काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा हालै भएका घटनाप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री शाहले घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जानकारी दिए। घटनालगत्तै सुरक्षा निकाय परिचालन गरी अवस्था नियन्त्रणमा ल्याउने, थप अप्रिय घटना हुन नदिने र शान्ति–सुरक्षा कायम गर्ने काम भइरहेको उनले बताए।
घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे। छानबिन प्रक्रिया पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने विश्वाससमेत उनले दिलाए।
प्रधानमन्त्रीका अनुसार अवस्था थप बिग्रिन नदिन केन्द्रमा सर्वदलीय बैठक बसेको छ भने स्थानीय तहमा जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा तथा समुदायका प्रतिनिधिसँग निरन्तर संवाद भइरहेको छ। घटनास्थलको प्रत्यक्ष अनुगमन तथा पीडितसँग भेटघाटका लागि गृहमन्त्रीसहित सुरक्षा निकायका उच्च अधिकारी प्रभावित क्षेत्रमा पुगिसकेको र राष्ट्रिय सुरक्षा परिषद्ले पनि समग्र अवस्थाबारे समीक्षा गरी आवश्यक निर्णय गरिसकेको उनले बताए।
सम्बोधनमा प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अफवाह, अपुष्ट सूचना, घृणा फैलाउने सामग्री तथा समुदायबीच वैमनस्य बढाउने गतिविधि नगर्न सबैलाई आग्रह गरे। आधिकारिक सरकारी सूचना र तथ्यमा मात्र विश्वास गर्न उनले अनुरोध गरे।
उनले प्रत्येक नागरिकको जीउधनको सुरक्षा, सामाजिक सद्भावको संरक्षण र शान्ति कायम गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै शान्ति–सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने र सामाजिक सद्भाव खलबल्याउने गतिविधिमाथि कडा कारबाही गरिने चेतावनी दिए।
प्रधानमन्त्री शाहले नेपालको संविधानले सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक अधिकार दिएको उल्लेख गर्दै त्यसको संरक्षणमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। कुनै पनि धर्मले हिंसा, घृणा वा विभाजनलाई समर्थन नगर्ने र सबै धर्मको मूल भावना करुणा, प्रेम, दया र शान्ति भएको उनको भनाइ थियो।
देशको कुनै एक स्थानमा भएको दुःखद घटनाका आधारमा कुनै एक समुदायलाई दोषारोपण गर्नु वा त्यसको प्रतिशोधका रूपमा अन्यत्र अशान्ति फैलाउनु कुनै पनि दृष्टिले उचित नहुने प्रधानमन्त्रीले बताए। उनले इतिहासले कठिन परिस्थितिमा नेपाली समाजलाई एकता, सहिष्णुता र विवेकले नै जोगाएको स्मरण गराउँदै अहिले पनि सबैले संयमता अपनाएर राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति कायम राख्न सहयोग गर्न आग्रह गरे।
सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, राजनीतिक दल तथा सञ्चार माध्यमलाई धैर्य, संयम र जिम्मेवारीका साथ प्रस्तुत भई मुलुकमा शान्ति, सद्भाव, भाइचारा र राष्ट्रिय एकता कायम राख्न सहयोग गर्न हार्दिक अपिल गरेका छन्।एभरेष्ट न्यूज एजेन्सी







