बज्जिकाञ्चल संवाददाता,राैतहट,२० गते मंसिर ।
राैतहटकाे बौधिमाइ नगरपालिकाका सामुदायिक विद्यालयहरूमा जेनजी २.० का जिल्ला संयोजक सोनु कुशवाहाको नेतृत्वमा अनुगमन कार्य सम्पन्न भएको छ । अनुगमनका क्रममा विद्यालय व्यवस्थापनदेखि भौतिक पूर्वाधारसम्मका महत्वपूर्ण विषयहरूमा सुधार आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।
टिमले विद्यालयहरूमा सरसफाइको अवस्था कमजोर रहेको, शौचालयको अभाव, सेनेटरी प्याडको सहज पहुँच नहुँदा विद्यार्थी विशेषगरी किशोरीहरू प्रभावित भएको तथा विज्ञान प्रयोगशाला स्तरोन्नतिको आवश्यकता देखिएको जनाएको छ ।

विद्यार्थीहरूले खेलकुद सामाग्री अभावबारे राखेको मागलाई सम्बोधन गर्दै संयोजक कुशवाहाले आवश्यक सामग्री उपलब्ध गराउन समन्वय गर्ने आश्वासन दिएका छन् । यस विषयमा बौधिमाइका नगर प्रमुख प्रदिप यादवले पनि विद्यालय सुधारका लागि छिट्टै आवश्यक व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
युवा सक्रियताको माध्यमबाट अघि बढाइएको शिक्षा सुधार अभियान परोहा र बौधिमाइ क्षेत्रका युवाको निरन्तर सहयोगका कारण थप प्रभावकारी बन्दै गएको स्थानीयहरूले बताएका छन् ।








