जनकपुरधाम, कार्तिक २२ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार ‘सोनल’ले पदबाट राजीनामा दिएका छन् । उहाँको राजीनामा मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज मिति २०८२ साल कार्तिक २२ गते स्वीकृत गर्नुभएको छ ।
प्रदेश प्रमुखको कार्यालय, जनकपुर धनुषाबाट जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार, नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री सोनलले पदबाट राजीनामा दिएका हुन् । सो राजीनामा आजै प्रदेश प्रमुखले स्वीकृत गर्नुभएको हो ।

विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको छ।”
यससँगै अब नयाँ सरकार गठनको प्रक्रिया संविधानको प्रावधान अनुसार अघि बढ्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्री सोनलको राजीनामापछि मधेश प्रदेशको राजनीतिक परिदृश्य फेरि चासोको केन्द्रमा आएको छ ।








