आरके श्रीवास्तव,राैतहट,असाेज १८ गते ।
निरन्तर परेको अविरल वर्षाले रौतहट जिल्लाभित्रका प्रमुख राजमार्ग र भित्री सडकहरुमा आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जानकारी दिएको छ ।
प्रहरीद्वारा जारी विज्ञप्तिअनुसार, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–१ र २ स्थित पहिला र दोस्रो लच्कामा बाटो पूर्णरूपमा खुलेको भए पनि अन्य स्थानहरूमा बाढीका कारण सडक पूर्णरूपमा बन्द छन् ।

राजपुर नगरपालिका–१ मा फतुवा गाउँतर्फ जाने हुलाकी राजमार्ग, यमुनामाई गाउँपालिका–४ मा बडहर्वा चौक जाने हुलाकी मार्ग, गौर नगरपालिका–६ मा गौर–चन्द्रपुर सडक अन्तर्गतको सबगाढा लच्कामा सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ । गौर क्षेत्रमा ट्रयाक्टर प्रयोग गरी केवल पैदल यात्रुहरूको आवतजावत भईरहेको जानकारी पनि दिइएको छ ।
त्यस्तै, गुजरा नगरपालिका–८ मा बालचनपुरबाट जङ्गलसहिया जाने भित्री सडक खण्डमा पर्ने लमहाखोलामा पनि बाटो बन्द भएको छ ।
जिल्ला प्रहरी कार्यालय, रौतहटले जनताको सुरक्षा र जानकारीको लागि समयमै सूचना प्रवाह गर्न प्रतिबद्ध रहेको जनाएको छ । साथै, नागरिकहरूलाई सुरक्षित रहन र अनावश्यक यात्राबाट बच्न आग्रह गरिएको छ ।
“सजग रहौं, सुरक्षित रहौं” भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालय, रौतहटले बाढी प्रभावित क्षेत्रका अवस्थाबारे नियमित अपडेट दिने जनाएको छ ।








