

कार्यक्रममा उपस्थित साहित्य, भाषा र संस्कृति क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूले बज्जिका भाषा संरक्षण तथा प्रवर्द्धनका लागि निरन्तर पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । सहभागी कविहरूले आ-आफ्नो कविता र रचना वाचन गरेर सुनाएका थिए । वक्ताहरूले कवि सदानन्द झाकाे प्रेरणादायी जिवनीकाे बारेमा पनि आ-आफ्नो धारणा साझा गरेका थिए ।