आरके श्रीवास्तव,राैतहट,०३ गते भदौ ।
जसपा नेपालका युवा नेता राजाबाबु साहले देशमा फेरि मधेसमाथि विभेद गर्ने प्रयास भइरहेको आरोप लगाउँदै मधेसी नेताहरूलाई एकजुट भएर प्रतिकार गर्न आह्वान गरेका छन् । बज्जिकाञ्चल खबरसँगको विशेष कुराकानीमा नेता साहले पछिल्लो समय सर्वोच्च अदालतबाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध आएको परमादेशको कडा शब्दमा विरोध जनाएका छन् ।
उनले भने, “कांग्रेस र एमालेको भ्रष्ट सरकारले हाम्रो अध्यक्षविरुद्ध सर्वोच्चबाट जुन परमादेश ल्यायो, त्यो पूर्वाग्रही र बदनियतपूर्ण हो। भूमि विधेयकको विरोधका कारण यो बदला स्वरूप आएको कदम हो।”
नेता साहले न्यायपालिकामा भइरहेको राजनीतिक हस्तक्षेपप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे। “न्यायाधीशहरू राजनीतिक पहुँचबाट नियुक्त हुने गरेका छन्, त्यसैले १९ वर्षपछि आएको फैसला पनि पूर्वाग्रही भएको प्रमाणित हुन्छ,” उनले स्पष्ट पारे।
गौर घटनालाई स्मरण गर्दै साहले तत्कालीन मधेस जनअधिकार फोरमले पहिले नै कार्यक्रम तय गरेको तर माओवादीले जानाजान त्यही दिन कार्यक्रम राखेर द्वन्द्व निम्त्याएको आरोप लगाए। “त्यो बेला माओवादीका नेताहरू विशेषगरी प्रभु साहको हठका कारण घटनाको चपेटामा हामी पर्नुपर्यो,” उनले दुखेसो पोखे।
उपेन्द्र यादवको योगदानको प्रशंसा गर्दै उनले भने, “मधेसीलाई उच्च ओहदामा पुर्याउने एउटै नेता उपेन्द्र यादव हुनुहुन्छ। आज मधेसीहरू ठूला–ठूला ओहदामा देखिनु उहाँकै कारण हो।”
उनले हाल उपेन्द्र यादव र उनको पार्टीमाथि भइरहेको दबावलाई सुनियोजित योजना भन्दै भने, “जसरी रवि लामिछानेलाई निसाना बनाइयो, त्यसरी नै उपेन्द्र यादवलाई र उनको पार्टीलाई तहसनहस पार्ने खेल भइरहेको छ।”
अन्त्यमा, नेता साहले सबै मधेसी दलहरूलाई आह्वान गर्दै भने, “आज फेरि मधेसमाथि अन्याय र विभेद हुने संकेत देखिएको छ। यस्तो समयमा सबै मधेसी दल र नेताहरू एकढिक्का भएर लड्नुपर्ने ऐतिहासिक आवश्यकता आएको छ।”








