काठमाडौं- पूर्व प्रधानन्यायाधीश सुशीला कार्की पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र निर्वाचन गराउने जिम्मा पाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका हुन् ।

शुक्रवार राति प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् । कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका थिए ।
त्यस्तै, फागुन २१ गतेका लागि चुनावको मिति समेत तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन् ।
प्रारम्भमा प्रधानमन्त्रीको शपथ गर्ने र त्यसपछि प्रतिनिधिसभा विघटन गर्ने सहमति भएपछि कार्की सहमत भएकी थिइन् । नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो । सभार कलाकर्मी








